जाडोसँग जुध्नका लागि हिटर बाल्नैपर्छ । चिसिँदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो यो । खासगरी बुढाबुढी, रोगी, सुत्केरीका लागि यस किसिमको व्यवस्था गर्नुपर्ने हुन्छ ।
यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर, यसले स्वास्थ्य र छालामा पनि क्षति पुर्याइरहेको हुन्छ । त्यसैले, तपाई हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आफ्नो परिवारको सुरक्षालाई सुनिश्चित गर्नुहोस् ।
किन ?
कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । किनकी यसबाट बाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।
ग्यासबाट चल्ने हिटर जलाएर पनि कहिल्यै निदाउनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ ।
मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन । यदि प्रयोग गर्ने हो भने कोठामा ताता पानी राख्न सक्नुहुन्छ । ताकी ब्लोअरको कारण हावा सुख्खा नहोस् ।
छालाको लागि पनि हिटर राम्रो मानिँदैन । लामो समयसम्म हिटरमा बस्दा छाला सुख्खा भएर जाने गर्छ । त्यति मात्र नभएर रातो दाग बस्ने, चिलाउनेजस्ता समस्या पनि हुन्छ । हिटरले आँखालाई पनि सुख्खा बनाउन सक्छ । जसको कारण आखा पोल्ने जस्ता समस्या पनि निम्तिने गर्छ ।
यदि हिटर या ब्लोअरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ । त्यसको साथमा चिया, कफि, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुस् । र, छालामा मोइस्चराइजरको प्रयोग गरिरहनुहोस् ।
ध्यान दिनुपर्ने कुरा
ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।