News Summary
Generated by OK AI. Editorially reviewed.- २३ भदौंमा नयाँबानेश्वरमा भएको जेनजी आन्दोलनका क्रममा मुकेश अवस्थीलाई प्रहरीले गोली हानी उनको दाहिने खुट्टा क्षतविक्षत भयो।
- मुकेश अवस्थीको खुट्टा आईसीयूमा सात दिन बसेपछि काटिएको थियो र उनी तीन महिनादेखि अस्पतालमा उपचाररत छन्।
- मुकेशले आन्दोलनले भ्रष्टाचार रोक्न नसकेको र आफूले खुट्टा गुमाउनुको अर्थ बुझ्न नसकेको बताए।
११ मंसिर, काठमाडौं । २३ भदौंको मध्याह्नतिर मुकेश अवस्थीको दाहिने फिलामा अचानक गोली पस्यो र भित्रै विस्फोट भयो । एक सेकेन्ड अघिसम्म सिङ्गै शरीर थामिरहेको खुट्टालाई नै अब समाल्नुपर्ने अवस्था आयो ।
नयाँबानेश्वर क्षेत्र जेनजी आन्दोलनकारीहरूले भरिएको थियो। प्रहरीले गोली प्रहार गर्न थालेपछि कलिला युवाहरू धमाधम ढल्न थालै । त्यस बेला मुकेश जेनजी आन्दोलनका घाइते बोक्ने, उठाउने, एम्बुलेन्समा हाल्ने, अस्पताल पठाउने काममा यन्त्रवत खटिएका थिए ।
सुरक्षाकर्मी माथि हुने आक्रमणलाई रोक्न पनि हरसम्भव प्रयास गरिरहेका थिए । यतिबेलासम्म बानेश्वर क्षेत्र रणमैदानमा परिणत भइसकेको थियो ।
थापागाँउतिरबाट आधा दर्जनजति टेम्पोमा केही युवा आए र भीडमा मिसिए । लगतै तोडफोड र घम्साघम्सी चर्कियो । ठीक त्यही बेला हो, उनलाई गोली लागेको । खुट्टा क्षतविच्छेद भयो । भीडमा भएका साथीले खुट्टामा एक झण्डा बाँधे र एम्बुलेन्समा हालेर एभरेष्ट अस्पताल पुर्याए ।
स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेर ट्रमा अस्पताल रेफर गरे।
त्यतिबेला दिउँसोको करिब तीन बजेको थियो । केही बेरमै घाइते युवाले अस्पताल भरियो । शरीरमा असह्य पीडा थपिँदै थियो, त्यसभन्दा बढी मनमा पीडा चर्किएको थियो ।
अस्पताल आइपुगेका घाइते छट्पटाउँदै थिए, केही प्राण त्यागिरहेका थिए । राति २ बजे खुट्टाको शल्यक्रिया भयो । आईसीयूमा राखेर उपचार अघि बढ्यो । त्यसपछि २४ घन्टा पूरै बेहोस भए । २५ गते बिहान आँखा पूरै खुलेको थिएन । तर बाहिर भइरहेका कुरा अन्दाज भइरहेको थियो । नर्सहरू आपसमा गुनगुन गरिरहेका थिए ।
जुन कुराले उनी विक्षिप्त भए ।
नर्सहरू भन्दै थिए – यी भाईको खुट्टा काट्नुपर्ने भयो । बिचरा…!’
उनलाई लागेको थियो – गोली लागेको हो, निकालेपछि खुट्टा ठीक हुन्छ ।’

डाक्टरले हरसम्भव प्रयास गरेका थिए । तर, खुट्टा बचाउन सकेनन् । गोलीले मुख्य नशा, हड्डी सबै क्षतविक्षत बनाएको थियो ।
आईसीयूमा बसेको सात दिनपछि उनको दाहिने खुट्टा काटियो । परिवारका जेठो छोरा मुकेशका कैयन सपना एक गोलीले चकनाचुर बनाइदियो ।
अनि रातभरि निदाउँदैनन्…
उनी सग्लो हुँदा हुन् त, अष्ट्रेलिया जाने प्रक्रिया चलिरहेको हुन्थ्यो, समयमै काम भएको भए यतिबेला पुगिसकेका पनि हुन्थे । तर अब त्यो मौका उनीसँग बाँकी छैन । हुँदाछँदाको खुट्टा काटियो, जुन भयङकर विस्मातको कुरा हो । अब त्यो खुट्टा उनले कसैगरी पाउने छैनन् ।
यो पछुतोलाई उनले थामथुम पार्ने थिए होलान्, यदि आन्दोलनको जगमा बनेको सरकारले साँच्चै नै परिवर्तनको प्रत्याभूति गराएको भए ।
तर, जिउज्यान बाँजी थापेर बनाएको सरकार पुरानै सत्ताको पुनरावृत्ति जस्तो देखियो । यो सरकारमा पनि उही ह्याङओभर छ, जो अघिल्लो सरकारमा थियो । यही कुराले उनलाई नराम्ररी बिथोल्छ ।
‘तीन महिना बितिसक्यो, आन्दोलनले केनि दिएन । परिवर्तन भएको भए कम्तीमा देशका लागि एउटा खुट्टा गुम्यो भनेर मन बुझाउन सक्थेँ,’ उनी अहिले आफैंलाई प्रश्न गर्छन्, ‘आखिर त्यहाँ म किन गए ?’
उनी रातभरि निदाउँदैनन्, दुखाइले होइन, पछुतोले । जेनजी आन्दोलनकै बलमा भइरहेको राजनीतिक दुरुपयोग उनको मन छियाछिया बनाएको छ ।
उनी आजभोलि मुस्किलले हाँस्छन् ।

