News Summary
Generated by OK AI. Editorially reviewed.- एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग अन्तर्गत एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको छ।
- काठमाडौं उपत्यका छनौट प्रतियोगिता मिड भ्याली सेकेन्डरी स्कुलमा दुई दिन नकआउट आधारमा सञ्चालन हुने आयोजकले जनाएको छ।
- क्षेत्रीय स्तरमा पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि छनौट प्रतियोगिता हुने र कुल ६ टिमले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।
१७ मंसिर, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देष्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।
यसमा काठमाडौं उपत्यका छनौट प्रतियोगिता आइतबार सुरु हुँदैछ । उपत्यका छनौट प्रतियोगिता थिमि, भक्तपुरस्थित मिड भ्याली सेकेन्डरी स्कुलमा दुई दिन सञ्चालन हुने आयोजकले जनाएको छ । त्यसमा ८ स्कुलले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं उपत्यका छनौटको विजेता टिम (स्कुल) राष्ट्रिय स्तरको एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, क्षेत्रीय स्तरमा छनौट प्रतियोगिता पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि आयोजना गरिनेछ ।
प्रत्येक क्षेत्रका छनौटका विजेता गरी कुल ६ टिमले एनकेएल सिजन २ कै अवसरमा हुने एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
एनकेएल सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुट स्तरबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यस प्रतियोगिताले नेपाली कबड्डी र एनकेएलप्रति आकर्षण बढ्ने आशा गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए ।
ग्रासरुटबाट उत्पादित खेलाडी नै व्यावसायिक लिगको लागि तयार हुने विश्वास गरिएको छ ।
एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो ।
संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । एनकेएलको दोस्रो संस्करणको तयारी भइरहेको र त्यसका लागि ५ सय १२ नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन् । जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।
एनकेएल सिजन २ को खेलाडी ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिने आयोजकले जनाएको छ ।
पहिलो संस्करणको एनकेएलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स च्याम्पियन बनेको थियो ।
पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए ।
प्रतिक्रिया 4