१८ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित हासिल गरेको छ । यसअघि लगातार तीन बराबरी खेलेको रियलले गएराति एथ्लेटिक क्लबलाई उसैको मैदानमा ३-० गोलअन्तरले पराजित गरेको हो ।
रियलको जितमा किलियन एमबाप्पेले दुई गोल गर्दा एडुअर्डो कामाभिङ्गाले एक गोल गरे ।
खेलको सातौं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा कामाभिङ्गाले गोल गरेपछि रियल पहिलो हाफमा २-० ले अगाडि रह्यो ।
दोस्रो हाफको ५९औं मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै रियलको ३-० को जित पक्का गरे ।
जितपछि रियल १५ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । पराजित एथ्लेटिक क्लब २० अंकसहित आठौं स्थानमा छ ।
शीर्षस्थानको बार्सिलोना रियलभन्दा एक अंक अघि छ । रियलले यसअघि लगातार तीन बराबरी खेल्दा बार्सिलोनाले लगातार जित हासिल गर्दै रियललाई उछिनेर शीर्षमा पुगेको थियो ।
प्रतिक्रिया 4