+
+
Shares

श्रममन्त्रीको असन्तुष्टि : नेता घुमाउने कर्मचारी, बीमा बोर्ड पदाधिकारी रबर स्ट्याम्प !

श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ बीमाको सम्बन्धमा भइरहेका कामबारे स्वास्थ मन्त्रालय, बीमा बोर्डका पदाधिकारी र कर्मचारीप्रति आक्रोश व्यक्त गरेका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ चैत २५ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको १० वर्ष पूरा भएपछि बीमा बोर्डले उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम आयोजना गर्‍यो।
  • श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले स्वास्थ्य मन्त्रालय र बीमा बोर्डको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न निकायमाथि आरोप लगाए।
  • मन्त्री साहले स्वास्थ्य बीमा प्रणालीमा आर्थिक असन्तुलन, व्यवस्थापन कमजोरी र संरचनागत समस्याहरू रहेको बताए र बोर्डको निर्णय प्रक्रियामा सुधार आवश्यक ठहर गरे।

२५ चैत, काठमाडौं । समय : बुधबार बिहान १० बजे । स्थान : नेपाल प्रशानिक प्रतिष्ठान, जावालाखेल, ललितपुर ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको १० वर्ष पुगेसँगै बीमा बोर्डले महत्वपूर्ण उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम थियो ।

कार्यक्रम निर्धारित समयमै सुरु भयो । मञ्चमा स्वास्थ्य सचिव र विभागका महानिर्देशक, अतिरिक्त स्वास्थ्य सचिवलगायत थिए । स्वास्थ्य सचिव डिल्लीराम शर्मा विशिष्ट अतिथिको भूमिकामा थिए ।

बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले १० वर्षमा बीमामा भएको उपलब्धि र केही समस्या पेस गरे ।

त्यसपछि अतिरिक्त स्वास्थ्य सचिवको बोल्ने पालो आयो । त्यतिबेला मञ्चमा बसिरहेका अतिथिलाई अर्को कुर्सीमा सार्दै बीचको कुर्सी खाली गराइयो । एकै छिनमा मञ्चमा देखिए– श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह ।

साहलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । उनी कार्यक्रम सुरु भएको झन्डै ३० मिनेटपछि पुगेका थिए । केही बेरपछि साहलाई मतव्य राख्न उद्घोषकले आग्रह गरे ।

स्वास्थ्य क्षेत्रबारे आफूले धेरै कुरा नजानेको र उपस्थित स्वास्थ्यकर्मी तथा विज्ञहरूबाट सिक्नुपर्ने भन्दै साहले मन्तव्य सुरु गरे । करिब १५ मिनेट बोलेका मन्त्री साहले स्वास्थ्य मन्त्रालय र कर्मचारीहरूको  कार्यशैलीप्रति आपत्ति जनाए ।

बोल्ने क्रममा उनले स्वास्थ्य मन्त्रालयदेखि स्वास्थ्य बीमा बोर्ड, अस्पताल र स्वास्थ्यकर्मी समेतलाई दोषारोपण गर्दै सरकारको कार्यक्रममै असन्तुष्टि पोखे ।

बोल्ने क्रममा साहले आफूलाई ‘नयाँ नेता’ भन्दै भाषण दिन नआउने बताए । ‘म नयाँ नेता परेँ, मलाई भाषण दिन आउँदैन,’ उनले आफ्नो अभिव्यक्ति सुरु गरेका थिए ।

यति भनिनसक्दै हलभरि हाँसो गुञ्जियो । त्यसपछि सुरु भएको उनको भाषणले भने कार्यक्रममा उपस्थित धेरैलाई असहज बनायो ।

मन्त्री साह क्रमशः रुष्ट शैलीमा प्रस्तुत हुन थाले । उनी स्वास्थ्य बीमा कार्यक्रमको अवस्था निकै कमजोर रहेको भन्दै विभिन्न निकायमाथि आरोप लगाउन थाले ।

साहका अनुसार स्वास्थ्य बीमा प्रणाली अहिले दयनीय अवस्थामा पुगेको छ । त्यसको जिम्मेवारी एक संस्थामा मात्र सीमित नभई स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य संस्थाहरू र स्वास्थ्यकर्मी सबैमा बाँडिएको बताए ।

नेपालको संविधानले नागरिकलाई स्वास्थ्य सेवा मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै त्यसअनुसार सेवा प्रभावकारी बनाउन सबै निकायले सहकार्य गर्नुपर्ने उनले बताए । तर अहिलेको स्वास्थ्य बीमा प्रणाली त्यो लक्ष्यबाट धेरै टाढा पुगेको उनको भनाइ थियो ।

साहले अहिले स्वास्थ्य बीमा कार्यक्रममा ठूलो आर्थिक असन्तुलनमा रहेको बताए । उनका अनुसार योगदानबाट जम्मा हुने रकमको तुलनामा खर्च अत्यधिक बढेको छ ।

‘करिब ३ देखि ४ अर्ब रुपैयाँ मात्रै योगदानबाट उठ्छ । तर खर्च २८ देखि ३० अर्बसम्म पुग्छ,’ उनले भने, ‘सरकारले कसरी तिर्नु ? कसरी धान्नु ?’