ट्रमा सेन्टरको सेतो पर्खालले मुकेशलाई कैद गरेको छ । बाहिर संसार चलिरहेको छ, तर मुकेशको संसार बेड नम्बर ४५१ सीमित छ ।
उनी एक्लो होइनन्, जेनजी आन्दोलनमा घाइते भएका धेरै युवा अहिले पनि अस्पतालका बेडमा छन् । कोही खुट्टा गुमाएर, कोही आँखा गुमाएर ।
तर सबैको एउटै प्रश्न छ – हामीले केका लागि यो हालत भोग्यौँ ? बललिदान, त्याग त्यतिकै जाने भयो ।’
डडेल्धुरा अमरगढीका २२ वर्षिय मुकेश दुई वर्षअघि काठमाडौं आएका थिए । डोटीबाट सब इन्जिनियरिङ सकेर आएका उनको सपना थियो – अस्ट्रेलियामा पढ्ने र फर्केर देशको सेवा गर्ने ।
सबै प्रक्रिया लगभग सकिएको थियो ।
‘सबै कागजात तयार थिए । दुई महिना मात्र बाँकी थियो । जानुअघि आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने लाग्यो र आन्दोलनमा उत्रिए,’ उनले सम्झिए ।
काठमाडौंमा मुकेश कुलेश्वरमा बस्थे । एक महिनादेखि नयाँ संसद् भवनको काम भइरहेको थियो । त्यहाँ उनले करारमा काम गरिरहेका थिए । तर उनको मनमा अनिश्चितता र निराशा थियो ।
बिहान ११ बजे मुकेश नयाँ बानेश्वर पुलनजिक थिए । कोठाबाट निस्किनुभन्दा अघि उनको मनमा एउटै कुरा खेलिरहेको थियो – आज प्रोटेस्ट गर्नुपर्छ, भ्रष्टाचार र नेपोटिज्मको विरुद्ध आवाज उठाउनुपर्छ ।
भदौ २३ मा नेपालभर जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलन सरकारद्वारा लगाइएको सामाजिक सञ्जाल प्रतिबन्ध र दीर्घकालीन भ्रष्टाचारको विरोधमा सुरु भएको थियो । तर त्यो दिन जे भयो, त्यो कसैले अनुमान गरेको थिएन ।
‘किन आन्दोलनमा गएँ भन्ने पछुत्तो लाग्छ’
ट्रमा सेन्टरको पाँचौ तलमा एक कोठामा मुकेश पल्टिरहेका छन् । बुधबार राति उनी बेडमा अडेश लागेर बसेका थिए । दाँया खुट्टा घुँडामुनिको भाग काटिएको छ । खुट्टाको पिडुलामा ग्राफ्ट गरिएको छाला बिस्तारै पलाउँदै छ । आँखामा आक्रोश अझै पनि कायम नै छ ।

