२७ पुस, काठमाडौं । मञ्चमा नेताहरू भाषण गरिरहेका छन् । दर्शकदीर्घमा कांग्रेसका शुभेच्छुकहरू कान ठाडो पारेर सुनिरहेका छन् । यही भिडमा छन् बीपीकालीन कांग्रेस शुभेच्छुकहरू ।
उनीहरूको साझा निष्कर्ष छ- बीपीले बनाएको जस्तो कांग्रेस अब रहेन । तर सँगै भरोसा पनि छ, युवामाथि ।
कांग्रेस नेता बीपी कोइरालाका अनुयायी हुन्, ८१ वर्षीया डमराकुमारी अर्याल । उनी विशेष महाधिवेशनमा बीपीको बारेमा केही बोल्छु भनेर आएकी हुन् । तर उनी मञ्चमा पुग्न सकिनन् । मञ्चको एक छेउमा बसेर उनी नेताको भाषण सुनिरहेकी थिइन् ।
‘बीपीको बारेमा बोल्न नाम टिपाउन खोजेको, माथि जान सकिनँ,’ उनले भनिन्, ‘कांग्रेस कस्तो थियो, कस्तो भयो । चित्त दुखेको छ ।’
अर्यालका श्रीमान्लाई बीपीले कांग्रेस बनाएका थिए । ‘मेरो श्रीमान् बीपीका चेला । कांग्रेसको धेरै बैठक मेरो घरमा हुन्थ्यो । तर अहिले कांग्रेसको हालत ठिक छैन,’ उनले सुनाइन् ।
बीपीको समयको जस्तो कांग्रेस बनेको उनी हेर्न चाहन्छिन् । ‘बीपीले बनाएको जस्तो कांग्रेस बनाउन युवा आउनुपर्छ । गगन-विश्वले कांग्रेस बनाउन सक्छन्,’ उनले भनिन्, ‘बीपीले हेर्नुहुन्छ…। कांग्रेस राम्रो बनोस् भनेर बत्ती बालेर बसेको छु ।’ उनी अबको आशा र भरोसा गगन-विश्वमा देख्छिन् ।

मञ्चको मध्यभागमा थिए, स्याङ्जाका ७० वर्षीय कृष्ण न्यौपाने । आफू ज्येष्ठ नागरिक भए पनि पार्टीमा युवा आउनुपर्छ भनेर शुभेच्छा प्रकट गर्न भृकुटीमण्डपमा आएको उनी बताउँछन् ।
‘वृद्ध भए पनि युवाले देश र पार्टी हाँक्नुपर्छ भनेर आएको हुँ । २५ वर्षदेखि कांग्रेसमा आवद्ध भएँ । अब युवा आएर देशमा शान्ति र विकास ल्याउनु पर्यो । जेनजी आन्दोलनपछि आमूल परिवर्तन भएकाले देश हाँक्ने युवाले हो । युवाको चाहनामा सहमति जनाउन यहाँ आएको हुँ,’ उनले भने ।
अब पुराना नेताले सन्यास लिनुपर्ने विचार उनको छ । ‘५ पटक प्रधानमन्त्री भएका र पटकपटक मन्त्री भएका पुराना नेताले विश्राम लिनुपर्छ । अब कांग्रेस हाँक्ने गगन-विश्वले हो,’ उनले भने।
न्यौपानेले यसो भन्दै गर्दा मञ्चबाट कांग्रेसका नेता गोपालमान श्रेष्ठ भाषण गरिरहेका थिए । ‘पार्टीभन्दा माथि उठेर युवालाई हस्तान्तरण गर्नुपर्छ,’ श्रेष्ठले युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेपछि न्यौपाने उत्साहित भएर ताली पिटिरहेका थिए । युवालाई नेतृत्व हस्तान्तरण नगरे पार्टी झन् कमजोर हुने भृकुटीमण्डपमा आएका ज्येष्ठ सदस्यहरूको बुझाइ छ ।

