+
+
Shares
डाक्टरसँग सजिलो ६ प्रश्नोत्तर :

नुन र उच्च रक्तचापबीच के छ सम्बन्ध ? मुटु रोग विशेषज्ञ डा. अशोक श्रेष्ठको जवाफ

नुन कम गर्नु उच्च रक्तचाप व्यवस्थापनको सबैभन्दा शक्तिशाली, छिटो र प्रभावकारी कदम हो । तर यो एक्लैले पूर्ण नियन्त्रण गर्छ भन्न सकिँदैन ।

मनिषा थापा मनिषा थापा
२०८२ पुष १० गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च रक्तचाप भएका बिरामीलाई नुन कम खान सिफारिस गरिन्छ किनभने सोडियमले रगतको मात्रा बढाएर रगतको दबाब बढाउँछ।
  • दैनिक नुनको मात्रा १०–१२ ग्रामबाट ५ ग्रामभन्दा कममा झार्दा ७ दिनदेखि ३ हप्ताभित्र रक्तचापमा ६–८ एमएमएचजीसम्म कमी आउन सक्छ।
  • विश्व स्वास्थ्य संगठनले दैनिक ५ ग्राम नुनभन्दा कम खान सिफारिस गरेको छ र नेपालमा ८–१२ ग्राम नुन सेवन गरिन्छ ।

उच्च रक्तचाप भएपछि चिकित्सकको पहिलो शर्त हुन्छ, नुन खान कम गर्नुहोस् । सोही अनुरुप बिरामीले नुन कम गर्छन् । नुन देखि डराउँछन् । सुरुमा यो सानो र साधारण जस्तो लाग्छ, तर वास्तवमा यो सल्लाह उच्च रक्तचाप नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी र छिटो काम गर्ने उपायमध्ये मानिन्छ ।

अब प्रश्न उठ्छ, किनचिकित्सकले उच्च रक्तचाप हुनेहरूका लागि नुनको कटौती पहिलो नम्बरमा राख्छन् ? ‍यो कुरा बुझ्न मुटुरोग विशेषज्ञ डा. अशोक श्रेष्ठसँग सोधिएका ६ सजिलो प्रश्न र उनको गहकिलो जवाफ यस्तो छ ।

१. उच्च रक्तचाप भएकालाई किन नुन कम खानु भनिन्छ ? के छ नुन र उच्च रक्तचापको सम्बन्ध ?

उच्च रक्तचापमा नुनले सोझै असर गर्दैन । नुनमा रहेको सोडियम यसको मुख्य दोषी हो । सोडियम हाम्रो शरीरको लागि अत्यावश्यक तत्व हो, तर धेरै भएपछि यो विष जस्तै बन्छ ।जब हामी धेरै नुन खान्छौं, रगतमा सोडियमको घनत्व बढ्छ ।

शरीरले यो असन्तुलनलाई सुधार्न पानी राख्ने प्रयास गर्छ । यस प्रक्रियालाई चिकित्सकीय भाषामा ‘फ्लुड रिटेनशन’ भनिन्छ । सोडियमलाई मिर्गौलाले पिसाबमार्फत बाहिर निकाल्नुपर्ने हुन्छ । धेरै सोडियम भएपछि पानी पनि बाहिर निस्कन पाउँदैन । परिणामस्वरूप रगतको कुल भोल्युम (रगतको मात्रा) बढ्छ ।

यो प्रक्रिया बुझ्न एउटा सजिलो उदाहरण छ । जस्तो, एउटा सानो नलीमा पानी भर्दा दबाब बढ्छ । ठ्याक्कै रगतको मात्रा बढेपछि नसाहरू(रक्तनली) भित्र दबाब बढ्छ । यो दबाब नै उच्च रक्तचाप हो ।

सोडियमले दोस्रो तरिकाले पनि रक्तचाप बढाउँछ । लामो समयसम्म धेरै सोडियम भएपछि रक्तनलीको भित्री तह सुन्निन सक्छ । यसरी सुन्निदा रक्तनलीको लचकता कम भई नली कडा बन्छ । कडा नलीमा रगत बग्न गाह्रो हुन्छ, जसले दबाब अझ बढाउँछ । यसलाई चिकित्सकीय भाषामा ‘एन्डोथेलियल डिसफन्सन’ र ‘भासकुलर स्टिफनेस’ भनिन्छ।

यो प्रक्रिया बिस्तारै बढ्दै जाने भएकाले सुरुमा कुनै लक्षण नदेखिए पनि उच्च रक्तचाप हुँदै गएमा मुटुको मांसपेशी बाक्लो हुने, मिर्गौला बिग्रने, आँखाको नसा फुट्ने, मस्तिष्कघात हुने जस्ता गम्भीर रोग निम्त्याउछ । त्यसैले, रक्तचापलाई नियन्त्रण गर्न हामीले नुनलाई पहिलो नम्बरमा राख्ने गर्छौं ।

२. नुन घटाउँदा कति समयमा र कति मात्रामा रक्तचाप घट्न सक्छ ?

