+
+
Shares

दिमागले गर्नुपर्ने काम एआईलाई सुम्पिँदा सोच्ने क्षमतामा खिया लाग्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कम्प्युटेसनल न्यूरोवैज्ञानिक भिभियन मिङका अनुसार एआईमा निर्भर हुँदा दिमागको गामा वेभ सक्रियता कम भएर बौद्धिक ह्रास हुन सक्छ।

हाम्रो मस्तिष्कले सधैं सजिलो बाटो खोज्छ । अहिले एआईले हामीलाई धेरै कुरामा सजिलो बनाइदिएको छ । लामो प्रक्रिया लगाएर गर्नुपर्ने कामहरू केही क्षणमै एआईले गर्ने सामर्थ्य राख्छ । तर, यो क्रम बढ्दै जाँदा मान्छेले आफ्नो सिर्जनशीलता र बौद्धिक अस्तित्व गुमाउन सक्ने बहस प्राज्ञिक तहमा भइरहेको छ ।

निश्चय पनि, एआईको बढ्दो प्रयोगले हाम्रो दैनिक जीवनलाई सहज त बनाएको छ । तर, यसले हाम्रो सोच्ने र बुझ्ने क्षमतालाई बिस्तारै नष्ट गर्ने प्रश्न हामीसामु खडा छ । लार्ज ल्याङ्ग्वेज मोडल जस्तै च्याटजीपीटी, जेमिनाई र क्लडले हामीले दिमाग लगाउनुपर्ने कामहरू गर्न थालेपछि केही वैज्ञानिकहरूले गम्भीर चेतावनी दिन थालेका छन् ।

बौद्धिक कामको आउटसोर्सिङ (आफ्नो काम अरुलाई गर्न लगाउनु) मानवका लागि ठूलो मूल्य पर्ने उनीहरूको भनाइ छ ।

000

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)की अनुसन्धान वैज्ञानिक नाताल्या कोस्मिनाले विद्यार्थीहरूमा एउटा अनौठो परिवर्तन देखिन् । उनले प्राप्त गर्ने इन्टर्नशिपका आवेदनहरू एकैनासका हुन थालेका थिए ।

साथै विद्यार्थीहरूले पढेका कुराहरू पहिलेको तुलनामा सजिलै बिर्सन थालेका थिए । त्यसपछि कोस्मिना र उनको टोलीले ५४ जना विद्यार्थीमाझ एक अध्ययन गरे ।

त्यसक्रममा निबन्ध लेख्दा एआई प्रयोग गर्नेहरूको मस्तिष्कको सक्रियता प्रयोग नगर्नेहरूको तुलनामा ५५ प्रतिशतसम्म कम पाइएको थियो । मस्तिष्कको सिर्जनशीलता र जानकारी प्रशोधन गर्ने भागहरू एआई चलाउँदा लगभग निस्क्रिय जस्तै देखिएका थिए ।

अझ डरलाग्दो कुरा त के छ भने एआईको सहयोगमा निबन्ध लेख्ने विद्यार्थीहरूले काम पूरा भएपछि आफूले के लेखें भन्ने कुरा समेत सम्झन सकेनन् । उनीहरूमा आफ्नो कामप्रति कुनै अपनत्वको भावना थिएन ।

उक्त अनुसन्धानले कग्निटिभ अफलोडिङ (आफ्नो दिमागले गर्नुपर्ने काम मेसिनलाई सुम्पने प्रक्रिया) ले हाम्रो मानसिक क्षमतामा खिया लगाइरहेको पुष्टि गरेको थियो ।

यसलाई पेन्सिलभेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले कग्निटिभ सरेन्डर (मानसिक आत्मसमर्पण) को संज्ञा दिएका छन् । अर्थात् मान्छेहरूले आफ्नो विवेकभन्दा बढी एआईको कुरालाई आँखा चिम्लेर विश्वास गर्छन् ।

000

कम्प्युटेसनल न्यूरोवैज्ञानिक भिभियन मिङका अनुसार गहिरिएर, तार्किक भएर सोच्ने शक्ति नै मान्छेको सबैभन्दा ठूलो शक्ति हो । तर एआईमा निर्भर हुँदा हाम्रो दिमागले कसरत गर्न पाउँदैन ।

अनुसन्धानले पनि दिमागको ‘गामा वेभ’ को सक्रियता कम भए भविष्यमा बौद्धिक ह्रास वा डिमेन्सिया हुन सक्ने देखाएको छ । एआईले गामा वेभमा गम्भीर प्रभाव पार्ने बताइएको छ । जसरी गुगल म्याप्सको अत्यधिक प्रयोगले मानिसको दिशा सम्झने क्षमता कमजोर बनाएको छ । यदि त्यसो हुँदा हाम्रो तर्क गर्ने र समस्या समाधान गर्ने क्षमतालाई कमजोर हुने सम्भावना बढ्छ ।

मेडिकल क्षेत्रमा गरिएको एक अध्ययनमा एआईको सहयोगमा क्यान्सर स्क्रिनिङ गर्ने डाक्टरहरू पछि एआई बिना रोग पत्ता लगाउन पहिलेभन्दा कमजोर भएको पाइएको थियो ।

समाधान र चुनौती

विज्ञहरू एआईलाई पूर्णरूपमा निषेध गर्नुपर्छ भन्दैनन् । यसलाई प्रयोग गर्ने तरिका बदल्न सुझाव दिन्छन् । मिङका अनुसार हामीले हाइब्रिड इन्टेलिजेन्सको बाटो रोज्नुपर्छ । त्यो भनेको मानिस र मेसिन मिलेर काम गर्छन् । तर सोच्ने मुख्य जिम्मेवारी मान्छेकै हुन्छ ।

उनले केही उपायहरू सुझाएकी छिन्:

१. नेमेसिस प्रम्प्ट

एआईलाई उत्तर सोध्नुको सट्टा उसलाई आफ्नो शत्रु बन्न लगाउने । र, तपाईंका विचारहरू किन गलत छन् भनेर तर्क गर्न लगाउने । यसले तपाईंलाई आफ्नो विचार रक्षा गर्न र अझ गहिराइमा सोच्न सहयोग गर्छ ।

२. उत्पादक घर्षण

एआईलाई सिधै उत्तर नदिन निर्देशन नदिने । बरु उसलाई सही उत्तरमा पुग्न मद्दत गर्ने प्रश्नहरू मात्र सोध्न लगाउने ।

३. पहिले मौलिक सिकाइ

कुनै पनि विषयको आधारभूत जग एआई बिना नै बनाउने । पछि मात्र एआईको सहयोग लिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?