News Summary
Generated by OK AI. Editorially reviewed.- रामकोटमा २०७५ सालमा होमस्टे सुरु भएपछि स्थानीयले आत्मनिर्भरता हासिल गरी आयआर्जन बढाएका छन्।
- होमस्टे सञ्चालनले युवाको गाउँ छाड्ने प्रवृत्ति घटेको र गाउँमै बस्ने सम्भावना बढेको स्थानीय बताउँछन् ।
- गण्डकी प्रदेश सरकार र बन्दीपुर गाउँपालिकाले रामकोटमा पूर्वाधार विकास र प्रचारप्रसारमा सहयोग गरिरहेका छन्।
२९ वैशाख, तनहुँ । दैनिक घाँसपात, गल्ली–गल्लीमा घरपालुवा जनावरले गरेको फोहोर र दुर्गन्ध, बिजुलीको उज्यालो, न चेतनाको । आजभन्दा करिब १० वर्ष अगाडिको तनहुँको बन्दीपुर–३ मा रहेको रामकोट गाउँ र त्यहाँका बासिन्दाको अवस्था यस्तै–यस्तै थियो । तर बितेको एक दशकमा प्राकृतिक रुपमा रामकोटले आफूलाई ती बिर्सनलायक विगतहरु धेरै पछाडि छाडेको छ ।
मगर समुदायको बाक्लो बसोबास अनि ढुंगैढुंगाले छाएका घरहरू रहेको रामकोटमा २०७५ सालमा होमस्टे सञ्चालन सुरु गरेपछि यहाँको परिचय नै फेरिएको छ । होमस्टेले आयआर्जन बढाएपछि स्थानीय आत्मनिर्भर बन्न थालेका छन् ।
उत्तरतर्फ हेर्दा देखिने मनमोहक हिमाल नजिकैको रामकोट चुली (डंकने डाँडा) स्थानीयको दु:खदेखि फेरिएको जीवनशैलीको प्रत्यक्ष साक्षी बनेर उभिरहेको छ ।
घाँस दाउरा, मेलापात गएर दिन कटाउने यहाँका महिलाहरू हिजोआज मगर पहिरनमा चिटिक्क सजिएर पर्यटकलाई ‘झोर्ले’ भन्दै स्वागत सत्कारमा व्यस्त रहन्छन् । रामकोट टेक्ने पर्यटकलाई आफ्नो परम्पराअनुसारको सेतो अक्षता लगाइदिन्छन् ।
गलामा फूलको माला अनि पहिर्याइदिन्छन् अनि स्टिलको गिलासमा ‘सगुन’ (लोकल रक्सी थमाइदिन्छन्) । पर्यटकहरु गुन्द्रीमा पलेटी कसेर त्यसको स्वाद लिन्छन् ।
जब साँझ पर्न थाल्छ अनि सुरु हुन्छ, रामकोटमा झ्याउरे, कौरा र चुट्का गीत र संगीतको माहोल । नाचगानले अझ बढी रौनक थप्छ ।

बेलुका स्थानीय अर्गानिक खाना, कोदो र फापरको ढिँडो, गुन्द्रुकको अचार, लोकल कुखुराको मासुसहित पाहुनालाई खुवाउने यहाँका स्थानीय महिला दिदीबहिनीहरुलाई दाजुभाइहरुले भरपुर साथ दिन्छन् । पर्यटकहरू एकै घरमा खाना खान्छन् र अलग–अलग घरमा सुत्न जान्छन् ।
बिहान उठेर सोही घरमा कोदोको सेलरोटी, तरकारी, अचार, चिया खान्छन् । फर्कने हरेक पर्यटकलाई बिदाइको बेला पनि सेतो अक्षता र फूलमाला लगाइदिन्छन् ।
रामकोटमा दैनिक १० देखि १५ जना तथा बिदाका दिनमा समूह–समूहहरु बास बस्नका लागि आउने गरेका छन् । ३/४ जना विदेशी पर्यटक दैनिकजसो आउँछन् । बिहान आएर उसैदिन साँझ फर्किने पर्यटकहरु पनि देखिन्छन् ।
रामकोटका ९५ घरमध्ये ४८ घर होमस्टेका सदस्य बनेका छन् । तर, होमस्टे भने १५ घरमा मात्रै छ । एक रातमा ३० जनासम्म मात्रै बस्न सक्छन् । एक रात बसेर खाएको प्रतिव्यक्ति १२ सय रुपैयाँ लिने गरिन्छ । सांस्कृतिक कार्यक्रम देखाएको तीन हजार रुपैयाँ थप लिने गरिन्छ ।
