+
+
Shares

स्क्रिनमा हराइरहेको बाल्यकाललाई सन्तुलनतर्फ फर्काऊँ

अध्ययनले देखाएका छन्- नियमित ध्यान अभ्यासले एकाग्रता बढाउँछ, तनाव घटाउँछ, धैर्यको विकास र भावनात्मक सन्तुलन सुधार गर्छ। यसको सकारात्मक प्रभाव सिकाइको गुणस्तरमा पनि प्रत्यक्ष रूपमा देखिन्छ।

सुयश भण्डारी सुयश भण्डारी
२०८३ वैशाख २९ गते ७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको शिक्षा प्रणालीमा पाठ्यक्रम सुधार, सीप विकास, प्रविधिको प्रयोग र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको छ।
  • अत्यधिक स्क्रिन प्रयोगले बालबालिकाको ध्यान क्षमता, धैर्य र भावनात्मक सन्तुलनमा नकारात्मक असर पार्ने अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले जनाएको छ।
  • स्वामी क्रियानन्दका अनुसार शिक्षा केवल जानकारी दिने प्रक्रिया होइन, बालबालिकालाई जीवन जिउन सिकाउनु हो र शिक्षकले उदाहरण बन्नुपर्छ।

नेपालको शिक्षा प्रणाली अहिले परिवर्तनको चरणमा छ। लामो समयसम्म मुख्यतः सैद्धान्तिक ज्ञानमा आधारित हाम्रो शिक्षा प्रणालीमा अहिले पाठ्यक्रम सुधार, सीप विकास, अतिरिक्त क्रियाकलाप, पुस्तकरहित शुक्रबार तथा शिक्षामा प्रविधिको प्रयोग जस्ता विषयलाई प्राथमिकता दिन थालिएको छ।

परम्परागत ढाँचामा चलिरहेको शिक्षामा यस्ता सुधारहरू सकारात्मक भए पनि एउटा गम्भीर यथार्थ बुझ्न आवश्यक छ। आजको समयमा केवल पाठ्यक्रम र शैक्षिक सुधार मात्र पर्याप्त छैन।

डिजिटल युगको तीव्र विस्तारसँगै बालबालिकाले आफ्नो मनलाई कसरी स्थिर र सन्तुलित राख्ने भन्ने कुरा सिक्नु अहिलेको नयाँ आवश्यकता बनेको छ। पढाइसँगै ध्यान, संगीत र खेलकुदलाई पनि बालबालिकाको समग्र विकासका आधारभूत पक्षका रूपमा समान महत्त्व दिनुपर्ने आवश्यकता बढ्दो छ।

यी तीन पक्षले मन, भावना र शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्छन्। यदि विद्यार्थीले यी सबै क्षेत्रमा सक्रिय रूपमा सहभागी हुनसके त्यो सबैभन्दा राम्रो अवस्था हो। तर सम्भव नभए पनि कम्तीमा एउटा वा दुई क्षेत्रमा नियमित संलग्नता बालबालिकाको सर्वाङ्गीण विकासका लागि अत्यन्त आवश्यक छ।

यहींबाट शिक्षा “के सिकाउने” भन्दा “कसरी बाँच्न सिकाउने” दिशातर्फ प्रवेश गर्छ। यस सन्दर्भमा बढ्दो स्क्रिन समय बीच ध्यानले बालबालिकालाई कसरी पुनः सन्तुलनमा ल्याउन सक्छ भन्ने विषय अत्यन्त महत्वपूर्ण बनेको छ।

आजको एउटा सामान्य दृश्य हेरौं- बच्चाको हातमा मोबाइल छ, भिडियो चलिरहेको छ, र बच्चा शान्त देखिन्छ। अभिभावकलाई लाग्छ, “सबै ठीक छ।” तर त्यो शान्ति वास्तविक होइन; त्यो केवल बच्चाको ध्यान कब्जा भएको अवस्था मात्र हो।

