+
+
Shares

नेपाली एआई गीत : रमाइलो कि खतरा ?

कलाकारहरूका लागि एआई ‘प्रोडक्सन’ तहमा खतरा हुने जानकारहरू बताउँछन् । केही निर्देशनकै भरमा गीतको शब्द तयार हुन्छ, गीतको भाका तयार हुन्छ ।

सापेक्ष सापेक्ष
२०८२ पुष १० गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा एआईले नेपाली गीतहरू बनाउन प्रयोग भइरहेको छ र यसले संगीत क्षेत्रमा रोजगारी र कलाकारको आम्दानीमा चुनौती थपिरहेको छ।
  • एआईले कलाकारहरूको अनुमति बिना तिनका गीतहरूलाई तालिमका लागि प्रयोग गर्ने र प्रतिलिपि अधिकार नपाउने विषयमा विवादहरू विश्वव्यापी रूपमा भइरहेका छन्।

कतै सुने-सुने जस्तो, चिने-चिने जस्तो एउटा स्वर गुञ्जिरहेको छ । गीतका शब्द ठीक छन् । भाका मन भुलाउने नै छ । गीत फेरि सुनुँ-सुनुँ जस्तो नै छ, आखिरमा यति मिठो गीत गाउने को कलाकार रहेछन् ?

बानेश्वरको एक क्याफेमा बसेर २२ वर्षीय यमन श्रेष्ठ गीत सुन्दै काम गरिरहेका थिए । प्राय: पृष्ठभूमिमा गीत बजाएर काम गर्ने उनको बानी छ । तर, उक्त गीतले उनको ध्यान तान्यो । स्वर मन पर्‍यो । त्यसपछि उनले डेस्क्रिप्सन, टाइल हेरे । उनलाई कुनै नयाँ सांगीतिक ब्यान्ड जस्तै लाग्यो । त्यसपछि उनले च्यानल हेरे । अनि पो बल्ल, थाहा पाए– त्यो त एआईको सहयोगमा तयार पारिएको गीत रहेछ । च्यानलले एआईसिर्जित गीत मात्र हाल्ने रहेछ।

000

यो एउटा व्यक्तिगत प्रसंग भयो । तर अहिले यसैगरी झुक्याउने क्षमता राख्ने एआईनिर्मित गीतहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुन थालेका छन् । चाहे त्यो आदित्य श्रेष्ठको पहिलो हाँसो पहिलो बोल सब याद छ…’ होस् या ‘पियारापियारी’को भाइरल टुक्का । यस खालका उदाहरण जति पनि दिन सकिन्छ । अझ युट्युब च्यानल नै खोलेर एआई गीत लगातार अपलोड गर्नेहरूको संख्या पनि थुप्रै छ।

यी सबका पछाडि एआई टुल्सको क्षमता कारण छ । आजकल एआईले टेक्स्ट, भिडियो, फोटो र संगीत जस्ता सिर्जनात्मक काम गर्न सामर्थ्य राख्छन् । त्यस्तो काम अत्यन्तै सजिलो र सर्वसुलभ छ । जसकारण एआई निर्मित सामग्री जताजतै देखिन थालेको जानकारहरूको भनाइ छ।

यद्यपि यसको सकारात्मकबाहेक डरलाग्दो पक्ष रहेको छ । न्यूयोर्क टाइम्सको एक लेखका अनुसार धेरै कलाकार र उनीहरूको कामको स्वामित्व राख्ने व्यवसायीहरूका लागि एआईको प्रयोग हुनु खतरा हो । किनकि एआईले मानिसले बनाएका कामहरूको दुरुस्तै नक्कल उतार्न सक्छन्, जसले बजारलाई कमजोर बनाउँछ । साथै एआईले कलाकारहरूको अनुमतिबिना नै उनीहरूको कामलाई ‘ट्रेनिङ डेटा’ को रूपमा प्रयोग गर्न सक्छन्।

हालसम्म नेपालमा एआईको ‘ट्रेनिङ’का लागि सर्जकका सिर्जनाहरू चोरिएको, एआई कम्पनीसँग मुद्दा परेको, एआई टुल्सविरुद्ध कलाकारहरू लागिपरेको जस्ता कुनै घटना सार्वजनिक भएका छैनन् । यद्यपि संगीत सिर्जना र श्रोताको व्यवहारमा भने एआईले राम्रै प्रभाव पारेको जानकारहरू बताउँछन् ।

च्याटजीपीटी, कोपाइलट, सुनो जस्ता एआई टुल्सलाई ठूलो डेटामा तालिम दिइन्छ, त्यसकै आधारमा उनीहरूले नतिजा दिने हुन् । यदि डेटा भएनन् भने एआई टुल्सले काम गर्न सक्दैनन् । डेटाको अभाव राम्रो नजिता दिन सक्दैनन् ।

यद्यपि न्यूयोर्क टाइम्सकै उक्त लेखका अनुसार अहिले विश्वमा मुख्यतया तीन विषयमा ठूला बहसहरू भइरहेका छन्: १. सर्जकहरूलाई के दिने ? २. ‘फेयर युज’ लागू हुन्छ कि हुँदैन ? ३. एआईले बनाएको सामग्रीको मालिक को ?

संक्षिप्तमा भन्दा पश्चिमा कलाकारहरूले आफ्नो काम एआईलाई सिकाउन प्रयोग गर्दा उनीहरूको अनुमति लिइनुपर्छ र उचित मुआब्जा दिनुपर्छ भनेर आवाज उठाइरहेका छन् । त्यस्तै मानव निर्मित कामले मात्र प्रतिलिपि अधिकार पाउने व्यवस्था छ । तर, बाँकी प्रश्नको उत्तर भने अझै अन्योल नै छ ।

यस्तो पृष्ठभूमिमा हामीले नेपालको परिस्थिति हेर्नु आवश्यक छ । के नेपालमा पनि कलाकारहरू यो प्रवृत्तिबारे जानकार छन् ? एआईका कारण नेपाली कलाकारहरूलाई के-कस्तो खतरा छ ? एआईलाई लिएर नेपाली कलाकारहरूले के सोचिरहेका छन् ? एआईले नेपाली कलाकाहरूलाई कस्तो असर र अवसर दिइहरेको छ ?

नाम नखुलाउने सर्तमा एक एआई अध्येताले गोप्य रूपमा नेपाली गीतहरू एआईको ट्रेनिङमा प्रयोग भइरहेको बताए ।

अनलाइनखबरले   ती कलाकारसँग गरेको कुराकानीको अंश:

अहिले मुख्यतया: नेपालीहरूले गीत बनाउन सुनो एआई प्रयोग गरिरहेका छन् । सन् २०२३ को सुरुतिर स्थापित यो एक अमेरिकन् कम्पनी हो । सायद यसका मालिकलाई नेपाली गीतसँग कुनै सम्बन्ध छैन । तर, पनि बजारमा उपलब्ध विभिन्न टुल्समध्ये नेपाली भाषाको गीत सिर्जना गर्न यो टुल सबैभन्दा राम्रो मध्येको एक छ । यो टुल्सले नेपाली शब्दहरू कसरी उच्चारण गरिन्छन् र तिनको लय कस्तो हुन्छ भन्ने पनि सिकेको छ ।

नेपाली भाषामा भजन, दोहोरी, आधुनिक, पप जस्ता फरक-फरक विधा छुट्याएर पनि यसले गीत बनाउन सक्छ । गायन र उच्चारणमा हिन्दी लवज पनि आउँदैन । यो कसरी सम्भव भयो ? यो नेपाली गीतको ‘अत्यन्त’ ठूलो डेटाबिना सम्भव छैन । त्यसमा नारायण गोपाल, उदित नारायण झादेखि अहिलेका चल्तीका गायकहरूको गीतलाई सुनो एआई जस्ता कम्पनीले तालिममा प्रयोग गरेको हुन सक्छ । तर, यी कुरा बढी प्राविधिक र जटिल हुने भएकाले त्यति चासो राखेका हुँदैनन् ।

