News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व राष्ट्रपति निकोलस मदुरो जनवरी ३ मा अमेरिकी सेनाले पक्राउ गरेपछि न्यूयोर्कको जेलमा ठीक रहेको बताएका छन्।
- भेनेजुएलामा करिब ८०० देखि १२०० राजनीतिक बन्दी रहेका अनुमान छ र हालसम्म २१ जनालाई मात्र रिहा गरिएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल भण्डारमा अमेरिकी पहुँच सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
२८ पुस, काराकास । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले एक साताअघि अमेरिकी सेनाले पक्राउ परेपछि अहिलेसम्म आफू ठीक रहेको बताएका छन् ।
पूर्व नेता मदुरो र उनकी पत्नीलाई जनवरी ३ मा काराकासमा रातको समयमा हवाई आक्रमणबाट नाटकीय रूपमा पक्राउ गरिएको थियो । उनीहरूलाई अमेरिकी सेनाले न्यूयोर्क शहरमा लागूऔषध ओसारपसार र हतियारको आरोपमा मुद्दा चलाउन लगेको थियो।
राष्ट्रपति मदुरोका छोरा निकोलस मदुरो गुएराले शनिबार सार्वजनिक गरेको एक भिडियोमा राष्ट्रपति मदुरो न्यूयोर्कको जेलमा ‘ठीक’ रहेको बताएका छन् ।
करिब एकहजार प्रदर्शनकारीले पार्टीको झण्डा र प्लेकार्डहरू हल्लाउँदै जुँगा लगाएका पूर्व नेता र उनकी पत्नी सिलिया फ्लोरेसको अनुहार सहित, काराकासको पश्चिमी र केही सय पूर्वी पेटारे जिल्लामा भेला भए।
‘निकोलस र सिलिया नआउन्जेल म जति पटक पनि मार्च गर्नेछु,’ ६९ वर्षीय प्रदर्शनकारी सोलेदाद रोड्रिगेजले भने ।
‘उहाँ (मदुरो र उहाँकी पत्नी) लाई अपहरण गरिएको छ, म आँखा चिम्लेर विश्वास गर्दछु कि तिनीहरू फर्कनेछन्,’ विगतमा मदुरोको शिविरले गरेको भन्दा प्रदर्शनहरू निकै साना भए पनि मदुरोको सरकारका शीर्ष व्यक्तिहरू उल्लेखनीय रूपमा अनुपस्थित थिए।
रोड्रिगेजले कृषि मेलामा भाग लिएको तर जुलुसलाई सम्बोधन भने नगरेको देखिएको थियो। उनले शक्तिशाली मदुरो समर्थक आधारलाई शान्त पार्न भेनेजुएला वासिङ्गटनको ‘अधीनस्थ’ स्वतन्त्र छ भनी आफ्नो देशभक्तिपूर्ण भनाईद्वारा समर्थकलाई शान्त पार्ने प्रयास गरिरहेका थिए ।
टेलिभिजन टिप्पणीहरूमा उनले भने, ‘मैले राष्ट्रपति फिर्ता नभएसम्म एक मिनेट पनि आराम नगर्ने प्रतिबद्धता गरेको छु ।’
उनको सरकारका अन्य दुई कट्टरपन्थी शक्तिहरू गृहमन्त्री डियोस्डाडो काबेलो र रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेज भने र्यालीमा देखिएनन् ।
कैदीबन्दीको चिन्ता
अमेरिकाले भने भेनेजुएलाको वर्तमान प्रशासनलाई मदुरोको कार्यकालमा विभिन्न आरोपमा जेलमा राखिएका कैदीहरूलाई प्रक्रिया मिलाएर रिहा गर्न दबाब दिइरहेको छ।
भेनेजुएलाका दल तथा नागरिकहरू आइतबार थप राजनीतिक बन्दीहरू रिहा हुने प्रतीक्षामा देखिएका थिए।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरोको शासनकालमा जेलमा रहेका कैदीहरूलाई रिहा गर्न सुरु गरेकी छन् । भेनेजुयलामा देखिएको अशान्त वातावरणलाई सङ्केत गर्दै देशमा शान्ति स्थपनाका लागि ‘ठूलो’ संख्यालाई रिहा गरिने बताएकी छन् । यद्यपि, यसको श्रेय वासिङ्गटनले लिएको छ अर्थात् भेनेजुएलामा अन्यायपूर्ण रूपमा जेलमा राखिएका नेता तथा कार्यकर्ताहरूलाई रिहाइका लागि वर्तमान प्रशासनलाई दवाव दिइरहेको वासिङ्टनले दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व गरेको भन्दै भेनेजुएलाले अमेरिकासँग कूटनीतिक बाटो अपनाउने बताएका छन् ।
‘भेनेजुएलाले आफ्ना राजनीतिक बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया व्यापकरूपमा सुरु गरेको छ। धन्यवाद!’ ट्रम्पले शनिबार राति आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन् ।
उनले लेखेका छन्, ‘मलाई आशा छ, संयुक्त राज्य अमेरिका भेनेजुएलामा आयो र जे गर्नुपर्ने थियो त्यो गर्यो भनेर ती कैदीहरूले सम्झनेछन् ।’
अधिकारवादी समूहहरूका अनुसार भेनेजुएलामा ८०० देखि एक हजार २०० राजनीतिक बन्दीहरू छन् भन्ने अनुमान छ ।
शनिबार साँझसम्म कैयौँ प्रमुख विपक्षी व्यक्तित्व, कैदीबन्दी अधिकार समूह र विपक्षीसहित २१ जनालाई मात्र रिहा गरिएको छ ।
भेनेजुएलाविरुद्ध ‘देशद्रोह’ को आरोप लागेका एक प्रहरी अधिकारीको पनि राज्यको हिरासतमा मृत्यु भएको विपक्षी र अधिकारवादी समूहहरूले शनिबार बताएका छन्। ‘हामी यस मृत्युको लागि डेल्सी रोड्रिगेजको शासनलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहराउँछौं,’ भेनेजुएलाको विपक्षी गठबन्धनको एक हिस्सा प्रिमेरो जस्टिसिया (जस्टिस फर्स्ट) ले एक्समा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ।
प्रतिज्ञा गरिएका राजनीतिक बन्दीहरूकोे रिहाइको पर्खाइमा चिन्तित आफन्तहरू जेलबाहिर बसेका छन् ।
जेलमा रहेका पीडितका परिवारले काराकासको पूर्वमा एल रोडियो कारागार र गुप्तचर सेवाद्वारा सञ्चालित कुख्यात जेल एल हेलिकोइड बाहिर मैनबत्ती जुलुस प्रदर्शन गरेका छन् । उनीहरूले जेलमा रहेका आफन्तहरूको नामसहित प्लाकार्डहरू पनि बोकेका थिए ।
‘म थाकिसकेको छु र आक्रोशित छु,’ आफ्नो छोरालाई एल रोडियोबाट छुटाउन पर्खिरहेका बेला ५७ वर्षीया नेब्रास्का रिभासले भने ।
‘तर मलाई विश्वास छ, उनीहरूले छोरालाई चाँडै हामीलाई हस्तान्तरण गर्नेछन्,’ दुई रात जेल बाहिर फुटपाथमा सुतेको बताउने उनले भने ।
तेल वार्ता
मदुरो पक्राउ परेपछि ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकी पहुँच सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए र रोड्रिगेजले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
ह्वाइट हाउसले भनेको छ, ‘ट्रम्पले भेनेजुएलाको तेलको बिक्रीबाट प्राप्त हुने अमेरिकी स्वामित्वमा रहेको राजस्वलाई अदालत वा ऋणदाताहरूले जफत गर्नबाट रोक्ने एक आपतकालीन आदेशमा हस्ताक्षर गर्नुभएको छ।’
ह्वाइट हाउसमा शुक्रबार भएको बैठकमा ट्रम्पले भेनेजुएलाको सञ्चिति भण्डारमा लगानी गर्न शीर्ष तेल अधिकारीहरूलाई दबाब दिनुभयो तर सावधानीपूर्वक स्वागत गरियो।
शेवरोन हाल भेनेजुएलामा प्रतिबन्ध छुटको माध्यमबाट काम गर्न इजाजतपत्र प्राप्त एक मात्र अमेरिकी फर्म हो।
विज्ञहरूले वर्षौँदेखिको कुव्यवस्थापन र नाकाबन्दीपछि भेनेजुयलाको तेल पूर्वाधार जीर्ण भएको बताएका छन्।
वासिङ्टनले अमेरिकी दूतहरूले शुक्रबार काराकासमा आफ्नो दूतावास पुनः खोल्ने बारेमा छलफल गर्न भ्रमण गरेका पनि पुष्टि गरेको छ ।
अमेरिकी अधिकारीहरूले रोड्रिगेजसँग भेट गरेका थिए कि थिएनन् भन्ने प्रश्नमा भेनेजुएला सरकारले कुनै प्रतिक्रिया दिएन।
कोलम्बियास्थित अमेरिकी दूतावासले शनिबार ‘भेनेजुएलाको सुरक्षा अवस्था अझै कमजोर रहेको छ’ भन्दै व्यापारिक उडानहरू उपलब्ध भएलगत्तै अमेरिकीहरूलाई ’तुरुन्त’ देश छाड्न सुझाव दिएको छ । एएफपी
प्रतिक्रिया 4