News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सञ्जालमा एआई गीत प्रयोग बढ्दा सच्चा कलाकारहरूलाई मर्का पर्न जान्छ भन्ने संगीतप्रेमीको मत छ।
- किरण आलेको 'सफा नै छ' गीतले प्रेममा परिरहँदा अन्योलता र सचेत प्रेमको गाथा सुनाएको छ।
- फ्रि बर्ड्सले नयाँ गीत 'कुरा' स्टुडियो रेकर्डिङसहित सार्वजनिक गरेको छ, जसमा विद्रोह र स्वतन्त्रताको भाव छ।
सामाजिक सञ्जालमा अहिले एउटा प्रवृत्ति ह्वात्तै बढेको देख्छु । धेरैले आफ्नो स्टोरी, पोस्टमा एआई गीत प्रयोग गरिरहेका छन् । संगीतप्रेमीको नजरबाट त्यो कदम कति पनि ठीक होइन भन्ने मेरो मत छ । किनकि त्यसो गर्दा सच्चा कलाकारहरूलाई अनेकन् पक्षबाट मर्का पर्न जान्छ ।
बरू त्यस्तो अवस्थामा हामीले कलाकाहरूका नयाँ सिर्जनाहरू अथवा पुरानै भए पनि प्रयोग गर्न सक्छौं । नयाँ गीतमा रुचि छ भने यो प्लेलिस्ट तपाईंका लागि । बरू यो साता कुन–कुन नयाँ गीत आए ?
सफा नै छ : किरण आले
नेपाली संगीतको लागि नयाँ रहेका किरण आलेको ‘सफा नै छ’ लो-फाई, अल्टरनेभिट मन पर्नेका लागि प्ले लिस्टमा थपिन सक्ने गीत बन्न सक्छ । यो गीतले एक प्रकारको ‘हिलिङ’को काम गर्न सक्छ । अहिले आइरहेका गीतहरूको भीडमा फरक बनेर उभिन सक्ने सामर्थ्य यो गीतमा छ । गीतमा केही क्लासिकल बाजा प्रयोग गरिएका छन् । जसको धुनले पक्कै मन्त्रमुग्ध बनाउँछ । गीत कतै पनि लाउड छैन ।
गीत प्रेमको हो । भर्खरै प्रेममा पर्न लागेको, कसैलाई मन पराइसकेपछिको प्रेम हो । प्रेममा परिरहँदा कतै चोट पाइने हो कि भन्ने एक किसिमको डर र ‘हाम्रो नाता के हो ?’ भन्ने अन्योलता पनि गीतमा सुन्न सकिन्छ ।
गीतमा सचेत प्रेमको गाथा सुनाइएको छ । आफ्नो प्रेमीसँगको मिठो कल्पना गरिएको छ । यसरी अनौठो आकर्षण, बढ्दो आत्मीयता र प्रतीक्षाको मिठो गीत बन्न पुगेको छ । यो गीतको शब्द र संगीत किरण कै हो ।
राम्रो छैन होला मेरो शब्द
तिमीलाई वर्णन गर्न अरूझैं
तर मन मेरो सफा नै छ
होसियार रहनु नै हाँसोको
जालैमा नपर्नू है कसैको
तर खै डर नै लाग्छ…
जोडिँदै छ खै के को
नाता हाम्रो ?
मेटिँदैछ खै के को दूरी यो ?
उज्यालो : सजेन श्रेष्ठ
अहिले संसारमा एक्लोपन बढिरहेको छ । विविध कारण मान्छे एक्लो हुन पुगेको छ । एक्लो भएको मान्छे कस्तो हुन्छ ? उसले के महसुस गर्छ ? उ किन त्यो भावमा पुग्छ ? त्यसबाट उ कसरी मुक्त हुन्छ ? यी प्रश्नहरूको जवाफ दिने गरी सजेनले ‘उज्यालो’ लिएर आएका छन् ।
यो गीतमार्फत उनले एक्लोपनको पीडा र त्यसमा प्रेमले ल्याउने आशा देखाउन खोजेका छन् । गीतमा सुखको धुन छैन । सुख पनि दु:खकै बराबर छ । गीतको सुरुमा विगतको निर्धक्क र खुसी जीवनको चर्चा छ । वर्तमानमा भीड भित्रको एक्लोपन, हराएको सम्बन्ध र पहिचान नभएको अवस्थाको पीडा छ ।
तर, जीवनका सबै बाटोहरू अलमलिएको र निराशा छाएको बेला ‘तिमी’ (प्रेमी/प्रेमिका वा प्रिय पात्र) को आगमनले आशा जगाएको छ । जतिसुकै दुःख वा आँसु भए पनि ती व्यक्तिको सम्झनाले मात्रै पनि अँध्यारो जीवनमा उज्यालो छाउँछ भनेर गीतमा भनिएको छ ।
यो भाव बोकेको गीतलाई सजेनले आफ्नो एल्बम ‘टाढाको मान्छे’मा दोस्रो ट्र्याकका रूपमा समावेश गरेका छन् । गीतको शब्द र संगीत दुवै सजेनकै हुन् । तर, अलि दु:खी सुनिएको छ यो गीत ।
समय एउटा थियो, निर्धक्क यो हृदय थियो
एक्लोपनको अर्थ मलाई थाहा थिएन,
दिल खोली म मुस्कुराउथे
तर आज म कसरी, यो भीडमा एक्लो छु ?
कहाँ गए मेरा साथी, कहाँ गए मेरा दिनहरू ?
कुरा : फ्रि बर्ड्स
रक म्युजिक र ब्यान्ड कल्चरका फ्यानहरूका लागि खुसीको खबर छ । किनकि, फ्रि बर्ड्स नयाँ गीतसहित फेरि एकता भएको छ । तर, दु:खको खबर पनि छ । किनकि, ब्यान्डको नयाँ गीत पूरानै गीतको स्टुडियो रेकर्डिङ मात्र हो ।
यद्यपि लामै समय निस्क्रिय भएर बसेको ब्यान्ड चहलपहल दिने गरी आएको छ । त्यसमा उसलाई चिनोटेल्सले सहयोग गरेको छ । किनकि ‘कुरा’को म्युजिक भिडियो पनि आएको छ ।
जानकारीका लागि भन्दा, फ्रि बर्ड्स धरानबाट उदाएको ब्यान्ड हो । विशुद्ध रक भाइब्स दिने यो ब्यान्ड तुलनात्मक रूपमा नयाँ नै छ । एक ब्यान्ड कम्पिटिसन रियालिटी शोबाट यो ब्यान्ड चर्चामा आएको थियो । त्यसैबेला ब्यान्डले ‘कुरा’ गाएको थियो ।
अहिले स्टुडियो भर्सनमा त्यसबेलाको कम्पोजिसनमा कुनै पनि परिवर्तन गरिएको छ । बरू साउन्ड क्वालिटीमा थप ध्यान दिइएको छ । यसले गर्दा गीत जबरजस्त बनेको छ ।
इलेक्ट्रिक गीतारको धुन, ड्रम बिट र भोकल- यी सब पर्फेक्ट छन् । गीतमा परिवर्तन हुने टेम्पो र बिटले छुट्टै भाइब्स दिएको छ । गीत पूर्णरूपमा आफ्नो विधालाई न्याय गर्न सफल छ ।
