त्यसबेलाको नयाँ नेपालमा प्रचण्डपथको हल्लाखल्ला बहुत थियो । एक मित्रलाई खै के सुर चलेछ, उनले नयाँ राजनीतिक पन्थ प्रतिपादन गरिदिए । बडो मिहिनेतसाथ त्यसको नाम जुराए– देउवापथ ।
प्रचण्डपथको यात्रा त भित्ते राष्ट्रपति, सेनापति र पशुपतिमा गएर मूर्झाइहाल्यो । अचेल प्रचण्ड सम्पूर्ण रूपमा पुष्पकमल दाहाल भएका छन् । प्रचण्डपथ त के माओवाद समेत सम्झन चाहँदैनन् ।
देउवापथको चाहिं ढाँचाकाँचा नै बेग्लै छ । देउवापथको बारेमा लामो कार्यपत्र वा दस्तावेज केही लिखित छैन । सूत्रबद्ध भन्नुपर्दा देउवापथका दुई मात्र विशेषता छन् । एक, म केही लेख्दिनँ । दुई, म केही पढ्दिनँ ।
हुन पनि देउवाले आजसम्म केही लेखेको थाहा छैन । कुनै भाषण वा लेख मार्फत कांग्रेसलाई जगाउने विचार दिएको त अपेक्षा गर्नु समेत पनि देउवाको मानहानि हुने भयो । अब पार्टी संगठन चलाउने ढंग कस्तो छ भनेर कसैले सोध्नै परेन । किनकि कांग्रेसको संगठन चलाउनै परेन, त्यो आफैं चल्छ ।
म एकपल्ट अग्रज पत्रकार किशोर नेपाल सहित देउवा भेट्न बूढानीलकण्ठ गएको, उनी युजी कृष्णमूर्तिका किताब कहिलेकाहीं पढ्ने गरेको, अरू खासै पढ्ने इन्ट्रेस्ट नभएको सुनाइरहेथे ।
अरू किताब पढ्ने त कहाँ फुर्सद हुन्छ यार, उनले मलाई उल्ट हर्काए । कवि विमल निभा दाइले भोटाहिटीतिर पुस्तक पसल खोलेका रहेछन् कुनै बेला । देउवा त्यहाँ घुम्दै आएर सधैं एउटै पुस्तक दोहोर्याई–तेहेर्याई पढ्दा रहेछन् । त्यो किताबको नाम रहेछ, कब्जियत कैसे हटाएं ?
यो देशको सबैभन्दा ठूलो पार्टीको सबैभन्दा ठूला पदमा बसेका सभापति देउवाको पठन संस्कार यस्तो छ । प्रदीप गिरिको अवसानसँगै देउवा समूह पठनपाठनरहित छ ।
अस्ति भर्खरै थाहा भयो, देउवालाई आफ्नो नाममा फेसबुक खाता छ भन्ने हेक्का रहेनछ । अनि ट्वीटर अकाउन्ट खोल्ने भनेर एक जना हाम्रै बिरादरीका एक दाइले ६० हजार नगद लगेर गएको समेत बुझियो । त्यसरी पैसै लगेर गएपछि खोलेको खाता पक्कै विशेष किसिमको होला भन्ने मान्न हामीलाई पनि करै लाग्यो ।
त्यसैले नलेख्ने र नपढ्नेमध्ये हामी कसैमा यी दुई विशेषता छन् भने हामी देउवापथका पक्का अनुयायी बन्न पूरापूर सक्षम छौं । अब राजनीति गर्न कस्सिएको कसैले केवल एउटै निर्णय मात्रै आफैं गरे हुनेभयो, देउवा हुँदाहुँदै कांग्रेसमा जाने कि नजाने ? नजाउँ भने पुरानो लोकतान्त्रिक पार्टी छ कसरी नजाउँ ! जाऊँ भने देउवा र सात भाइ छन् । यी लोकतन्त्र विरुद्ध छन्, यी परिवर्तन विरुद्ध छन्, कसरी जाउँ !
इतिहासमा कुनै बेला देउवाले पनि विशेष महाधिवेशन मागेका थिए, तर उनीसँग किशुनजीलाई गिरिजाबाबुबाट अन्याय भयो भन्नेबाहेक खास ठूला सैद्धान्तिक वैचारिक मागहरू थिएनन् । आफ्नो समूहको स्वार्थ रक्षा, अनि गिरिजाप्रसाद कोइरालासँगको पद, गुटगत टक्कर कारक थियो । तर उनले निर्वाचन आयोगसमक्ष आफ्नो पक्षको बहुमत भने सिद्ध गर्न सकेका थिएनन् ।
यिनै देउवा खासै केही विशेषता र क्षमता नहुँदानहुँदै पनि घुमिफिरी पार्टीमा फर्केर नेतृत्वमै आए । कुनै खास राजनीतिक एजेन्डा भन्दा बहुमतको प्राविधिक अंक बढ्ता देखाएर कुर्सीमा बस्न आएको भन्दै गगन थापा, विश्वप्रकाश शर्मा र नयाँ पुस्ताले हटाउन खोज्यो । व्यक्तिगत रूपमा देउवा हटाउन पनि होइन, पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको बाटोलाई प्रक्रियासम्मत ढंगले गतिशील बनाउन खोज्यो । त्यस अर्थमा कुरा देउवा वा गगनको होइन, विधि प्रणालीको हो । विश्व–गगनहरूले त्यही प्रणालीको वकालत गरेको बुझिन्छ ।
तर विधि, थितिको कुरो गर्ने गगन थापाहरूलाई यिनै देउवा समूहका केहीले पार्टी फुटाउन खोजेको आरोप लगाए । समस्या कहाँ छ भने जसले पार्टी फुकाउन खोजेको आरोप लगाउँदैछन्, तिनैले विगतमा कांग्रेस फुटाएका थिए ।
२०५९ मा यिनै देउवा र चर्चामा आएका सात भाइमध्ये अधिकांशको संलग्नतामा कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक बन्यो, जसलाई संस्थापनवालाहरूले तान्त्रिक भनेर त्यसबेला खुबै उडाए । त्यसबेला कृष्ण सिटौला बाहेक प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ सबका सबले पार्टी नै फोरेको त हो, होइन र ?
