मोटोपन
मोटोपन भएको व्यक्तिमा ‘ट्राइग्लाइसेराइड्स’ भन्ने एक प्रकारको बोसोको मात्रा धेरै हुन्छ र नराम्रो कोलेस्टेरोलको मात्रा पनि बढी हुन्छ ।
यी सबै कुराले गर्दा मुटुको रक्तनली र दिमागमा जाने रक्तनलीमा लामो समय बोसो जमेर मुटुको रक्तनसाहरू बन्द हुने, मस्तिष्कमा जाने रक्तनसाहरू बन्द हुने सम्भावना बढ्छ ।
पर्याप्त निद्रा नपुग्नु
मुटुले २४ घण्टा काम गर्ने भएपनि सुत्दा त्यसमा पर्ने दबाब कम हुन्छ । किनभने सुत्दा र आराम गर्दा शरीरले रक्तप्रवाहका लागि त्यति मेहनत गर्नु पर्दैन । तसर्थ, पर्याप्त निद्रा प्राप्त नगर्दा हृदय प्रणालीले आराम पाउँदैन र मुटुरोगको जोखिम बढ्छ ।
दिनभर एकै ठाउँमा बसेर काम गर्ने
हरेक दिन ५ घण्टा वा सोभन्दा बढी बस्ने र पर्याप्त हिंडडुल नगर्ने मानिसमा हृदयघातको समस्या हुने जोखिम बढेको हुन्छ । लामो समयसम्म बस्दा पनि हृदयघात हुने सम्भावना बढ्छ ।
अत्याधिक तनाव
तनाव हार्मोनले रक्तचाप बढाएर प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । अत्याधिक तनावले मुटुको रक्तनलीलाई हानि पुर्याउँछ, जसले हृदयघात र मस्तिष्कघातको जोखिम बढाउँछ ।
मद्यपान
रक्सीको अत्याधिक सेवनले उच्च रक्तचाप, मस्तिष्कघात र मोटोपन निम्त्याउन सक्छ । यी सबैले मुटुरोग लाग्ने सम्भावना बढाउँछ । साथै, केही अनुसन्धानले यो पनि देखाएको छ कि थोरै मात्रामा पनि रक्सीको सेवन मुटुका लागि हानिकारक हुन्छ ।
धुम्रपान
धुम्रपानले पनि मुटुरोगको जोखिमलाई बढाउँछ । चुरोटले हाम्रो मुटुको नसामा भएको भित्री पत्रलाई पातलो बनाइदिन्छ । यसले त्यो पत्र पातलो भएर फुट्ने सम्भावना बढी हुन्छ । जसकारण त्यहाँ गएर रगत जमेर हृदयघात हुने हुन्छ ।
वायु प्रदूषण
स्वस्थ मुटुका लागि वायु प्रदूषणबाट पनि बच्नुपर्ने हुन्छ । सवारी साधनबाट निस्कने धुलो र धुवाँका स-साना कणले मुटुमा ठूलो हानि पुर्याउन सक्छ । त्यसैले वायु प्रदूषणको जोखिमबाट बच्न मास्कको प्रयोग गर्ने र धेरै प्रदूषण भएको बेला अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कने गर्नुपर्छ ।