
अहिलेको समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हाम्रो दैनिक जीवनका हरेक पहलुहरुमा जबरजस्त रुपमा प्रवेश गरिरहेको छ । यो प्रविधिले हाम्रो काम गर्ने तरिका मात्र होइन, सोच्ने तरिका समेत परिवर्तन गरिरहेको छ । इन्टरनेटमा प्रश्नको उत्तर खोज्न, इमेल लेख्न, मनपर्ने गीत सुन्नदेखि लिएर विभिन्न डिजिटल गतिविधिहरूमा एआईले ठूलो भूमिका खेल्दैछ। यद्यपि यसले हाम्रो काम सजिलो र छिटो त बनाइरहेको छ। तर यससँगै एउटा महत्वपूर्ण प्रश्न उठिरहेको छ : के हामीहरु अत्यधिक रुपमा एआईमाथि निर्भर हुँदा हाम्रो सोच्ने क्षमता र विशेष गरी आलोचनात्मक सोच (क्रिटिकल थिङ्किङ) मा ह्रास आइरहेको त छैन ? के यसले हाम्रो मस्तिष्कलाई सुस्त बनाउँदैछ ?
के हो आलोचनात्मक सोँच अर्थात् क्रिटिकल थिङ्किङ के हो ?
आलोचनात्मक सोँच भन्नाले कुनै विषयलाई गहिरो अध्ययन गरेर, सबै पक्षबाट विचार गरेर निष्पक्ष मूल्याङ्कन गर्ने क्षमता बुझिन्छ। यो एउटा यस्तो प्रक्रिया हो जसले हामीलाई समस्या समाधान गर्न, सही निर्णय लिन र नयाँ चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ। अमेरिकाको भर्जिनिया विश्वविद्यालयका मनोविज्ञानिक ा. ड्यानियल विलिङहमका अनुसार, हामी दैनिक जीवनमा धेरैजसो कुराहरूमा आफ्नोे स्मृति (पुराना अनुभव र जानकारी) मा निर्भर रहन्छौं। तर नयाँ र जटिल समस्याहरूको सामना गर्दा चाहीँ हाम्रो आलोचनात्मक चेत काम आउँछ।
डा. विलिङहम भन्छन्, : स्मृति धेरै महत्वपूर्ण हुन्छ र यसबाट धेरै समस्या समाधान हुन्छन्। तर कहिलेकाहीँ, जब नयाँ प्रकारका समस्या आउँछन्, तब पुरानो अनुभवले काम गर्दैन र हामीले नयाँ तरिकाले सोच्नुपर्छ।
यो सोच्ने प्रक्रिया मस्तिष्कको ‘प्रीफ्रन्टल कोर्टेक्स’ नामक भागले नियन्त्रण गर्छ। यो अधिक सक्रिय हुँदा हामीलाई थकान महसुस हुन्छ। त्यसैले कहिलेकाहीं हामी सजिलो बाटो रोज्छौँ, अर्थात् पहिलेका अनुभवमै निर्भर हुन चाहन्छौं। जसले गर्दा नयाँ तरिकाले सोच्ने अवसर कम गराउँछ ।
एआई र यसको प्रभाव
स्विजरल्याण्डको एसबीएस बिजनेस स्कूलका प्राध्यापक डा. माइकल ग्यारलिकका अनुसार एआई एउटा यस्तो प्रविधि हो जसले मानिसको सोच र निर्णय प्रक्रियाको नक्कल गर्छ। यसले ठूलो मात्रामा डेटा विश्लेषण गरेर उत्तर दिन्छ र कहिलेकाहीं हाम्रो सट्टा निर्णय पनि लिन्छ।
उनी भन्छन् : एआईले सन्दर्भ अनुसार एउटै प्रश्नका फरक–फरक उत्तर दिन सक्छ। यसलाई लार्ज ल्याङ्ग्वेज मोडेल भनिन्छ, जसले निरन्तर नयाँ डेटा संकलन गर्छ। तर यो प्रविधिले साँच्चिकै कुरा ‘बुझ्ने’ भने होइन। प्रयुक्त शब्दहरूको आधारमा अनुमान मात्र लगाउने काम गर्छ।
एआईले धेरै काम छिटो र सहज बनाएको भए पनि यसले हाम्रो सोच्ने प्रक्रियालाई प्रभावित पारिरहेको छ। एनका अनुसार जब हामी एआईमा अत्यधिक निर्भर हुन्छौँ आफ्नो बुद्धि, विवेक र आलोचनात्मक सोच कम प्रयोग गर्न थाल्छौँ ।
एआई र आत्मविश्वासमा कमी
