
दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमै हुने तोकिएको थियो । त्यो समयमा भएन । त्यसपछि दुई पटक मिति तोकिए पनि खेलकुद भएन । अहिले त मिति नै घोषणा भएको छैन । कहिले हुन्छ अन्योल छ । यस्तो अवस्थामा हामी खेलाडीहरुलाई कस्तो अनुभव होला ? त्यसको अनुभव पक्कै राम्रो हुँदैन ।
म लगायत मेरा खेलाडी साथीलाई कस्तो अनुभव हुन्छ भने हामी जे कुराका लागि तयारी गरेका छौं, त्यही भएन भने आफैँ पनि कल्पना गर्नुस् न कस्तो होला ?
यो कुरा प्राप्त गर्दैछु भनेर दिन-रात नभनी मिहिनेत गरेको हुन्छ, तर त्यहाँ पुग्ने बेला त्यो कुरा छैन। अन्तिममा छैन भन्ने कुरा त्यहाँ पुग्नेबेला थाहा भएपछि कस्तो होला ?
खेल युवाहरुले खेल्ने हो । उमेरले खासै असर त नगर्ला । जसले प्रदर्शनमा असर वा प्रभाव पार्छ ।
उमेरले केही असर त गर्दैछ तर प्रदर्शनमा प्रभाव गर्छ नि कस्तो खालको प्रदर्शन दिने भनेर ।
भनेपछि उच्च (उत्कृष्ट) प्रदर्शन गर्ने यति छोटो समय हुन्छ । कति खेलहरुको अझै यही उमेरमा मात्र भन्ने हुन्छ । खेल अनुसार, इभेन्ट अनुसार फरक होला । फिजिकल फिटनेसले असर गर्छ । हामीले खेल विज्ञानको साइन्स पालना गर्नुपर्छ, वास्तविकतामा जानुपर्छ ।
अर्को कुरा हामीलाई खेल्न तयारी गर्नका लागि यति छोटो समय हुन्छ नि । यो हुँदैछ भनेर हामीले तयारी गरिराछौँ । त्यो नहुँदा आत्मविश्वास नै घट्छ । त्यति मात्र होइन अझ आफैँप्रति आत्मग्लानी हुन्छ कि, मैले कस्तो पेशा रोजेछु, जुनमा काम देखाउनै सकिँदैन । जुनले आफूले भनेको अनुसार गर्नै सकिन्न । ठीक छ, अरु खेल्न जाने पाउने सुविधा त छाड्दिनुस्, अवसर देखाउँछु भनेर देखाउने ठाउँ पनि पाइँदैन । जसले गर्दा विदेश पलायन हुने भन्ने एउटा कारण त्यो पनि होला । विदेश पलायन हुने भन्ने त धेरै परको कुरा भयो होला । यहाँ त प्रतिभाहरु नै मरिरहेका छन् । कति प्रतिभाहरु आउँथे होला नै । अब त साना नानीहरु नै वयस्क भए, वयस्क बुढा भए । कसले कसरी प्रदर्शन गर्ने ? उनीहरुले के हेरेर आउने ?
स्कुलस्तरदेखि नै ग्रासरुट स्तरदेखि नै खेलकुद हुनुपर्छ भनिन्छ । प्रतियोगिता नभएपछि, उनीहरु के हेरेर आउने ? प्रतियोगिता नभएपछि ग्रासरुट लेभलदेखि नै खेलाडी विकास भएन । एकैपटक सिनियरमा प्रदर्शन गर्दा नतिजा राम्रो आउँदैन । अन्तर्राष्ट्रिय पदक आउँदैन ।
खेलकुद देशको चिनारी हो । अन्तर्राष्ट्रिय पदक चाहिन्छ भने स्थानीयस्तर र राष्ट्रियस्तरमा इभेन्टहरु हुनुपर्छ । बृहत राष्ट्रिय खेलकुद २-२ वर्षमा हुनपर्छ भनेर घोषणै भइसकेपछि हुनैपर्यो । अर्को कुरा राष्ट्रिय प्रतियोगिताहरु वार्षिक रुपमै हुनुपर्छ ।
अहिले त देश नै संघीयतामा गएको छ । सबैले आ-आफ्नो कामहरु किन नगरेको होला ? यदि गर्नुहुन्न भने उहाँहरुले खेलाडीबाट किन अपेक्षा राख्ने त ?