बदलिएको समयचेत सम्झाउँदै महामन्त्री विश्वप्रकाश शर्माले बिहीवार बिहान भनेका छन्, आजको नेपाल २३ भदौअघिको नेपाल होइन । यो विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो ।

तर २०५९–६० सालमा देउवा जसरी सोच्थे, आज पनि उसरी नै सोच्छन् । चुनाव गराउन नसकेको भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई अयोग्य प्रधानमन्त्री भन्दै असंवैधानिक रूपमा बर्खास्त गरेका थिए । संसद्बाट वैधानिक रूपमा पुनर्स्थापित हुन पाउनु देउवाको अधिकार थियो, तर तिनले उल्टै राजालाई पो धन्यवाद दिए ।
फेरि एकपल्ट मज्जाले सम्झौं त, २०६१ सालमा आफू प्रधानमन्त्रीमा पुनर्बहाली हुँदा देउवाले जनता र लोकतन्त्रलाई धन्यवाद दिएनन्, बरु गोरखाली राजाबाट न्याय पाएको भन्दै अचम्मै गरी कृतज्ञ भए ।
देउवा आफ्नो व्यक्तिगत जीवनमा सरल छन्, तर यिनले गरेका प्राविधिक र अराजनीतिक किसिमका निर्णयको मूल्य कांग्रेसले सधैं चुकाएको छ ।
अतिप्रिय पूर्णबहादुर खड्का लगायत इमानदार र समर्पित कांग्रेसजनको इमान, ऊर्जा, समय, उमेर र बाँकी जिन्दगी यिनै देउवाका संकीर्ण स्वार्थहरूको संरक्षणमा बितिरहेको छ भन्ने थाहा पाउँथे भने स्वर्गवासी किशुनजी त्यति रुने थिए, जति उनी बाँडेगाउँ आश्रम तोडफोड हुँदा पनि रोएका थिएनन् होला ।
यी देउवा इतिहासबाट सिक्दैनन् । औपचारिक शिक्षाकै कुरा गर्ने हो भने त यिनले कुनै बेला युरोपमा पढिआएका हुन् । लामो समय सत्ता शक्तिमा बस्दा बस्दा यिनले समयकाल चेतना पनि एक हदसम्म स्वत: छिप्पियो होला भन्ने मानौं । तर यिनको समझ हेर्दा लाग्छ, कुनै दिन यिनले सोध्न बेर छैन : इतिहास भन्या के हो यार ?
नत्र इतिहासको समझ भएको भए देउवाले जेनजी विद्रोहका क्रममा देखिएका उभार र उत्पात कसरी बिर्सन सक्थे ? यिनले जेनजीले भन्नुभन्दा धेरै पहिलेदेखि नै आफ्ना प्रतिस्पर्धी एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा बाहेक सबथोक गरिरहेको कसरी बिर्सन सक्थे ? देउवाले आफू कांग्रेसको सभापति हुनुको नाताले कुनै पनि हालतमा यसको उदार लोकतान्त्रिक क्रेडेन्सियल खण्डित नहुने गरी काम गर्नुपर्छ भन्ने कसरी बिर्सन सक्थे ?

