
८ असोज, काठमाडौं । २७ वर्षीय राजेश पोर्तेलको जीवन केही समय अघिसम्म सुनचाँदीको चमकजस्तै उज्यालो थियो । उनको हातको कला र मेहनतले हरेक गहनालाई जीवन्त बनाउँथ्यो ।
तर, नियतिले उनको बाटोमा अकल्पनीय मोड ल्याइदियो । २४ भदौमा भएको जेनजी आन्दोलनले उनको दायाँ खुट्टा खोस्यो ।
सपनाहरू खण्डित भए । जीवनभर अपांगता हुनुपर्यो ।
राजेश अहिले कोठामा बन्दीझैं भएका छन् । बाहिरको उज्यालाले उनको तनमनलाई स्पर्श गर्न सकेको छैन । हिँड्डुल गर्न नसक्दा दिसा–पिसाब गर्न अरूको सहारा लिनुपर्ने बाध्यता छ ।
सानो कोठाको सीमित घेराभित्र जीवन व्यतित गरिरहेका छन् । बेला-बेला उनको आँखा दायाँ खुट्टाको आलो घाउमा ठोक्किन पुग्छ । गुमेको खुट्टा हेर्दै आँखाबाट बर्रर आँशु झार्छन् । अनि आफैं प्रश्न गर्छन्- ‘अब बुढी आमाको साहारा को बन्छ ? सानी छोरीको भविष्य कसले सम्हाल्ला ?
यो प्रश्नले उनको मनलाई भारी बनाउँछ ।

०००
२३ भदौमा राजेश आफ्नो नियमित काममा व्यस्त थिए । तर मन उजाडिएको थियो । स्कुल ड्रेसमा रहेका विद्यार्थीलाई गोली हानेर हत्या गरेको खबरले देशभरि आक्रोशको आगो बलिरहेको थियो ।
राजेश विर्तामोडको शनिश्चरे रोड नजिकै रत्न सुपर मार्केटमा सुनचाँदी पसल काम गर्थे । उनी एक कुशल कालीगढ हुन् । जहाँ दुई वर्ष अगाडिदेखि सुनचाँदीका गहना बनाउँदै आएका थिए ।
२४ भदौको घटनाले उनको जीवनमा कहिल्यै नबिर्सने चोट दियो ।
दिउँसो दुई बजे राजेश काम सकेर पसलबाट बाहिर निस्किए । सडकको वातावरण तनावपूर्ण थियो । भीडभाड बढ्दै थियो ।
प्रर्दशनकारीले नारा लगाउँदै चिच्याइरहेका थिए, ‘निरंकुश सरकार हाम्रो छोराछोरी मार्न पाइँदैन । अत्याचार बन्द गर ।’
तीन–चार सय युवाहरूको भीड मुक्तिचोक तिर बढिरहेको थियो । राजेश पनि त्यही आक्रोशित भीडमा मिसिए ।
‘मनमा रिस र पीडा थियो,’ राजेश भन्छन्, ‘सरकारले कलिला बालबालिकाको हत्याको विरोधमा सडकमा उत्रनै पर्छ भन्ने लाग्यो ।’
अघिल्लो दिनै मुक्तिचोकमा ठूला भवनमा क्षति भइसकेको थियो । प्रर्दशनकारी चर्को स्वरमा भनिरहेको थिए, ‘जनताका छोराछोरी मार्न पाइँदैन, प्रहरी प्रशासन आत्मसमर्पण गर ।’
प्रहरीले कुरै सुनेन । बरु, अश्रुग्यास र लाठी चलाउन थाल्यो । दिउँसो साढे दुईदेखि तीन बजेसम्म माहोल झन् तनावपूर्ण बन्यो ।
भीड आक्रोशित हुँदै गयो । ढुंगामुढा हानाहान सुरु भयो । अन्य ठाउँबाट पनि मानिसहरू प्रदर्शनमा सहभागी हुन आए । मुक्तिचोकमा करिब दुई हजार मानिस जम्मा भए ।
राजेश अगाडि–अगाडि सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए ।
प्रहरी पछि हट्दै गयो, प्रदर्शनकारी अगाडि बढ्दै गए । जिल्ला ट्राफिक कार्यालयको गेटमा पुग्दा प्रहरीले गोली चलाउन सुरू गर्यो ।
गोलीको आवाजले सबै तितरबितर भए । राजेश पनि भाग्न खोजे, तर भीडमा पछाडि परे । त्यहीँ लडे । भागदौडमा कतिपयले कुल्चिए ।
‘त्यहीबेला कसैले ट्राफिक चौकीमा ग्यासको सिलिन्डर हालिसकेको रहेछ । भाग्दै गर्दा सिलिन्डर विस्फोट भयो,’ त्यस क्षण सम्झिँदै राजेश भन्छन् ।
आजाव ठूलो थियो । पहिला राजेशले बम पडिकएको ठाने । तर निमेषमै दाहिने खुट्टा पूरै चुँडियो ।

सडकभरि एकाएक रगतको भेल नै बग्यो । भुइँमा लम्पसार परे । यताउति सर्न खाजे । तर शरीर चलेन ।
केही बेरपछि उनले तिघ्रा मुनिको भाग उछिट्टएको देखे । मांशपेशीका भाग क्षतविच्छिेद भएका थिए ।