यदि कसैले दैनिक नुनको मात्रा १०–१२ ग्रामबाट घटाएर ५ ग्रामभन्दा कम (सोडियम २ ग्रामभन्दा कम) ल्याउँछ भने, धेरैजसो व्यक्तिमा ७ दिनदेखि ३ हप्ताभित्रै रक्तचापमा सुधार देखिन थाल्छ ।

सिस्टोलिक रक्तचाप (माथिल्लो) औसत ६–८ एमएमएचजी कमी हुन्छ । सोडियम सेन्सिटिभ व्यक्तिमा १०–१५ एमएमएचजीसम्म पनि कमी आउन सक्छ । डाइस्टोलिक रक्तचाप (तल्लो)मा औसत ३–६ एमएमएचजी कमी आउनसक्छ ।

केही व्यक्तिमा २० एमएमएचजीभन्दा बढी सुधार पनि देखिएको छ ।

यो परिवर्तनको गति र मात्रा यी कुरामा निर्भर गर्छ । जसमा, सुरुको रक्तचाप कति उच्च थियो, व्यक्ति सोडियम सेन्सिटिभ हो वा होइन, उमेर (बढ्दो उमेरमा प्रभाव बढी), मिर्गौलाको अवस्था र तौल र अन्य जीवनशैली कारक पनि हुनसक्छ । सामान्यतया यो प्रभाव १०–१४ दिनभित्र मापन गर्न सकिन्छ । धेरै बिरामीमा २ हप्तापछि रक्तचाप १४०÷९० भन्दा तल आउने वा औषधिको आवश्यकता कम हुने देखिन्छ ।

क्लिनिकल अभ्यासमा हामी प्रायः बिरामीलाई भन्छौं । पहिले २ हप्ता कडा गरी नुन कम गरेर हेर्नुहोस् । यदि यो अवधिमा ८–१० एमएमएचजीभन्दा बढी कमी आयो भने औषधिको डोज घटाउने वा केही अवस्थामा औषधि नै हटाउने सम्भावना हुन्छ ।

यो प्रभाव औषधिको एक डोज बराबर वा त्योभन्दा बढी हुन्छ । तर यो प्रभाव दिगो बनाउन नुन कम गर्नु स्थायी बानी बन्नुपर्छ । यदि फेरि नुन बढ्यो भने रक्तचाप पनि छिट्टै माथि जान्छ । त्यसैले, यो परिवर्तनलाई जीवनशैलीको हिस्सा बनाउनु आवश्यक छ ।

३.नुन मात्र कम गरे पुग्छ कि अरू पनि केही गर्नुपर्छ ?

नुन कम गर्नु उच्च रक्तचाप व्यवस्थापनको सबैभन्दा शक्तिशाली, छिटो र प्रभावकारी कदम हो । तर यो एक्लैले पूर्ण नियन्त्रण गर्छ भन्न सकिँदैन । दिगो, उत्कृष्ट र दीर्घकालीन नतिजाका लागि नुन कम गर्नुको साथसाथै यी जीवनशैली परिवर्तन अनिवार्य छन् ।

केरा, सुन्तला, कागती, आलु, सागपात (पालुङ्गो, ब्रोकली, काउली), दाल, तरकारी जस्ता पोटासियमयुक्त खानेकुरा बढाउनुपर्छ । पोटासियमले सोडियमको नकारात्मक प्रभावलाई कम गर्छ र रक्तनलीलाई लचिलो बनाउँछ ।

अर्को भनेको नियमित शारीरिक व्यायाम गर्नुपर्छ । दिनमा कम्तीमा ३०–४५ मिनेट हिँड्ने, साइक्लिङ, हल्का जिम वा योग गर्न सकिन्छ । व्यायामले रक्तनलीको लचकता बढाउँछ र रक्तचाप घटाउँछ ।

प्रशोधित खानेकुरा र जङ्क फुड लगभग बन्द गर्नुपर्छ । यिनमा लुकेको नुन र अस्वस्थ बोसो धेरै हुन्छ । चिनी र गुलियो पेय कम गर्नुपर्छ । सोडा, चिसो पेय, मिठाइले तौल र रक्तचाप दुवै बढाउँछ । यदि मोटोपना छ भने ५–१० प्रतिशत तौल घटाउनमा जोड दिनुपर्छ ।

४.उच्च रक्तचाप हुनेले मात्र नुन कम गर्नुपर्छ कि यो सबैको हकमा लागू हुन्छ ?

हाम्रो दैनिक खानामा नुनको प्रयोग अत्यधिक छ । दाल, तरकारी, अचार, चट्नी, चाउचाउ, बिस्कुट, नुनिलो खानेकुरा, तयारी खाजा सबैमा लुकेको वा देखिने नुन हुन्छ ।औसत नेपालीले दिनमा ८–१२ ग्राम नुन खान्छन्, जुन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सिफारिस (५ ग्राम) भन्दा दोब्ब बढी हो ।

नेपालको सन्दर्भमा हेर्दा अधिकांश उच्च रक्तचापका बिरामी सोडियम सेन्सिटिभ समूहमा पर्छन् । त्यसैले, चिकित्सकले सामान्यतया सबैलाई नुन कम गर्न सल्लाह दिन्छन् ।

५.सबैलाई नुन घटाउँदा उस्तै फरक पर्छ त ?

हुँदैन । नुन घटाउँदा रक्तचापमा कति फरक पर्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक पर्छ । यसलाई चिकित्सकीय भाषामा ‘साल्ट सेन्सिटिभिटी’ भनिन्छ । केही व्यक्तिमा सोडियमप्रति उच्च संवेदनशीलता हुन्छ ।

यिनीहरूमा नुन थोरै बढाउँदा पनि रक्तचाप धेरै माथि जान्छ र नुन घटाउँदा धेरै घट्छ । यस्ता व्यक्तिमा नुन कम गर्नु औषधिको जत्तिकै शक्तिशाली वा कहिलेकाहीँ औषधिभन्दा बढी प्रभावकारी हुन्छ ।

अर्को समूहमा भने कम संवेदनशीलता हुन्छ । यिनीहरूमा नुनको मात्रा बढ्दा वा घट्दा रक्तचापमा खासै ठूलो परिवर्तन हुँदैन । यो मुख्यतः अनुवांशिक कारणले हुन्छ । केही जीनहरूले मिर्गौलाको सोडियम ह्यान्डल गर्ने क्षमता निर्धारण गर्छन् ।

दक्षिण एसियाली (नेपाली, भारतीय) जनसंख्यामा ४०–६० प्रतिशत सम्म व्यक्ति सोडियम सेन्सिटिभ हुने विभिन्न अध्ययनले देखाएका छन् । यो अनुपात युरोपेली वा अफ्रिकी जनसंख्याभन्दा बढी छ ।

सबैलाई नुन घटाउँदा उस्तै फरक नपरे पनि नेपालमा धेरैजसो व्यक्तिमा यो उपायले उल्लेखनीय सुधार ल्याउँछ । त्यसैले, यो सल्लाहलाई सबैलाई लागू हुने भनेर जोड दिइन्छ।

६.अब कति नुन खान मिल्छ त ? वास्तविक सिफारिस के हो ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपालको उच्च रक्तचाप व्यवस्थापन दिशानिर्देश दुवैले दैनिक ५ ग्राम नुन (एउटा सानो चम्चा जति) भन्दा कम खान सिफारिस गर्छन् । यसमा सोडियम करिब २ ग्राम हुन्छ ।

तर नेपालका विभिन्न सर्वेक्षणले औसत दैनिक नुन सेवन ८ देखि १२ ग्राम (कतिपय ठाउँमा १५ ग्रामसम्म) देखाएका छन् । अर्थात् हामी सिफारिसभन्दा दुईदेखि तीन गुणा बढी नुन खाइरहेका छौं ।

अझ राम्रोसँग रक्तचाप नियन्त्रणका लागि धेरै मुटुरोग विशेषज्ञले ३–४ ग्राम नुन (सोडियम १.२–१.५ ग्राम)मा झर्ने प्रयास गर्न सुझाव दिन्छन् । यो स्तरमा पुग्दा धेरै बिरामीमा रक्तचाप उल्लेखनीय रूपमा घट्छ ।

जस्तो कि, खाना पकाउँदा प्रयोग हुने नुन आधा गर्ने वा कम गर्ने, टेबलमा राखेर थप नुन नखाने, लुकेको नुन धेरै मिसाइने खानेकुरा कम गर्ने, चाउचाउ, बिस्कुट, नमकिन, चिप्स, तयारी सस, सोया सस, अचार, प्रशोधित मासु, तयारी सुप र बाहिरको खाना (होटल, रेस्टुरेन्ट, फास्ट फुड) कम गर्नुपर्छ ।

सानो परिवर्तनले ठूलो नतिजा दिन्छ । त्यसैले, यो सिफारिसलाई कडाइका साथ पालना गर्नु उच्च रक्तचापको पहिलो र सबैभन्दा महत्वपूर्ण कदम हो । धूम्रपानले रक्तनली कडा बनाउँछ, रक्सीले रक्तचाप अस्थायी र दीर्घकालीन दुवै बढाउँछ । यी सबै परिवर्तन सँगसँगै गर्दा नुन कम गर्नुको प्रभाव अझ बलियो, दिगो र स्थायी हुन्छ ।

नुन कम गर्नु स्वास्थ्यको हिसाबले महत्वपूर्ण कदम हो, तर पूर्ण स्वास्थ्यका लागि यो मात्रै एक विकल्प होइन । सबै पक्षलाई समेटेर काम गर्दा उच्च रक्तचापलाई जित्न सकिन्छ र औषधिको आवश्यकता कम हुन्छ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?