News Summary
Generated by OK AI. Editorially reviewed.- भारतबाट सुरु भएको चार वर्षे सडक कुकुर अलोका अहिले विश्व शान्ति यात्रामा बौद्ध भिक्षुहरूसँगै पैदल हिँडिरहेको छ।
- अलोका भिक्षुहरूसँग सहयात्रीको रूपमा रहेको छ र उसलाई पाल्तु जनावर नभई स्वतन्त्र सहयात्रीको रूपमा स्वीकार गरिएको छ।
- यो यात्रा टेक्सासबाट सुरु भई वाशिंगटन डीसीमा पुग्नेछ र शान्ति, करुणा र एकताको सन्देश फैलाउने उद्देश्य राखेको छ।
अलोका, एक साधरण कुकुर । हिजोसम्म ऊ सडकमा थियो । भोक, पीडा, त्रासदी सहेर अरू सडक कुकुरजस्तै उसका चिसा रातहरू गुज्रिन्थ्यो । उपेक्षा र असुरक्षाले उसलाई लखेटिरहन्थ्यो । उसको कुनै मालिक थिएन, न नियमित खान दिने मान्छे । उसका लागि हरेक पल अनिश्चित हुन्थ्यो ।
अलोकाको कथा भारतबाट सुरु हुन्छ । त्यसबेला अलोका लगभग ४ वर्षको थियो । बौद्ध भिक्षुहरू पैदल यात्रा गरिरहेको बेला यो कुकुर स्वतस्फूर्त उनीहरूको लस्करमा मिसियो । अलोकालाई प्रशिक्षित गरिएको थिएन । न उनलाई कसैले डोहोर्याएको थियो । ऊ आफैंले भिक्षुहरूको संगत रोजेको थियो ।
भिक्षुहरूसँगै हिँड्न थालेपछि उनीहरूले यसको नाम राखे, अलोका । यसको अर्थ संस्कृतमा ‘प्रकाश’ वा ‘शान्ति’ हुन्छ । यो नामले उसको व्यक्तित्वलाई प्रतिबिम्बित गर्छ– ऊ शान्त, मित्रवत् र सुरक्षात्मक छ । भिक्षुहरूका अनुसार, अलोका यात्रामा उनीहरूसँगै हिँड्न थालेपछि उनीहरूको अपरिहार्य साथी बनेको छ।
अलोका अहिले विश्व शान्ति यात्राका एक यात्रु बनेका छन्, जसमाथि विश्वभरको नजर छ । यसलाई ‘अलोका द पिस डग’ नाम दिइएको छ । अमेरिकामा १९ जना बौद्ध भिक्षुहरूले सुरु गरेको २३०० माइल लामो पैदल यात्रामा यो कुकुर पनि साथमा छ ।

यो पैदल यात्रा टेक्सासको फोर्ट वर्थबाट सुरु भएको हो र वाशिंगटन डीसीमा समाप्त हुने अपेक्षा छ । यात्राको कुल दूरी २,३०० माइल छ, जसमा भिक्षुहरूले विभिन्न शहरहरू हुँदै पैदल हिँडिरहेका छन् । यो यात्रा २०२५ को अन्त्यतिर सुरु भएको थियो र २०२६ को फेब्रुअरीमा भर्जिनियामा पुग्ने अनुमान छ ।
यो यात्रालाई ‘वाक फर पिस’ (शान्तिका लागि पैदल यात्रा) नाम दिइएको छ, जसको उद्देश्य शान्ति, करुणा र एकताको सन्देश फैलाउनु हो । अलोकाले भिक्षुहरूका साथमा यात्रा गर्दै गर्दा, ऊ आफैं शान्तिको प्रतीक बनेको छ र सामाजिक सञ्जालहरूमा भाइरल भएको छ। इन्स्टाग्राम, रेडिट र एक्समा उसका भिडियोहरू र फोटोहरू लाखौंले हेरेका छन् ।
भिक्षु र कुकुरबीचको सम्बन्ध
बौद्ध भिक्षुहरूको जीवनशैली सरल र अनुशासित हुन्छ । उनीहरू अनावश्यक अधिकार जमाउँदैनन्, न त प्राणीमाथि स्वामित्वको भावना राख्छन् । यही कारण अलोकासँगको सम्बन्ध पनि स्वामित्वमा होइन, सहयात्रामा आधारित देखिन्छ ।
अलोका भिक्षुहरूसँगै लामो दूरीसम्म हिँड्ने, विहार परिसरमा शान्त भएर बस्ने र ध्यानका बेला कुनै अवरोध नगर्ने स्वभावका छन् । उसले भिक्षुहरूको मौनता, धैर्य र शान्त व्यवहारबाट सिकेर त्यहीअनुसार आफूलाई ढाल्दै गएको अनुमान गर्न सकिन्छ । यो कुनै प्रशिक्षणको परिणाम होइन, बरू वातावरण र व्यवहारको प्रभाव हो ।

अलोका र बौद्ध दर्शन
बौद्ध दर्शनमा सबै प्राणी दुःखबाट मुक्त हुन चाहन्छन् भन्ने मान्यता छ । त्यसैले पशु र मानवबीच मौलिक भिन्नता भन्दा पनि साझा संवेदनशीलता महत्वपूर्ण ठानिन्छ । अलोकाको कथा यही दर्शनसँग मेल खान्छ ।
भिक्षुहरूले अलोकालाई ‘पाल्तु जनावर’का रूपमा होइन, सहयात्रीका रूपमा स्वीकार गरेको देखिन्छन् । अलोकालाई न त विशेष सुविधा दिइयो, न त उपेक्षा गरियो । आवश्यक परे उसलाई खाना बाँडियो, बिरामी हुँदा हेरचाह गरियो, तर उसलाई स्वतन्त्र रहन दिइयो । यही स्वतन्त्रता नै बौद्ध करुणाको व्यावहारिक रूप हो ।
अलोकाको कथा सामाजिक सञ्जालहरूमा भाइरल भएको छ । यो कुकुरले यात्रालाई मात्रै लोकप्रिय बनाएको छैन, यसले सडक कुकुरहरूको उद्धार र पशु कल्याणको महत्व पनि उजागर गरेको छ । भारतमा सडक कुकुरहरूको समस्या ठूलो छ, र अलोकाको सफल कथाले अन्य कुकुरहरूलाई पनि अपनाउने प्रेरणा दिन सक्छ।
बौद्ध दर्शन करुणा, अहिंसा र सबै प्राणीप्रति समान भावनाको शिक्षामा आधारित छ। यो दर्शन केवल ग्रन्थ र प्रवचनमा सीमित छैन, व्यवहारमा पनि प्रकट हुन्छ । यही व्यवहारिक करुणाको एउटा सजीव उदाहरण बनेको छ—बौद्ध भिक्षुसँगै हिँड्ने कुकुर ‘अलोका’।
प्रतिक्रिया 4