ती अध्येताले भनेजस्तै अधिकांश कलाकारहरूसँग कुराकानी गर्दा सुनो जस्ता एआई टुल्सले नेपाली गीत कसरी बनाउन सक्यो, अनविज्ञ छन् । कलाकारहरूको गीतलाई एआई टुल्सको तालिमबाट रोक्न केही समयअघि युनिभर्सल म्युजिक ग्रुपले स्पोटिफाइ र एप्पल लगायतका म्युजिक स्ट्रिमिङ प्लेटफर्महरूलाई संगीत संकलन (स्क्रापिङ) गर्नबाट रोक्न निर्देशन दिएको थियो । तर, नेपालमा कुनै पनि संगीतका संघसंगठनहरूले यस्तो कुरा गरेको सुनिएको छैन।

यद्यपि एआईले संगीत क्षेत्रलाई प्रभाव पार्न सक्ने कुरामा कलाकारहरू आंशिक सचेत देखिन्छन् । जुन सकारात्मक चिन्तन पनि हो ।

000

काठमाडौं विश्वविद्यालयका आर्टिफिसियल इन्टेलिजेन्स विभाग सहायक प्राध्यापक डा. यज्ञराज पाण्डेयका अनुसार संगीत कम्पोजरहरूका लागि एआई खतरा देखिएको छ । यस क्षेत्रमा रोजगारी पाइरहेका धेरै व्यक्तिहरू एआईका कारण बेरोजगार हुने हो कि भन्ने चिन्ताको विषय बनेको उनी बताउँछन् ।

यो प्रवृत्ति कल सेन्टरमा आएको परिवर्तनजस्तै भएको उनको भनाइ छ । त्यसको मुख्य कारण एआईको प्रयोगले संगीतको उत्पादन लागतलाई उल्लेख्य रूपमा घटाउने उनको विश्लेषण छ ।

मेहनती कलाकारहरूका लागि एआई हाबी हुनु एकदम दुःखको कुरा भएको रत्न राज्यलक्ष्मी क्याम्पसका संगीत विभाग प्रमुख अजर जङ्गम बताउँछन् । उनले संगीत सर्जकहरूका लागि एआई ‘श्राप’ समान भएको संज्ञा दिए ।

‘कला सिक्न वर्षौं लाग्छ । धेरै तपस्या गर्नुपर्छ । तर, एआईले आफ्नो एल्गोरिदम प्रयोग गरेर नयाँ-नयाँ आइडियाहरू सेल्फ डेभलप गरी एकदम छिटो तरिकाले काम गरिरहेको हुन्छ’ उनले भने, ‘एउटा कलाकारले दक्षता हासिल गर्न कति पढेर, मेहेनत गरेर काम गरेको हुन्छ। एआईको आगमनले धेरै ठूलो असर गरेको देखिन्छ ।’

कलाकार समेत रहेका सन्नी महत पनि एआईले सिर्जना गरेका सामग्रीले कलाको क्षेत्रमा मात्र नभई वास्तविक जीवनमा समेत प्रभाव पार्न थालेको सुनाउँछन् । उनका अनुसार अहिले नै कतिपय श्रोताहरूलाई एआई-जेनेरेटेड गीतहरूले झुक्याइरहेको छ। श्रोताको त्यस्तो ‘डिल्युजन’ (भ्रम) ले गर्दा अनलाइनबाट कलाकारले गर्ने आम्दानी (रेभिन्यू) भने क्रमिक रूपमा घट्न सक्ने उनको अनुमान छ ।

धेरै कलाकारका गीत संगीत तथा सामाजिक सञ्जाल व्यवस्थापनमा सहयोग गरिरहेका राजेन्द्र अर्यालका अनुसार एआई जेनेरेटेड गीतहरू युट्युबमा हाल्दा आम्दानी गर्न सकिन्छ । अन्य प्लेटफर्ममा अलि कडाइ गरेता पनि युट्युबबाट भने त्यस्ता च्यानल सञ्चालकहरूले आम्दानी गर्न सक्ने उनले बताए ।

त्यसरी पैसा आउने भएकाले नै एआई गीतहरू यति धेरै हालिरहेको उनको भनाइ छ । सामाजिक सञ्जाललाई ट्र्याक गर्ने सोसल ब्लेडमा त्यस्ता च्यानलहरूको तथ्यांक हेर्दा एउटा च्यानलले औसतमा मासिक एक हजार डलरसम्म कमाइ गर्ने देखियो ।

एआई गीतमा के हुन्छ ? के हुँदैन ?

