+

छिनमै गरेको कुरा बिर्सिने समस्या ‘ब्रेन फग’ के हो ?

भर्खरै गरेका कुराहरू बिर्सिने, कुनै कुरामा ध्यान लगाउन खोज्दा पटक्कै नलाग्ने, दिमागमा भार परेको जस्तो भइरहने समस्या हुन्छ ? यस्तो लक्षणलाई अहिले विज्ञानले नयाँ नाम दिएको छ, ब्रेन फग ।

के हो त ब्रेन फग ?

यो कुनै रोग होइन । यो एक मानसिक अवस्था हो । जसमा व्यक्तिलाई ध्यान केन्द्रित गर्ने, कुराहरू छिटो बिर्सिने, निर्णय छिटो लिन नसक्ने समस्या हुनसक्छ । किनकी, यो समस्याले सोच्ने क्षमतामा ह्रास गराउँछ।

Advertisement

कारण

यो समस्या हुने कारण हो, दीर्घकालीन तनाव । दीर्घकालीन तनाव वा चिन्ताले दिमागको कार्यक्षमतालाई असर गर्छ । निद्राको कमीले पनि यो समस्या हुनसक्छ । जो अवेर सुत्ने वा रातभर नै जस्तो जाग्राम बस्नेमा यो समस्या हुनसक्छ ।

भिटामिन १२, भिटामिन डी वा अन्य पोषक तत्वको कमी, हर्मोनल परिवर्तनले गर्भावस्था, रजोनिवृत्ति वा थाइराइड समस्याले मस्तिष्कमा प्रभाव पारी यो समस्या गराउन सक्छ । केही औषधि, डिप्रेसन, माइग्रेन वा दीर्घकालीन रोगहरूले ब्रेन फग हुनसक्छ ।

लक्षण

काममा वा कुराकानीमा ध्यान दिन गाह्रो हुनु, स्मरणशक्तिमा समस्या हुने, कुराहरू बिर्सने वा सम्झन गाह्रो हुनु, कुरा बुझ्न समय लाग्नु, मानसिक थकान, दिमाग सुस्त वा थकित भएको महसुस हुनु जस्ता लक्षण देखिन्छ ।

पहिचान

बारम्बार वा लामो समयसम्म जस्तै, हप्ता वा महिनौंसम्म रहिरहन्छन् भने यो ब्रेन फग हुन सक्छ । सामान्य थकान वा एक–दुई दिनको कमजोरीलाई ब्रेन फग भन्न मिल्दैन । यदि यो दैनिक जीवनमा असर पार्छ भने ध्यान दिनुपर्छ ।

चिकित्सकीय जाँच

यदि लक्षणहरू गम्भीर वा लगातार छन् भने चिकित्सकको परामर्श लिनुपर्छ ।

समाधान के ?

दिनमा ७ देखि ८ घण्टा राम्रो निद्रा लिने, विशेषगरी ओमेगा– ३, फलफूल र हरियो सागसब्जी नियमित खाने, प्रशस्त पानी पिउने, नियमित शारीरिक गतिविधि गरि दिमागलाई सक्रिय राख्ने, ध्यान र योग वा गहिरो सास लिने अभ्यास गर्ने गर्दा यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

यदि तपाईंलाई ‘ब्रेन फग’ को समस्या बारम्बार हुन्छ वा दैनिक जीवनमा असर पारिरहेको छ भने मनोविज्ञ तथा मनोचिकित्सकसँग जाँच गराउनु उपयुक्त हुन्छ ।