२० पुस, काठमाडौं । प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट वरपर रहेका पुरातात्विक महत्वको क्षेत्रको जग्गा अधिग्रहणका लागि मुआब्जा दर निर्धारण गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले तिलौराकोट क्षेत्रमा रहेका पुरातात्विक संरचना र वस्तु भेटिएका जग्गा स्थायी रूपमा अधिग्रहण गर्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम गठित मुआब्जा निर्धारण समितिको बैठकले २०८२ साउन १५ गते मुआब्जा दर तोकेको छ । त्यसको जानकारी आज सार्वजनिक सूचना प्रकाशित गरेर दिइएको छ ।
मुआब्जा निर्धारण
निर्णयअनुसार सहायक पीच सडकमा जोडिएको जग्गाको मुआब्जा प्रतिकठ्ठा १८ लाख १६ हजार ५०० रुपैयाँ तोकिएको छ ।
कृषि योग्य जग्गाको मुआब्जा प्रतिकठ्ठा ८ लाख ७६ हजार ७५० रुपैयाँ निर्धारण गरिएको छ ।
सूचनाअनुसार २०८२/८३ मा अधिग्रहण गरिने जग्गामा गोबरी ८. क अन्तर्गत कित्ता नम्बर १२, १९, २१, २२, २४, ६४४, १७३१ र १७८८ का कृषियोग्य जग्गा छन् ।
यसैगरी मलपारा ४. क क्षेत्रका १२, १३, १४, ३२, ३३, ३४, ३५, ३६, ३८, ४१, १२४७, १२४८, १५९०, १६८४, २३७३, २५४४ र २१ नम्बर कित्ताका जग्गा अधिग्रहण गरिने छ । यी पनि कृषियोग्य जग्गा हुन् ।
सहायक पिच बाटोले छोएका मालपारा १ ख. को कित्ता नम्बर ६७६ (घरसमेत) र मालापारा ४ क. को कित्ता नम्बर १८४४ जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सम्बन्धित जग्गाधनीले मुआब्जा दाबी गर्न नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, चालु आर्थिक वर्षसम्मको मालपोत तिरेको रसिद, जग्गाको हकभोगसम्बन्धी सक्कल निस्सा तथा आवश्यक प्रमाणसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
तोकेको म्यादभित्र निवेदन नपरेमा कानुनबमोजिम प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया 4