छोटो समयमा नै गन्न नसकिने गरी एआईनिर्मित गीत आइसके । तर ती सबै गीतमा मानवीय ‘प्यासन’को अभाव हुने सन्नी महत बताउँछन् । एआईनिर्मित गीत ‘रोबोटिक’ हुने र वास्तविक कलाकारको आवाजमा हुने भावनात्मक गहिराइ कहिल्यै ल्याउन नसक्ने उनको भनाइ छ ।

त्यस्तै एआई र संगीतलाई नजिकबाट हेरिरहेका काठमाडौं विश्वविद्यालयका आर्टिफिसियल इन्टेलिजेन्स विभागका सुनिल रेग्मी पनि एआई संगीतहरूमा कुनै भावना नहुने, फुस्रो हुने बताउँछन् । ‘संगीतलाई सामान्यतया मुड वा फिलिङसँग जोडेर हेरिन्छ । संगीतकारले कुनै मुडको आधारमा वा शब्दको आधारमा फिलिङ सोचेर संगीत कम्पोज गरेका हुन्छन्,’ उनले भने, ‘तर एआईले बनाउने गीतमा कुनै फिलिङ असोसिएट भएर आएको हुँदैन ।’

त्यस्तै उनले एआई गीतहरूमा प्राविधिक अपूर्णता हुने पनि बताए । एआईले बनाएको गीत/संगीत कानलाई सुहाँउदो भएता पनि यसमा अझै पनि प्राविधिक कमजोरी हुने उनको भनाइ छ । अनि नेपाली परिवेशमा यो ट्रेन्ड नयाँ भएकाले धेरै एआई गीतहरू भाइरल भइरहेको पनि उनले सुनाए ।

नेपाली कलाकारमा प्रभाव र अवसर

कलाकारहरूका लागि एआई ‘प्रोडक्सन’ तहमा खतरा हुने जानकारहरू बताउँछन् । केही निर्देशनकै भरमा गीतको शब्द तयार हुन्छ, गीतको भाका तयार हुन्छ । त्यो प्रमुख समस्या हो । तर एआईले पैसा नभएको अथवा स्टुडियोमा जान सामर्थ्य नराख्नेका लागि भने सौख पूरा गर्न सहयोग गर्ने महतको भनाइ छ । महतले भने जस्तै एआईले संगीत सिर्जनालाई लोकतान्त्रिक बनाउँछ । किनकि अब गीत बनाइरहन अरु कसैको भर परिरहनुपर्दैन ।

तर, यसबाहेक कलाकारहरूको डिजिटल आम्दानीलाई कमी गर्नु, कलाकारको बौद्धिक सम्पत्ति हनन् गरेर गीतहरू एआई तालिममा प्रयोग गर्नु, प्रतिलिपि अधिकार हनन् हुनु जस्ता प्रमुख समस्या रहेको महत बताउँछन्।

जस्तो, एआई गीत बनाउन प्रयोग गरिरहेको सुनो एआईले पैसा तिरेको खण्डमा त्यसको प्रतिलिपी अधिकार उक्त प्रयोगकर्तालाई नै दिने गर्छ । तर, नि: शुल्क गीत बनाउँदा भने त्यसको प्रतिलिपी ऊ आफैंले राख्छ । यो कुरा रोयल्टीसँग पनि सम्बन्धित छ ।

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका सूचना अधिकारी उत्तम प्रसाद दुवाडीका अनुसार एआई निर्मित सामग्रीको प्रतिलिपि अधिकार पाइँदैन । नेपालमा अहिलेसम्म एआई निर्मित सामाग्रीको प्रतिलिपि अधिकार लिन कोही नआएको, तर आए पनि ती पक्षले नपाउने उनले स्पष्ट पारे ।

यसरी नेपाली एआई गीतहरू बढ्दै जाँदा त्यसले श्रम, पहिचान र आम्दानीमा चुनौति पनि थप्दैछ । सँगै भावना, मौलिकता र कलाकारको मूल्य सुरक्षित राख्दै एआईलाई उपयोग गर्न सकिने विकल्प पनि आउँछ । यस्तोमा एआई गीतहरू रमाइलो मात्र हुन् कि साँच्चै खतरा हो, बहस त्यता केन्द्रित हुँदै गइरहेको छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?