+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
७८ बलमा १२६ रन आवश्यक
कर्णाली याक्स 2025
76/1 (6.6)
Shares
जेनजी आन्दोलनका घाइते :

देख्ने, सुन्ने र सुँघ्ने क्षमता गुमाएका सन्तोष, निदाउन खान्छन् स्लिपिङ ट्याबलेट

२६ वर्षमै दृष्टि, श्रवण र घ्राणशक्ति गुमाएका सन्तोषलाई सुताउन पनि स्लिपिङ ट्याब्लेट चाहिन्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ मंसिर १६ गते १७:५०

१६ मंसिर, काठमाडौं । २४ भदौको दिन । दिउँसो तीन बजेको हुँदो हो । निर्मला खड्का बोहोराको मोबाइलमा एक अपरिचित नम्बरबाट फोन अयो ।

फोनमा एक पुरुषले भनिरहेका थिए, ‘तुरुन्तै सुर्खेत अस्पताल आउनुहोला । तपाईंको मान्छे इमर्जेन्सीमा हुनुहुन्छ ।’

के भयो, कसो भयो,  उनले केही मेसो पाइनन् । आत्तिँदै निर्मलाले श्रीमान्‌ (सन्तोष)लाई  कल गरिन् ।  तर फोन नै लागेन ।

१२ बजे खाना खाइवरी श्रीमान् ‘आन्दोलनमा जान्छु’ भनी घरबाट निस्किएका थिए ।

श्रीमान् हिँडेपछि उनी आफ्नै काममा व्यस्त भइन् । निर्मला बेलाबखत भेटनरीमा काम गर्थिन् र बाँकी समय सानो पसल चलाएर बस्थिन् । सुर्खेत बजारमा तोडफोड भइरहेको थियो, आगो दन्किरहेको घरबाट देखिइरहेको थियो ।

अप्रत्याशित खबर पाउनसाथ उनी घरमा भएको १४ हजार रुपैयाँ बोकेर अस्पताल तिर दौडिइन्।

सुर्खेत धमलाचोक (घर) बाट अस्पतालको दूरी करिब २० मिनेटको छ । उनी सरासर अस्पतालको इमर्जेन्सी कक्षमा पुगिन्, जहाँ उनले चिताउँदै नचिताएको दृश्य देख्नुपर्‍यो ।

बेडमा श्रीमान् लम्पसार थिए । उनको खोपडी छेडेर वारपार भएको रहेछ । त्यसबाट गिदी निस्किएको थियो र शरीरभर रगत लल्पतिएको थियो । दुवै आँखाका नानी थिएनन् ।

त्यतिबेला सन्तोष पीडाले छटपट्टाइरहेका थिए । बेहोसीमै बोलिरहेका थिए । त्यसबखतमा इमर्जेन्सी कक्षमा खटिएका डाक्टरको भनाइले निर्मलाको होसहवास नै उड्यो ।

‘उहाँ बाच्नु हुँदैन । उहाँलाई घरमै लैजानुहोस् ।’

न्यूरो वार्डको एक कोठामा टोलाइरहेका सन्तोषको टाउकोमा ठूलो पट्टी बाँधिएको छ । दुवै आँखाका नानी छैनन् । नाकले गन्ध थाहा पाउँदैन । सन्तोषलाई  दिन–रात कहिले सुरु हुन्छ, कहिले टुङ्गिन्छ केही पत्तो हुँदैन । बेलुका सुताउन निद्रा लाग्ने औषधि खुवाउनुपर्छ ।

कहाँ लैजाने, कसो गर्ने उनले केही भेउ पाउन सकिनन् । केही बेरमा आफन्त आइपुगे । थप उपचारका लागि नेपालगञ्ज लैजाने निधोमा परिवार पुगे । जसोतसो खोजखाज गरेर ५० हजार रुपैयाँ जुट्यो ।

सबैतिर कर्फ्यू लागिसकेको थियो । सन्तोष पीडाले कराइरहेका थिए, ‘मलाई दुख्यो, मलाई दुख्यो ।’

