News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा महिनावारी स्वच्छता र जागरूकता अभावले महिलाहरूको स्वास्थ्य र सम्मानमा असर पुर्याउँछ।
- स्यानिटरी प्याड र महिनावारी कपको प्रयोग गर्दा सूती सामग्री र सफाइमा ध्यान दिनु आवश्यक छ।
महिनावारी स्वच्छता महिलाहरूको स्वास्थ्य र सम्मानसँग जोडिएको महत्त्वपूर्ण विषय हो । यो महिनावारीको समयमा व्यक्तिगत सरसफाइ र स्वच्छता कायम राख्ने प्रक्रिया हो, जसले शारीरिक, मानसिक र सामाजिक रुपमा योगदान पुर्याउँछ । नेपालमा यो विषयमा अझै पनि धेरै जागरूकता र सुधारको आवश्यकता छ ।
पहिलेको तुलनामा महिनावारीबारे जागरूकता त बढेको छ, तर आज पनि यो विषयमा कुरा गर्न कतै न कतै अप्ठ्यारो मानिन्छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता पोस्ट र भिडियोहरू देखिन्छन्, जसमा महिलाहरूले आफ्नो महिनावारीको अनुभव साझा गर्छन् । यस्तो बेला महिलाहरूले महिनावारीको स्वच्छताको आवश्यकताबारे पनि कुरा गर्छन् ।
तर यो छलफल घर वा स्कुलसम्म कमै पुग्छ । यो मौनताको असर प्रायः केटीहरूको स्वास्थ्यमा त पर्छ नै, साथै उनीहरूले यो विषयमा कुरा गर्नु ठिक नभएको ठान्छन् ।
महिनावारी स्वच्छताको अर्थ के हो र महिलाहरूले महिनावारीको समयमा सामान्य रूपमा गर्ने गल्तीहरू के–के हुन् ?
कुन स्यानिटरी प्याड प्रयोग गर्नुपर्छ ?
महिनावारीको समयमा प्याडको प्रयोग गर्दा सूती फाइबरबाट बनेको स्यानिटरी प्याड प्रयोग गर्नुपर्छ । सूती फाइबरबाट बनेका प्याडहरूले कृत्रिम सामग्रीको तुलनामा धेरै रगत सोस्छन् र यो आरामदायक पनि हुन्छ ।
नाइलन वा अन्य कृत्रिम कपडाबाट बनेका प्याडहरू सस्तो हुन सक्छन्, तर स्वास्थ्य र आरामको दृष्टिकोणले सूती फाइबरबाट बनेका स्यानिटरी प्याड प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
पुनः प्रयोग गर्न सकिने सूती प्याडहरू, जस्तै महिनावारी प्यान्टी र हाइब्रिड कपडा प्याडहरू भने राम्ररी धोएर पूर्ण रुपमा सुकाएर मात्र प्रयोग गर्नुपर्छ । यद्यपि, यी वातावरणको लागि राम्रो हुन्छन् र लामो समयसम्म टिक्छन्, तर यदि यिनको सही प्रयोग गरिएन भने सङ्क्रमणको जोखिम बढ्न सक्छ ।
महिनावारी कप प्रयोग गर्दा कुन कुरामा ध्यान दिनुपर्छ ?
महिनावारी कप पनि सुरक्षित हुन सक्छ । तिनमा चुहावटको जोखिम हुँदैन । महिनावारी कपले रगतलाई सोस्दैन, बरु जम्मा गर्छ । यो योनीमा फिट हुन्छ र पुनः प्रयोग गर्न सकिन्छ ।
आफ्नो आवश्यकता अनुसार सही आकारको कप छान्नुपर्छ । यसको आकार र रक्तस्रावको मात्रासँग कुनै सम्बन्ध हुँदैन । तर, प्रयोग गर्नुअघि कप सफा र सुख्खा भएको छ कि छैन भनेर सुनिश्चित गर्नुपर्छ ।
यसमा जम्मा भएको रगतलाई शौचालयमा खाली गर्नुपर्छ र राम्ररी धुनुपर्छ । एक पटक महिनावारीमा प्रयोग गरेपछि कपलाई चार मिनेटसम्म तातोपानीमा हल्का उमालेर गन्ध नभएको साबुनले धुन सकिन्छ ।
यदि एकभन्दा बढी कप छन् भने अझ राम्रो हुन्छ । कप परिवर्तन गरेर प्रयोग गर्न सकिन्छ ।
महिनावारी एक पूर्णजैविक प्रक्रिया हो । यो समयमा धेरै महिलाहरूलाई पेट दुख्ने समस्या हुन्छ, जुन सामान्य हो । यो समयमा डाक्टरसँग कुरा गरेर दुखाइ कम गर्ने औषधि लिनु पनि ठिक हुन्छ ।
एक दिनमा कति पटक प्याड परिवर्तन गर्नुपर्छ ?