पछिल्ला वर्षहरूमा रामकोटमा विदेशी तथा स्वदेशी पर्यटकहरु बढ्न थालेपछि गाउँमा आयआर्जन पनि बढेको स्थानीय बताउँछन् । पहिला घर चलाउन मुस्किल हुने, श्रीमानले श्रम गरेर कमाएर ल्याएको रकममा भर पर्नुपर्ने महिलाहरु अहिले पर्यटकको स्वागत सत्कारमा मात्रै रमाएका छैनन्, आयआर्जन पनि गरेर आत्मनिर्भर बन्न थालेका छन् ।

रामकोटकी ४४ वर्षीया कृष्णमाया थापा विगतका दिनहरु निकै कष्टकर रहेको र अहिले धेरै नै सुविधा भएको बताउँछिन् । ‘हामी त राम्रोसँग बोल्न पनि जान्दैनथ्यौं, नयाँ मानिसहरूसँग बोल्न डराउँथ्यौं, हाम्रा दु:खका दैनिकीहरु थिए,’ थापा भन्छिन्, ‘तर अहिले आफ्नो खुट्टामा उभिएका छौं, आँखाको मोतिबिन्दु हटेर उज्यालो भएजस्तो भएको छ ।’
रामकोटका ढुंगा छापिएका गल्लीहरु सफा छन् । मिलाएर लगाएको मकैको सुली, दाउराका खलिया, आँगनमा बिछ्याइएका ढुङ्गाहरुले सुन्दर देखिन्छ गाउँ । गाउँमा होमस्टे चल्न थालेपछि कसैले कुखुरा, कसैले बाख्रा, कसैले सुँगर पालेका छन् । कसैले तरकारी लगाएका छन् । स्थानीय रक्सी बनाएर पनि आयआर्जन गरेका छन् ।
नियमित आम्दानी भएपछि साना आर्थिक समस्याहरुलाई फुकाउन सहज भएको स्थानीय महिलाहरु बताउँछन् ।
होमस्टेले सञ्चालन पछि महिलाहरुमा बचत गर्ने बानीको समेत विकास भएको छ । मगर संस्कृतिको जगेर्नासँगै स्थानीयको आयआर्जनसमेत बढाउने उद्देश्यले अनुरुप स्थापना गरिएको होमस्टे सफल भएकोमा स्थानीयहरू दंग छन् ।
गाउँमै भविष्य देख्दै युवा
कडा श्रम तथा थोरै आम्दानी गर्न भन्दै विदेशिने युवाहरू गाउँमा नै बसेर केही गर्न सकिने भविश्य देखिरहेका छन् । यस्तै मध्येका एक हुन् रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आले ।
दुई वर्ष मलेसिया बसेर गाउँ फर्किएका आले अहिले होमस्टेको विकास, विस्तार, प्रवर्द्धन, प्रचारप्रसार, अभिमुखीकरण, जनचेतना फैलाउन लागिपरेका छन् । आले भन्छन्, ‘म जस्ता कयौं युवाहरु अब गाउँमा नै केही हुन्छ केही गर्न सकिन्छ भनेर जुटेका छन् । यदि गाउँमा होमस्टे नभएको भए रामकोटले पनि अन्य गाउँहरुको जस्तै नियती भोग्नुपर्ने दिन आउँथ्यो ।’
रामकोटमा ग्रामिण पर्यटनमा सुरु गर्न अगाडि युवाहरु धेरैजसो वैदेशिक रोजगारीमा जाने र आर्थिक स्रोत नै वैदेशिक रोजगारी नै थियो । खेतीपाती कम हुने हुँदा युवा विदेश जान्थे । अहिले युवाहरु धेरैजसो गाउँमा नै छन् ।

होमस्टे सचिव ३७ वर्षीया सावित्री थापाले परम्परागत कृषि खेतीपाती, घाँस दाउरामा लागेका महिला दिदीबहिनीहरु होमस्टे सञ्चालनमा आएपछि आजआर्यजन, सिपमूलक तालिमसँग क्षमता अभिवृद्धिमा जुटेको बताउँछिन् । घरबास सञ्चालनले स्थानीवासीको जीवनशैलीमा ठूलो परिवर्तन आएको उनको बुझाइ छ । यसले आयआर्जनसँगै स्वरोजगारी अभिवृद्धि गरिरहेको छ । सामूहिकता बढेको छ । गाउँमा बाहिरका मानिसहरु आउँदा धेरै कुरा जान्न, सिक्न र घुलमिल हुन पनि सहज भएको थापाको अनुभूति छ ।
कहाँबाट जाने रामकोट ?