मुकेशले खुट्टा गुमाएसँगै बनेको नयाँ सरकारले तीन महिना पूरा गर्दैछ।
सडकमा खुट्टा गुमाउँदै गर्दा उनले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा आवाज उठाएका थिए । आज तीन महिनापछि न भ्रष्टाचार रोकिएको छ, न सुशासनको थिति बसेको छ ।
‘कम्तीमा एउटा भ्रष्टाचारी जेल गएको भए, एक खुट्टा देशका लागि त्याग गरें भनेर चित्त बुझाउँथें,’ मुकेशले लामो सास फेर्दै भने, ‘अहिलेसम्म केही पनि नभएकोमा पछुतो लागिरहेको छ ।’
तीन महिनादेखि उपचाररत उनी अस्पतालको कोठाबाहिर निस्कन सकेका छैनन्। केही घन्टा कुराकानी गर्दा उनले सरकारमाथि लगातार असन्तुष्टि पोखे । आवाजमा आक्रोश थियो, मनमा केही पश्चाताप ।
‘जेनजी आन्दोलनका सहभागी अगुवाहरू अहिले आआफ्नै स्वार्थ बोकेर हिँडिरहेका छन् । सचिव को बनाउने, आईजीपी को नियुक्त गर्ने भन्ने स्वार्थमा रमाएका छन्,’ मुकेशले भने, ‘आन्दोलनका शहीद र घाइतेले उठाएका मुद्दाबाट सरकार नै भागेको छ ।’
‘पाँच दिनमा नेपालमा हुने भ्रष्टाचार बन्द गर्न सकिन्छ’ भन्दै केही वर्षअघि एक अन्तर्वार्तामा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले दिएका अभिव्यक्तिले मुकेशको मनमा आशा पलाएको थियो । तिनै कार्की जेनजी आन्दोलनपछि प्रधानमन्त्री भइन् । अब भष्ट्राचार कम हुने र सुशासनको जग बस्ने छ भन्नेमा मुकेश आशावादी थिए ।
यत्रो आन्दोलनपछि पनि मानिसहरू तिनै पुराना दल र नेताको गुनगान गाउँदै र नारा लगाउँदै हिँडेको देखेर उनी निराश सुनिए ।
तर ठ्याकै उल्टो भएको महसुस यतिबेला उनलाई भइरहेको छ । ‘अहिले उहाँ चुनाव गर्न मात्रै आएको भन्दै हिड्नुभएको छ । सत्तामा पात्र मात्रै परिवर्तन भए, व्यवस्था त उही नै रह्यो,’ मुकेशले निरास हुँदै गुनासो पोखे, ‘सयौं युवा मरे, हजारौं घाइते भए । यत्रो त्यागको कुनै मूल्य रहेन ।’
यति भनिसकेर मुकेश एकछिन टोलाए । अनि, सुस्केरा हाल्दै भने, ‘अहिले त आन्दोलनमै किन सहभागी भएँ भनेर पछुतो भइरहेको छ ।’
२१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरिएको छ । तर, मुकेशलाई चुनावको खासै वास्ता छैन ।
‘चुनाव गरेर के गर्नु ? जसले गोली चलायो, त्यो अझै खुलेआम हिँडिरहेको छ । कम्तीमा पनि जेल हाल्नुपर्थो,’ उनले पीडा पोख्दै भने ।
उनको अस्पताल बसाइ अझ कति दिन हुन्छ भन्ने निश्चित छैन । अस्पतालबाट डिस्चार्ज भएपछिका दिन उनका लागि अझै कष्टकर हुनेछन् । अहिलेसम्मको उपचार खर्च त सरकारले बेहोरिरहेको छ । त्यसपछि जीवन कसरी चलाउने ? सबैभन्दा पेचिलो प्रश्न छ ।

उनी नाजवाफ छन् । इन्जिनियर बन्ने सपनामा तुसारापात भयो । ‘भोलि के गर्छु सोचेको छैन । बुनेको सपना मर्यो ।’
उनले सकेसम्म नक्कली खुट्टा हाल्ने सोचेका छन् । तर राम्रो खुट्टाको दाम लाखौं पर्छ । त्यो उनको परिवारको क्षमता भन्दा निकै टाढाको कुरा हो ।
‘राम्रो नक्कली खुट्टालाई ४०–५० लाखभन्दा माथि पर्नेरहेछ । मेरो हैसियत छैन । त्यसैले यो दायित्व सरकारले नै लिनुपर्छ । राज्यले नै दीर्घकालीन अपांगका लागि रोजगारीको व्यवस्था गर्नुपर्छ,’ मुकेश भन्छन् ।
केही महिनापछि नयाँ सरकारको कार्यकाल सकिन्छ । जेनजी युवा एकअर्को बीच दोषारोपण गरेर बसेका छन् । आशा गरेका व्यक्त्ति पनि एकजुट नभएकोमा उनी निरास छन् ।

‘चुनाव भयो भने तिनै पुराना पार्टी आउँछन्, पुरानै नेताले देश चलाउँछन् । देशमा केही परिवर्तन आउँदैन,’ सुस्त स्वरमा बोल्न थाले, ‘सयौंले जीवन त्याग गरे । हजारौं साथीहरू अपांग भए । तर रगतको केही अर्थ रहेनछ ।’
यत्रो आन्दोलनपछि पनि मानिसहरू तिनै पुराना दल र नेताको गुनगान गाउँदै र नारा लगाउँदै हिँडेको देखेर उनी निराश सुनिए ।
त्यसपछि कोठामा सन्नाटा छाउँछ । बाहिरको चिसो हावा झ्यालमा ठोक्किएर फर्किन्छ । मुकेश फेरि बेडमा अडेस लाग्छन् । खुट्टा काटिएको भागमा हात राख्छन्, अनि टोलाउँछन् ।


तस्वीर : आर्यन धिमाल ।
प्रतिक्रिया 4