News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सले भियतनामको दबाबमा विवादित 'नाइन-ड्यास लाइन' देखाउने चिनियाँ सिरिज 'साइन अन मी' आफ्नो भियतनाम प्लेटफर्मबाट हटाएको छ।
- भियतनामले जनवरी ३ मा संस्कृति मन्त्रालयमार्फत नेटफ्लिक्सलाई २४ घण्टामा उक्त सिरिज हटाउन निर्देशन दिएको थियो।
- चीनले दक्षिण चीन सागरमा आफ्नो क्षेत्रीय दाबी गर्दै आएको 'नाइन-ड्यास लाइन'लाई भियतनामले राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन भन्दै विरोध गरिरहेको छ।
दक्षिण चीन सागरमा विवादित क्षेत्रीय दाबी भएको नक्सा प्रस्तुत गर्ने एपिसोडमा हनोईले आपत्ति जनाएपछि नेटफ्लिक्सले आफ्नो भियतनाम प्लेटफर्मबाट चिनियाँ सिरिज हटाएको छ ।
२७ एपिसोडको रोमान्स ड्रामा ‘साइन अन मी’ मा कथित ‘नाइन-ड्यास लाइन’ का फोटो समावेश छन् जसलाई भियतनामले ‘गलत’ र ‘राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन’ भनेर निन्दा गरेको छ ।
चीनले दक्षिण चीन सागरमा आफ्नो क्षेत्रीय दाबीलाई सीमाङ्कन गर्न आफ्नो नक्सामा रेखा प्रयोग गर्दछ । भियतनाम यी दावीहरूको विरोध गर्ने धेरै देशहरू मध्ये एक हो ।
भियतनामको संस्कृति मन्त्रालयले जनवरी ३ मा श्रृंखला हटाउन माग गर्दै नेटफ्लिक्सलाई २४ घण्टाको समय दिएको थियो । अहिले नेटफ्लिक्सको भियतनाम प्लेटफर्मबाट उक्त श्रृंखला हटाइएको छ ।
विवादित नक्सा ‘साइन अन मी’ को एपिसोड २५ मा धेरै पटक देखा परेको छ, जसलाई चीनको सौर्य ऊर्जा क्षमताको बारेमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका मुख्य पात्र एउटा भाषणको क्रममा उपस्थित हुन्छन् जहाँ ‘नाइन-ड्यास’ रेखाको भाग देखाउने चीनको नक्सा एउटा अडिटोरियम स्क्रिनमा प्रस्तुत गरिन्छ ।
‘साइन अन मी’ चीन र अन्य क्षेत्रहरूमा लोकप्रिय छ । यो सिरिज हटाइनुअघि सिंगापुर, ताइवान र भियतनाममा नेटफ्लिक्सको शीर्ष १० कार्यक्रम मध्ये एक थियो ।
बेइजिङले प्रतिबन्धको बारेमा आधिकारिक रूपमा टिप्पणी गरेको छैन, यद्यपि उसको सरकारी पत्रिका ग्लोबल टाइम्सले मंगलबार हनोईलाई “दक्षिण चीन सागरको मुद्दाबाट सांस्कृतिक आदानप्रदानलाई अलग राख्न’ आग्रह गर्दै एक लेख प्रकाशित गरेको छ ।
भियतनाम, फिलिपिन्स, ताइवान, मलेसिया र ब्रुनाईका विरोधको बाबजुद पनि हालैका वर्षमा चीनले दक्षिण चीन सागरका धेरै भूभाग र छेउछाउको पानीमा आफ्नो सार्वभौमिकताको दाबी गर्दै आएको छ ।
सन् २०२३ मा पनि भियतनामले नेटफ्लिक्सलाई यस्तै नक्सामा अर्को चिनियाँ सिरिज ‘फ्लाइट टु यु’ हटाउन आदेश दिएको थियो । नाइन-ड्यास लाइन प्रस्तुत गरेको कारण भियतनामले प्रतिबन्ध लगाएका चिनियाँ सिरिज यी मात्र होइनन् ।
अधिकारीहरूले सन् २०२३ मा वार्नर ब्रदर्सको हलिउड ब्लकबस्टर ‘बार्बी’ र सन् २०१६ मा ड्रीमवक्र्सको एनिमेटेड फिल्म ‘अबोमिनेबल’ माथि प्रतिबन्ध लगाएका थिए ।
प्रतिक्रिया 4