+
+
Shares

अब बदल्न सकिनेछ जिमेलको ‘युजरनेम’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुगलले २०२६ को अन्त्यसम्ममा प्रयोगकर्ताले आफ्नो पुरानो जिमेल एड्रेस परिवर्तन गर्न सक्ने नयाँ सुविधा ल्याउने योजना बनाएको छ।

सायद तपाईं अहिले पनि आफ्नो स्कुल वा कलेज जीवनमा खोलेका जिमेल खाता नै प्रयोग गर्नुहुन्छ होला । उमेरको कुनै कालखण्डमा सिर्जना गरेको त्यो इमेलमा तपाईंले फरक खालको युजरनेम राख्नुभएको हुनसक्छ । त्यो जिमेल अकाउन्ट अहिले आफ्नो अफिसियल वा अन्य कार्यका लागि प्रयोग गर्नुपर्दा कहिलेकाहीँ त्यसको इमेल एड्रेस अर्थात युजरनेमका कारण निकै अप्ठेरो महसुस हुने गर्दछ ।

आफ्नो जीवनको हिस्सा बनिसकेको जिमेल एड्रेसलाई छाड्न पनि मन नलाग्ने तर त्यसको युजरनेमका कारण प्रयोग गर्न पनि नसक्ने द्विविधाग्रस्त अवस्थाबाट गुज्रिनुभएको हुनसक्छ । यदि त्यस्तो हो भने अब खुसीको खबर छ।

गुगलले अब नयाँ जिमेल अकाउन्ट नबनाई आफ्नो पूरानो जिमेल एड्रेस परिवर्तन गर्न सकिने फिचर ल्याउने तयारी गरिरहेको छ । यो सुविधा आगामी वर्ष सन् २०२६ को अन्त्यसम्ममा विश्वव्यापी रूपमै उपलब्ध गराउने योजना गुगलको छ ।

अहिलेसम्म प्रयोगकर्ताको गुगल अकाउन्ट एउटा इमेल ठेगानासँग जोडिएको हुन्छ जसलाई परिवर्तन गर्न सकिँदैन । त्यसैले व्यवसायिक जीवनमा असहज लाग्ने नाम राखिएको मेल आइडी बदल्न चाहने प्रयोगकर्ताले अर्को छुट्टै नयाँ अकाउन्ट बनाउनुपर्ने बाध्यता थियो । जसका कारण आफ्नो पूरानो जिमेल अकाउन्टमा रहेका वर्षौंको इमेल, फाइल र अन्य महत्वपूर्ण डेटा पूरानै अकाउन्टमा छाड्नुपर्ने अवस्था थियो।

प्रविधि समाचारसम्बन्धी वेबसाइट नाइन टू फाइभ गुगलले प्रकाशित गरेको रिपोर्टअनुसार गुगलले हालै आफ्नो सपोर्ट डकुमेन्ट अपडेट गरेको छ । उक्त डकुमेन्टमा प्रयोगकर्तालाई आफ्नो जिमेल एड्रेस परिवर्तन गर्न अनुमति दिने नयाँ प्रणालीको उल्लेख गरिएको छ । खुसीको कुरा त के भने यसरी जिमेल एड्रेस परिवर्तन गर्दा प्रयोगकर्ताको कुनै पनि पुरानो डाटा वा इमेल डिलिट हुने छैन ।

गुगलको सपोर्ट पेज अनुसार, यो फिचर लागू भएपछि प्रयोगकर्ताले आफ्नो विद्यमान गुगल अकाउन्टसँग जोडिएको जिमेल एड्रेसको युजरनेम बदल्न सक्नेछन् । जसअनुसार पुरानो इमेल एड्रेसले उपनामको रूपमा काम गर्नेछ । यसका कारण प्रयोगकर्ताले नयाँ र पुरानो दुवै एड्रेस प्रयोग गरेर अकाउन्टमा लग इन गर्न सक्नेछन् । साथै पुरानो एड्रेसमा आएका सबै इमेल सुरक्षित रूपमा प्राप्त हुनेछन् ।

तर, यो सुविधामा केही कडा सीमाहरू पनि तोकिएका छन् । प्रयोगकर्ताले १२ महिनामा एक पटक मात्र जिमेल एड्रेस परिवर्तन गर्न पाउनेछन् । जीवनभरमा अधिकतम तीन पटक मात्रै एड्रेस परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैले यो सुविधा प्रयोग गर्दा सोचविचार गरेर मात्रै नयाँ युजरनेम छनोट गर्नुपर्नेछ।

हालसम्म यो फिचर सार्वजनिक रूपमा उपलब्ध भइसकेको छैन । तर गुगलका आधिकारिक सपोर्ट डकुमेन्टमा यसको उल्लेख हुनुबाट कम्पनी यसमा सक्रिय रूपमा काम गरिरहेको संकेत मिल्छ । प्रविधि विज्ञहरूका अनुसार यो सुविधा आगामी वर्षबाट चरणबद्ध रूपमा विश्वभर लागू हुन सक्नेछ।

यदि यो योजना कार्यान्वयनमा आयो भने वर्षौंदेखि आफ्नो पुरानो र अव्यवसायिक जिमेल एड्रेस प्रयोग गर्न बाध्य प्रयोगकर्ताका लागि यो ठूलो राहत हुने विश्वास गरिएको छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?