+
+
Shares
अस्पताल डायरी :

रगत सकियो, चिकित्सकका आँखा रसाए

एक घाइतेको अन्तिम बोली- म मरेपनि देश बाँचोस्

चिकित्सक निरन्तर कर्म गरिरहेका थिए । तर गोली लागेर मृत्यु हुने क्रम बढिरहेको थियो ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ भदौ ३० गते ८:०६

३० भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकलाई सोधेको थिएँ, ‘उपचार गर्दाको क्षण कस्तो थियो ? त्यतिका घाइतेलाई कसरी सम्हाल्नुभयो ?’

‘हामीले गरेको काम प्रचार नगरौं । चर्चा किन गर्ने ? देखाउनका लागि उपचारमा खटिएका होइनौं । आफ्नो ड्युटी पूरा गरेका हौं ।’ सुन्दा अलि रुखो लाग्यो । तर मनन् गर्दा यसले मेरो हृदय छोयो ।

जेनजी आन्दोलनपछिको कहालीलाग्दो अवस्था थियो, त्यो । अस्पतालमा घाइतेहरू खचाखच भरिंदै थिए । ऐय्या–आत्थाको कारुणिक आवाज, घाउ र रगतको विरक्तलाग्दो दृश्य । रणमैदान जस्तै थियो अस्पताल ।

घाइतेलाई आपत्कालीन कक्षमा राखेर उपचार गर्ने ठाउँ थिएन । बेडहरू खाली थिएनन् । भुइँमा समेत घाइतेहरू यत्रतत्र थिए ।

हेर्नै नसकिने यो स्थितिलाई स्वास्थ्यकर्मीहरूले कसरी सम्हाले होलान् ? न थकान, न भोक । पलभर आराम गर्ने अवस्था थिएन । उनीहरू यन्त्रवत् खटिएका थिए ।

आन्दोलनको एकमुष्ट चोट उनै स्वास्थ्यकर्मीहरू खेपिरहेका थिए । असह्य पीडाले छट्पटाइरहेका घाइतेहरूलाई एकपल ढिलो नगरी उपचार गर्नुपर्ने दबाबमा थिए उनीहरू । त्यहाँ दबाब मात्र थिएन, उत्तिकै करुणा र सन्त्रास पनि । अस्पतालभित्रै हुलदंगा मच्चिन सक्ने जोखिम थियो । सुरक्षाका सबैजस्तो संयन्त्र शिथिल भइसकेको विषम स्थिति थियो त्यो ।

त्यही क्षणको अनुभव लिन मैले चिकित्सकलाई फोन गरेको थिएँ । तर, अपेक्षा विपरीत उनले जवाफ दिए । त्यो जवाफले मलाई खिन्न बनाएन बरु समग्र स्वास्थ्यकर्मीप्रति श्रद्धाभाव जगाइदियो । एउटा चिकित्सकले कति ठूलो त्याग गर्छन् ? सम्झेर मेरो हृदय पग्लियो ।

अश्रुग्यास छल्दै जब चिकित्सकहरू उपचारमा जुटे

गत सोमबार । मध्याह्न । जेन–जी आन्दोलनमा घुसपैठ गर्नेहरूले उपद्रव शुरु गरिसकेका थिए । आगजनी र तोडफोड भइरहेको थियो । सुरक्षाकर्मी र प्रदर्शनकारीलाई उत्तेजित बनाइएपछि त्यसले हिंसाको रूप लिएको थियो । र, घाइतेले अस्पतालको शय्या भरिन थालेको थियो ।

नयाँबानेश्वर नजिकको निजामती अस्पताल सबैभन्दा बढी दबाबमा थियो । त्यहाँ सयौंको संख्यामा घाइते ल्याइएको थियो । र, यो क्रम रोकिएको थिएन ।

अस्पताल प्रमुख डा. मोहन रेग्मीले हामीसँग हतारमा भने, ‘अहिलेको अवस्था डरलाग्दो छ । घाइतेको संख्या ८० भन्दा बढी छ । एक जनाको मृत्यु भइसकेको छ ।’

घाइतेलाई अस्पतालमा ल्याउँदै गर्दा उनी सिंहदरबारको एक मिटिङमा थिए । त्यहींबाट रेग्मीले अस्पतालको कमाण्ड सम्हाले । तुरुन्तै अस्पतालका सबै स्वास्थ्यकर्मी आकस्मिक कक्षमा परिचालन भए । तर सेकेन्ड–सेकेन्ड घाइते ल्याउने क्रम रोकिएन ।

