२५ वैशाख, धनकुटा । धनकुटामा दिनदहाडै लुटपाट र चोरीका घटना बढ्दैगएका छन् । पछिल्लो समय धनकुटा बजार आसपासबाट मोटरसाइकल चोरी हुने घटनाले स्थानीयवासीलाई त्रस्त बनाएको छ ।
यसै क्रममा धनकुटाबाट शुक्रबार दिउँसो एक महिलाको सुनको सिक्री लुटिएको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिका–७ मदनचोक नजिकैबाट सहिदभूमि गाउँपालिका–३ की विष्णुमाया राईको एक तोला २ आना तौल रहेको सुनको सिक्री लुटिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिब एक सय मिटर दुरीमा रहेको धनकुटा बजारको मुख्य चोकमा घटना भएको हो । घटना भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
बुलेट मोटरसाइकलमा आएका दुई जना युवकले डलर साटिदिने बताएपछि विष्णुमायाले सिक्रि फुकालेर दिएकी थिइन् । तर, सिक्रि हात लागेपछि लुटेरा फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले धनकुटा बजारमा रहेका सीसीटीभी क्यामेराको फुटेजको सहायताले उनीहरूको खोजी गरिरहेको छ । लुटेराहरू मदन चोकबाट बुलेट मोटरसाइकल प्रयोग गरेर भागेको पीडित विष्णुमायाले बताएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4