नेपालमा थुप्रै नेताको उपचार स्वदेशमा हुँदैन । ती सिंगापुर गएर आएपछि निको हुन्छन् । तर देउवा भने सिंगापुरबाट देशको र कांग्रेसको बिमार थप बल्झाउने शर्तमा फर्के जस्तो छ । नत्र हेरौं त, सिंगापुर जानुअघि उनले असोज २८ गते दिएको आफ्नै वक्तव्यलाई समेत खण्डित गर्ने गरी गतिविधि गरिरहेका छन् ।
सभापति पदको सानमान राखेका छैनन् देउवाले, केवल पदको दुरुपयोग गरेका छन् । कार्यवाहक पद पूर्णबहादुरलाई दिए पनि उनको भूमिका केवल मेसेन्जरमा सीमित पारिदिएका छन् ।
देउवा आफ्नो पदीय इच्छाका लागि महाधिवेशन टार्ने निर्णयलाई संस्थागत मान्छन्, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधानसम्मत ढंगले बहुमत प्रमाणित हुने गरी महाधिवेशन माग गर्दै हस्ताक्षर गर्दा यसलाई कसैको व्यक्तिगत लहडबाजीमा चालिएको कदम भनी आरोपित गर्छन् ।
देउवालाई हेर्दा लाग्छ, यो सालको राजनीतिक क्यालेन्डरमा भदौरे भेल आएकै थिएन । देउवाको इतिहास समझ यस्तो हुन्थेन भने विधानत: आफू पदमुक्त हुने दिन आइसक्दा पनि नेपोबेबी र सात भाइका लागि सिंगै पार्टीको संस्थागत साख धुलोमा मिल्काउन यिनी तयार बन्ने थिएनन् ।
विशेष महाधिवेशन अति सामान्य र स्वाभाविक माग हो, जसले कांग्रेसलाई पुनर्ताजगी गर्न सक्छ । नेपालमा बहुसंख्यक युवाले चाहेको लोकतान्त्रिक परिवर्तनलाई सहज तुल्याउन सक्छ ।
ल, देउवालाई गगन थापा र विश्वप्रकाश शर्माहरू मन परेको छैन भने अरू कोही नयाँ पुस्ता खडा गरे पनि भयो । तर अब त मार्गप्रशस्त गरिदिनुपर्यो, कम्तीमा आफ्नै पार्टीभित्रको आवाज सुन्नलाई भए पनि ।
हुनत गगन थापा र विश्वप्रकाशसँग यसपालि यस्तो मात्रै हतियार छ, जसले केवल कागज काट्छ; रूख काट्न सक्दैन । यिनले रूख त के हाँगा काट्नेवाला पनि छैनन् । हटाउनुपर्ने देउवालाई हो, तर त्यही कामचाहिं बाँकी राखेर अरू सैद्धान्तिक वैचारिक प्रस्तावहरूको अनुमोदनका लागि संकल्प महाधिवेशनको रूप दिने तयारी गरेको बुझिन्छ ।

कांग्रेस फुट्ला भन्ने डर साँचो अर्थमा भन्दा देउवालाई होइन, दोस्रो पुस्ताका युवाहरूलाई देखिन्छ । यी त कस्ता भलाद्मी भए भने, आफूले यसअघि मज्जाले जित्दै आएको चुनाव क्षेत्रको टिकट समेत लौ तिमी नै राख भन्न थाले । यस्ताले के पार्टी फुटाउँथे ! कांग्रेसहरू यति अल्छी भए कि यिनलाई पार्टी फुटाउने जाँगर पनि छैन ।
मैले तीन महिनाजति अघि एउटा भिडियोमा भनेको थिएँ, दलहरू आवश्यक छन्, अपरिहार्य होइन । कांग्रेस विशेष महाधिवेशनका बेला यो कथन झन् सान्दर्भिक भएको छ । पार्टीलाई एकढिक्का बनाइराख्ने प्रण गर्दै दुई महामन्त्रीले विधानबमोजिम विशेष महाधिवेशन बोलाएका छन् । देउवा पक्ष भने यसलाई अवैधानिक भनिरहेको छ ।
देउवा पक्षका अनिर्वाचित र असान्दर्भिक बन्दै गरेका कतिपय पात्रले यसलाई चुनौती गर्ने गरी भेला समेत डाकेका छन् । एउटा अपेक्षा गरौं, देउवा विशेष महाधिवेशनमा स्वयं भाग लिन जानेछन् । उनले त्यहाँ बोल्नेछन् । नयाँ पुस्ताका प्रस्तावहरूलाई साथ दिनेछन्, असहमतलाई आश्वस्त पार्न र तिनको पनि अभिभावक बन्दै सम्मानजनक बिदाइ लिन अग्रसर हुनेछन् ।
उनले आफैं बुझेका छैनन् भने कसैले बुझाइदेओस्, अहिले देशमा जुन लहर आउन खोजिरहेको छ, त्यसलाई देउवाले चाहेर पनि रोक्न सक्दैनन् । कांग्रेससामु त्यसलाई समयमै बुझेर सम्बोधन गर्ने कि प्रतिक्रिया दिनमा सीमित हुने भनी छनोट गर्ने सुविधा छ । याद रहोस्, समय अतिकम छ ।
आन्तरिक चुनाव बाहेक देउवाले कहिल्यै चुनाव हारेनन् । यसपल्ट भने उनका सामु राष्ट्रिय एजेन्डाका सामुन्ने आफ्नो पार्टीलाई हराउने कि जिताउने भन्ने चुनौती छ ।
अपेक्षा गरौं, देउवाले पार्टी हार्ने र आफ्ना सात भाइ मात्रै जित्ने अवसरवादी बाटोलाई साथ दिने छैनन् । हुनत देउवा हुन्, यिनले जे पनि गर्न सक्छन् । देउवापथमा जुनसुकै असान्दर्भिक चाहना पनि पूरा हुन सम्भव छ ।
प्रतिक्रिया 4