पर्यटकीय केन्द्र बन्दीपुर बजार क्षेत्रबाट ८ किलोमिटर पश्चिममा रहेको यो गाउँमा मगर समुदायको बाक्लो बसोवास छ । मगर समुदायको भाषा, संस्कृति, परम्परा, रितिरिवाजको जीवन्तता भेटिने रामकोटमा परम्परागत घरहरू छन् ।
समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको रामकोट मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै छ । यहाँबाट हिमश्रृंखला देखिने भएका कारण रामकोटले पर्यटकलाई लोभ्याएको छ ।
विशाल सुखौराफाँट पनि रामकोटबाट आकर्षक देखिन्छ । सयौं वर्ष पुरानो मगर गाउँहरु हेर्न पर्यटक लालायित देखिन्छन् ।

अन्यत्र प्राय: हराइसकेको घुमाउने घर पनि रामकोटमा छ । यो करिब एक सय वर्ष भन्दा अगाडि बनेको स्थानीय बताउँछन् ।
बन्दीपुरबाट मुच्चुक हुँदै ५.५ किलोमिटर, बन्दीपुरबाट सेराटार हुँदै ८ किलोमिटर र पृथ्वी राजमार्गको छिर्कर्नेबाट ७ किलोमिटर दूरी पार गरेर रामकोट पुग्न सकिन्छ ।
रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले गाउँमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई स्थानीयले दिने गरेको आतिथ्यताले आकर्षण बढ्दै गएको बताउँछन् ।

पछिल्लो समयमा बन्दीपुरमा आएका पर्यटकहरू रामकोट आउने क्रम बढिरहेको छ । बन्दीपुरमा सञ्चालित भिलेज सफारीका कारण पनि यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
गत माघदेखि भिलेज सफारी सुरु गरेका वसन्त पौडेलले पर्यटकलाई बन्दीपुरका ग्रामीण परिवेशको अवलोकन गराउँदै गाउँ गाउँ चिनाउन लागेको बताउँछन् ।
पहिलोपटक रामकोट पुगेका चितवनको भरतपुर महानगरपालिका १० बाट गएका सुुजन पोखरेलले रामकोट निकै रमाइलो लागेको बताए । स्थानीयले गरेको सत्कार, सम्मान र खानपानबाट आफू निकै खुसी बनेको उनले सुनाए । भरतपुरकै अर्का युवा विज्ञान पौडेलले रामकोट एकपटक पुग्नैपर्ने ठाउँ रहेको सुनाए । मगर जातिको कला, संस्कृति, भाषाको संरक्षण र जीवन्तता, सामूहिकताले प्रदान गरेको बल र गाउँ कसरी बदलिन सक्छ भन्ने अध्ययन गर्न रामकोट आउनुपर्ने पौडेल बताउँछन् ।
दु:ख छन् अझै, गर्नुपर्ने छ धेरै
सुन्दर गाउँ रामकोटका अझै पनि दु:ख भने छ । गाउँमा हरेक घरमा पर्याप्त पानीको उपलब्धता छैन । गाउँमा चौविसै घण्टा चल्ने ८ वटा धारा सामूहिक रुपमा गाउँलेहरुले प्रयोग गरेका छन् । हरेक घरमा धारा लैजाने गरी पानी व्यवस्थापनको काम हुँदै गरेको रामकोट सामुदायिक होमस्टेका अध्यक्ष आलेले बताए ।
पानीको अभाव हुँदा कृषि उत्पादन सोचे जस्तो हुन सकेको छैन । गाउँमा पालिएका गाई भैंसी, बाख्रा, सुगुर, बंगुर, कुखुरा लगायतका पशुपन्छीलाई खुवाउने पानीको समस्या अझै समाधान हुन सकेको छैन ।
उनले बन्दीपुरबाट रामकोटसम्म आउने सडक कच्ची हुँदा धेरै पर्यटकहरु चाहेर पनि आउन नसकेको बताए । सडक स्तरीय हुन सके अहिले आउने पर्यटकको संख्यामा निकै बढोत्तरी हुने उनी सुनाउँछन् ।