शब्दअनुसार हेर्ने हो भने गीतमा विद्रोह, स्वतन्त्रताको चाहना र आत्मबोधको कडा स्वर सुनिन्छ । दार्शनिक पनि लाग्छ गीतका शब्दहरू । एउटा कुनै त्यस्तो बाधक सम्बन्ध वा परिस्थितिबाट उम्किएर आफ्नो अस्तित्व खोज्न उत्प्रेरणा गर्ने शब्द छन् गीतमा । त्यो के हो ? म्युजिक भिडियोले केही बोलेको छ ।
यो ब्यान्डमा रिजेस मास्के, देगोस राई, खगेन राई र नवीन गुरुङ छन् ।
सत्य तितो भो
म फेरि हारेँ
यातना अझैं धेरै थपियो
म तृष्णामा बिलाएँ
पानीको माछालाई रूखमा चढाएर
उड्ने आशा राख्यौ
भावनाहरूमा सदैव डबिएर
निसास्सी सकें…
वारी बर पारी पिपलु : काजी फिल्म
फिल्मका गीतहरू धेरैजसो अलि रमाइलो, झ्याउरे बिट अथवा सुन्दा कानलाई त्यति धेरै गाह्रो नहुने खालका हुन्छन् । काजी फिल्मा समावेश यो गीतमा पनि यस्ता विशेषता छन् । गीतको म्युजिक भिडियोमा पक्कै पनि फिल्मका दृश्यहरू नै थपिएर बनाइएका हुन् । तर, यो गीत फिल्मको हो भनेर छाड्ने हो भने स्थानीयपन झल्केको गीत बनेको छ ।
कालीप्रसाद बास्कोटाको संगीत रहेको यो गीतमा करण परियार र गंगा सोनमको स्वर छ । उनीहरू दुवै जना एक रियालिटी शोबाट उदाएका कलाकार हुन् । यो गीतमा कुराकानी शैली भेटिन्छ । ग्रामीण परिवेश, प्रेमको पर्खाइ र भविष्यको साझा सपना भेटिन्छ । गीतमा वर-पिपल, चौतारी, काँधको भारी, आँधी खोला, पहिरो जस्ता स्थानीय बिम्बहरू छन् । यसले गीतलाई सुन्दर पक्कै बनाइएको छ ।
बलेसीमा जुन हो कि जुनेली
न्याउली माया जुन जस्तै उजेली
वारि बर पारि पिपलु
वरको छायाँ फेदैमा चौतारी
बिसाइदिनु काँधैको भारी
वारि बर पारी पिपलु….
फुल्को जोवन : राजन न्यौपाने
नयाँ पुस्तामाँझ लोक गीतलाई जोड्न यो गीत एउटा माध्यम हुन सक्छ । गीत लेखन र गायन शैली लोक संस्कृतिसँग नजिक छ । तर, गीतमा जस्तो संगीत प्रयोग गरिएको छ, त्यसले गीतलाई नयाँ पुस्तासँग जोड्न सक्छ । अर्थात् राजन न्यौपानेको ‘फुल्को जोवन’ लोक पप, फोक फ्युजनको गतिलो विकल्प बनेको छ । यो गीतको धुनले जोकोहीले ध्यान तान्न सक्ने क्षमता राख्छ ।
गीतको म्युजिक भिडियोभित्र आफैंमा एउटा कथानक छ । तर, म्युजिक भिडियो हेर्दै सुने पनि अथवा गीत मात्र सुने पनि ‘फुल्को जोवन’ हेर्न र सुन्न लायक छ । यो गीतमा स्वर सम्राट नारायण गोपालको ‘पर्खीबसें आउला भनी…’ लाई एक ठाउँमा ब्याकग्राउन्ड स्यापलिङ गरिएको छ । नयाँ धुन दिएर नारायण गोपालको गायनलाई बडो सुन्दर गरेर न्याय गरिएको छ ।
त्यसबाहेक त गीतको धिमा भाग होस् अथवा द्रुत भाग- सबैमा मन अडिरहन्छ ।
फूलको जोवन
चट्टै छाडेर जान्छु नभन
आकाशमा लेकाली चील
बेग हानी हरायो
ठाकुर दाइको भोटे कुकुर
के बुझेर करायो….