बाहिरबाट बच्चा स्थिर देखिए पनि स्क्रिनको प्रत्येक स्क्रोलसँगै उसको मन लगातार एउटा दृश्यबाट अर्को दृश्यतर्फ दौडिरहेको हुन्छ। यही बानीले विस्तारै ध्यान क्षमता, एकाग्रता, धैर्य र भावनात्मक सन्तुलनलाई कमजोर बनाउन थाल्छ। पछि यही असर शारीरिक अवस्था, बौद्धिक क्षमता र शैक्षिक प्रदर्शनमा समेत स्पष्ट देखिन थाल्छ।

विश्वका विभिन्न अध्ययनले पनि यही चिन्ता व्यक्त गरेका छन्। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार अत्यधिक स्क्रिन प्रयोगले साना बालबालिकामा ध्यान केन्द्रित गर्ने क्षमता घटाउने, धैर्य कम गर्ने, भावनात्मक असन्तुलन बढाउने तथा निद्रा सम्बन्धी समस्या निम्त्याउने देखिएको छ।

त्यसैले उनीहरूले साना बालबालिकाका लागि स्क्रिन प्रयोग अत्यन्त सीमित हुनुपर्ने र अभिभावकको उपस्थितिमा गुणस्तरीय सामग्री मात्र प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।

शिक्षाको उद्देश्य केवल भविष्य बनाउनु होइन, जीवन जिउन सिकाउनु पनि हो।

अहिले बालबालिका गेमिङमा अत्यधिक तल्लीन भइरहँदा “गेमिङ डिसअर्डर” जस्ता समस्या पनि देखिन थालेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार गेमकै कारण खानपान, निद्रा र सामान्य व्यवहारमा असर पर्नु गेमिङ डिसअर्डर हो। हार्वर्ड मेडिकल स्कूलसँग सम्बन्धित अनुसन्धानहरूले ध्यान अभ्यासले मस्तिष्कका ध्यान र आत्मनियन्त्रणसँग सम्बन्धित भागहरूलाई बलियो बनाउने देखाएका छन्। यसले एउटा कुरा स्पष्ट गर्छ- समस्या प्रविधि होइन; समस्या यसको असन्तुलित प्रयोग र “अप्रशिक्षित ध्यान” हो।

यही सन्दर्भमा स्वामी क्रियानन्दले एजुकेशन फर लाइफमा व्यक्त गरेका विचार अत्यन्त सान्दर्भिक देखिन्छन्। उहाँका अनुसार शिक्षा केवल जानकारी दिने प्रक्रिया होइन; साँचो शिक्षा भनेको बालबालिकालाई जीवन जिउन सिकाउनु हो। मनलाई नियन्त्रण गर्न, भावनालाई सन्तुलनमा राख्न र परिस्थितिहरू जस्तोसुकै भए पनि भित्रबाट शान्त रहन सक्ने क्षमता विकास गर्नु हो। शिक्षा शब्दभन्दा व्यवहारमा झल्किन्छ, त्यसैले शिक्षक स्वयं उदाहरण बन्न सके मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ।

लेखक- सुयश भण्डारी ।

स्वामी क्रियानन्दले आधुनिक शिक्षाको एउटा गम्भीर कमजोरीतर्फ पनि ध्यानाकर्षण गर्नुहुन्छ। हामीले ज्ञानलाई बुद्धिसँग भ्रमित गर्न थालेका छौं। विद्यालयहरूले विद्यार्थीलाई तथ्य, अंक र बाह्य सफलताको पछि दौडिन सिकाउँछन्, तर जीवन कसरी सन्तुलित रूपमा जिउने भन्ने कुरा सिकाउँदैनन्। मानिसहरू पैसा, प्रतिष्ठा र शक्तिको खोजी गर्छन्, किनभने उनीहरूलाई लाग्छ कि त्यसबाट खुशी प्राप्त हुन्छ। तर वास्तवमा मानिसले खोजिरहेको कुरा पैसा वा प्रतिष्ठा होइन, भित्री खुशी हो।