सांस्कृतिक घर तथा संग्राालयको आवश्यकता पनि उत्तिकै छ । रामकोटमा रकमकै अभावमा हुँदा सबै घरले चाहेर पनि होमस्टे चलाउन सकिरहेका छन् । होमस्टे चलाउन नसक्नेहरुलाई उत्पादनमूलक काममा लगाउने र होमस्टेसँग जोड्ने काम गरिएको आले बताउँछन् । फोहर व्यवस्थापनका लागि पनि आवश्यक पूर्वाधारको जरुरत देख्छन् आले ।

हालै मात्र अध्यक्ष बनेका आलेले एक वर्ष भित्र एकै रातमा २ सय जना बास बस्न मिल्ने गरी पूर्वाधारहरू तयार गर्ने योजना सुनाए । युवाहरूलाई जगाएर गाउँबाट हराएको ठाडो भाका, मारुनी नाचको पुन: संरक्षण गर्ने सोच छ उनको ।
‘यहाँ बसाइँसराइँ कम छ । धेरै जसो यहीँ बसेका छन्,’ अध्यक्ष आले भन्छन्, ‘घर परिवारसँग बसेर नै आयआर्जन गर्न सकिने हुँदा गाउँ छाडेर जान नपर्ने अवस्था ल्याउन लागिपरेको छु ।’
उनी थप्छन्, ‘होमस्टे नभएको भएर विरक्त लागेर मानिसहरु गाउँ छाड्थे होलान् तर अहिले बस्न र देखाउनलायक बनेको छ, पुर्खाको थलो । अब विभिन्न प्रभावकारी सामाजिक सञ्जालहरुको प्रयोग गरेर अझै देश–विदेश चिनाउन बाँकी छ ।’
वैदेशिक रोजगारीमा गएर कमाएकाहरुले नै गाउँमा नै लगानी गरुन् भन्ने सोचका साथ छलफल अगाडि बढाएको निरकाजीले बताए ।
पृथ्वी राजमार्गको छिर्कनेबाट रामकोट हुँदै बन्दीपुर वा बन्दीपुरबाट रामकोट हुँदै छिर्कने निस्कने गरी रुट तय गर्नका लागि आफूहरूले पहल अगाडि बढाएको होमस्टेका अध्यक्ष आलेले बताए । सडक पूर्वाधार राम्रो बने पृथ्वी राजमार्ग भएर हिँड्ने पर्यटकलाई रामकोट ल्याउन सकिने उनको भनाइ छ ।
बन्दैछन् पूर्वाधार
गण्डकी प्रदेश सरकार र बन्दीपुर गाउँपालिकाले होमस्टे सञ्चालनदेखि पूर्वाधार विकासमा रामकोटलाई साथ दिँदै आएका छन् । आवश्यक तालिम, गाउँका गल्लीमा ढुंगा छाप्ने कामदेखि खानेपानी, बिजुली लैजान सहजीकरण गरेका छन् ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले रामकोटका गल्लीहरुमा २०८१ सालमा नै ढुंगा छाप्ने काम गरिएको बताए । ‘गल्लीमा ढुंगा छाप्ने काम सकियो अब हरेकका घरका आँँगनमा ढुंगा लगाउने योजना छ, सबैका घरघरमा धारा लैजाने गरी काम भैरहेको छ,’ पालिका अध्यक्ष थापाले भने, ‘पालिकाले म्याट्रेस, सिरक, सिरानी लगायतका सामाग्रीहरू पनि खरिद गरेर केहीदिनमा नै वितरण गर्दै छौं ।’
बन्दीपुरसहित ब्यास नगरपालिका भित्रका होमस्टेहरूको होमस्टे सर्किट बनाएर एक रात रामकोटमा बास बस्ने गरी कार्यक्रम बनाउन लागिएको अध्यक्ष थापाले बताए ।
गाउँपालिका तर्फबाट प्रचारप्रसार, भिडियोग्राफी निर्माण, साइकल यात्राको टुर गराउने जस्ता काममा गाउँपालिका सहयोगी बनेको छ । रामकोट जाने सेराटारको सडक चालु वर्षमा ७ सय मिटर कालोपत्रे पालिकाको तर्फबाट हुँदैछ । बाँकी सडक कालोपत्रे गर्नका लागि प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4