सन्तोषलाई एम्बुलेन्समा हालेर उनीहरू नेपालगञ्ज झरे ।  आइपुग्न करिब सात घण्टा लाग्यो ।

जसोतसो राति नेपालगञ्जको सञ्जीवनी मेडिकल कलेजमा पुगेर उपचार सुरु भयो ।  २५ भदौ दिउँसो तीन बजे अप्रेसन सुरु भयो । करिब चार घण्टा लगाएर अप्रेसन सफल पनि भयो ।  ६ दिनसम्म उनको होस खुलेन ।  १२ दिन भेन्टिलेटरमा राखियो, ३५ दिन आईसीयूमा राखेर उपचार गरियो ।

स्वास्थ्यकर्मीले सन्तोषको ज्यान त बचाए । दुवै आँखाको ज्योति भने फर्काउन सकेनन् । परिवारले थप उपचारका लागि काठमाडौं लैजाने निधो गरे ।

न्यूरो वार्डमा टोलाइरहेका सन्तोष

२६ वर्षीय सन्तोष बोहोराको शरीर त्रिवि शिक्षण अस्पताल ४१२ नम्बर शय्यामा छ । न्यूरो वार्डको एक कोठामा टोलाइरहेका सन्तोषको टाउकोमा ठूलो पट्टी बाँधिएको छ । दुवै आँखाका नानी छैनन् । नाकले गन्ध थाहा पाउँदैन । एकापट्टिको कानले सुन्दैनन् ।

बोल्न खोज्छन्, शब्दहरू बीचमै अड्किन्छन् । सन्तोषलाई  दिन–रात कहिले सुरु हुन्छ, कहिले टुङ्गिन्छ केही पत्तो हुँदैन ।

बेलुका सुताउन निद्रा लाग्ने औषधि खुवाउनुपर्छ । बेलाबेला बरबराइरहेका हुन्छन् ।

उनको संसार  अन्धकार  भएको छ ।

उनी जेनजी आन्दोलनका घाइते हुन् । २४ भदौमा प्रहरीले चलाएले गोली एक कञ्चटबाट छिरेर आँखाबाट निस्कियो । तेज गोलीको झट्काले उनका दुवै आँखा निमेषभरमै झारिदियो । त्यही क्षणदेखि सन्तोषको संसार अन्धकार भयो ।

तीन महिना बित्न लाग्यो । निर्मला दिनरात श्रीमान्‌को  स्याहारसुसारमा खटिरहेकी छिन् । उठ्न, बस्न, हिँड्न… । कुनै काम सन्तोष एक्लैले गर्न सक्दैनन् ।

बाथरुम जान पनि हिम्मत गर्दैनन् । ‘लड्छु कि क्या हो’  भन्दै निर्मलाको हात समात्छन् ।

बिहान उठेदेखि राति सुत्दासम्म, खाना खुवाउनेदेखि दिसापिसाब गराउनेसम्म । सबै कुरा निर्मलाले नै गराइदिनुपर्छ ।

‘घरको सबैको एक साहारा हुनुहुन्थ्यो । उहाँले कमाएर हाम्रो शरीर पालिन्थो । अहिले उहाँलाई रहेक कुरामा हाम्रो साहारा चाहिन्छ,’ निर्मलाले भक्कानिँदै भनिन् ।

सन्तोष दुई वर्ष माल्दिभ्स बसेर फर्किएको केही समय मात्रै भएको थियो ।  क्रोएसिया जानका लागि तयारी चलिरहेको थियो । त्यसका लागि तीन लाख डिपोजिट पनि गरिसकेका थिए । पुसतिर जाने मिति पनि तय भइसकेको थियो । सन्तोषको चार वर्षकी छोरी छिन् ।

उनी घरका एक मात्र छोरा हुन् । दिदीको केही वर्ष अघि नै विवाह भइसकेको छ । बुबा पुर्खौली थातथलो जुम्लामा रेखदेख गर्न वर्षको आधा समय नै उतै बस्छन्  । आमा सुर्खेतमै खेतीपाती गर्छिन् ।

किन मैले अँध्यारो देखेँ…? 

३५ दिनको आईसीयू बसाइपछि सन्तोषको आँखामा लागेको पट्टी खोलियो ।

उनको पहिलो प्रश्न थियो – ‘के भयो, पूरै अँध्यारो देख्छु त ।’

निर्मलाले स्वास्थ्य अवस्थाको बारेमा भन्ने हिम्मत राख्न सकिनन् ।

उनले थुमथुमाउँदै भनिन्, ‘केही दिनमा ठीक हुन्छ रे । तर हजुर आत्तिनु हुँदैन ।’

अहिले पनि सन्तोष बेला-बेला श्रीमतीलाई सोधिरहेका हुन्छन्– मेरो आँखा किन बन्द गरेर राख्या ?

निर्मला उसै गरी सान्तवना दिँदै भन्छिन्– ठीक हुन्छ बुढा । एक दुई दिनमै खुल्छ रे उपचार भइरहेको छ ।’

यसो भन्दै गर्दा निर्मलाको आँखाबाट आँसु बगिरहेको हुन्छ ।

चिकित्सकले सन्तोषको अब आँखा नदेख्ने र नेपालमा पनि उपचार नहुने जानकारी दिइसकेका छन् ।

बायाँ आँखाबाट भित्र पसेको गोली दाहिने आँखाबाट बाहिर निस्किँदा दुवै आँखामा गम्भीर क्षति पुगेको र मस्तिष्कमा पनि चोट लागेको चिकित्सकहरूले बताएका छन् ।

नेपालगञ्जमा मस्तिष्कको क्षतिग्रस्त भाग निकाल्ने र खोपडीको हड्डी हटाउने शल्यक्रिया गरिएको थियो । थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालका न्यूरोसर्जरी विभागका चिकित्सकहरूले खोपडीमा कृत्रिम हड्डी (सिमेन्ट बोन) राखेर टाउकोको संरचना पुनर्निर्माण गरेका छन् ।

‘उहाँको मस्तिष्कको चोट निको भइसकेको छ, अब बिस्तारै अवस्था ठीक हुन्छ,’ न्यूरो सर्जरीमा कार्यरत डा. दिपेन्द्र थापाले भने ।

उनका अनुसार आँखाको विशेषज्ञहरूले जाँच गर्दा दुवै आँखाको आन्तरिक संरचना (रेटिना र अप्टिक नर्भ) पूर्णतया नष्ट भएको पाइएको छ ।

‘कस्मेटिक उद्देश्यका लागि कृत्रिम आँखा (अक्युलर प्रोस्थेसिस) राख्न सकिन्छ, तर दृष्टि फर्काउन सम्भव छैन,’ थापा भन्छन् ।

सन्तोषको उपचारमा संलग्न चिकित्सक ।

चिकित्सकका अनुसार बिरामी अहिले डिस्चार्ज हुने अवस्थामा छन् ।  न्यूरोसर्जरीको दृष्टिकोणबाट उपचार सम्पन्न भएको र थप उपचारको आवश्यकता नरहेको उनीहरूले जनाएका छन् ।

तर परिवारका सदस्य नेपालमा उपचार नभए विदेशमा लगेर उपचार गर्नुपर्ने बताउँदै आएका छन् ।

निर्मला आँसु थाम्न खोज्दै भन्छिन्, ‘राज्यले गोली हान्यो । राज्यले नै आँखा फिर्ता गरिदेओस् बस्, यही माग हो ।’

प्रधानमन्त्रीको झुटो आश्वासन’

नेपालगञ्जमा उपचार भइरहँदा सन्तोषको स्वास्थ्य अवस्थाबारे राज्य पूरै बेखबर थियो । जिल्ला प्रशासन कार्यालयले पनि घाइतेको प्रमाणपत्र समेत दिएन । विदेशमा रगत, पसिना बगाएर जोहो गरेको करिब ८ लाख औषधिमूलो गर्दै सकियो ।