आमा : केसाङ छिरिङ शेर्पा
नेपालमा हालै जेनजी आन्दोलन भयो । दु:खद् सत्य, यो आन्दोलनपछि धेरै आमाहरू रुनु पर्यो । सन्तानविहीन हुनुपर्यो । एक्लो हुनुपर्यो । केसाङ छिरिङ शेर्पाले त्यसै सन्दर्भलाई जोडेर आमाहरूलाई समर्पित गर्दै यो गीत निकालेका छन् ।
आमाप्रतिको प्रेम देखाउँदै, सम्मान दर्शाउँदै, उनलाई प्राथमिकता दिँदै- एउटा छोरोको नजरबाट यो गीत गाइएको छ । नेपाली संगीत क्षेत्रमा आमा सम्बन्धी धेरै उत्कृष्ट गीतहरू बनेका छन् । ती क्लासिक गीतहरू जस्तै यो गीतमा पनि क्षमता छ ।
यो गीतको शब्द संगीत उनकै रहेको छ । म्युजिक भिडियो कथा र निर्देशन भने भीष्म जोशीको रहेको छ ।
अजम्बरी माया तिमीलाई दिउँला
तर पनि हुन्छ कम
मेरो आयू पनि सारी तिम्लाई दिउँला
मात्र तिमी खुसी हुनु झन्
बिहानको किरण हौ तिमी
मेरो छातीभित्रको धड्कन हौं तिमी
सासै रोकिजाला
समय थामिजाला
यदि सँगै नभए
जुनी भरी
आमा
तिमी हौ जीवन मेरो
बाँध्ने सहारा हौ…
घर : ओसिन कार्की
कम उमेरमै नेपाली श्रोताको एउटा वृत्तमा नाम चलेकी गायिका हुन्, ओसिन कार्की । उनले करिब ८ महिनापछि नयाँ गीत ‘घर’ लिएर आएकी छिन् । उनका अनुसार यो सम्झनाको गीत हो । यो गीतमा दूरी, समय र जीवनको परिवर्तनले आफूले माया गरेको मान्छेलाई मनबाट हटाउन नसक्ने भनिएको छ ।
किनकि विभिन्न कारणले टाढा भए पनि; चुप लागे पनि; छुट्टै जीवन बाँचे पनि; हाम्रो एउटा भागमा त्यो व्यक्तिको घर जसरी जोडिएको हुन्छ भन्ने तर्क गीतको रहेको छ । गीतमा उनले सेजनोमोरसँग सहकार्य गरेकी छिन् ।
सम्झिन्छौं कि अझै
जाँदा त्यो ठाउँ जहाँ
हामी दुई
गर्थ्यौं कुराकानी
साट्थ्यौं हाँसो पनि
संसारै खुसीमै सीमित….
यी बाहेक कालीप्रसाद बास्कोटा र सज्जा चौलागाईंको स्वर रहेको ‘खड्का जी की छोरी’, उज्वल सागरको ‘छायाँ’ (लाइभ भर्सन), फिल्म परालको आगोको ‘बिरही बतास’, शब्दजालको ‘सायद’, प्रिजल नेपालीको ‘छुच्चो’, तृष्णा गुरुङको ‘हिमाली भेगमा’, याबेस थापाको ‘हेरी बसे’, ड्रिमक्याचर्सको ‘ओ माया’, चकाचकको ‘आशाहरू’, कुटुम्ब र मदन कृष्ण श्रेष्ठको ‘सय थरी बाजा’ (लाइभ भर्सन) लगायतका गीत पनि तपाईंको प्ले लिस्ट बन्न सक्छन् ।
(फ्राइडे प्लेलिस्ट अनलाइन खबरको साप्ताहिक श्रङ्खला हो । यसमा पछिल्ला साताहरूमा रिलिज भएका नयाँ गीतको चर्चा गरिन्छ । कलाकारहरूबारे जानकारी दिइन्छ । ती गीतलाई तपाईंले आफ्नो प्लेलिस्टमा राख्न सक्नुहुन्छ । यो श्रङ्खला सम्पूर्ण श्रोतामा सम्पर्पित छ ।)
प्रतिक्रिया 4