धेरै अध्ययनहरूले देखाएका छन् कि अत्यधिक एआईमा निर्भरताले मानिसहरूको आलोचनात्मक सोँचाई र चेतना क्षमतामा नकारात्मक असर पार्छ। यस्तो हुँदा मानिसहरू सजिलो बाटो रोज्छन् र आफ्नै सोच र निर्णयमा कम विश्वास गर्न थाल्छन्। यो कुरा अहिले विश्वभर गम्भीर बहसको विषय बनेको छ। वास्तवमा प्रविधिको सहजतासँगै मानिसहरूको साोच्ने, विश्लेषण गर्ने र निर्णय लिने क्षमतामा ह्रास आउन थालेको देखिएको छ।
म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीको मिडिया ल्याबद्वारा गरिएको एउटा अध्ययनमा एआई प्रयोग गरेर निबन्ध लेख्ने सहभागीहरु समयसँगै थप अल्छी बनेको र उनीहरुको आलोचनात्मक सोँच समेत कमजोर बनेको पाइएको छ ।
शैक्षिक क्षेत्रमा एआईको प्रयोग
सिंगापुरस्थित डिजिटल प्लेटफर्म ‘नूडल फ्याक्ट्री’की संस्थापक यूवान सोका अनुसार, एआईले शिक्षण क्षेत्रमा ठूलो भूमिका खेलिरहेको छ। यो प्लेटफर्मले विद्यार्थीहरूलाई प्रश्नहरू बारम्बार सोध्न र आफ्नो मातृभाषामा पढ्न सहयोग पुर्याउँछ, जसले उनीहरूको बुझाइ र सिकाइलाई सहज बनाउँछ।
यूवान सो भन्छिन् : एआईले शिक्षकहरूको ग्रेडिङ जस्ता काम र सामान्य प्रश्नहरूको जवाफ दिन्छ। त्थापि यसले शिक्षकको पूरा स्थान भने लिन सक्दैन।
उनका अनुसार, एआईले विद्यार्थीहरूलाई सिकाइमा सहयोग गरे पनि उनीहरूले आफै सामग्री संकलन गर्ने तथा सोँचविचार गर्ने गर्नुपर्छ । जसले क्रिटिकल थिङ्किङलाई जागृत राख्छ। तर शिक्षण र मूल्याङ्कनका नयाँ तरिका पनि अपनाउनु जरुरी छ ताकि एआईको प्रभावलाई सकारात्मक दिशामा लैजान सकियोस् ।
मस्तिष्कको प्रयोग र एआईको सन्तुलन
लन्डनको किंग्स कलेजकी प्राध्यापक सना खरेन्घानीका अनुसार एआई प्रयोग गर्दा पनि हामीले हाम्रो आफ्नै दिमागको प्रयोग गर्न जरुरी हुन्छ। हामीले एआईबाट प्राप्त उत्तरलाई गहिरो सोच–विचार गरेर मात्र प्रयोग गर्नुपर्छ। बच्चाहरूलाई पनि यो कुरा सिकाउनु पर्छ कि एआईमाथि पूर्ण रुपमा विश्वास गर्नु हुँदैन र त्यसमा पनि प्रश्न उठाउन सक्नुपर्छ ताकि यो प्रविधि हाम्रो नियन्त्रणमा रहोस्।
सरकारले एआई प्रविधिमा पारदर्शिता र नियन्त्रण कायम गर्नुपर्ने उनको मत छ । यसबाट हामीलाई थाहा होस् कि एआईले दिएको सुझाव कति भरपर्दो छ। यसले उपभोक्ताहरूलाई सचेत बनाउँछ र अविवेकी निर्णयबाट जोगाउँछ।
एआई र हाम्रो सोच्ने क्षमता
एआईले हाम्रो उत्पादकत्व र सिकाइमा ठूलो मद्दत गरेको छ। तर यसको अत्यधिक प्रयोगले हामीलाई हाम्रो मस्तिष्कको कम प्रयोग गर्न लगाउँछ। ज्सका कारणले गर्दा हाम्रो सोच्ने, विश्लेषण गर्ने र निर्णय लिने क्षमतामा कमी ल्याउन सक्छ ।
हामीले एआईका जवाफहरूलाई सधैं विश्वास गर्नु हुँदैन। ती जवाफहरूलाई सावधानीपूर्वक मूल्याङ्कन गरी हाम्रो बुद्धि र समझदारी प्रयोग गर्न आवश्यक छ।
डा. खरेन्घानी भन्छिन् : एआईलाई यसरी प्रयोग गर्नुपर्छ कि यो हाम्रो सहायक होस्, तर हामीलाई आफैले सोच्नबाट टाढा नलगोस् । एआई र हाम्रो दिमागको प्रयोगबीच सन्तुलन राख्नु अत्यावश्यक छ।
यसरी मानिसको सोच्ने क्षमता र एआईबीचको सन्तुलन कायम गरेर मात्र हामी भविष्यका चुनौतीहरूलाई प्रभावकारी तरिकाले सामना गर्न सक्षम हुनेछौं । एआईको विकाससँगै हाम्रो मस्तिष्क र बुद्धिको विकास पनि हुनुपर्छ, तब मात्र प्रविधिको सही सदुपयोग हुनसक्छ ।
-बीबीसीबाट ।
प्रतिक्रिया 4