News Summary
Generated by OK AI. Editorially reviewed.- युनिभर्सिटी अफ मिनेसोटाका वैज्ञानिकहरूले मुखभित्रका ब्याक्टेरियाको सञ्चारमा अवरोध पुर्याएर गिजाको रोग नियन्त्रण गर्ने नयाँ तरिका फेला पारेका छन्।
- अध्ययनले दाँतको प्लाकमा ब्याक्टेरियाले रासायनिक संकेतमार्फत वृद्धिदर सन्तुलनमा राख्ने र सञ्चार रोक्दा हानिकारक ब्याक्टेरिया घट्ने देखाएको छ।
- सह-प्राध्यापक मिकेल इलियासले 'ल्याक्टोनेज' इन्जाइमको सहयोगले ब्याक्टेरियाको सञ्चार रोक्न सकिने र मुखको स्वास्थ्य बिग्रन नदिने बताएका छन्।
२५ वैशाख, काठमाडौं । वैज्ञानिकहरूले हाम्रो मुखभित्र रहेका ब्याक्टेरियाहरूलाई मार्नुको साटो उनीहरूको आपसी ‘सञ्चार’ मा अवरोध पुर्याएर गिजाको रोग नियन्त्रण गर्ने एउटा अचम्मको तरिका फेला पारेका छन्।
युनिभर्सिटी अफ मिनेसोटाका अनुसन्धानकर्ताहरूले गरेको यो नयाँ अध्ययनले दाँतमा जम्ने ‘प्लाक’ भित्रका ब्याक्टेरियाहरूले रासायनिक संकेतहरू प्रयोग गरेर आफ्नो वृद्धिदरलाई सन्तुलनमा राख्ने गरेको तथ्य बाहिर ल्याएको हो।
वैज्ञानिकहरूले ती रासायनिक संकेतहरूलाई रोक्दा गिजाको रोग निम्त्याउने हानिकारक सुक्ष्म जीवाणुहरूको संख्या घट्ने र स्वास्थ्यका लागि फाइदाजनक ब्याक्टेरियाहरूको वृद्धि हुने पत्ता लगाए। यसअघि एन्टी-बायोटिक्स वा कीटाणुनाशक औषधिले खराब र राम्रा दुवै प्रकारका ब्याक्टेरिया मार्ने गर्थे । तर यो नयाँ विधिले मुखभित्रको स्वस्थ ‘माइक्रोबायोम’ लाई जोगाएरै उपचार गर्न सम्भव तुल्याएको छ।
मुखभित्र करिब ७०० प्रजातिका ब्याक्टेरिया बस्छन्, जसले ‘कोरम सेन्सिङ’ नामका प्रक्रियामार्फत एकअर्कालाई सन्देश पठाउँछन्। अनुसन्धानकर्ताहरूले गिजाको माथिल्लो भाग (जहाँ अक्सिजन हुन्छ) र गिजाको भित्रपट्टि (जहाँ अक्सिजन हुँदैन) ब्याक्टेरियाको सञ्चार फरक-फरक हुने गरेको पाए। अक्सिजन भएको ठाउँमा ब्याक्टेरियाको सञ्चार रोक्दा स्वस्थ ब्याक्टेरिया बढेको देखियो भने अक्सिजन नभएको ठाउँमा सञ्चार हुँदा रोग निम्त्याउने ब्याक्टेरिया सक्रिय भएको पाइयो।
अध्ययनका वरिष्ठ लेखक एवं सह-प्राध्यापक मिकेल इलियासका अनुसार दाँतको प्लाक एउटा जङ्गलको पारिस्थितिक प्रणाली जस्तै विकसित हुन्छ। सुरुमा आउने ब्याक्टेरियाहरू हानिकारक हुँदैनन्, तर पछि आउने ‘रेड कम्प्लेक्स’ भनिने ब्याक्टेरियाले गिजाको गम्भीर रोग निम्त्याउँछन्। उनीहरूको सञ्चारलाई ‘ल्याक्टोनेज’ नामक इन्जाइमको सहयोगले रोकेर मुखको स्वास्थ्यलाई बिग्रन नदिने अवस्थामा राख्न सकिने उनको भनाइ छ।
यो खोजले भविष्यमा दन्त चिकित्सा मात्र नभई शरीरका अन्य भागमा हुने संक्रमणको उपचारमा पनि ठूलो परिवर्तन ल्याउन सक्छ। शरीरमा ब्याक्टेरियाको असन्तुलनले क्यान्सर जस्ता रोगहरू पनि निम्त्याउन सक्ने भएकाले, ब्याक्टेरियालाई सखाप पार्नुको साटो उनीहरूको व्यवहारलाई नियन्त्रण गरेर स्वस्थ अवस्थामा फर्काउने रणनीति निकै प्रभावकारी हुने वैज्ञानिकहरूको विश्वास छ।
प्रतिक्रिया 4