+

कामकाजी गर्भवतीका लागि ५ सुझाव, जसले अफिस जीवनलाई सजिलो बनाउँछ

२०८२ पुष  ११ गते १४:२५ २०८२ पुष ११ गते १४:२५
Shares
कामकाजी गर्भवतीका लागि ५ सुझाव, जसले अफिस जीवनलाई सजिलो बनाउँछ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामकाजी महिलाले गर्भावस्थामा आफूलाई 'बर्नआउट' हुनबाट बचाउन प्राथमिकता दिनुपर्छ र महत्वपूर्ण कामहरू मात्र छनोट गर्नुपर्छ।
  • गर्भावस्थामा ढाड दुखाइ कम गर्न एर्गोनोमिक कुर्सी वा लम्बर सपोर्ट प्रयोग गर्न सकिन्छ र हरेक ३०–४५ मिनेटमा हल्का स्ट्रेचिङ गर्नुपर्छ।
  • गर्भवती महिलाले आफ्नो अवस्था म्यानेजर वा एचआरलाई जानकारी गराउनु अधिकार हो र आवश्यक समायोजन माग्न सकिन्छ।

धेरैजसो कामकाजी महिलाहरू गर्भावस्थाको समयमा पनि आफ्नो व्यावसायिक भूमिका इमानदार र जिम्मेवारीपूर्वक निर्वाह गर्छन् ।  अफिसको मिटिङ, समय सीमा र दैनिकी यी सबैका बीच आफ्नो स्वास्थ्य र गर्भमा हुर्किरहेको बच्चाको ख्याल राख्नु गाह्रो नै हुन्छ ।  सामान्यतया गर्भावस्थाको समयमा ‘आराम गर्नुहोस्, धेरै काम नगर्नुहोस्’ जस्ता सल्लाह त सबैले दिन्छन्, तर अफिसमा काम गर्दा आउने चुनौतीबारे कमै चर्चा हुन्छ ।

थकान, मानसिक दबाब, लामो समयसम्म बसिरहनु र समयको कमी जस्ता समस्याबारे खासै कुरा हुँदैन । यस्तो अवस्थामा केही व्यवहारिक र सजिला सुझावहरूको आवश्यकता पर्छ, जसले कामकाजी महिलाको दैनिक जीवनमा सहयोग पुर्‍याउन सक्छन् ।

१. परफेक्ट कर्मचारी बन्ने दबाब नलिने

गर्भावस्थाको समयमा धेरै महिलाहरू यो प्रमाणित गर्न लागि पर्छन् कि उनीहरू पहिले जत्तिकै प्रभावकारी रूपमा काम गर्न सक्षम छन् । ब्रेक नलिने, ओभर टाइम काम गर्ने र थकानलाई बेवास्ता गर्ने गर्छन् । तर यो सोच हानिकारक हुन्छ ।  यो समयमा शरीरले अतिरिक्त ऊर्जा खर्च गरिरहेको हुन्छ, किनकि गर्भमा बच्चा हुर्किरहेको हुन्छ र हर्मोनहरूले शरीरमा परिवर्तन ल्याइरहेका हुन्छन् ।  यस्तो अवस्थामा हरेक दिन आफ्नो काममा शतप्रतिशत दिन्छु भन्ने सोच राख्नु हुँदैन । काममा अलि ढिलो गति असफलता होइन, बरू समझदारी हो ।

गर्भावस्थामा आफूलाई ‘बर्नआउट’ हुनबाट बचाउन प्राथमिकता दिनुपर्छ । महत्वपूर्ण कामहरू मात्र छनोट गर्नुपर्छ र दिनको सुरुमा सहजै पूरा गर्न सक्नेमा लक्ष्य राख्नुपर्छ ।  यसले थकान कम गर्छ र उत्पादकत्व कायम राख्छ । यदि थकान बढ्यो भने, छोटो हिँडाइ वा गहिरो सास फेर्ने अभ्यास गर्नुपर्छ, जसले ऊर्जा स्तरलाई सन्तुलित राख्न मद्दत गर्छ।

२. गर्भावस्था अनुकूल कुर्सीको प्रयोग

गलत तरिकाले बस्ने बानीले गर्भावस्थामा ढाड दुखाइ, सुन्निने र थकानलाई धेरै गुणा बढाउन सक्छ । यदि अफिसको कुर्सी कडा छ भने कम्मरको पछाडि सानो कुसन राख्न सकिन्छ । बस्दा खुट्टाहरूलाई पूर्ण रूपमा भुइँमा टेकाएर बस्नुपर्छ वा खुट्टराई आराम हुने गरी पोजिसनमा बस्नुपर्छ । हरेक ३०–४५ मिनेटपछि २–३ मिनेट हिँड्नुपर्छ र हल्का स्ट्रेचिङ गर्नुपर्छ ।

