३ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले अपाङ्गता भएका व्यक्तिहरूको छुट्टै क्लस्टर बनाएर प्रतिनिधिसभामा प्रतिनिधित्व गराउनुपर्ने माग गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको छुट्टै क्लस्टर बनाएर समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगर्नु संवैधानिक अधिकारको उल्लंघन हुने संघको भनाइ छ ।
संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंद्वारा जारी विज्ञप्तिमा सरोकारवालासँग कुनै छलफल नगरी संविधानको मर्म र भावना विपरीत अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिनिधिसभामा प्रतिनिधित्व हुनबाट वञ्चित गराउने गरी राष्ट्रिय जनगणनाका आधारमा समानुपातिक समावेशी समूहको नयाँ आधार–प्रतिशत तय गर्ने क्रममा गरिएको सिफारिस स्वीकार्य नहुने उल्लेख छ ।
विज्ञप्तिमा २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या कम्तीमा २।२ प्रतिशत रहेको यथार्थ हुँदाहुँदै पनि प्रतिनिधिसभामा निर्वाचित हुने गरी अपाङ्गता कोटाबाट छुट्टै क्लस्टर निर्माण नगरिनु संविधानको मर्म र भावना विपरीत भएको जनाइएको छ ।
अध्यक्ष चम्लागाईंले अपाङ्गता सम्बन्धी राजनीतिक अधिकार प्रत्यक्ष प्रतिनिधित्वबाट मात्र सुनिश्चित हुन सक्ने उल्लेख गर्दै अन्य समूहभित्र नाममात्रको समावेशीताले अपाङ्गता भएका समुदायको राजनीतिक अधिकार सुनिश्चित गर्न नसक्ने बताएका छन् ।
उनले सरकारसँग अपाङ्गता कोटाबाट न्यूनतम २।२ प्रतिशत सहित छुट्टै क्लस्टर निर्माण गरी प्रतिनिधिसभामा निर्वाचित हुने स्पष्ट व्यवस्था गर्न माग गरेका छन् । माग बेवास्ता गर्दै निर्णय अगाडि बढाइए अन्तिम विकल्प आन्दोलनमात्र हुने चेतावनी विज्ञप्तिमार्फत् दिइएको छ ।
प्रतिक्रिया 4