सामान्यतया, एक दिनमा चार पटक स्यानिटरी प्याड परिवर्तन गर्नु राम्रो मानिन्छ । जब महिनावारी कप प्रयोग गरिन्छ, तब प्रत्येक ६ देखि १२ घण्टामा कप खाली गर्न सुझाव दिइन्छ ।
यद्यपि, केही महिला वा केटीहरूलाई धेरै रक्तस्राव हुन्छ, यस्तो अवस्थामा प्रत्येक तीन घण्टामा कप परिवर्तन गर्न सुझाव दिइन्छ ।
पुनः प्रयोग गर्न सकिने महिनावारी उत्पादनहरू कसरी सफा गर्ने ?
सामान्यतया महिनावारी प्यान्टी र पुनः प्रयोग गर्न सकिने सूती प्याडहरूको सिफारिस गरिन्छ । पछिल्लो समय यी चीजहरू बजारमा उपलब्ध छन्, जुन किफायती र वातावरणमैत्री बनाउनका लागि तयार गरिएका छन् । त्यसैले यदि यिनको प्रयोग गरिन्छ भने उचित सरसफाइमा ध्यान दिनुपर्छ ।
सुरक्षित प्रयोगका केही तरिकाहरू
महिनावारी कप वा पेन्टी प्रयोग गरेपछि तुरुन्तै तातो पानीमा राख्नुपर्छ । हल्का साबुनले राम्ररी धुनुपर्छ, कडा डिटर्जेन्ट वा एन्टिसेप्टिक प्रयोग गर्नुहुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा, यसलाई पूर्णरूपमा सुक्नको लागि घाममा राख्नुपर्छ । घामले प्राकृतिक किटनाशकको रूपमा काम गर्छ ।
यी कुराहरू बानी बनाउनुपर्छ
महिलाहरूले सूतीको अन्डरवेयर लगाउनुपर्छ जसले हावा आउन–जान दिन्छ, जसले गर्दा नमी कम हुन्छ र सङ्क्रमणबाट बच्न सकिन्छ । महिनावारीको समयमा योनी वरपरको छाला अत्यन्त संवेदनशील हुन्छ, र सेभिङ गर्दा साना कटहरू हुन सक्छन्, जसले ब्याक्टेरिया र भाइरल सङ्क्रमणको जोखिम बढाउँछ ।
त्यसैले महिनावारीको समयमा प्युबिक हेयरलाई हटाउन सेभिङ गर्नुहुँदैन । पूर्णरूपमा सेभ गर्नुको सट्टा कपाललाई छोट्टाएर ट्रिम गर्नु राम्रो हुन्छ ।
यदि धेरै रक्तस्राव हुन्छ वा तीव्र गन्ध आउँछ भने डाक्टरसँग सल्लाह लिनुपर्छ । यो कुनै स्वास्थ्य समस्याको सङ्केत हुनसक्छ ।
योनीको सफाइ सधैँ अगाडिबाट पछाडितर्फ गर्नुपर्छ । यसले मलद्वारबाट योनीमा ब्याक्टेरिया जानबाट रोक्छ र मूत्रमार्ग सङ्क्रमणबाट बचाउँछ । विश्व बैङ्कको सन् २०२२ को प्रतिवेदन अनुसार, विश्वभर करिब ५० करोड महिलाहरूको पहुँच सुरक्षित र सफा स्यानिटरी उत्पादनहरूमा छैन ।
तर समस्या यति मात्र होइन
यो प्रतिवेदन अनुसार महिनावारी महिलाहरूमा हुने सामान्य जैविक प्रक्रिया हो, तैपनि महिलाहरूले यसको लागि धेरै प्रकारका समस्याहरू र भेदभावको सामना गर्नुपर्छ । अझै पनि धेरै ठाउँमा महिलाहरूले यो विषयमा खुलस्त कुरा गर्न सक्दैनन् ।
सही जानकारीको कमी र स्वस्थ उत्पादनहरूमा पहुँचको अभावले महिलाहरूले यस्ता विकल्पहरू छान्छन् जुन उनीहरूको स्वास्थ्यको लागि गम्भीर हुन सक्छ ।
विश्व बैङ्कको यो प्रतिवेदन भन्छ, ‘महिनावारीलाई लिएर पुस्तौँदेखि चल्दै आएका गलत प्रचलनहरूले सामाजिक र आर्थिक असमानताहरूलाई थप बढाएको छ, जसले महिलाहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र मानव विकासमा पहुँच सीमित गरेको छ ।’
प्रतिक्रिया 4