धादिङका ९३ वर्षीय नेत्रप्रसाद तिवारीलाई हिजो रातभर निद्रा लागेन । उनलाई आजको विशेष महाधिवेशन कस्तो हुने हो भन्ने चिन्ता थियो । ७९ वर्षीय श्रीमतीलाई साथमा लिएर उनी भृकुटीमण्डप आइपुगेका छन् ।
‘रातभर सुतेको छैन । कस्तो होला अधिवेशन भनेर चिन्ता लाग्यो । आज त राम्रो भयो । अब भोलि के हुन्छ भन्ने छ,’ उनले भने ।
भोलि देउवाले यहाँ आएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने राय उनको छ । ‘जन्मँदै कांग्रेस भएको हो । तर देउवाले कांग्रेस बिगारे । कहिले सूर्यमा, कहिले हँसिया हथौडामा भोट हाल्न लगाउँछन् । फेरि सूर्यलाई पो भोट हाल्ने भन्दैछ । अन्त भोट हाल्न हातै जाँदैन । अब गगन-विश्व आउनुपर्छ,’ उनले भने ।

राणा-राजा फालेको कांग्रेस जोगाउने दायित्व गगन-विश्वको काँधमा आएको उनको भनाइ छ।
६२ वर्षीय ध्रुवप्रसाद पहाडी भृकुटीमण्डपमा युवाहरूको भाषण सुन्दै थिए । उनी युवाहरूले पार्टीमा यो तहको ‘लोकतान्त्रिक विद्रोह’ गरेको भन्दै खुसी सुनिए ।
सिन्धुलीका पहाडी २०४२ सालमा जिल्ला कमिटी सदस्य थिए । सिन्धुली जिल्ला विकास समितिका पूर्वउपसभापति समेत रहेका पहाडी अहिले आफू महाधिवेशन प्रतिनिधि नरहे पनि भृकुटीमण्डपमा आएका थिए । ‘म प्रतिनिधि त अहिले छैन । तर युवाहरूले यत्रो आँट्दा हामीले साथ दिनुपर्छ भनेर आएँ । विशेष महाधिवेशन सफल पार्न आएँ,’ उनले भने ।
पहाडीले अनलाइनखबरसँग कुरा गर्दै गर्दा स्टेजमा गोपालमान श्रेष्ठ बोलाइए । ७८ वर्षीय गोपालमानको भाषण सुन्नुपर्ने भन्दै उनले थपे, ‘एकछिन है, गोपालमान के भन्छन् सुनौँ । पाकाको कुरा सुन्ने, युवालाई अघि बढाउने समय अब आएको छ ।’

स्टेजबाट गोपालमानले पनि अब पार्टीमा कुनै गुट नरहेकोले देशको लागि एकताबद्ध हुनुपर्ने बताए । सोही कुरामा लय मिलाउँदै पहाडीले भने, ‘ठिक हो । तर देशको लागि अब युवा नै चाहिन्छ । हामी बुढा भयौं, यी नयाँ प्रविधि र समयलाई हामीले भन्दा उनीहरूले नै बुझ्छन् ।’
राजनीतिक सङ्कटमा देश गुज्रेको अवस्थामा अतिरिक्त समय दिएर पनि खट्न सक्ने र युवा भावना बुझ्ने नेतृत्व देशलाई चाहिएको पहाडीको बुझाइ छ । नयाँनयाँ प्रविधिको चुनौती सामना गर्ने र समयानुकूल निर्णय दिन सक्ने नेतृत्व आजको आवश्यकता भएको बताउँदै उनले नेपाली कांग्रेस र देशको नेतृत्वमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा देख्न चाहेको उनले बताए ।
‘अस्ति भर्खर भदौमा त्यत्रा युवाले विद्रोह गरेका हैनन् ? यति छिट्टै बिर्सन मिल्छ ? त्यो आन्दोलन मेरै पुस्ताको नेताका अकर्मण्यताले निम्त्याएको हैन ?,’ प्रश्न गर्दै पहाडीले भने, ‘जेनजीको आन्दोलन नभएको भए अर्को आन्दोलन हुन्थ्यो । किनकि, मुलुकमा ठूलो निराशा जन्मिएको थियो । निराशालाई आशामा बदल्न अब युवा चाहिन्छ । कम्तीमा पुराना दललाई पनि यतिसम्म भए पनि सोच्ने बनाएकोमा जेनजीलाई धन्यवाद ।’
नुवाकोटका तिवारी दम्पती पनि भृकुटीमण्डपमा देखिए । ६७ वर्षीया टीकाकुमारी तिवारी र ७० वर्षीय टङ्कबहादुर तिवारी काङ्ग्रेसी तन्नेरी नेताले आह्वान गरेको विशेष महाधिवेशनको उद्घाटन सत्र हेरिरहेका थिए । ‘देश बदल्न युवा आउनैपर्थ्यो, ढिलो भए पनि बल गरेर ठिक गरे’ भन्दै श्रीमान्-श्रीमती गन्थनमा व्यस्त थिए ।

टीकाकुमारीको कुरा स्पष्ट छ- अब देशलाई समयको गति छाम्न सक्ने नेता चाहिएको छ । आफू महाधिवेशन प्रतिनिधि नरहे पनि युवाहरूको यो बलमा साथ दिन उपस्थित भएको उनले बताइन् ।
‘म महाधिवेशन प्रतिनिधि हैन, कांग्रेस सदस्य मात्र हो,’ टीकाकुमारीले भनिन्, ‘अहिले एकदम राम्रो लागिरहेको छ। हाम्रा पुस्ताका नेताले गर्न सकेनन् । त्यसैले त्यत्रा युवा मरे । अब तिनै युवाको भावना बुझ्न यी युवा नेतृत्वमा चाहिएको छ ।’
गगन र विश्वप्रकाश जस्ता नेतालाई नेतृत्वमा देख्न चाहेकी उनलाई युवाहरू विदेशी रहेकोमा चिन्ता छ । सुशासन नपाएको गुनासो छ । टीकाकुमारीले अनलाइनखबरसँग थप भनिन्, ‘केही गर्छन् कि ? राम्रो गर्छन् कि ? भन्ने आश छ । त्यसैले त यो हेर्न हामी श्रीमान्-श्रीमती नै आएका हौँ नि ।’
टीकाकुमारी पञ्चायतकालीन स्थानीय चुनावमा वडासदस्य लडिसकेकी पात्र हुन् । त्यसैले अब आफूहरूको समय गइसकेकाले युवाहरूलाई अघि बढाउन ढिला गर्न नहुने उनले बताइन् ।
उनीसँगै रहेला टङ्कबहादुर तिवारी पनि ७० वर्षका भइसके । २०२८ सालदेखि नै कांग्रेसको सक्रिय सदस्यता लिएका उनमा अब नयाँ युवा नेताले केही गर्छन् कि भन्ने अपेक्षा छ ।
‘पुरानामा सत्तालिप्सा धेरै भयो । अधिवेशन नगर्ने, आन्तरिक लोकतान्त्रिक प्रक्रिया नमान्ने र युवा आन्दोलनको भावना बुझ्न नसक्ने नेता समय सापेक्ष छैनन्,’ टङ्कबहादुरले भने ।
उनले बीपीकालको कांग्रेस देखेका छन् । बीपी कोइरालाको मृत्यु भएपश्चात् उनको मलामीसम्म गएका छन् । काङ्ग्रेस भएकै कारण माओवादीबाट लखेटिएका थिए ।
आफ्नो विगत स्मरण गर्दै टङ्कबहादुरले भने, ‘मैले बीपीको समयको कांग्रेस देखेको छु । यो अवस्थामा उहाँ हुनुहुन्थ्यो भने जेनजी आन्दोलनपछि नै महाधिवेशन गर्नुहुन्थ्यो होला । विधान मिच्ने दुस्साहस गर्नुहुन्थेन । तर शेरबहादुरहरूले बीपीको नाम बेचे, बीपी बुझेनन् ।’
प्रतिक्रिया 4