News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड र आगजनी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिसहित ४ जना पुर्पक्षका लागि थुनामा गएका छन्।
- जेनजी आन्दोलनका क्रममा कास्कीमा सरकारी कार्यालय र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा ५७ जना पक्राउ परेका छन्।
- कास्कीमा १ सय १६ वटा सरकारी कार्यालय जलेर करिब सवा २ करोड र निजी क्षेत्रले करिब साढे ३ अर्बको क्षति बेहोरेको छ।
१५ मंसिर, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड, आगजनी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिसहित ४ जना पुर्पक्षका लागि थुनामा गएका छन् । एक जना धरौटीमा रिहा भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा मेयर धनराज आचार्यको निजी घर, सरकारी गाडीमा आगजनी तथा तोडफोड र लुटपाट भएको थियो । पोखरा महानगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी भएलगत्तै आन्दोलनकारी मेयर आचार्यको नयाँबजारस्थित घरमा पुगेका थिए ।
दिउँसो तोडफोड र लुटपाट गरेर छाडिएको थियो । राति फेरि आन्दोलनकारीले लुटपाट तथा आगजनी गरेका थिए । मेयर आचार्यले चोरी, तोडफोड र आगजनी गर्नेविरुद्ध फोटो, भिडियोसहित किटानी जाहेरी दिएका थिए । जसमध्ये प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो । सोही अभियोगमाथि भएको बहसपछि सोमबार न्यायाधीश बेलबासेको इजलासले ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो भने एक जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
पुर्पक्षका लागि थुनामा जानेहरूमा राष्ट्रि«य स्वतन्त्र पार्टीका पोखरा महानगरपालिका वडा नम्बर १० का सभापति चन्द्रबहादुर थापा छन् । आगजनीमा उनी संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपाले पक्राउ पर्नुअघि नै उनलाई निलम्बन गरेको थियो ।
पुर्पक्षका लागि थुनामा पठाइएकामा ९ मंसिरमा पक्राउ परेका एक जना नाबालक पनि छन् । पोखरा १७ बाट पक्राउ परेकी बिना मल्ल भनिने बिमला सापकोटा, मंसिर ६ गते पोखरा ९ बाट पक्राउ परेका बुद्ध खवास ठकुरी भन्ने चीनबहादुर खवासलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
दाइ कारागार चलान, भाइ २ लाख धरौटीमा रिहा
पोखराका मेयर धनराजको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा एकै परिवारका दाजुभाइ नै पक्राउ परेका थिए । रास्वपाको वडा सभापतिसमेत रहेका चन्द्रबहादुर पुर्पक्षका लागि थुनामा जाँदा भाइ खलि भन्ने हरिबहादुर थापा धराटीमा रिहा भएका छन् ।
चन्द्रबहादुरसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउँदा भाइ खली भनिने हरिबहादुरसँग अदालतले २ लाख रुपैयाँ धरौटी मागेको हो । मेयर आचार्यको घरभित्र रहेका सामान जलाउनेदेखि लुटपाटसम्म गरेको उनीहरूलाई अभियोग थियो ।
रास्वपा सभापति चन्द्रबहादुरले मेयरको घरमा आगजनी गर्दै गरेको भिडियो सार्वजनिक भएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीले निलम्बन गरेको पत्र सार्वजनिक गरेका थिए ।
रास्वपाका मादी–६ का वडा सभापति भोजराज पौडेललाई जेनजी आन्दोलनका क्रममा विध्वंशमा सहभागी भएको आरोपमा आयोगले निलम्बन गरेको छ ।
५७ जना पक्राउ पर्दा १४ पुर्पक्षमा
जेनजी आन्दोलनका क्रममा कास्कीमा सरकारी कार्यालयका साथै नेताका घर, व्यवसायीका होटल, रिसोर्टमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म ५७ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये १४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी नवीन कार्कीका अनुसार अहिलेसम्म २९ जना अनुसन्धानकै क्रममा हिरासतमा छन् । जसमध्ये २ जनालाई अनुसन्धानकै क्रममा भए पनि विशेष परिस्थितिका कारण जिम्मामा छाडिएको छ । पक्राउ परेकामध्ये कास्कीमा अहिलेसम्म १४ जना धरौटीमा रिहा भएका छन् ।
तोडफोड, लुटपाट र आगजनीमा ३० जाहेरी
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सरकारी तथा व्यक्तिका संरचनामा तोडफोड, लुटपाट र आगजनी गरेको अभियोगमा कास्कीमा अहिलेसम्म किटानीसहित अहिलेसम्म ३० वटा जाहेरी परेका छन् ।
जेनी आन्दोलनका क्रममा भदौ २३ गते मानवीय क्षसत नबेहोरे पनि २४ गते काठमाडौंपछि धेरै सरकारी तथा निजी संरचना क्षति हुने प्रमुख ठाउँमध्ये पोखरा हो । पोखरामा २७ प्रहरी चौकी, २७ निजी घर तथा व्यवसाय र १ सय १६ वटा सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भए ।