कतिपय घाइतेहरू विद्यालयकै पोशाकमा थिए । उनीहरूको शरीरबाट आलो रगत बगिरहेको थियो । कसैको पाखुरा, कसैको खुट्टा भाँचिएको थियो । कतिपयको भने छाती, टाउको र शरीरका विभिन्न भागमा गोलीले प्वाल पारेको थियो ।

घाइतेलाई अस्पतालको प्यासेजमै भुइँमा सुताएर राखिएको थियो । यो भीड सम्हाल्न स्वास्थ्यकर्मीहरूलाई निकै हम्मे पर्‍यो । बाहिर गोलीको आवाज डङ्ग–डङ्ग गरिरहेको थियो । निकै तनावग्रस्त अवस्थामा स्वास्थ्यकर्मी विचलित नभई घाइते बिरामीको उपचारमा तत्लीन रहे ।

सम्हाल्नै गाह्रो घाइते, भ्याउनै गाह्रो उपचार

अस्पतालमा घाइतेको संख्या यसरी थपिंदै थियो, जहाँ मेडिकल उपकरण र स्वास्थ्यकर्मीको अभाव हुन थाल्यो । गम्भीर वा आपत्कालीन अवस्थाका घाइतेले अस्पताल भरिन थालेपछि त अवस्था अझ जटिल भयो । अस्पतालले थेग्नै नसक्ने स्थिति आइलाग्यो ।

न पुग्दो जनशक्ति छ, न मेडिकल संसाधन । घाइते ल्याउन र अर्को अस्पताल पठाउनका लागि एम्बुलेन्सको समेत अभाव हुन थाल्यो ।

निजामतीका स्वास्थ्यकर्मीले भयावह अवस्था रहेको जानकारी गराउँदै ट्रमा सेन्टरका चिकित्सकलाई जुट्न अपिल गरे । केही घाइते बिरामी एभरेष्ट अस्पतालमा पुगे । तर त्यहाँ पनि उपचार काबु बाहिर गइसकेको थियो ।

एम्बुलेन्स आवश्यक रहेको सूचना जारी गरेपछि त्यहाँ सहयोग जुट्न थाल्यो । गम्भीर अवस्थाका घाइतेहरू ट्रमा सेन्टरतर्फ पठाउन थालियो ।

कोहीको टाउकोमा गोली, कोहीको छातिमा । तत्काल नै ओपीडीमा बिरामी हेरिरहेका चिकित्सक इमर्जेन्सीमा खटिए । नियमित तालिकामा रहेको शल्यक्रियालाई बन्द गरियो । सयौंको संख्यामा विशेषज्ञ सहितका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी खटिए ।

त्यतिबेलासम्म अस्पतालका गेटहरू बन्द भइसकेका थिए, सुरक्षाकर्मीको तैनाथ भइसकेको थियो । र, अस्पताल भित्रको वातावरण तनावग्रस्त बनेको थियो । घाइतेको अवस्था हेरेर अस्पतालले उपचार सुरु गर्न थाले ।  किनभने यो अवस्था एकदम जटिल र घातक थियो किनभने धेरैजसो बिरामी गोली लागेर आएका थिए ।

आपत्कालीन अवस्थाको कहालीलाग्दो दृश्य

त्यसबेला आकस्मिक कक्षमा नर्स, मेडिकल अफिसर र विभिन्न विभागका विशेषज्ञहरू सक्रिय भएर फ्रन्टलाइनमा जुटे ।

विशेषगरी एनेस्थेसियोलोजिस्ट टोली तुरुन्तै श्वास–प्रश्वासको व्यवस्थापन, रक्तचाप नियन्त्रण, शल्यक्रियामा तयारी र आईसीयूमा स्थानान्तरणका लागि खटियो । टाउकोमा गोली लागेकालाई न्युरोसर्जन, छाती तथा रक्तनलीमा गोली लागेकालाई कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी (सीटीभीएस) र हात, खुट्टामा गोली लागेका बिरामीलाई जनरल तथा अर्थोपेडिक्स सर्जनको टिमले हेर्न थाले ।

घाइतेमध्ये तीन जनाको अस्पताल नपुग्दै श्वास–प्रश्वास बन्द भइसकेको थियो । तैपनि स्वास्थ्यकर्मीले गोली लागेकालाई कृत्रिम श्वास–प्रश्वास दिएर बचाउन खोजियो । तर उनीको प्रयास सफल भएन ।

५–६ जना अति गम्भीर अवस्थाका– बेहोस, छाती, टाउको र शरीरका विभिन्न भागमा गोली लागेका, रगतमा लतपतिएका थिए । चिकित्सकले तुरुन्तै फोक्सोमा पाइप हालेर रगत निकालियो, तर मस्तिष्कसम्म रक्तसञ्चार पुगिरहेको थिएन ।

चिकित्सकको अनवरत प्रयास हुँदाहुँदै एक २२ वर्षको युवाले प्राण त्यागे । त्यसबेला करिब तीन बज्न लागेको थियो ।

आकस्मिक कक्षमा भीड बढ्न थालेपछि वीर अस्पतालबाट पनि चिकित्सक र नर्स सहितको जनशक्ति बोलाइयो । गोली लागेका बिरामीहरूको उपचारमा सेकेन्डको महत्व हुन्छ । बिरामीलाई तुरुन्त सास फेर्न मद्दत गर्ने, रक्तस्राव नियन्त्रण गर्ने र आवश्यक परे तत्कालै शल्यकक्षमा लैजाने, यी सबै कार्यहरू क्षणभरमै थाले ।

रगत सकियो, चिकित्सकको आँखा रसायो

अस्पतालमा ल्याइएकामध्ये धेरैजसो विद्यालय पोशाकमा थिए– झोला बोकेका । कलकलाउँदा उमेरका । टिठलाग्दा । आँखै अगाडि यस्ता घाइतेको मृत्यु हुँदा स्वास्थ्यकर्मीले आफ्नो मन सम्हाल्न कठिन भइरहेको थियो ।

त्यसबेला ट्रमा सेन्टरमा जम्मा ११ वटा आईसीयू, आठ वटा एचडीयू र ६ बेडको पोस्ट–अपरेटिभ वार्ड नियमती बिरामीले भरिभराउ जस्तै थिए । जटिल घाइतेहरू धेरै आउँदा बेड अभाव हुन थाल्यो । चिकित्सकले अन्यत्र सार्न मिल्ने बिरामीलाई अन्यत्रै सारे । त्यतिन्जेल केही आईसीयू, एचडीयू र पोस्ट–अपरेटिभ वार्डमा बेड खाली भयो ।

यतिसम्म कि, डेढ घण्टामै अस्पतालमा रगत सकियो । रगतको अभाव हुन नदिन स्वास्थ्यकर्मीहरूले रगत दान गरेर समेत घाइतेको उपचार गरे । कतिपयको रक्तस्राव अत्यधिक भएकाले केहीलाई चिकित्सकले बचाउन सकेनन् ।

करिब चार बजेतिर घाइते संख्या ३०० भन्दा बढीको हाराहारीमा पुगिसकेको थियो । काठमाडौं मेडिकल कलेज, त्रिवि शिक्षण लगायत अस्पतालमा घाइते बिरामीको भीड लागिसकेको थियो । उसैगरी यहाँका स्वास्थ्यकर्मी पनि अनवरत खटिरहेका थिए ।

उपचारमा संलग्न रहेका ट्रमामा एक चिकित्सकले त्यहाँको स्थितिको चित्रण गर्दै भने, ‘कतिपय स्कूलकै ड्रेसमा घाइतेहरू छन् । झोला बोकेका छन् । बोल्न सकेका छैनन् । धेरै विपद्‌मा काम गरियो । तर आजको घटनाले आँखा रसाइरहेको छ । खुट्टा कामिरहेको छ । आफ्ना आँखा अगाडि मरिरहेका छन् । यहाँको अवस्था युद्धमैदान सरह नै छ ।’

यसरी कलिला बालबालिकाले मृत्युको सामना गर्नुपर्ने अवस्था चिकित्सकहरूको लागि पनि अत्यन्त पीडादायी हुँदै थियो ।