त्यसैले उहाँका अनुसार विद्यालयहरूले केवल शैक्षिक सफलता मात्र होइन, जीवनसँग सम्बन्धित व्यावहारिक सीपहरू पनि सिकाउनुपर्छ। जस्तै- ध्यान केन्द्रित गर्ने कला, आत्मअनुशासन, भावनात्मक परिपक्वता, स्वस्थ जीवनशैली, स्पष्ट सोच, सन्तुलित सम्बन्ध र आन्तरिक चेतना। केवल तथ्य र जानकारीले मात्र जीवनमा स्पष्टता वा दीर्घकालीन खुशी दिन सक्दैन।

उहाँले आधुनिक शिक्षाको अर्को समस्यातर्फ पनि संकेत गर्नुहुन्छ। विद्यार्थीलाई अत्यधिक तथ्यले भरिदिने तर व्यावहारिक बुद्धि र आत्मबोध विकास नगर्ने प्रवृत्ति। गणित पढाइन्छ तर दैनिक जीवनमा तर्क र विवेक कसरी प्रयोग गर्ने भन्ने सिकाइँदैन। भाषा पढाइन्छ तर स्पष्ट सोच विकास गरिंदैन। विज्ञान पढाइन्छ तर सिर्जनात्मक समस्या समाधान सिकाइँदैन। परिणामस्वरूप समाजमा जानकारी धेरै भएका तर भित्रबाट असन्तुलित मानिसहरूको संख्या बढिरहेको छ।

डिजिटल युगको तीव्र विस्तारसँगै बालबालिकाले आफ्नो मनलाई कसरी स्थिर र सन्तुलित राख्ने भन्ने कुरा सिक्नु नयाँ आवश्यकता बनेको छ।

यही कारणले आज ध्यान वैकल्पिक विषय मात्र होइन, आधारभूत आवश्यकता बनेको छ। जहाँ स्क्रिनले ध्यानलाई बाहिरतर्फ तान्छ, ध्यानले मनलाई भित्र फर्काउँछ। जब बच्चाले केही समय शान्त भएर बस्न र आफ्नो सासलाई अनुभव गर्न सिक्छ, तब उसले पहिलो पटक आफ्नै मनसँग बस्न सिकिरहेको हुन्छ।

अध्ययनले देखाएका छन् कि नियमित ध्यान अभ्यासले एकाग्रता बढाउँछ, तनाव घटाउँछ, धैर्य विकास र भावनात्मक सन्तुलन सुधार गर्छ। यसको सकारात्मक प्रभाव सिकाइको गुणस्तरमा पनि प्रत्यक्ष रूपमा देखिन्छ।

तर यहाँ एउटा अत्यन्त महत्वपूर्ण कुरा छ- ध्यान सिकाउने तरिका। यदि ध्यानलाई जबरजस्ती बनाइयो भने बालबालिकाले त्यसलाई अस्वीकार गर्न सक्छन्। “बस, आँखा बन्द गर” भन्ने शैली प्रभावकारी हुँदैन। स्वामी क्रियानन्दका अनुसार सबैभन्दा प्रभावकारी तरिका भनेको उदाहरण प्रस्तुत गर्नु हो। जब अभिभावक र शिक्षक स्वयं शान्त, केन्द्रित र सन्तुलित हुन्छन्, बालबालिकामा पनि स्वाभाविक रूपमा रुचि जाग्छ।

अर्को महत्वपूर्ण पक्ष हो- ध्यानलाई केवल अनलाइन माध्यममा सीमित गर्ने प्रवृत्ति। ध्यान केवल जानकारी होइन; यो अनुभव हो। त्यसैले यसलाई पूर्ण रूपमा स्क्रिनमार्फत सिकाउन सकिंदैन। विशेषगरी बालबालिकाका लागि प्रत्यक्ष अभ्यास, सानो समूह र संवेदनशील मार्गदर्शन अझ प्रभावकारी हुन्छ। यस सन्दर्भमा अर्को प्रश्न पनि उठ्छ- के बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा सीमा आवश्यक छ?