मन्त्री साहले कार्यक्रममा अस्पतालहरूलाई पनि आरोप लगाए । बीमाबाट सेवा लिने क्रममा अस्पतालहरूले अनावश्यक परीक्षण गराउने र व्यक्तिको सबै पैसा खर्च गराउने प्रवृत्ति देखिएको उनको टिप्पणी थियो । उनले यसलाई ‘एडभर्स सेलेक्सन’ र ‘मोरल हाजार्ड’ को उदाहरण भन्दै बीमा प्रणालीमा गम्भीर समस्या रहेको दाबी गरे ।

स्वास्थ्य बीमा कार्यक्रमको विफलताको कारण आर्थिक अभाव नभई व्यवस्थापन र संरचनागत कमजोरी भएको बताएका उनी यत्तिमै रोकिएनन्, स्वास्थ्य मन्त्रालय र कर्मचारीतन्त्रप्रति असन्तुष्टि व्यक्त गरे ।

श्रम मन्त्री साहले स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयलाई आत्मालोचना गर्नुपर्ने टिप्पणी गरे । ‘म स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई आत्मालोचना गर्न सुझाव दिन्छु,’ मन्त्री साहले भने, ‘स्वास्थ्य मन्त्रालयका साथीहरू स्वास्थ्य बीमा छुट्टै भन्नुहुन्छ । तर आफैंले निर्णय लिनुहुन्छ । सहसचिवको दबाबमा बीमा बोर्ड चल्नुपर्ने बाध्यता छ ।’

यति भनिसक्दा फेरि हलमा हाँसो फैलियो । तर मन्त्रीको भाषणमा आक्रोश थपिँदै  गयो ।  उनले स्वास्थ्य मन्त्रालयलाई लक्षित गर्दै भने, ‘यतिसम्म कमजोर र दयनीय हुनुमा सबैभन्दा ठूलो भूमिका स्वास्थ्य मन्त्रालयकै छ ।’

मन्त्री साहले   भने, ‘सबैभन्दा पहिला स्वास्थ्य मन्त्रालयलाई सच्चिन आग्रह गर्छु ।’

उनले फेरि अर्को सन्दर्भ जोडे । पत्रकारले बढी लोकप्रिय बनाएको भन्दै साह अगाडि बढे, ‘आजभोलि म धेरै फेमस नै भइरहेको छु । म लुकेर बस्ने मान्छे, तर जताजतै मेरै नाम आइरहेको छ ।’

उनका यस्ता टिप्पणीपछि हलमा पटक–पटक हाँसो गुञ्जिन्थ्यो । तर मञ्चमा बसेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने एकअर्काको अनुहार हेर्दै बसिरहेका थिए ।

भाषणका क्रममा मन्त्री साहले विशेषगरी स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना र कर्मचारीतन्त्रप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।

मन्त्री भएपछि आफूले बुझ्दा देश बिग्रिनुमा नेताभन्दा पनि कर्मचारीतन्त्र बढी जिम्मेवार देखिएको टिप्पणी गरे ।

‘पहिले नागरिक हुँदा नेताले देश बिगारे भन्ने लाग्थ्यो, तर मन्त्री भएपछि बुझ्दै जाँदा कर्मचारीतन्त्रले नेता घुमाएको देखियो,’ मन्त्री साहले भने, ‘नेता घुमाउने काम बन्द गर्नुहोस् ।’

यति मात्र होइन, उनले स्वास्थ्य बीमा बोर्डको निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाए ।

‘बोर्डलाई पनि कसरी छोड्नु’ भन्दै आरोप लगाउन थाले । बोर्डका सदस्यहरूको भूमिका हस्ताक्षर गर्ने औपचारिकतामा सीमित भएको उनको आरोप थियो ।

मन्त्री साहले बोर्डमाथि गरेको टिप्पणीलाई कतिपयले अर्को विवादसँग जोडेर हेरे । उनकी श्रीमती जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डकी सदस्य भएकी थिइन् । उनलाई २०८० मंसिरमा तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्ड सदस्यमा नियुक्त गरेका थिए। तर बैठकमा लगातार अनुपस्थित भएपछि बोर्डले मन्त्रालयलाई निलम्बनको प्रक्रिया अघि बढाउन पत्र पठाएको थियो ।

पछि राजनीतिक पहुँच प्रयोग गरेर उनी पुनः बोर्डमा फर्किएको विषय पनि विवादमा आएको थियो । हालै बसेको बोर्ड बैठकमा उनी पुनः उपस्थित भइन् ।

मन्त्री साहको भाषणमा बोर्डको निर्णय प्रक्रियामाथि गरिएको आलोचनालाई कतिपयले यही विवादसँग जोडेर व्याख्या गरे ।

मन्त्री साहले  अध्यक्ष र कार्यकारी निर्देशकमाथिको जिम्मेवारीको भूमिकामा प्रश्न उठाए । मन्त्री साहले निर्देशन दिँदै भने, ‘बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकले सदस्यहरूलाई  रबर स्ट्याम्प‍को रुपमा काम गर्न बन्द गर्नुहोस् ।’

उनले बोर्डको संरचना र जिम्मेवारी प्रणाली पुनः समीक्षा गर्ने निर्देशन दिए ।

बोर्डका सदस्यहरू निर्णयमा जिम्मेवार हुने व्यवस्था स्पष्ट नभएको र कतिपय निर्णयहरू तीन करोड नागरिकको हितभन्दा फरक आधारमा हुने गरेको दाबी गरे ।

साहले स्वास्थ्य बीमा प्रणालीमा धेरै स्किमहरू छुट्टाछुट्टै रूपमा सञ्चालन भइरहेको भन्दै त्यसलाई एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याए । सामाजिक सुरक्षा कोष, सेना–प्रहरी तथा अन्य संस्थागत स्वास्थ्य सेवा योजनाहरूलाई एउटै संरचनामा ल्याउन सके मात्र प्रणाली प्रभावकारी बन्ने उनले बताए ।

साहले श्रम मन्त्रालयअन्तर्गत सञ्चालन हुने सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुविधा योजना पनि एकीकृत संरचनामा ल्याउन तयार रहेको दाबी गरे ।

उनले स्वास्थ्य बीमाको ‘बेनिफिट प्याकेज’ पनि अत्यधिक महँगो बनाइएको टिप्पणी गर्दै त्यसलाई पुनः समीक्षा गर्नुपर्ने बताए । अहिलेको प्रणाली अस्पताललाई फाइदा हुने तर बीमा बोर्ड कमजोर हुने हिसाबले बनाइएको आरोप उनले लगाए ।

मन्त्री साहले बीमा बोर्डका कर्मचारीलाई भने, ‘दोष मात्रै थोपर्ने अनि सरकारले पैसा दिएन भनेर डम्फु बजाएर केही हुँदैन ।’

उनले बोर्डलाई ब्यंग्य गर्दै भने, ‘के गर्नु हजुर, ३० लाख (लक्षित वर्ग) निःशुल्क गरिदिएको छ । तपाईंहरूले जोड्नुभएको हैन । आफैं जोडिएको हो ।’

मन्त्री साहले दोषारोपण गरिरहँदा स्वास्थ्य मन्त्रालय सचिव, अतिरिक्त सचिव र बोर्डका पदाधिकारी मुखमुख गरिरहेका थिए ।

कार्यक्रममा उपस्थित स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रीको अभिव्यक्तिले धेरैलाई आश्चर्यचकित बनायो । ती कर्मचारी भन्छन्, ‘कहाँ के बोल्नुपर्छ भन्ने हेक्का नै राख्नुभएन । कार्यक्रम बीमाको उपलब्धि सार्वजनिक गर्ने थियो, तर उहाँले मुख्यतः समस्या र कर्मचारीमाथि आक्रोश पोख्नुभयो ।’

बोर्डका एक पदाधिकारीका अनुसार मन्त्री साहलाई प्रमुख अतिथिका रूपमा बोलाउनुको कारण पनि विशेष थियो । जनस्वास्थ्य पृष्ठभूमि भएको र श्रम मन्त्रालयअन्तर्गत रहेको सामाजिक सुरक्षा कोषसँग बीमा प्रणालीको समन्वय सम्भव हुने अपेक्षाले उनलाई निम्त्याइएको थियो ।

तर, ती पदाधिकारी भन्छन्, ‘उहाँ यसरी बोल्नुहुन्छ भन्ने अनुमान नै थिएन । कार्यक्रम उपलब्धि सुनाउनेभन्दा विवादमा पुगेर टुंगियो ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?