त्यसबेला अर्को चिकित्सकले फोन सम्पर्कमा भनेका थिए, ‘अहिले युद्धको जस्तो परिवेश भयो । सवारी दुर्घटना, भूकम्प, कोभिडमा पनि काम ग‍र्‍यौं तर आज युद्धको जस्तो स्थिति देखियो । कलिला भाइबहिनीलाई गोली लाग्दा स्तब्ध भएका छौं । तर निरन्तर काममा तल्लीन रहेका छौं ।’

चिकित्सकले निरन्तर आफ्नो काम लगावका साथ गरिरहेका थिए । किनकि त्यसबेला उनीहरूका लागि एकपल मात्रै ढिला हुँदा मृत्यु हुने सम्भावना हुन्थ्यो ।

एक घाइतेको अन्तिम बोली, ‘म मरेपनि देश बाँचोस्’

त्यसबेला मैले १५ जनाभन्दा बढी उपचारमा संलग्न चिकित्सकसँग छिनछिनमा कुराकानी गरिरहेको थिएँ । अर्को चिकित्सकले गम्भीर घाइतेले भनेको भनाइ उद्धृत गर्दै भनेका थिए, ‘देशको लागि लडेको हुँ । म मरेर गए पनि देश बाँचोस् । उनको यस्तो शब्द सुन्दा म स्तब्ध छु ।’

चिकित्सक निरन्तर कर्म गरिरहेका थिए । तर गोली लागेर मृत्यु हुने क्रम बढिरहेको थियो । करीब चार बजे ट्रमा सेन्टरमा सात जना युवाले ज्यान गुमाइसकेका थिए । त्यसको एक घन्टाको अन्तरालमा अर्को एक जना युवाको मृत्यु भयो ।

करीब साढे ५ मा अर्का एक चिकित्सकले भने ‘आठ जना युवाको मृत्यु भइसकेको छ । बाँचेका घाइतेहरूमा पनि दीर्घकालीन अपांग हुने सम्भावना देखिएको छ ।’

त्यसरात ट्रमा सेन्टर र अन्य अस्पतालका चिकित्सकले रातभर काम गरे । सोमबारदेखि मंगलबार बिहानसम्म लगातार १३ जटिल बिरामीहरूको शल्यक्रिया गरियो ।

कसैलाई केको धन्दा…

जतिबेला अस्पतालमा घाइतेको छट्पटी र पीडाले कहालीलाग्दो अवस्था थियो; स्वास्थ्य जनशक्ति र आवश्यक स्रोतको पनि उत्तिकै अभाव थियो । चिकित्सकहरू एकनिमेष आराम नगरी उपचारमा खटिएका थिए । त्यही मौकामा कतिपयले भने ‘स्टन्ट’ गर्न भ्याए । युट्युबरलाई अघि–पछि लगाएर अस्पताल आए, चिकित्सकको भेषमा ।

दु:खेकै छ घाउ

अहिले पनि १०० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको छ । ७२ जनाको मृत्यु भइसकेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार, बाँचेका घाइतेहरूमा पनि अपांग हुने जोखिम उत्तिकै छ । घाइतेहरूको शरीरमा ठूलो–ठूलो गोली लागेकाले त्यसको असर पछिसम्म पर्नसक्नेछ । गोली लागेका घाइतेको संक्रमण फैलिन सक्ने जोखिम उच्च हुन्छ ।

त्यसले तीन–चार पटकसम्म पुन: शल्यक्रिया गर्नुपर्ने हुन्छ । अहिले पनि स्वास्थ्यकर्मी दिन–रात उपचारमा खटिइरहेका छन् ।

स्वास्थ्यकर्मीको पेशा नै सेवा र उद्धार हो, तर हरेक प्रकोपले स्वास्थ्यकर्मीहरूको मानसपटलमा दीर्घकालीन छाप छाड्छ ।

हरेक दिन यस्तै संकटसँग जुधिरहेका स्वास्थ्यकर्मीको सोमबार र मंगलबारको घटनाको अन्य दैनिकीभन्दा धेरै फरक  रह्यो ।  उनीहरूको निरन्तर साहस, समर्पण, लगनशीलता र सामूहिक प्रयासले नै ठूलो दुर्घटनाको व्यवस्थापन गर्न सम्भव भयो । जसका कारण सयौं जटिल बिरामीको ज्यान बच्यो ।

उपचारमा अनवरत खटिएका ती तमाम स्वास्थ्यकर्मीलाई सलाम !

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?