आफ्नै प्रहरी कार्यालय जलाउनेविरुद्ध पक्राउ अभियान चलाएको कास्की प्रहरीलाई निजी सम्पत्ति आगजनी, तोडफोड तथा लुटपाट गर्नेलाई पनि प्रक्राउ गर्न चौतर्फी दबाब थियो । सोमबार मात्रै पनि पोखरा महानगरपालिका वडा नम्बर २० मा तोडफोड तथा आगजनी गर्नेविरुद्ध किटानी जाहेरी परेको छ । यो क्रम अहिलेसम्म जारी छ ।
व्यक्तिका सम्पत्तिमाथि ध्वंश मच्चाएको भन्दै गण्डकीका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोखराका मेयर धनराज आचार्य, वरपिपल रिसोर्टका अमरजंग गुरुङ (जितु), भाटभटेनीलगायतका तर्फबाट किटानी जाहेरी दिएका थिए ।
निजी घर तथा व्यावसायिक प्रतिष्ठानसम्म आगजनी गर्नेको फोटो भिडियोलगायत विभिन्न प्रमाणसहित किटानी जाहेरी दिन प्रहरीले नै आह्वान गरेको थियो ।
प्रहरीले सबैको किटानी जाहेरी लिने र अपराध तथा आन्दोलन अलग अलग हिसाबले हेरेर कारबाहीको दायरामा ल्याउने कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताएका थिए ।
यसैक्रममा किटानी जाहेरीका आधारमा प्रहरीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लगानी रहेको हल्ला चलाएर पोखराको वरपिपल रिसोर्टमा आगजनी तथा तोडफोड गर्ने ५ जना पक्राउ परेका थिए ।
घर, व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गरेको भन्दै गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले २ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । उनको अमरसिंहस्थित निवास पनि तोडफोड भएको थियो ।
गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापका तर्फबाट ३ जनाविरुद्ध नै किटानी जाहेरी परेको छ । थापाको नयाँबजारस्थित घर, लेकसाइडस्थित बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर ध्वस्त भएका छन् । थापाकै अंशुभरा स्क्वायरभित्रै एक जना किशोरीको जलेर मृत्युसमेत भएको थियो ।
आन्दोलनकर्मीका नाममा थापाकै भाइ ध्रुवको व्यावसायिक प्रतिष्ठानसमेत रहेको घरमा आगजनी तथा तोडफोड गरेका थिए । उनको घरमा पनि एक जना काम गर्ने महिलाको जलेर मृत्यु भएको थियो । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर कसैको ज्यान नगए पनि यिनै २ जनाको जलेर मृत्यु भएको थियो ।
पोखराका मेयर धनराज आचार्यको पनि घर जलाएर तोडफोड गरिएको छ भने लुटपाटसमेत भएको थियो ।
पोखरा सिर्जनाचोकस्थित साना व्यवसायीका स्टलहरू रहेका सिर्जना मिनी मार्टका सञ्चालकका तर्फबाट पनि १६ जनाविरुद्ध किटानी जाहेरी दिएको छ । पोखरामा प्राडा भरत पहारी र छोरा प्रतीक प्रहरीले सञ्चालन गरिरहेको होटल सरोवर जलाएर ध्वस्त बनाइएको थियो ।
प्रदेश सांसद गणेशमान गुरुङ परिवारले सञ्चालन गरेको होटल गुडविल, अर्का सांसद देवका पहारी र श्रीमान् वासदेव त्रिपाठीले सञ्चालन गरेको होटल एडम पनि आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका छन् । होटल गुडविलबाट ट्रकमै हालेर लुटपाट गरिएका सामान लगिएको थियो ।
मेयर धनराजका भाइ शिवराज जोडिएको भन्दै बुल्दीखोलास्थित पोखरा इभेन्टसेन्टर पनि जलाएर ध्वस्त पारिएको छ । गण्डकीकै मन्त्री तथा एमाले नेता प्रकाशबहादुर केसी, राजीव पहारी, वेदबहादुर गुरुङ, मनबहादुर गुरुङलगायतको घरमा पनि आन्दोलनका क्रममा क्षति पुगेको छ ।
उनीहरूले भने जाहेरी दिएका छैनन् । होटल एडमका सञ्चालक वासुदेव त्रिपाठीले केही दिनअघि किटानी जाहेरी दिँदा झनै डर र असुरक्षा सिर्जना हुने भएकाले प्रहरी प्रशासनले उपलब्ध प्रमाणकै आधारमा कारबाही गर्नुपर्ने जाँचबुझ आयोग सदस्य विज्ञानराजसँग कुरा राखेका थिए ।
२४ भदौको मध्याह्न १२ बजे पोखरा महानगरपालिकाको कार्यालयबाट सुरु भएको सरकारी कार्यालय तोडफोड तथा आगजनी सुरु भएको थियो । लगत्तै आन्दोलनकारी मेयर आचार्यको घर, उनी जोडिएको पोखरा इभेन्ट सेन्टर, मन्त्री विन्दुकुमार हुँदै निजी सम्पत्तिमाथि पनि तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए ।
कास्कीमा १ सय १६ वटा सरकारी कार्यालय जल्दा सवा २ करोडको हाराहारीमा क्षति पुगेको अनुमान गरिएको छ भने निजी क्षेत्रले करिब साढे ३ अर्बको क्षति बेहोरेको दाबी गरिरहेको छ ।
प्रतिक्रिया 4