१८ मंसिर, चितवन । चितवनको स्मल हेभन स्कुल कल्याणपुरमा १० औं अन्तर विद्यालय एथलेटिक्स मिट सुरु भएको छ । जिल्लाका ३२ वटा निजी विद्यालय सहभागी एथलेटिक्सको उदघाटन कीर्तिमानी पूर्व एथलेटिक्स खेलाडी बैकुण्ठ मानन्धरले गरे ।
३ किलोमिटर लामो दौड प्रतियोगिता आज बिहान शुभारम्भ गरेका मानन्धरले एथलेटिक्समा आफूले जस्तै देशको नाम राख्न खेलाडीहरुलाई हौसला प्रदान गरे ।
यस स्पर्धामा स्मल हेभन स्कुलका उपेश गुरूङ प्रथम, ब्राइट फ्यूचर विद्यालयका विमिन थापा द्वितीय र ओम शान्ति एकेडेमीका एलेक्स अधिकारी तृतीय भए । विजेतालाई मानन्धरले पदक तथा प्रमाणपत्र प्रदान गरे ।
भोलिसम्म चल्ने एथलेटिक्स मिट कार्यक्रममा मानन्धरले विद्यालयस्तरमा नै खेलकुदको विकास गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताए । ‘विद्यालय नै हरेक खेलकुदको राष्ट्रिय प्रतिभा जन्माउने मन्दिरहरु हुन्, विद्यालयले शिक्षाका अलावा खेलकुदलाई पनि प्राथमिकतामा राखे सशक्त खेलाडी जन्माउन सकिन्छ’ मानन्धनरले भने, ‘सरकारी तथा निजी दुबै स्तरका विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ, विद्यार्थी काँचो माटो भएकाले उनीहरूको रूचि र क्षमताको पहिचान विद्यालयस्तरमा नै हुन्छ ।’
स्मल हेभन स्कुल कल्याणपुरका प्रिन्सिपल रामचन्द्र न्यौपानेले जिल्लाभरका विद्यालयहरुलाई सहज हुने गरी उपर्युक्त सिजनमा हरेक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता गर्दै आएको बताए ।
सो कार्यक्रममा विद्यार्थीहरुले चितवनका मौलिक संस्कृति झल्कने नाच प्रस्तुत गरेका थिए ।
विद्यालय प्रशासन प्रमुख कंकलकुमार श्रेष्ठले विद्यार्थीलाई पढाउने मात्रै नभई खेलकुदमा समेत संलग्न गराएर अनुशासित बनाउनुका साथै राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको बताए । उनले हरेक वर्ष विद्यालयले खेलकुद सम्बन्धी विभिन्न गतिविधि गरेर जिल्लाभरका विद्यालयहरूलाई आमन्त्रण गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सुरेन्द्रकुमार बरालका अनुसार बिहीबार दिउँसो विभिन्न चरणका दौड तथा अन्य खेलकुदका प्रतियोगिता हुनेछन् भने शुक्रबार समापन कार्यक्रम राखिएको छ ।
विद्यालयले एथलेटिक्सका साथै, लङजम्प, सटपुट, बास्केटबल, कपर्दी लगायतका खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।
प्रतिक्रिया 4