त्यसपछि ऋण नै गर्नुपर्ने अवस्था आइलाग्यो । कसैले भन्यो  ‘काठमाडौंमा लैजानु सरकारी अस्पतालमा घाइतेको उपचार निःशुल्क छ ।’

अनि परिवारले रातरात १४ कात्तिकमा टिचिङ अस्पताल ल्याएछ । त्यसपछि मात्रै राज्यको नजर उनीमाथि पर्‍यो ।

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र जेनजी अगुवा सुदन गुरुङ, मिरज ढुंगाना समेत भेट गर्न पुगे ।

सबैसँगै सन्तोषले भनेका थिए, ‘जहाँ लगेर भए पनि मेरो आँखा देख्ने बनाइदिनु ।’

प्रधानमन्त्रीले कार्कीले त्यसबेला आश्वासन दिँदै भनेकी थिइन्, ‘ नेपालमा उपचार सम्भव नभए विदेशमा पठाएर पनि गर्छौं ।’

अस्पतालबाट आश्वासन दिएर फर्किएको प्रधानमन्त्री दुई हप्ता बित्यो । तर उनले अहिलेसम्म कुनै सोधीखोजी राखेकी छैनन् । ‘उहाँले गर्छौं भन्नुभएको थियो । तर झुटो बोल्नुभएको जस्तो लागिरहेको छ । अहिलेसम्म पनि थप उपचारका लागि सोधीखोजी गर्नुभएको छैन,’ निर्मलाले निरास हुँदै भनिन् ।

सरकारबाट सन्तोषका परिवारले २० हजार पाएको छ । अहिले अस्पतालमा उपचार निःशुल्क भइरहेको छ । तर उनीहरूका लागि काठमाडौं बसाइ महँगो बनिरहेको छ । काठमाडौंमा चिनेजानेका कोही छैनन् ।

जेनजीले बनाएको सरकार भनिन्छ । तर घाइतेका लागि खानपिन, बस्ने ठाँउ, कपडा व्यवस्थासम्म गर्दैन भने यो कस्तो सरकार ?

सन्तोषको उपचारका लागि बुबा र दाई पनि आएका छन् । उनीहरू होटलमा बस्दै आएका छन् ।

‘बस्नका लागि होटेल खर्च दैनिक १ हजार २०० र चार जनालाई खाना गरी तीन हजारभन्दा बढी खर्च भइरहेको छ,’ निर्मलाले गुनासो गरिन्, ‘ऋणपान गरेको पैसा पनि अब त सकियो ।’

त्यसमाथि पनि अस्पतालमा नपाइने कतिपय औषधि आफैंले किन्नु परेको निर्मला बताउँछिन् ।

मामु, बाबालाई कहिले निको हुन्छ ?

पुख्यौली घर जुम्लामै भएकाले सन्तोषका बुवा प्रायः खेतीपाती हेर्न गइरहेका हुन्छन् । सुर्खेतमा आमा, श्रीमती र चार वर्षीया छोरी निहारिका बस्दै आएका थिए ।

परिवारको भविष्यका सपना सन्तोषकै काँधमा थियो ।

फेरि विदेश गएर कमाएका पैसाले नयाँ ढलान घर बनाउने उनको योजना थियो । अहिले बस्दै आएको घरमा बर्खामा पानी चुहिन्छ ।

सन्तोषले घटना भएको केही दिन अघि मात्रै छोरी नेहारिकालाई भनेका थिए– अब हामीले पनि छिट्टै नयाँ घर बनाउने ।

तीन महिना बित्न लागिसक्यो, न नेहारिकाले बाबाको आवाज सुनेकी छिन्, न आमाको स्पर्श पाएकी छिन् ।

उनी आमासँग सोधिरहन्छिन्, ‘मामु, बाबालाई कहिले निको हुन्छ । नयाँ घर कहिले बनाउने ? ।’

निर्मलाका कानमा यी प्रश्नहरू घण्टीझैँ बजिरहन्छन्, तर छोरीलाई दिने जवाफ उनीसँग केही हुँदैन ।

सन्तोषको दृष्टिसँगै उनले जीवनको आधार गुमाएकी छिन् । नयनभरिको मुस्कान बोकेर हिँड्ने उनी, आज छोरी अगाडि आँसु लुकाउन समेत नसक्ने भएकी छिन् ।

निडर र चञ्चल स्वभावका सन्तोष आजभोलि बोले–नबोलेझैँ गर्छन् । एकोहोरो मात्रै टोलाइरहेका हुन्छन् ।

‘खासै केही भन्नुहुन्न । मनभित्र धेरै कुरा खेलाएर बस्नुहुन्छ । राति एकोहोरो बरबराइ रहनु भएको हुन्छ,’ निर्मलाले भनिन् ।

यो जेनजीको सरकार होइन’

५६ वर्षीय चन्द्रबहादुरले २६ वर्षीय छोरा सन्तोषलाई अहिले ६ महिनाको शिशुलाई जस्तै हेरचाह गर्नुपर्ने बाध्यता छ ।  जेनजी आन्दोलनले उनको छोराबाट आधा जीवन खोसेको छ ।

चन्द्रको आवाजमा पीडासँगै आक्रोश  र निराशा मिसिएको छ ।

बुबा चन्द्रबहादुरले आफ्नो नातिनीको शिक्षाको व्यवस्थाका लागि प्रधानमन्त्रीको सचिवालयमा प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री स्वयं भेट्न आएका थिए, आश्वासन पनि दिएका थिए ।  तर त्यसपछि ?

‘मैले धेरै पटक फोन गरें, फोन उठेन । म्यासेज पठाएँ, जवाफ आएन,’ चन्द्रबहादुर भन्छन् ।

छोरालाई हेर्दै चन्द्रबहादुरको प्रश्न छ – यो साँच्चै जेनजी सरकार हो त ?

‘सयौं युवा घाइते भए, ७६ जना सहिद, भए,’ चन्द्रले दु:खेसो पोखे, ‘ तर आधा जीवन गुमाएका सन्तोषजस्ता जेनजीलाई सरकारले केही राहत दिन सकेन ।’

चन्द्र बहादुरको आक्रोश स्वाभाविक छ ।

जेनजीले बनाएको सरकार भनिन्छ । तर घाइतेका लागि खानपिन, बस्ने ठाँउ, कपडा व्यवस्थासम्म गर्दैन भने यो कस्तो सरकार ?,’ उनले आक्रोशित हुँदै भने ।

यदि यो सरकार साँच्चै जेनजी सरकार हो भने, यदि मानवीय व्यवहार छ भने छोरालाई जहाँसुकै लगेर सन्तोषको आँखा हेरिदिन बनाइदिनका उनी सरकार समक्ष अनुरोध गर्दै आएका छन् ।

‘हामीलाई पैसा चाहिँदैन,’ उनले आवाज भारी पार्दै भने, ‘ मेरो छोरालाई संसार हेर्ने एउटा आँखा मात्रै देख्ने बनाइदिनुहोस् ।’

फेरि कसैले यस्तो भोग्न नपरोस्

यतिबेला निर्मला सरकारसँग एकमात्र माग राख्छिन् – आफ्नो परिवारको आधारभूत जीविकाको ग्यारेन्टी ।

जुन उद्देश्यका लागि यो सरकार बनेको भनियो । तर  भ्रष्टाचार अन्त्य गर्ने, दोषीलाई कारबाही गर्ने लगायतको काम नभएको उनी बताउँछिन् ।

‘जो आए पनि आफन्त र नातागोताकै वरिपरि घुम्छन् । यो देशलाई साँच्चै माया गर्ने मान्छे नै छैन जस्तो लाग्छ,’ निर्मला भन्छिन् ।

तीन महिना बित्यो । ‘मैले तीन महिनामा धेरै  दुःख पाए ,’ भकानिँदै निर्मला भन्छिन्, ‘अबको कुनै दिनमा फेरि पनि यस्तो दिन कसैलाई भोग्न नपरोस् ।’

फोटो : अर्यान धिमाल /अनलाइनखबर

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?