केही देशहरूले यसतर्फ कदम चालिसकेका छन्। अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। चीनले गेमिङ समय सीमित गरेको छ। युरोपका विद्यालयहरूले “डिजिटल डिटक्स” अभ्यास शुरु गरेका छन्। यी सबै प्रयासहरूको उद्देश्य एउटै हो- बालबालिकाको ध्यान र मानसिक विकासलाई सुरक्षित राख्नु। तर केवल नियमले मात्र समाधान आउँदैन। यदि बालबालिकाभित्र आत्मानुशासन विकास भएन भने बाह्य नियन्त्रण दीर्घकालीन हुन सक्दैन। उल्टै यसले चिडचिडापन, सामाजिक दूरी र शारीरिक खेलकुदप्रति अरुचि बढाउन सक्छ।

त्यसैले समाधान सन्तुलनमा छ- ध्यान, संगीत, खेलकुद र शिक्षा बीचको सन्तुलन; घरमा सचेत वातावरण र प्रविधिको समझदारीपूर्ण प्रयोग।

बालबालिका बाहिरबाट स्थिर देखिए पनि स्क्रिनको प्रत्येक स्क्रोलसँगै उनीहरूको मन लगातार एउटा दृश्यबाट अर्को दृश्यतर्फ दौडिरहेको हुन्छ।

नेपालसँग यहाँ एउटा विशेष अवसर पनि छ। हाम्रो सांस्कृतिक आधार नै ध्यान, योग र आन्तरिक सन्तुलनमा आधारित छ। वैशाख २ मा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त “आरोग्य दिवस”ले शरीर, मन र चेतनाको समग्र सन्तुलनप्रति विश्वव्यापी ध्यान आकर्षित गरेको छ। यसले नेपाल जस्ता देशहरूको प्राचीन ज्ञान परम्परालाई विश्वमञ्चमा स्थापित गर्ने अवसर दिएको छ।

नेपाल विश्वभर ध्यान र योगको केन्द्रका रूपमा परिचित छ। यदि यी मूल्यहरूलाई आधुनिक शिक्षासँग जोड्न सकियो भने हामी केवल दक्ष विद्यार्थी मात्र होइन, भावनात्मक रूपमा सन्तुलित, सचेत र जिम्मेवार नागरिक तयार गर्न सक्छौं। यस्तो शिक्षाले केवल ज्ञान होइन, जीवन जिउने कला पनि सिकाउँछ—जुन आजको तीव्र डिजिटल युगमा अत्यन्त आवश्यक छ।

अन्ततः प्रश्न प्रविधिको होइन; यसको सन्तुलित प्रयोग र नियमनको हो। के हामी बालबालिकालाई केवल प्रविधिमा व्यस्त राख्ने हो, वा उनीहरूलाई भित्रबाट स्थिर र सचेत बनाउने? यदि हामीले यो प्रश्नलाई बेवास्ता गर्‍यौं भने भविष्यमा उनीहरूसँग जानकारी त धेरै हुनेछ, तर ध्यान र शान्ति कम हुनेछ। तर यदि हामीले आज सही दिशा रोज्यौं भने हामी यस्तो पुस्ता तयार गर्न सक्छौं, जो केवल सफल मात्र होइन; स्थिर, सचेत र जीवन बुझ्ने पनि हुनेछ। एजुकेशन फर लाइफले पनि यही सम्झाउँछ- शिक्षाको उद्देश्य केवल भविष्य बनाउनु होइन, जीवन जिउन सिकाउनु पनि हो।

(क्रियायोग साधक भण्डारी आईआईटी दिल्लीमा इन्जिनियरिङ अनुसन्धानरत विद्यार्थी हुन्।)

लेखक
सुयश भण्डारी

(क्रियायोग साधक भण्डारी आईआईटी दिल्लीमा इन्जिनियरिङ अनुसन्धानरत विद्यार्थी हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?