मेयो क्लिनिकका अनुसार, गर्भावस्थामा ढाड दुखाइको मुख्य कारण वजन बढ्नु, गुरुत्वाकर्षण केन्द्र सर्नु र हर्मोनहरूले पेल्भिक लिगामेन्टहरूलाई ढिलो बनाउनु हो । यसलाई रोक्न सही आसन अपनाउनुपर्छ । छाती माथि राखेर सीधा उभिने, काँधहरू आरामदायी अवस्थामा राख्ने र लामो समय उभिनुपरेमा एउटा खुट्टालाई स्टुलमा राखेर ब्रेक लिनुपर्छ।

एर्गोनोमिक कुर्सी वा लम्बर सपोर्ट प्रयोगले दुखाइलाई ५० प्रतिशतसम्म कम गर्न सक्छ । यसबाहेक, अफिसमा योगा बल कुर्सी प्रयोग गर्न सकिन्छ जसले मांसपेशीलाई मजबुत बनाउँछ।

३. समस्या लुकाउनु ठीक होइन

प्रायः महिलाहरू अफिसमा आफ्नो समस्या लुकाउँछन् । उनीहरूलाई डर लाग्ने, चक्कर लाग्ने, थकान वा मुड स्विङ हुँदा गुनासो गर्दा व्यावसायिक छवि बिग्रिन्छ ।  तर, आवश्यक पर्दा आफ्नो अवस्था म्यानेजर वा एचआरलाई बताउनु जिम्मेवारी हो, कमजोरी होइन ।  अलि कम समय, काम घरबाट गर्ने वा हल्का कार्यभार माग्नु अधिकार हो ।

गर्भवती महिलालाई सुरक्षित कार्य वातावरण र आवश्यक समायोजनको अधिकार हुन्छ । यदि काममा रसायन, विकिरण वा भारी उठाउने जोखिम छ भने, हल्का ड्युटी माग्नुपर्छ उदाहरणका लागि, स्वास्थ्य सेवा क्षेत्रमा काम गर्ने महिलाले सङ्क्रमणबाट बच्न मास्क वा ग्लोभ्स माग्न सक्छन् । यसले तनाव कम गर्छ र स्वास्थ्य जोखिमबाट बचाउँछ।

४.खानेकुराको सङ्ग्रह गर्ने

गर्भावस्थामा अचानक भोक लाग्नु, शरीरको ऊर्जा वा चिनीको स्तर घट्नु सामान्य कुरा हो ।  तर मिटिङ वा कामको दबाबमा महिलाहरू खाना टार्छन् । अफिसको ड्रयरमा ड्राइ फ्रुट, मखाना, बिस्कुट, फलफूल वा घरको स्वस्थ स्न्याक राख्नुपर्छ । साथै एक बोतल पानी सधैँ डेस्कमा राख्नुपर्छ । यो सानो तयारीले थकान, चिडचिडाहट र चक्कर जस्ता समस्याबाट बचाउन सक्छ ।

गर्भावस्थामा नियमित स्न्याक र हाइड्रेसनले रक्तचाप र ऊर्जा स्तर कायम राख्छ, जसले मर्निङ सिकनेसलाई पनि कम गर्छ । हरेक घण्टा पानी पिएर र मूत्राशयको दबाब कम गर्न बारम्बार बाथरुम ब्रेक लिनुपर्छ ।  लन्च ब्रेकलाई छुटाउनु हुँदैन, किनकि यसले पोषण सुनिश्चित गर्छ र दिनभरि उत्पादकत्व बढाउँछ । यदि कार्यालयमा मिल्ने अवस्था छ भने थप ब्रेकहरू माग्नुपर्छ ।

५. राम्रो दिनचर्या

वास्तविक हेरचाह अफिसपछि सुरु हुन्छ । घर पुगेर तुरुन्त मोबाइल वा ल्यापटप लिएर बस्नुले शरीरलाई आराम दिँदैन । अफिसबाट फर्केर ३० मिनेटको रिकभरी समय निश्चित गर्नुपर्छ ।  हल्का आराम गर्ने, तातो पानी पिउनु, खुट्टा माथि राखेर आराम गर्नु वा गहिरो सास फेर्नु ।  यो दिनचर्याले अर्को दिनको थकान कम गर्छ र मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ ।

आफ्नो हेरचाह गर्ने कुरालाई सधैँ प्राथमिकतामा राख्नुपर्छ । तातो वा चिसो थेरापी जस्तै हिटिङ प्याड वा आइस प्याक र मसाजले मांसपेशी दुखाइ कम गर्छ, जसले छोटो समयमा आराम दिन्छ । तनाव व्यवस्थापनका लागि डिप ब्रिदिङ वा छोटो हिँडाइले सुत्ने समयमा पनि मद्दत गर्छ, जसले समग्र स्वास्थ्य सुधार्छ ।

गर्भवती
डा. मीना प्रधान
लेखक
डा. मीना प्रधान
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

डा. प्रधान प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको  बसुन्धारास्थित कान्तिपुर डेन्टल अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । प्रधानको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६९५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय