+
एनपीएल २०२५ :

लगातार तीन हारपछि लय समात्दै लुम्बिनी

२०८२ मंसिर  १७ गते २२:४४ २०८२ मंसिर १७ गते २२:४४

बुधबार भएको छैटौं खेलमा अंकतालिकामा टप हाफमा रहेको विराटनगर किङ्सविरुद्ध स्टेटमेन्ट जित हासिल गर्दै लुम्बिनीले बीचमा गुमाएको लय फेरि समातेको संकेत दिएको छ ।

लगातार तीन हारपछि लय समात्दै लुम्बिनी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले विराटनगर किङ्सविरुद्धको छैटौं खेलमा १४४ रनको लक्ष्य सहजै पूरा गर्दै तेस्रो जित हासिल गरेको छ।
  • दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीको आगमनपछि विराटनगरको टप अर्डर बलियो भए पनि लुम्बिनीले सफलतापूर्वक रोक्न सफल भएको छ।
  • लुम्बिनीले ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ र प्लेअफको सम्भावना कायम राख्न अन्तिम खेलमा ठूलो अन्तरले जित आवश्यक छ।

१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्सलाई हराएको थियो । गत संस्करण सबैभन्दा खराब नतिजासहित पुछारमा रहेर बाहिरिएको लुम्बिनीले यस संस्करणको सुरुवाती खेल नै जितेर राम्रो संकेत दिएको थियो ।

तर दोस्रो खेलमै लुम्बिनीलाई ठूलो झट्का लाग्यो । कर्णाली याक्ससँगको खेलमा लुम्बिनीले एकपक्षीय हार बेहोर्‍यो । मार्क वाटले शानदार शतक बनाउँदा लुम्बिनी निरीह बनेको थियो र नेट रनरेटमै पनि ठूलो धक्का पुग्नेगरी पराजित भएको थियो ।

त्यस हारले लुम्बिनीको मोमेन्टम पनि बिगारिदियो । त्यसपछि लुम्बिनीले लगातार दुई हार बेहोर्‍यो । टिम सन्तुलित देखिएपनि तालमेल नमिल्दा लुम्बिनीले लगातार तेस्रो हार बेहोरेपछि प्लेअफ सम्भावना कमजोर हुन थाल्यो ।

पाँचौं खेलमा लुम्बिनीले विदेशी खेलाडी थप्नुका साथै टिममा पनि केही परिवर्तन गर्‍यो र पोखरा एभेन्जर्सलाई पराजित गर्‍यो जहाँबाट कम्ब्याकको लक्षण देखिएको थियो । त्यसपछि बुधबार भएको छैटौं खेलमा अंकतालिकामा टप हाफमा रहेको विराटनगर किङ्सविरुद्ध स्टेटमेन्ट जित हासिल गर्दै लुम्बिनीले बीचमा गुमाएको लय फेरि समातेको संकेत दिएको छ ।

दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डुप्लेसीको आगमनपछि विराटनगरको टप अर्डर थप बलियो हुने आँकलन गरिएपनि लुम्बिनीसामू टप अर्डर चल्न सकेनन् । फलस्वरुप लुम्बिनीले विराटनगरलाई मध्यम योगफलमा रोकेर लक्ष्य पनि सहजै पूरा गर्दै तेस्रो जित हासिल गर्‍यो ।

विराटनगरविरुद्ध प्रभावशाली जित

बुधबारको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । विराटनगरले पहिले ब्याटिङ गर्दा आजको खेलमा ओपनिङ जोडी परिवर्तन गरेको थियो ।

दक्षिण अफ्रिकी स्टार फाफ डुप्लेसीको आगमनपछि उनलाई जर्ज मन्सेसँग ओपनिङमा पठाइयो । यद्यपी ओपनिङ राम्रो भने हुन सकेन । मन्से शून्यमै आउट भए भने डुप्लेसी पनि २ चौकासहित १२ रन मात्र बनाएर आउट भए ।

त्यसपछि क्रिजमा रहेका लोकेश बम र अस्ट्रेलियन ब्याटर साम हिजलेटले संयमित ब्याटिङ गर्दै ५५ रनको साझेदारी बनाए । लोकेश ४२ बलमा ३५ रन बनाएर आउट भए भने हिजलेट २० बलमा २७ रन बनाएर आउट भए । त्यसपछि बसिर अहमदले १९ बलमा २८ रन बनाउनुबाहेक गतिलो फिनिसिङ हुन सकेन । विराटनगरले १४४ रनको योगफल खडा गर्‍यो ।

लोकेश बमले खेलपछि आफ्नो ब्याटिङबाट खुसी नभएको प्रतिक्रिया दिएका थिए । ‘मैले राम्रो कन्भर्ट गर्न सकिनँ, अलि लामो खेल्नुपर्ने तर भएन’ उनले भने, ‘म खुसी छैन आफ्नो प्रदर्शनबाट, आउने खेलहरूमा राम्रो गर्ने प्रयास गर्नेछु।’

उनले टप अर्डरबाट राम्रो प्रदर्शन नभएको र २०-३० रन कम भएको उल्लेख गरे ।

लुम्बिनीका लागि शेर मल्लले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । त्यसमा ‌ओपनर मन्सेसँगै साम हिजलेट र नारायण जोशीको विकेट सामेल थियो । उनी प्लेयर अफ द म्याच समेत बने । अभिशेष गौतमले फाफ डुप्लेसीलाई स्टम्प आउट भएका थिए ।