हामीले गर्ने र देखाउने भनेकै खेलमा हो । आफूले गर्ने र देखाउने ठाउँ नभइसकेपछि कति प्रतिभा छ, के माथि छ, के कमजोरी छ, भन्ने थाहा पनि भएन । अर्को कुरा दिनरात मिहिनेत केका लागि र किन गर्ने भन्ने प्रश्न आउँछ । यदि नहुने भन्दियो भने एक खालको मानसिकता तयार हुन्छ । तर हुने-हुने भनेर झुलायो अनि नहुँदा आघात पर्छ ।
हुने-हुने भन्दै झुलाउँदै सार्दा त्यसको असर प्रशिक्षण र खेलमा पर्छ । जस्तै म एथ्लेटिक्सको भएँ । अरु खेलको पनि फरक हुन्छ । सधैँ एउटै स्तरमा प्रशिक्षण गर्नु हुँदैन । यदि प्रदर्शन राम्रो दिने हो भने प्रशिक्षणहरु पनि फरक हुन्छ । सधैँ कडा खालको प्रशिक्षण गर्नु भनेको खेलाडीको करियरको लागि घाटा हो । भनेपछि हामीले एउटा योजना अनुसार तयारी र प्रशिक्षण गर्नुपर्ने हुन्छ ।
खेल हुन्छ रे मंसिरमा भनेर त्यही अनुसार हामीले तयारी गर्यौं। हामी आफ्नो उच्च स्तरमा बस्छौँ नि त । हुँदैन भनेपछि त हाम्रो समय उर्जा मात्र खर्च भएन कि हाम्रो जीवन नै खर्च हुन्छ ।
त्यतिखेर देखाउन पाएन भने हामीले राम्रोसँग आफूलाई सम्हाल्न पनि सक्दैनौँ । हाम्रो दिमाग र शरीरले रियाक्ट गर्न पाउदैन । दिमाग, वास्तविकता, विज्ञान र तथ्याङ्कहरु सबैलाई हेर्दा त्यसरी गर्दा झन् खतरा हुन्छ ।
जस्तै उदाहरणको लागि हामी उता पर पुग्नुछ । मानौँ सुरुमा हामी २०० मिटरको सुरुमा यात्रा गर्दैछौँ भने १०० मिटरमै एउटा ब्लक आयो भने हाम्रो त त्यहाँ स्टप भयो । बरु नगएको भए सुरक्षित हुन्थ्यौँ । तर त्यहा गएपछि एक्सिडेन्ट(दुर्घटना) हुन्छ । त्यहाँ रोकिने मात्र भएन कि कोल्याप्स् नै हुन्छ । त्यो कुरा बुझ्नुपर्छ ।
मलाई धेरै थाहा छैन । हाम्रा खेलाडीले सोच्न सक्ने कुरा मात्र भन्न सक्छु । किन दशौँ खेलकुद भइरहेको छैन ? आन्तरिक विवाद के हो ? के चाहिएकाे छ ? थाहा छैन । तर गर्ने भनेपछि गर्ने हो । को छ नेतृत्वमा ? उनीहरुले किन आदेश दिँदैनन् ? आ-आफ्नो शक्ति र पोजिसन छ भने किन प्रयोग भइरहेको छैन त ?
गर्ने भनेपछि गर्नु पर्यो नि । त्यहाँनिर के खोजिराछ भन्ने हामी सबैलाई एउटा प्रश्न आइरहेको छ । त्यो प्रश्नले पनि हाम्रो उर्जा खाइरहेको छ ।
विदेश पलायनको कुरा गर्दा म देशको लागि खेल्छु भन्छ कसैले । म आफ्नै लागि खेल्ने हो । देश भनेको पछाडी आउँछ । समाज भनेको पछाडी आउँछ । खेल्छु-खेल्छु भनिरहँदा देशको लागिसम्म सोच्ने बेला नआउँदै उहाँहरुले आफ्नो लागि नसोच्न नै बाध्य बनाइसकेको स्थितीमा पुर्याइदिनु भएको छ । अनी कसरी देश, परिवार समाजका सोच्ने ? जहाँ आफ्नो लागि सोच्न नसक्ने स्थितीमा पुर्याइिदएको छ । यो कुरा हामी खेलाडीले भनिरहनुपर्छ भन्ने जस्तो लाग्दैन र कसैलाई थाहा नभएको कुरा हामीले भनिरहेको पनि होइन । यो सबैलाई थाहा छ । थाहा हुँदा पनि किन छैन त खेल? त्यही भएर म भन्छु हामी चाँही विदेशको हेर्छौँ माथिको कुरा सोच्छौँ । तर सानो कुराका किन कमजोरी भइरहेको छ त ?
सामान्य कुराहरुबाट सुरुवात गर्नुस् न । हामीलाई त त्यस्तो ठूला कुरा पनि चाहिँदैन । हामीले मागेको छैन । पहिला सामान्य सुविधाहरु दिनुस् । अवसरहरु दिनुस् । त्यही अनुसार खेलाडीलाई बायस र ह्यारेसमेन्ट नगरिदिनुस् । त्यसपछि खेलाडीले आफैँ प्रदर्शन दिन्छौँ । अरु अवसर खेलाडीले म्याग्नेटिक रुपमा तान्दै ल्याउँछन् । अहिलेलाई ठूलो बजेट सोच्नु जरुरी छैन । किनभने केही नहुनु भन्दा केही हुनु बेस हो । तर केही छैन । म पुग्ने गन्तव्य चाही राम्रो छ तर त्यहाँ पुग्नको लागि साधन नै छैन । त्यहाँ पुग्न बाटो नै बनाएको छैन भने त्यो ठाउँमा जति नै हाई-फाई, लक्जरियस बनाइदिए पनि मलाई के काम ? यसले गर्दा नै विदेश पलायन भइरहेको छ ।
अर्को कुरा नयाँ आउने युवाहरु पनि आएर विकास हुनुअघि मरिरहेका छन् । अनी हामी आइराहेका छाैं । म पनि यो ठाउँमा हुन्थेन होला, राम्रो अवसरहरु भाको भए । देखिन्छ रोड रेसहरु कति खेलेको छ । ५-६ वर्षमा एउटा अवसर आउँछ त्यहाँ हामीलेउत्कृष्ट प्रदर्शन दिनुपर्ने रअझ दिइरहेका पनि छाै ।
अरुले विश्वस्तरमा कीर्तिमान बनाए भनेर भन्छन् । तपाईंहरु त्यहाँको लगानी पैसा सेवा र सुविधालाई त अलग्गै राखिदिनु त्यो त हामीले भेट्न नि सक्दैनौं । उनीहरुले कति अवसर पाएकाछन् । कतिपटक हारेका छन् । कतिपटक डिएनएफ(पूरा गर्न नसक्नु) गरेका छन् । कतिपटक डिएनआई (सुधार गर्न नसक्नु) गरेका छन् । कति पटक उनीहरु नराम्रो समयमा कुदेका छन् । अनी वाउ ! भन्ने हुन्छ । तर कति पटक असफल भएको हुन्छ । हामीलाई त फेइलर(असफल) हुने मौका पनि छैन । पदकको कुरा छाडौं हामीलाई असफल हुने मौका पनि दिएको छैन ।
हामी आफैँले आफैँलाई के भन्ने । मानिसहरु जिन्दगी देखेर आत्महत्या गर्छन् नि । एकदमै जिन्दगी देखी हार मान्ने मौका दिएकै छैन । सिधै ‘सुसाइडल फेज’मा पुराइदेको छ जस्तो लाग्छ ।
अनी सुविधा दिनुस् पैसा दिनुस् भन्ने कुरा त आश नै मार्न छाडिसक्यौँ । हामीलाई अव सरहरु मात्र दिनुस् । त्यो पनि ह्यारेसमेन्ट र बायस नगरीकन । सबैलाई समान अवसर दियो भने सबैले राम्रो गर्न सक्छ । हामीलाई सिधै यस्तो अवस्थामा पुर्याएको छ कि हामी सफल हुनुअघि असफल भएर सिक्ने अवस्था पनि छैन ।
देशमै खेल्ने देशमा खेलाउने गेम भनेपछि पहिलो प्राथमिकता दिनुपर्छ । आफ्नो काममा इमानदार भएर देशप्रति बफादार हुने हो भने हामीले पनि त्यसरी सोचेको हुन्छ । हामीले सिधै देशकै लागि भनेर जिन्दगी दिएको त हुँदैन, इमानदार भएर भन्दा आफ्नो लागि खेल्ने हो । प्राथमिकताको आधारमा चाँही देशमा हुने गेम पहिला सोचिन्छ । मेरो देशमा यो खेल हुँदैछ भनेर । मैले अरु अवसरलाई छोड्नुपर्छ । कतिलाई अवसर होला ।अवसर पाउनेलाई पनि समस्या छ नपाउनेलाई पनि समस्या छ । । नपाउनेलाई देखाउने ठाउँ नै छैन ।
पाउनेलाई यो छ है अवसर भनेर उतातिर प्रस्ताव गर्यो ।बरु त्यो प्रस्ताव नगरेको भए यता राम्रो हुन्थ्यो कि ।
त्यही भएर खेलकुदको क्यालेन्डर (तालिका )बनाएर जानुपर्छ । क्यालेन्डरको आधारमा जाँदा त मंसिरको २ गते खेलकुद हुने फागुनमा यो खेल हुने भने हामीले पनि रेस हरुको तालिका मिलाउने मौका पाउँछ । त्यसपछि यो खेलमा यसरी खेल्ने भनेर योजना बनाएपछि खेलमा त्यही अनुसारको प्रदर्शन हुन्छ । क्यालेन्डरको आधारमा भयो भने विदेशबाट आएको अवसरहरु पनि के खेल्ने, कताको अवसर लिने भन्ने सबै कुरा मिलाएर जान सकिन्छ ।
