
News Summary
Generated by OK AI. Editorially reviewed.- नेत्रबहादुर थापाको छातीमा ९ वटा गोली लागेको छ, जसमध्ये एउटा अझै निकाल्न बाँकी छ।
- चिकित्सकले जोखिमका कारण तत्काल ननिकाल्ने बताएका छन्।
- २३ भदौको जेनजी आन्दोलनमा सहभागी थापामाथि प्रहरीले उनीमाथि गोली चलाएको थियो।
५ असोज, काठमाडौं । एउटा छातीले कतिवटा गोली थेग्न सक्छ ? एक, दुई वा तीन…।
नेत्रबहादुर थापाको छातीमा भने ९ वटा गोलीको आलो निसानी छ । यस्तो देखिन्छ, उनको छाती ‘बुल्सआई’ हो- जहाँ ताकी–ताकी तीर हानिन्छ ।
छातीको भागमा फराकिला चोट छन्, जहाँ धेरै टाँका लगाइएको छ । काँधको देब्रेतर्फको एक गोली निकाल्न अझै बाँकी छ । उक्त गोली छातीबाट छेडिएर भित्र पसेको थियो ।
उपचारमा संलग्न चिकित्सकले भनेका छन्– नसामा अड्किएर बसेको कारण गोली निकाल्दा स्वर भासिन सक्ने, शरीरको अन्य अंग चल्न नसक्ने जोखिम छ ।
गत शुक्रबार साँझ वीरको शय्यामा पल्टिरहेका थापाले कुराकानीको सुरुवातमा गहिरो देशभक्तिको भाव पोखे ।
‘यो सब नेताको कारणले भएको हो । भ्रष्टाचार र राजनीतिक दलको मनपरीतन्त्रको आक्रोशले हामीलाई सडकमा ल्यायो,’ उनले पीडाको गहिराइ पोख्दै भने ।

निधारमा चिट्चिट् पसिना टल्किरहेको छ । छातीको भित्री धड्कनसँगै सास फुलिरहेको छ ।
उनी थोरै बोल्न खोज्छन्, तर आवाज बाहिर आउनुअघि नै घाँटी थिचिएझैँ रोकिन्छ । शब्दहरू भारी हुन्छन्, अनुहारमा छटपटी झल्किन्छ । नजिकै राखिएको टिस्यु वा कपडाले बारम्बार पसिना पुस्छन् ।
२३ भदौको दिन, जेनजी आन्दोलनमा उभिएका उनीमाथि नौ–नौ वटा गोली लाग्यो । तीमध्ये एक अझै पनि उनको गर्धनमा गडेको छ । हरेक पल जीवन र मृत्युबीचको अदृश्य सीमा बनाइरहेको छ ।
०००
४ वर्ष साउदी अरब बसेर जेठमा मात्रै नेपाल फर्किएका थिए नेत्र । साउदी अरबमा राम्रो कमाइ नभएपछि उनी काठमाडौं बसेर जापान जाने तयारी गर्दै थिए । बानेश्वरस्थित एक कन्सल्टेन्सीमा जापानी भाषा सिक्दै थिए ।
मुलुकमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र बेथितिबाट वाक्क भएका नेत्र १२ कक्षा अध्ययन सकिएसँगै साउदी अरब हानिए । तर त्यहाँ सोचे जस्तो कमाउन सकेनन् । अर्कै देश जाने सोच बनाएर उनी जेठमा नेपाल फर्केका थिए ।
जापान जाने तयारी गरिरहेकै समयमा २३ भदौदेखि जेनजी आन्दोलन सुरु भयो । उनी पनि आन्दोलनमा सहभागी हुन बानेश्वर आए ।
संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध नारा लगाउने जेनजीको योजना थियो। ।
‘देशको अवस्था देखेर मनमा आक्रोश थियो,’ नेत्र सम्झिन्छन्, ‘भ्रष्टाचारले देशको ढुकुटी दोहन भइरहेको थियो । यो अवस्था बदल्नुपर्छ भन्ने सोचेर आन्दोलनमा गएको थिएँ ।’
प्रदर्शनकारीको भिड तीनकुने हुँदै नयाँ बानेश्वरतर्फ अघि बढिरहेको थियो । उनी पनि त्यो आन्दोलनको अग्रमोर्चामा थिए । भ्रष्टाचारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन संसद् भवनतर्फ बढिरहेको थियो । केही प्रदर्शनकारी दक्षिण गेट नाघेर संसद् भवनभित्र प्रवेश गर्न थाले । २३ गते दिउँसो साढे १२ बजे आसपास नेत्र आन्दोलनस्थल पुगे । माहोल तनावग्रस्त थियो ।
उनी पनि संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गर्दै थिए । त्यही समयमा प्रहरीले प्रदर्शनकारीमाथि अन्धधुन्दा अश्रुग्यासका साथै गोली बर्साउन थाल्यो ।
मनमा देशप्रतिको जिम्मेवारीले उनीजस्ता युवालाई सडकमा ल्याएको थियो । ‘हामी भीमसेन थापाका सन्तान हौं, मनमा आँट लिएर सडकमा पुगेँ,’ त्यस क्षण सम्झिए, ‘हामी अगाडि बढिरहेका थियौं, ढुंगा–मुढा गर्दै, संसद् भवनभित्र छिर्ने प्रयासमा थियौं । प्रहरी त्यसको प्रतिवाद गर्दै थियो ।’
त्यही क्रममा प्रहरीले गोली चलायो । दुई–तीन राउन्ड गोलीको आवाज आयो । प्रहरीले चलाएको गोली नेत्रको छातीमा लाग्यो । उनी गोलीको परवाह नगरी रगताम्य अवस्थामा सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए ।
छाती, घाँटी, चिउँडो र शरीरका अन्य भागमा ९ वटा रबरको गोली लाग्यो । गाडीमा राखेर अस्पताल लैजाँदा पनि उनी चिच्याए, ‘यी भ्रष्टाचारीलाई छोड्नुहुन्न, सखाप पार्नुपर्छ ।’
त्यति भनिरहँदा उनको आवाजमा देशभक्तिको भावना छचल्किएको थियो ।
आन्दोलनरत साथीहरूले उनलाई रगताम्य अवस्थामा नजिकै रहेको सिभिल अस्पताल पुर्याए । अवस्था जटिल भइसकेको थियो । सिभिल अस्पतालबाट तत्काल एम्बुलेन्समा राखेर ट्रमा सेन्टर पुर्याइयो ।
उनको छाती, कुम, घाँटी, चिउँडो लगायत ठाउँमा गोली लागेको थियो । दुइटा गोली भने घटनास्थलमै झरेको रहेछ ।
‘रबर गोली भएकै कारण बाँचे,’ उनी अहिले स्मरण गर्छन् ।
२६ भदौ दिउँसो २-६ बजेसम्म शल्यक्रिया गरेर उनको शरीरभित्र रहेका गोली निकालियो । तर घाँटीमा रहेको एउटा गोली भने निकाल्न बाँकी छ ।
९ वटा गोली लाग्दा पनि नेत्रको आत्मबल कमजोर छैन । उनी अहिले पनि आन्दोलनको भावनालाई जीवित राख्न चाहन्छन् । ‘भ्रष्टाचारविरुद्ध लड्नुपर्छ । यो देश हाम्रो हो, यसलाई बदल्नुपर्छ,’ उनी दृढताका साथ भन्छन् ।
अझै बाँकी छ शरीरमा गोली
नेत्रको काँधको देब्रेतर्फ एउटा गोली निकाल्न अझै बाँकी छ । यो गोली छातीबाट छेडिएर भित्र पसेको थियो । उपचारमा संलग्न चिकित्सकले नसामा अड्किएर बसेको कारण यो गोली ननिकाल्दा नै उत्तम हुने सुझाव दिएको उनी बताउँछन् ।
गोली निकाल्दा स्वर भासिन सक्ने, शरीरको अन्य अंग नचल्ने जोखिम रहेकोले तत्काल ननिकाल्ने सुझाव दिएको उनी सुनाउँछन् । उनको देब्रे खुट्टामा पनि गम्भीर चोट लागेको छ । जसका कारण खुट्टा फ्याक्चर भएको छ । खुट्टामा प्लास्टर गरिएको छ ।
युवाहरूको बलिदानले अहिले मुलुकमा केही परिवर्तन भएको उनी बताउँछन् । ‘युवाहरूको बलिदानीबाट केही आशा पलाएको छ । तर धेरै राष्ट्रिय सम्पत्ति नष्ट भएको छ,’ उनी भन्छन्, ‘यो देखेर दुःख लागेको छ ।’
सिंहदरबार र सर्वोच्च अदालत जल्दा आफूलाई साह्रै दुःख लागेको उनी बताउँछन् । यी दुई स्थानमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका महत्त्वपूर्ण दस्तावेजहरू थिए । ब्रिटिससँग भएका सन्धि-सम्झौताका दस्तावेजहरू पनि यहीँ थिए होला । आगजनीबाट सर्वोच्च अदालतमा भएका महत्त्वपूर्ण मुद्दा-मामिलाका रेकर्डहरू जले । जसका कारण धेरै अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउने अवस्था आउन सक्नेमा उनी चिन्तित छन् ।
नेत्रले हालै गठन भएको अन्तरिम सरकारलाई सकारात्मक रूपमा लिएको बताए । फागुनमा चुनाव हुने तय भए पनि अहिलेको निर्वाचन प्रक्रियाले थुप्रै जेनजी युवालाई भोट हाल्नबाट वञ्चित गराउने खतरा उनले देखेका छन् ।
फागुनको चुनावमा आफू मात्र होइन, आन्दोलनमा सहभागी अन्य साथीहरूले पनि मतदान गर्न पाउनुपर्ने उनको माग छ । यसैगरी विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने उनको जिकिर छ । भन्छन्, ‘विदेशमा रहेका हाम्रा साथीहरूले पनि भोट हाल्न पाउनुपर्छ । यो उनीहरूको नैसर्गिक अधिकार हो ।’ प्रत्यक्ष तरिकाले प्रधानमन्त्री चुन्न पाउनुपर्ने माग उनको छ ।
नयाँ प्रधानमन्त्रीसँग नेत्रले ठूलो आशा राखेका छन् । जेनजीले उठाएका ‘नो भोट’ र प्रवासी नेपालीको मतदान अधिकार जस्ता विषयहरू अबको चुनावी एजेन्डा बन्नुपर्ने उनको तर्क छ ।
आपतकालीन परिस्थितिमा संविधानले दिएको विशेष व्यवस्थाअन्तर्गत नयाँ भोटर लिस्ट दर्ता प्रक्रिया सुरु गर्न सरकारसँग उनको आग्रह छ ।
‘हामीले लोकतान्त्रिक अधिकार प्रयोग गरेर आफ्ना प्रतिनिधि छान्न पाउनुपर्छ । यसका लागि भोटर लिस्ट अद्यावधिक गर्न ढिलो गर्नु हुँदैन,’ उनले स्पष्ट पारे ।
‘नयाँ पुस्ताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाइयोस्, ताकि उनीहरूले लोकतान्त्रिक माध्यमबाट सत्ता परिवर्तनमा भूमिका खेल्न सकुन्,’ उनले भने ।
आन्दोलनमा किन आउनुपर्यो ?
नेत्रको बाल्यकाल पर्साको ठोरी गाउँपालिका–२ मा बित्यो । १० कक्षासम्म गाउँकै विद्यालयमा पढेका उनले उच्चशिक्षाका लागि काठमाडौँको बाटो समाते । काठमाडौँमा प्लस टु सकेपछि होटल व्यवसायमा डिप्लोमा गरे । तर नेपालमा रोजगारीको अवसर नपाउँदा बाटो विदेशतिर मोडियो ।
‘नेपालमा काम गर्ने वातावरण नै भएन । व्यवस्थापनको कमी, रोजगारीको अभावले गर्दा विदेशिनु बाध्यता बन्यो,’ उनी भन्छन् ।
साउदी अरबमा चार वर्ष बारिस्टामा काम गरे । विदेशको श्रम, मिहिनेत र चुनौतीले उनलाई धेरै कुरा सिकायो ।
‘विदेशमा कमाएको पैसा नेपाल पठाउँछौँ, तर यहाँको अवस्था सुध्रिएको छैन । शिक्षा, स्वास्थ्य र रोजगारीको राम्रो व्यवस्था नहुँदा हामीजस्ता युवाहरू बाहिरिन बाध्य छौँ,’ उनले दुखेसो पोखे ।
नेपाल फर्किएपछि नेत्रले देशको अवस्थालाई नजिकबाट नियाले । बन्द कलकारखाना, रोजगारी अभाव, शिक्षा र स्वास्थ्य सेवाको दयनीय अवस्थाले उनको मन खिन्न बनायो ।
‘हामी रेमिट्यान्स पठाउँछौँ, तर यहाँका नेताहरू खाएर बस्छन् । अवस्था सुधार नभएसम्म हामी लडिरहनुपर्छ,’ उनी भन्छन् ।
हालै भएको परिवर्तनलाई उनले सकारात्मक रूपमा लिएका छन्, तर यो पर्याप्त छैन । ‘यो व्यवस्थाले अवस्था सुधार्नुपर्छ । नत्र हामी फेरि आन्दोलनमा उत्रिन्छौँ,’ अस्पतालको शय्याबाट उनले दृढताका साथ भने ।
यी युवाले नयाँ सरकारसँग ठोस अपेक्षा राखेका छन् । नेत्रको विचारमा, सुशासन, शिक्षाको गुणस्तर, स्वास्थ्य सेवाको सुधार र रोजगारीको अवसर सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ ।
‘बन्द भएका कलकारखाना खोलियोस्, रोजगारीको वातावरण बनोस् । युवाहरूलाई स्वरोजगार बन्न सजिलो बनाइयोस्,’ उनी भन्छन् ।
यस्तो व्यवस्था भएमा विदेशमा रहेका युवाहरू नेपाल फर्कने र यहाँ नै रोजगारी गर्ने उनको विश्वास छ । उनको सुझाव छ, ‘सुशासन र व्यवस्थित नीति बनाइयो भने विदेशिएका युवाहरू फर्कनेछन् । रोजगारी र स्वरोजगारको वातावरण बन्यो भने हामी यहीँ बस्नेछौँ ।’
तर, अवस्था सुधार नभए र रोजगारीको अवसर नबने विदेश जाने विकल्प उनले खुला राखेका छन् ।
बुबाको मनमा उम्लिएको आक्रोश
नेत्रलाई गोली लागेको खबर सन्दा बुबा बलबहादुर जंगलमा थिए । एकछिन उनी रनभुल्लमा परे । घटना सुन्दा साथ घरतिर दौडिए । मनमा छटपटी र आक्रोश एकसाथ उम्लियो ।
कहाँ जाने, के गर्ने कुनै भेउ पाउन सकेनन् ।
रात परिसकेको थियो । ठोरीबाट काठमाडौं आउने गाडी छुटिसकेको थियो । अन्ततः आफन्तको फोनले उनलाई केही राहत दिएको थियो ।
‘मन एकदमै भारी भएको थियो,’ छोराको हेरचाहमा खटिएका बलबहादुरले भने, ‘तर आफन्तले फोन गरेर खतरामुक्त भएको जवाफ दिएपछि मन शान्त भयो ।’
५३ वर्षीय बलबहादुरले आफ्नो राजनीतिक अनुभवका आधारमा वर्तमान अवस्थाको विश्लेषण गर्दै भने, ‘जेनजी आगोको मुस्लो हो, त्यो मुस्लोलाई सरकारले सम्हाल्न सकेन ।’
उनका अनुसार निर्वाचनमा जाँदा नेताहरूले जुन कुरा गरेका थिए, त्यो पूरा भएन । उनी भन्छन्, ‘ जो-जो नेताको झोला बोकेर हिँडे, उनीहरूलाई मात्रै भयो । आम जनताले केही पाएनन् ।’
उनका तीनजना छोरा छन् । एक भारतमा जागिर गर्छन् । अर्का नेपाल आर्मीमा छन् भने माइला नेत्र साउदी अरबमा चार वर्ष बसेर फर्किएका हुन् ।
बलबहादुरले २०३६ सालदेखिको राजनीतिक अनुभवका आधारमा भने, ‘सानो झिल्को फुटिसक्यो । यस्तै प्रवृत्ति रह्यो भने आगोको ठूलो ज्वाला विस्फोट हुन बेर लाग्दैन ।’
प्रतिक्रिया 4