जवाफमा लुम्बिनीले सुरुवातदेखि नै संयमित ब्याटिङ गरिरहेको थियो । सुमित महर्जन १० रनमै आउट भएका थिए भने वान डाउनमा आएका कप्तान रोहित पौडेल शून्यमै आउट भए ।

अर्का ओपनर डार्शी शर्टले भने सुरुवातदेखि नै राम्रो ब्याटिङ गरिरहेका थिए । उनले म्याच विनिङ अर्धशतक बनाए । ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन बनाए। अन्य खेलमा राम्रो सुरुवात पाएर पनि ठूलो बनाउन नसकेका शर्टले आज पनि धैयर्तापूर्ण ब्याटिङ गरेका थिए ।

यस्तै अघिल्लो खेलमा पनि क्यामिओ पारी खेलेका श्रीलंकन निरोशन डिक्‍वेलाले आज पनि अविजित २९ रन बनाए । सन्दीप जोराले २५ रन बनाए । लुम्बिनीले १४ बल अगावै लक्ष्य पूरा गर्‍यो ।

जितपछि लुम्बिनीका खेलाडी सन्दीप जोराले पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ भएकाले जित सम्भव भएको बताए । ‘सबै खेलाडीबाट योगदान भइरहेको छ, डिक्‍वेलाको आगमनले मिडल अर्डर ब्याटिङ पनि सन्तुलित भएको छ’ उनले भने ।

अर्धशतक बनाएपछि शर्ट

फाफको आगमनले उत्साह

दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीलाई अनुबन्ध गरेदेखि नै विराटनगर चर्चामा थियो । उनी दुबईमा टी-१० लिग खेलेकाले सुरुवाती ५ खेलमा विराटनगरका लागि उपलब्ध थिएनन् ।

सोमबार नेपाल आइपुगेका डुप्लेसीले मंगलबार टिमसँग अभ्यास गरेर बुधबारको खेलमा खेलेका थिए । यद्यपी उनको ब्याट भने चल्न सकेन । ९ बलमा १२ रन मात्र बनाउन सके। फिल्डिङमा भने एक उत्कृष्ट क्याच लिएका थिए ।

लोकेशले फाफको आगमनले टिममा नयाँ ऊर्जा थपिएको बताए । ‘धेरै फरक त थिएन, खेलाडीहरू उत्साहित थिए । उनलाई सधैं टिभीमा मात्र देखेको थियौं, सँगै खेल्न पाउँदा धेरै खुसी लाग्यो’ उनले भने, ‘यो सबैको लागि सपनाजस्तै थियो, जित हार आफ्नो ठाउँमा छ तर उनको आगमनले ड्रेसिङ रूपमा सबै खुसी र उत्साहित छन्।’

‘उनीहरूलाई हेरेर नै सिक्न पाइने हो, उनीहरूले कसरी खेलिरहेको छ, कसरी खेल चलाइरहेको छ त्यो हेरेर नै सिक्ने हो’ उनले थपे ।

रोहित पौडेलको क्याच लिएपछि फाफ डुप्लेसी

लोकेशले आफ्ना लागि भने मार्टिन गप्टिल अझ ठूलो खेलाडी भएको समेत बताए । ‘मैले चाहिँ सानैदेखि उनलाई हेर्दै र आइडल मान्दै खेल्न सुरु गरेको हो, विराटनगरको अफिसियललाई पनि धन्यवाद दिनुपर्छ यो वातावरण बनाइदिनुभएकोमा’ लोकेशले भने ।

जोराले पनि फाफ विश्वस्तरीय खेलाडी भएको बताउँदै उनको फ्यान भएपनि आजको खेलमा भने विपक्षीकै रूपमा हेरेको बताए । ‘खुसी त लाग्छ, फ्यान भएपनि आज ओपोजिसनकै रूपमा हेरेका थियौं’ उनले भने ।

प्लेअफको सम्भावना

आजको जितपछि लुम्बिनी ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । विराटनगरको पनि ६ खेलमा ८ अंक छ । लुम्बिनीले अब जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ ।

लुम्बिनीले प्लेअफ पुग्न आफ्नो अन्तिम लिग खेलमा जनकपुरलाई हराउनुपर्नेछ भने पोखरा एभेन्जर्स र चितवन राइनोजले बाँकी एक-एक खेल हार्नुपर्नेछ । अब पोखरा र चितवन एक आपसमा खेल्न बाँकी रहेकोले यदी कुनै एक टिमले दुवै खेल जितेमा र लुम्बिनीले पनि अन्तिम खेल जितेमा ८ अंक पुग्नेछ यस्तोमा नेटरनरेट निर्णायक हुनेछ ।

बिहीबार चितवनले सुदुरपश्चिमसँग र पोखराले काठमान्डु गोर्खाजसँग खेल्दैछ । यदि चितवन र पोखरा पराजित भएमा लुम्बिनीले शुक्रबार जनकपुरलाई हराएर ८ अंकसहित प्लेअफमा छनोट हुनेछ ।

विराटनगरले भने टेबल टपर सुदूरपश्चिमसँग खेल्न बाँकी छ । उक्त खेल जिते स्वत: प्लेअफमा पुग्नेछ । पराजित भएपनि विराटनगर छनोट हुने समीकरण बन्न सक्छ ।

जोराले अन्तिम खेलमा पनि जित निकालेर समीकरणको बारेमा बल्ल ध्यान दिने बताए ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय