
७ असोज, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको अगाडि छ, प्रादेशिक हुलाक निर्देशनालय विराटनगर ।
जेनजी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहको निसानामा हुलाक कार्यालय पनि पर्यो । आगजनीबाट खरानी भएको जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सहयोगका लागि दाताहरू पुग्छन् । प्रशासन कार्यालय अगाडि रहेको हुलाकमा भने कसैको नजर परेको छैन ।
निमित्त कार्यालय प्रमुख विष्णुबहादुर बुढाथोकीका अनुसार कार्यालयका सबै सामग्री जलेर खरानी भएको छ । धुवाँको मुस्लोले कालो भएको भित्ता र केही फर्निचर बाहेक केही बचेको छैन ।
‘हाम्रो कार्यालयमा केही बाँकी छैन, धेरै जले, नजलेका सामग्री लुटपाट भयो,’ बुढाथोकीले भने, ‘हुलाकले कसैको केही बिगारेको थिएन, आगजनी गर्दा केही बचेन ।’
उनका अनुसार कार्यालयको सरसफाइ र सहानुभूति दिनका लागि कार्यालयमा कोही आएका छैनन्।
‘कार्यालयकै कर्मचारीले हुलाक कार्यालय सफा गर्दैछौं,’ उनले भने, ‘तत्काल सेवा सुरु गर्न सक्ने अवस्थामा छैनौं ।’
हुलाक कुनै समय चिठीपत्र मार्फत खबर आदानप्रदान गर्ने प्रमुख माध्यम थियो । प्रविधिको विकाससँगै हुलाकमा चाप घटे पनि सरकारी चिठी पत्र, देश विदेशबाट पार्सल पठाउनका लागि हुलाक भरपर्दो माध्ययम हो । पत्रपत्रिकाको काम पनि हुलाकबाटै हुन्छ ।
उनका अनुसार विदेशबाट आएका करिब १५० वटा पार्सल जलेर नष्ट भएको छ । सरकारी र व्यक्तिगत चिठी पत्रहरू सबै जलेको छ । चिठी पत्रको रेकर्ड पनि जलेको छ ।
हुलाक कार्यालयमा भएको गाडी र निजी मोटरसाइकल जलेका छन् । कम्प्युटर, प्रिन्टर, ल्यापटप, चिठी पत्र राख्ने दराज पनि जलेको छ । आगोले नभेटेका सामग्री लुटपाट भएको थियो ।
‘दशैंअघि कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन, हामीसँग एउटा कम्प्युटर पनि बचेन,’ उनले भने, ‘काम सुरु गर्नका लागि झापा र सुनसरीको हुलाकबाट १–१ वटा कम्प्युटर मगाएका छौं ।’
आगजनीबाट कार्यालयको १ करोड २५ लाख बराबरको भौतिक क्षति भएको छ । वर्षौंदेखिका कागजात र चिठी पत्र पनि जलेका छन् । जसको क्षतिको मूल्यांकन रुपैयाँमा हुन नक्सने उनले बताए ।
प्रतिक्रिया 4