तिघ्राको भागको मासु झेरर हड्डी मात्र देखिएको थियो,’ राजेशले कहालीलाग्दो क्षणको सम्झिए, ‘एक इन्च पनि सर्न सकिनँ ।’
प्रहरीले गोली बर्साइरहेको थियो । उनलाई त्यस क्षणमा ज्यान कसरी जोगाउने भन्ने मात्रै थियो ।
रक्ताम्मे अवस्थामा लडिरहेका राजेशले चिच्याए, ‘दाइ, मलाइ बचाउनुस्, म बाँच्न चाहन्छु ।’
केही व्यक्तिले उनलाई देखे र हतार–हतार उठाएर विर्तामोडको बीएन्डसी मेडिकल कलेज पुर्याए ।
घटना स्थलबाट अस्पतालको दूरी पाँच मिनेटको छ ।
रगतले शरीर रक्ताम्मे भइसकेको थियो । उनले आँट बटुले । खुट्टा काटेर पनि मानिस बाँचेका छन् । उनले सोचे- परिवारका लागि भए पनि बाँच्नुपर्छ ।
अस्पताल नपुग्दासम्म होस नगुमोस् भनेर आत्मवल बलियो बनाए ।
‘सानो नानीको याद आयो । मन बलियो बनाएँ । होसमा रहनुपर्छ भन्ने लाग्यो,’ राजेशले भावुक हुँदै भने ।
बीएन्डसी पुगेपछि मात्रै उनले होस् गुमाए ।
त्यसपछि डाक्टरहरूले के–के गरे ? उनलाई केही याद छैन । साथीभाइले उनको चुँडिएको दायाँ खुट्टा अस्पतालमै पुर्याएका थिए ।
डाक्टरहरूले खुट्टाको शल्यक्रिया गरेर रगत रोके । खुट्टामा टाँका लगाइयो, ताकि नक्कली खुट्टा जोड्न सकियोस् ।
तर, विडम्बना, मांशपेशीको भाग छताछुल्ल भएकाले खुट्टा जोड्न सकिएन ।
दिउँसो चार बजे बेहोस राजेशको होस भोलिपल्ट दिउँसो दुई बजे तिर खुल्यो । भोलिपल्ट दिउँसो मात्रै जीवनभरको अपांगता महसुस गरे ।
अहिले राजेश अस्पतालबाट घर फर्किएका छन्, तर उनको जीवन पहिलेजस्तो छैन । दायाँ खुट्टा गुमाएका छन् । बायाँ खुट्टा भाँचिएको छ । केही दिन बिराएर घाउ सफा गर्न अस्पताल गइरहनुपर्छ । उनको हेरचाह गर्न श्रीमती, आमा र भाइ विर्तामोड झरेका छन् ।
‘अब खुट्टा फिर्ता आउँदैन, तर मेरो मनमा अझै पनि अन्यायविरुद्ध लड्ने जोश छ,’ उनले दृढतापूर्वक भने ।
राजेशले सानैमा गुमाएका थिए बुबा
इलामको सूर्योदय नगरपालिका–१० का राजेशले सुन पसलमा काम गरेर परिवार पाल्दै आएका थिए । परिवारमा श्रीमती, सात वर्षकी छोरी, आमा र एक भाइ छन् । १३ वर्ष अगाडि नै रोजगारीको सिलसिलामा विदेश पुगेका उनको बुबाको निधन भएको थियो । १५ वर्षको उमेरमा राजेशमाथि परिवारको जिम्मेवारी आइलाग्यो ।
घरको आर्थिक अवस्था कमजोर थियो । परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आइपर्यो । जसका कारण आठ कक्षामै उनले पढाइ छोड्नुपर्यो । परिवार पाल्नका लागि उनले गाँउमै कालीगढको काम सिके ।
काम सिकेपछि उनलाई विर्तामोड झर्ने आँट आयो । त्यही आँट र आत्मविश्वासले विर्तामोडमा उनको परिवारको गुजारा चलिरहेको थियो । तर, राजेशले दाहिने खुट्टा गुमाएसँगै उनको परिवारको धुरी खाँबोमा धमिरा लागेको छ । परिवारमाथि अकल्पनीय संकट आइपरेको छ ।
‘अब काम गर्न सक्दिन । आमा पनि दीर्घ रोगी हुनुहुन्छ । सानी छोरीको भविष्य कसरी बनाउने चिन्ता छ,’ राजेशले भावुक हुँदै भने ।
सरकारप्रति राजेशको अपेक्षा छ – घाइतेहरूलाई आर्थिक सहयोग, सन्तानलाई शिक्षा र रोजगारीको व्यवस्था गरिदियोस् ।
‘म जस्ता हजारौं घाइतेहरू छन् । हाम्रा छोराछोरीको शिक्षामा सरकारले केही हेरिदिनुपर्छ,’ उनी भन्छन् ।
नयाँ सरकारलाई राजेशको सुझाव छ- सुशासन होस्, भ्रष्टाचारमुक्त देश बनोस्, जनताको माग सुनियोस् र पढेलेखेका, इमानदार व्यक्तिले सरकारको नेतृत्व गरोस् ।
प्रतिक्रिया 4