+

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

२०८३ वैशाख  २४ गते १६:२८ २०८३ वैशाख २४ गते १६:२८
Shares
बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विवाहपछि महिलामा हर्मोनल, मानसिक र जीवनशैली परिवर्तनले महिनावारी अनियमित हुन सक्छ ।
  • महिनावारी ५–७ दिनभन्दा ढिलो हुनु, अत्यधिक रक्तस्राव वा अन्य गम्भीर लक्षण देखिए स्त्री रोग विशेषज्ञलाई देखाउनु पर्छ।

विवाहपछि महिलाहरूमा धेरै शारीरिक, मानसिक र हर्मोनल परिवर्तन देखिन सक्छन् । यसमा महिनावारी समयमा नहुनु ढिलो हुनु, अनियमित हुनु वा प्रवाहमा परिवर्तन हुनु सामान्य कुरा हो ।

विवाहपछि केवल हर्मोनल परिवर्तन मात्र महिनावारी नियमित नहुनुको कारण बन्दैन, यसमा तनाव, जीवनशैली परिवर्तन, तौलको उतार-चढाव, गर्भावस्था, गर्भनिरोधक औषधि र कहिलेकाहीं हर्मोनल स्वास्थ्य समस्या जस्तै पिसिओएस, थाइराइड पनि मुख्य कारण हुन सक्छन् ।

शरीरले यी नयाँ परिवर्तनहरूलाई एडजस्ट गर्न केही महिना लाग्न सक्छ, तर यदि समस्या लामो समयसम्म रह्यो भने डाक्टरको सल्लाह आवश्यक पर्छ ।

विवाहपछि महिनावारीमा परिवर्तन हुनुका मुख्य कारणहरू

हर्मोनल परिवर्तन

विवाहपछि महिलामा शारीरिक र मानसिक परिवर्तन आउँछन्, जसले इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको सन्तुलन बिगार्न सक्छ । यी हर्मोन महिनावारी चक्रलाई नियमित राख्न महत्वपूर्ण भूमिका खेल्छन् । हर्मोनल असन्तुलनले चक्र छोटो वा लामो हुन सक्छ ।

तनाव

विवाहपछि नयाँ जिम्मेवारी, सम्बन्ध एडजस्ट गर्नु, घरायसी काम र भावनात्मक दबाबले कोर्टिसोल हर्मोन बढाउँछ । यसले मस्तिष्कको हाइपोथ्यालामस भागलाई प्रभावित गर्छ, जसले ओभुलेसन ‘अण्डा निस्कने प्रक्रिया’ लाई रोक्न सक्छ । अध्ययनहरूका अनुसार, तनावले अस्थायी रूपमा महिनावारी ढिलो वा रोकिन सक्छ । तनाव कम भएपछि प्रायः चक्र सामान्य हुन्छ ।

जीवनशैली र दिनचर्यामा परिवर्तन

विवाह पछि धेरै महिलाको जीनशैली र दिनचर्या परिवर्तन हुन्छ । खानपानमा परिवर्तन, निद्राको कमी, व्यायामको कमी वा बढी र नयाँ ठाउँमा सर्नु यी सबैले शरीरको तौल घट्ने–बढ्ने गर्छ । तौल बढ्दा इन्सुलिन प्रतिरोध बढ्न सक्छ र तौल घट्दा हर्मोन उत्पादन प्रभावित हुन्छ । दुवै अवस्थाले महिनावारी अनियमित बनाउँछ ।

यौन गतिविधि

यौन गतिविधिले सिधै महिनावारी चक्र परिवर्तन गर्दैन । तर नियमित यौन सम्पर्कले तनाव कम गर्न सक्छ र चक्रलाई अप्रत्यक्ष रूपमा नियमित राख्न मद्दत गर्न सक्छ । सुरुवाती दिनमा हल्का परिवर्तन महसुस हुन सक्छ, तर यो सामान्य हो ।

गर्भनिरोधक औषधि वा अन्य औषधीहरू

विवाहपछि धेरै महिलाले गर्भनिरोधक प्रयोग गर्न थाल्छन् । यसले हर्मोन स्तर परिवर्तन गरेर महिनावारीको ढाँचा बदल्न सक्छ । जस्तैः हल्का रक्तस्राव, अनियमितता वा पूर्णरूपमा रोक्नु । त्यसैले कुनै पनि औषधि सुरु गर्नुअघि डाक्टरको सल्लाह लिनुपर्छ ।

अन्य महत्वपूर्ण स्वास्थ्य कारणहरू

गर्भावस्था : महिनावारी रोकिनुको सबैभन्दा सामान्य कारण हो ।

पिसिओस (पोलिस्टिक ओभरी सिन्ड्रोम ) : विवाहपछि तौल बढ्नु, तनाव र जीवनशैली परिवर्तनले पिसिओएस लक्षण बढ्न सक्छ । यसमा अनियमित महिनावारी, अनुहारमा दाग, तौल बढ्नु र गर्भधारणमा समस्या हुन सक्छ ।

थाइराइडको समस्या : थाइराइड हर्मोन असन्तुलनले महिनावारी प्रभावित गर्छ । साथै एनिमिया वा अन्य हर्मोनल विकारले पनि महिनावारी गडबड हुन सक्छ ।

ध्यान दिनुपर्ने कुरा

विवाहपछि महिनावारीमा परिवर्तन हुनु धेरैजसो अवस्थामा सामान्य नै हो र शरीरले ३–६ महिनामा आफैं एडजस्ट गर्छ ।

तर निम्न लक्षण देखिए तुरुन्त स्त्री रोग विशेषज्ञलाई देखाउनु पर्छ ः

–महिनावारी ५–७ दिनभन्दा बढी ढिलो हुनु वा ३ महिनासम्म यस्तै समस्या देखिनु

–चक्र २१ दिनभन्दा कम वा ३५ दिनभन्दा बढी हुनु

–अत्यधिक रक्तस्राव प्रतिघण्टा प्याड÷ट्याम्पुन बदल्नुपर्ने अवस्था हुनु वा ठूला क्लट्स देखिनु

–धेरै दुखाइ, चक्कर लाग्नु, बान्ता हुनु

–महिनावारीबीच रक्तस्राव वा सेक्सपछि रक्तस्राव

–पहिले नै थाइराइड, पिसओएस र एनिमिया जस्ता समस्या भएमा

–गर्भधारणको प्रयास गर्दा पनि समस्या भएमा

स्वस्थ खानपान, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापन योग, ध्यानले धेरै हदसम्म समस्या समाधान गर्न सकिन्छ । साथै नियमित स्वास्थ्य जाँच गराउनु पनि महत्वपूर्ण हुन्छ ।

महिनावारी विवाह
डा. सचिनकुमार यादव
लेखक
डा. सचिनकुमार यादव
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. यादव हाल प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १०२८८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय