२२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा कोषाध्यक्ष लिमा अधिकारी, सोबिता गौतम र बसुमाया तामाङ अनुपस्थित छन् । अधिकारी देशबाहिर रहेको र गौतम पार्टी कार्यक्रममा झापा जाने कार्यक्रम रहेकाले अनुपस्थित रहेको प्रवक्ता झाले बताए ।
त्यस्तै, तामाङ उपस्थित हुनेबारे जानकारी आएको र हालसम्म अनुपस्थित रहेको उनले बताए । बैठकमा छलफलका १० वटा कार्यसूची छन् ।
कार्यसूचीको पहिलो नम्बरमै ‘प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति’ तय गर्ने विषय छ । साथै, उम्मेदवार सिफारिस उपसमिति विस्तार गर्ने लगायतका कार्यसूची रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय आगामी माघ ६ गतेका लागि तय भएको छ ।
समानुपातिक तर्फको बन्दसूची दलहरूले निर्वाचन आयोगमा बुझाइसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् ।
समानुपातिक तर्फको बन्दसूचीउपर त्रुटि सच्याउने समय छ । दलहरूले यही पुस २१ देखि २७ गतेसम्म त्रुटि सच्याउने समय पाएका छन् । उम्मेदवारी फिर्ता लिन चाहनेलाई पुस २८ गतेको समय छ ।
रास्वपाले समानुपातिक तर्फको उम्मेदवारको परिचालनको विषयमा समेत सचिवलय बैठकमा छलफल गर्दैछ ।
प्रतिक्रिया 4