अहिले त के छ भने तयो योजना पनि छैन । मैले बाहिर खेल्न स्वीकार गरेँ भने यता अस्वीकृत हुने हो कि । बाहिर अस्विकार गरेँ भने फेरि यता केही नहुने हो कि ।
त्यस्तो हुँदा खेल भन्दा बाहिरी कुरा धेरै सोच्नुपर्यो। यो खेल हुन्छ भनेर अरु छोड्दै-छोड्दै जाँदा जिन्दगीमा समय धेरै गइसकेको छ । आफू जहाँको त्यहीँ मात्र होइन, त्यो भन्दा तल-तल दबिएको छ ।
मेरो मात्र केस होइन । अरु सबै खेलाडी, समूहगत खेल, व्यक्तिगत खेलमा नै यस्तै समस्या छ । अरु कति खेलाडीहरु म सँग आएर भन्छन् । दिदी म यो पढिराको छु । बाहिर छात्रवृतिको अवसर आएको छ । मलाई एकपटक राष्ट्रिय खेलकुद खेल्ने धोको थियो । मेरो यस्तो लयमा आइराछ खेल नै भइन । अब म के गर्नु भन्दै मकहाँ आउँछन् । मैले केही गर्न सक्दिन उनीहरुलाई । म पनि त्यही अवस्थामा छु भन्छु ।
मेरो व्यक्तिगत कुरा गर्दा मलाई स्थानीय तह र कर्पोरेट हाउसले केही सहयोग गरेको छ । नभए म पनि पहिल्यै पलायन भइसक्थेँ । अब हुन्छु कि त्यो पनि थाहा छैन । हु नोज (के थाहा) । मुख्य कुरा भनेको क्यालेन्डरको आधारमा खेलकुद बनाउनुपर्छ ।
अब क्यालेन्डर भन्नुहोला । त्यसको पनि लागु हुनुपर्यो ।
दशैँ राष्ट्रियको कुरा त नवौँमै घोषणा भएको थियो । क्यालेन्डर त एउटा गेमको त्यही बेला बनेको थियो । अरु कुराले रोकिनुपर्छ वा आफ्नो स्वार्थले गर्दा रोकिने हो भन्ने म मान्दिनन । यदी त्यस्तो हो भने उहाँहरुले घोषणा गर्नुहोस् ५ वर्षमा एक पटक गर्ने भनेर । घोषणा गरेको कुरा सबैजनाले गरिहाल्नुस् । व्यक्तिगत स्वार्थ फाइदा हेर्नुस् । बरु अरुलाई असर नगर्ने गरी हेर्नुस् । फाइदा नहेर्नुस् भनेर सम्भव नै भएन यो देशमा । तर अरुलाई असर नगर्नुस् । देखाउने काम पनि कसैले नगर्नुस् भन्न चाहन्छु ।
अरु प्रधानमन्त्री देखि सबैले गर्नुस् भन्ने कुरा छ । त्यसको चासो त लाग्छ तर चासो दिएर पनि मैले ठ्याक्कै जवाफ पाउँदिन । हामीले भनेको कुरा सही नहुन पनि सक्छ । हामीलाई त्यो कुरा थाहा पनि हुन्न। थाहा दिनु पनि जरुरी छैन । हामीलाई खेल गराइदिए पुग्छ ।
तर मेरो विचारमा दशौँ राष्ट्रिय खेलकुद नहुनु व्यक्तिगत स्वार्थै हो कि जस्तो लाग्छ। किनभने एक जनाले मात्र गर्ने होइन । यहाँ त चरण, चरण छ । कुराहरु नमिलिरहेको हो कि ? उहाँहरुले आफूले भनेको केही कुरा नमिलेर व्यक्तिगत स्वार्थको लागि हजारौँ होइन करोडौँमा असर पार्ने कुरा हो । त्यसैले केही सामान्य व्यक्तिगत कुराले करोडौँमा असर परुला जस्तो लाग्छ ।
म जहिले पनि सकरात्मक सोच राख्ने आशावादी मान्छे हो । दशौँ होस् भनेर आश गर्छु । इमानदार भएर भन्दा मंसिरमा हुन्छ भनेर म शतप्रतिशत पक्का त छैन । २०८२ सालसम्म सम्भावना देख्छु । छिटै हुन्छ भन्नै नसक्ने स्थितिमा छु ।किनभने गेस गर्दा गर्दा असफल भइसकियो ।
(ओलम्पियन,एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठसँग अनलाइनखबरकर्मी गोविन्दराज नेपालले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4