
News Summary
Generated by OK AI. Editorially reviewed.- आशुतोष बस्नेत, भदौ २३ गतेको जेन जी आन्दोलनमा छातीमा गोली लागे पनि माइतीघरमा भाषण गर्दै भ्रष्टाचारविरुद्ध आवाज उठाए।
- आशुतोषले निष्पक्ष निर्वाचन र भ्रष्टाचार अन्त्यको माग गरेका छन् ।
जेन जी आन्दोलनको भीडमा एक युवकले सबैको ध्यानाकर्षण गर्छन् । उनी अग्रभागमा उभिन्छन् । हाप पाइन्ट र सर्ट लगाएका । छाती र गालाको आलो घाउमा पट्टी बाँधेका । हातमा रगत लतपतिएको टिसर्ट बोकेका ।
उनी जोशका साथ भनिरहेका छन्, ‘छातीमा गोली खाएको छु । आँखामुनि पनि यो मेरो रगत हो । नेपालीको रगत हो, जुन नेताहरूले बगाएका हुन् । यसको विरुद्ध हामी सबै बोल्ने छौँ, लड्ने छौँ ।’
शरीरमा केही घन्टाअघि मात्रै लागेको गोलीको घाउ बोकेर पनि त्यति निर्भीक ढंगले बोल्ने, त्यति जोडतोडले आफूलाई पेश गर्ने उनी को हुन् ? जेन जी प्रदर्शनपछि धेरैले सोधेको र खोजेको नाम हो । किनभने जसै आन्दोलन एउटा चरणमा प्रवेश गर्यो र जेन जी नेतृत्वको खोजी हुन थाल्यो उनी कुनै परिदृश्यमा देखिएनन् ।
निडर र हक्की : आशुतोष
आशुतोष बस्नेत, १९ वर्षीय जवान । सानैदेखि हक्की स्वभावका। गलत कुरा सहनै नसक्ने। स्कूलमा पनि कसैले गलत गर्यो भने भिडिहाल्थे उनी। यही स्वभावले नै उनलाई २३ भदौको जेन-जी आन्दोलनमा जोड्न मद्दत गर्यो ।
सुनसरीको इटहरीका उनी पढाइका लागि काठमाडौं बस्थे । बुबाआमाले एउटा सानो पसल चलाउँछन् । दिनमा १०-१२ घण्टा खटेर काम गर्दा जेनतेन परिवारको गुजारा चल्छ । उनले सानैदेखि बुबाआमाको दुःख देखे, विदेशबाट फर्केका बुबाले यहाँ पनि निकै मेहनत गरेको देखे। तै पनि परिवारको आर्थिक अवस्था बदलिएन। उता जनताको सेवा गर्न भन्दै राजनीतिमा लागेर देश चलाउने ठाउँमा पुगेका नेताहरुको खर्चिलो जीवनशैली, अपारदर्शी व्यवहारले उनको मनमा आक्रोश भर्दै थियो।
आशुतोषले आन्दोलनको बारेमा सामाजिक सञ्जालबाट थाहा पाए । सेप्टेम्बर ८ मा प्रदर्शन हुने जानकारी कमेन्ट्स र स्प्याम अकाउन्टहरूबाट फैलिएको थियो । मुख्य मुद्दा भ्रष्टाचारको विरोध थियो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले उनलाई थप आक्रोशित बनाइरहेको थियो ।
उनलाई यो भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण तरिकाले आवाज उठाउने अवसर जस्तो लाग्यो । अनि यसमा जोडिने निश्चिय गरे ।
घटनाको दिन
२३ भदौँ गतेको दिन आशुतोषले बिहानै खानेकुरा खाए । निस्कने बेलामा एउटा भिडियो पोस्ट गरे । जसमा क्याप्सन थियो, ‘म प्रदर्शनमा जाँदै छु, माइतीघर मण्डालमा भटौँला’
उनी माइतीघर पुगे अनि उनी भीडको एक हिस्सा बने । उनी पोस्टर, ब्यानर बोकेर नारा लगाउँदै थिए । भिडियो बनाउँदै थिए ।
माइतीघरबाट बानेश्वर संसद भवनतिर बढ्दा पुलिसको ब्यारिकेट र पानीको फोहोराले राक्न खोज्यो । त्यो दुवै अवरोध तोडेर आन्दोलनकारी अगाडि पुगे । यतिबेला सम्म उनलाई आन्दोलन शान्तिपूर्ण नै होला भन्ने लागिरहेको थियो ।
यसपछि प्रहरीले अश्रुग्यास छाड्न थाल्यो । एकै छिनमा तोडफोड सुरु भयो, प्रहरीको गोली बर्सिन थाल्यो । कोही गोली लागेर ढल्न थाले । कोही प्रहरीको कुटाइबाट घाइते भए, कसैलाई अश्रुग्यासलेगाह्रो बनायो ।
आशुतोषले ब्यागमा पानी बोकेका थिए, अश्रुग्यासले गाह्रो भएका व्यक्तिहरूलाई पानी बाँड्दै थिए । नजिकैको घरबाट पानी भरेर ल्याउँदै थिए । यस क्रममा उनी आफैँलाई गोली लाग्यो । चस्मा फुट्यो, फोनमा रगत लाग्यो । एकछिनपछि थाहा भयो उनको छातीमा पनि गोली लागेको रहेछ । एक अपरिचित व्यक्तिले उनलाई एम्बुलेन्ससम्म पुर्याए । एम्बुलेन्समा उनले सौरभ गौतम नामका एक साथी भेटे, उनी पनि घाइते थिए ।
उनको स्कुलकै जुनियर भाइ श्रेयम चौलागाईं पनि गोली लागेर बिते । श्रेयमसँग आशुतोष स्कुलमा सँगै टेबल टेनिस खेल्थे ।
ट्रमा सेन्टरको अवस्था
एम्बुलेन्सबाट राष्ट्रिय ट्रमा सेन्टर लगियो । त्यहाँको इमर्जेन्सीमा घाइतेहरूको भीड थियो । चारैतिर रगतैरगत । स्वास्थ्यकर्मीहरू पनि आत्तिइरहेका थिए । घाइतेको संख्या बढ्ने क्रम रोकिएन । अन्य ठाउँबाट पनि नर्स र डाक्टरहरू आइरहेका थिए ।
उनलाई एल्लो जोनमा राखियो । तत्काल ब्यान्डेज लगाएर अर्को भवनमा लगियो । जहाँ भुइँमा ३०–५० बेड ओछ्याइएका थिए । उनको छातीबाट गोलीको टुक्रा सजिलै निकालियो, तर आँखामुनिका टुक्राहरू टाँस्सिएका थिए ।
उपचार भरहँदा पनि उनले गोलीले ढलेको स्कुलको भाइलाई सम्झे । विद्यालय पोशाकमै रक्तमुच्छेल भएर ढलेका जेनजी युवाहरूलाई सम्झे । त्यो सम्झदा उनलाई झन् रिस उठ्यो । अनि डिस्चार्ज नहुँदै अस्पतालको बेड छाडेर निस्किए ।
प्रदर्शनकारी खोज्दै माइतीघर पुगे । त्यहाँ अझै भीड नै थियो । रिस र आक्रोशले भरिएका उनले प्रदर्शनकारी माझ उभिएर भाषण गरे ।
घाइते हुँदा हुँदै उनले शक्तिशाली शब्दहरू बोले, जुन सामाजिक सञ्जालमा भाइरल छ । यस्तो साहस कसरी आयो ? यसको जवाफमा उनी भन्छन्- ‘म सानैदेखि गल्ती सहेर बस्ने स्वभावको थिइनँ । कतै अन्याय भएको देखेँ भने बोली हाल्थे, स्कुलमा पनि बोल्थेँ ।’
नेपो बेबीज ट्रेन्ड
आन्दोलनअघि आशुतोष नेपो बेबीज ट्रेन्डमा जोडिएका थिए, जुन इन्डोनेसिया र फिलिपिन्सबाट सुरु भएको विश्वव्यापी ट्रेन्ड थियो । यसमा नेपाली युवाहरूले आफ्नो दैनिकी र भ्रष्टाचारको असर देखाएका थिए । हरेक दिन १०-१२ घण्टा काम गर्नेहरूको भन्दा कामै नगर्नेहरूको जीवन त्यति सानदार कसरी ? उनलाई पनि यो प्रश्नले चिमोटिरहेको थियो।
उनले इन्स्टाग्राममा यस्ता भिडियोहरू हालेर असन्तुष्टि व्यक्त गर्ने गरेका थिए । यो ट्रेन्डले नै उनलाई आन्दोलनप्रतिको जागरण बढायो । उनी पनि प्रदर्शनमा योगदान दिन चाहन्थे, किनकि यो कुरा तोड्नुपर्छ भन्ने उनको मनमा परिसकेको थियो ।
अबको अपेक्षा
आन्दोलनमा धेरैले ज्यान गुमाए र धेरै घाइते छन् । रगत बगाउने युवाहरूको सपना नमरोस् भन्ने चाहन्छन् उनी । विद्यार्थीहरूलाई गोली हान्न आदेश दिनलाई सजाय होस् भन्ने उनको प्रमुख माग छ ।
कुनै ठूलो चाहना छैन । चाँडो र निष्पक्ष निर्वाचन भएर देशले गति लेओस् र भ्रष्टाचार अन्त्य होस् भन्ने उनको इच्छा छ ।
‘हामीले आवाज उठायौं, अब परिवर्तन नै चाहिन्छ’ आशुतोष भन्छन् ।
प्रतिक्रिया 4