News Summary
Generated by OK AI. Editorially reviewed.- ‘ब्रेन फग’ कुनै रोग होइन, तर दीर्घकालीन तनाव र निद्रा अभावले हुनसक्छ।
- समाधानका लागि पर्याप्त निद्रा, पौष्टिक आहार, शारीरिक व्यायाम र चिकित्सकको परामर्श आवश्यक छ।
भर्खरै गरेका कुराहरू बिर्सिने, कुनै कुरामा ध्यान लगाउन खोज्दा पटक्कै नलाग्ने, दिमागमा भार परेको जस्तो भइरहने समस्या हुन्छ ? यस्तो लक्षणलाई अहिले विज्ञानले नयाँ नाम दिएको छ, ब्रेन फग ।
के हो त ब्रेन फग ?
यो कुनै रोग होइन । यो एक मानसिक अवस्था हो । जसमा व्यक्तिलाई ध्यान केन्द्रित गर्ने, कुराहरू छिटो बिर्सिने, निर्णय छिटो लिन नसक्ने समस्या हुनसक्छ । किनकी, यो समस्याले सोच्ने क्षमतामा ह्रास गराउँछ।
यो समस्यालाई दिमागी थकान पनि भन्ने गरिन्छ । यो समस्या अस्थाइ हुन्छ । तर, त्यो समयमा बढ्दै गयो भने दिनचर्या बिग्रिने, पढाइमा मन नजाने, कार्यस्थलमा काम गर्न नसक्ने र बेसुरको हुने बानी हुनसक्छ ।
कारण
यो समस्या हुने कारण हो, दीर्घकालीन तनाव । दीर्घकालीन तनाव वा चिन्ताले दिमागको कार्यक्षमतालाई असर गर्छ । निद्राको कमीले पनि यो समस्या हुनसक्छ । जो अवेर सुत्ने वा रातभर नै जस्तो जाग्राम बस्नेमा यो समस्या हुनसक्छ ।
भिटामिन १२, भिटामिन डी वा अन्य पोषक तत्वको कमी, हर्मोनल परिवर्तनले गर्भावस्था, रजोनिवृत्ति वा थाइराइड समस्याले मस्तिष्कमा प्रभाव पारी यो समस्या गराउन सक्छ ।
केही औषधि, डिप्रेसन, माइग्रेन वा दीर्घकालीन रोगहरूले ब्रेन फग हुनसक्छ ।
डिहाइड्रेसन, धेरै क्याफिन वा केही मानसिक स्वास्थ्य समस्याहरू पनि यसका लागि जिम्मेवार छन् ।
लक्षणहरू
-काममा वा कुराकानीमा ध्यान दिन गाह्रो हुनु ।
-स्मरणशक्तिमा समस्या हुने, कुराहरू बिर्सने वा सम्झन गाह्रो हुनु ।
-कुरा बुझ्न समय लाग्ने ।
-मानसिक थकान, दिमाग सुस्त वा थकित भएको महसुस हुनु ।
-विचारहरू अस्पष्ट वा अलमलिएको जस्तो हुनु र स्पष्ट सोच्न नसक्नु ।
-दिमाग सुस्त वा थकित भएको महसुस हुनु, जसले गर्दा साधारण काम पनि जटिल लाग्ने।
– कुनै पनि काममा रुचि नहुने वा मानसिक रूपमा प्रेरणा नहुनु ।
पहिचान
माथि उल्लेखित लक्षणहरू बारम्बार वा लामो समयसम्म (जस्तै-: हप्ता वा महिनौंसम्म) रहिरहन्छन् भने यो ब्रेन फग हुन सक्छ । सामान्य थकान वा एक–दुई दिनको कमजोरीलाई ब्रेन फग भन्न मिल्दैन । तर, यदि यो दैनिक जीवनमा असर पार्छ भने ध्यान दिनुपर्छ ।
यी बाहेक केही अन्य अवस्था अवलोकन गरिन्छ ।
जस्तो कि,
के तपाईं पर्याप्त ७ देखि ८ घण्टा मज्जाले निदाइरहनुभएको छ ? काम, परिवार वा अन्य कारणले दीर्घकालीन तनाव छ ? तपाईंको आहारमा भिटामिन बी१२, डी वा अन्य पोषक तत्वको कमी छ कि ? थाइराइड, डिप्रेसन, मधुमेह वा अन्य दीर्घकालीन रोग छन् कि ? कुनै औषधिको साइड इफेक्टले असर गरेको हुन सक्छ कि भनेर अवलोकन र जाँच गरिन्छ ।
चिकित्सकीय जाँच
यदि लक्षणहरू गम्भीर वा लगातार छन् भने चिकित्सकको परामर्श लिनुपर्छ ।
रक्त परीक्षण : भिटामिनको कमी, थाइराइड, वा अन्य रासायनिक असन्तुलन जाँच्ने ।
न्यूरोलोजिकल परीक्षण : यदि गम्भीर समस्या शंका भएमा, सामान्यतया अस्थायी हुन्छ र जीवनशैली परिवर्तन वा उपचारले सुधार हुन्छ ।
डिमेन्सिया : यो प्राय उमेरसँग सम्बन्धित हुन्छ । गम्भीर र निरन्तर सम्झनसक्ने क्षमतामा ह्रास हुन्छ ।
समाधान के ?
– दिनमा ७ देखि ८ घण्टा राम्रो निद्रा लिने ।
-विशेषगरी ओमेगा– ३, फलफूल र हरियो सागसब्जी नियमित खाने।
– प्रशस्त पानी पिउने ।
-नियमित शारीरिक गतिविधि गरि दिमागलाई सक्रिय राख्ने ।
-ध्यान, योग वा गहिरो सास लिने अभ्यास गर्ने ।
-यदि लक्षण गम्भीर भएमा डाक्टरसँग परामर्श लिने ।
यदि तपाईंलाई ‘ब्रेन फग’ को समस्या बारम्बार हुन्छ वा दैनिक जीवनमा असर पारिरहेको छ भने मनोविज्ञ तथा मनोचिकित्सकसँग जाँच गराउनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया 4