News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको सेयर बजारमा युवा लगानीकर्ताको वृद्धि, नयाँ स्टक प्रवेश र डिजिटल ट्रेडिङले आर्थिक विकासमा सकारात्मक प्रभाव पारेको छ।
- सेयर बजारको उतारचढावले तनाव, चिन्ता, फोमो र फोलो इफेक्टजस्ता मानसिक स्वास्थ समस्या निम्त्याउने गरेको छ।
सेयर बजार देशको आर्थिक विकासको एक महत्वपूर्ण सूचक हो । पछिल्ला केही वर्षमा नेपालको सेयर बजारमा उल्लेखनीय सुधार भएको छ । युवा लगानीकर्ताको संख्यामा वृद्धि, नयाँ-नयाँ स्टक र बहुक्षेत्रको प्रवेश, आर्थिक वृद्धि, आम नेपालीमा सेयर, आईपीओको ज्ञान र सहभागिता सँगै डिजिटल ट्रेडिङको विकासले यो क्षेत्रमा निकै सकारात्मक सुधार ल्याएको छ । सेयर बजारमैत्री नीति र नियमनको प्रयासले देशको अर्थतन्त्रलाई टेवा पुर्याइरहेको छ ।
विश्वका सबै देशको स्टक मार्केट जस्तै नेपाली सेयर बजारमा पनि उतारचढाव भइरहन्छ । राजनितीक अस्थिरता, प्राकृतिक प्रकोप, कर्जा, व्याजदर, तरलता, प्रतिफलको अनिश्चितता, सूचना र जागरुकताको कमी, चाँडो प्रतिफलको लोभ, गुमाउने डर, आम व्यक्तिहरूको मानसिकता आदिले बजारलाई प्रभावित पारिरहेको हुन्छ । त्ससैले मानसिक स्वास्थ र सेयर बजारको सम्बन्ध जोडिएको हुन्छ ।
लगानीकर्ताको मानसिक, मनोसामाजिक स्वास्थ अवस्थाले लगानीको निर्णय र बजारको उतारचढाबीच एक खालको मानसिक स्वास्थको चक्र बनेको हुन्छ ।
सेयर बजारले मानसिक स्वास्थमा पार्ने असर:
१.तनाव र चिन्ता
सेयर बजारको उतारचढाव संगै शरिरमा आउने तनाव स्वभाविक हुन सक्दछ तर अनुभव र ज्ञानको कमी, अत्यधिक जोखिम लिएर गरेको कारोबार वा ‘गेट रिच क्वीक’ जस्तो मानसिकता भएमा गम्भीर मानसिक दबाब सिर्जना गरेको हुन्छ ।
घाटाका कारण मनमा अत्यधिक सोच, चिन्ता, नैराश्यता, छटपटि, रिस उठने, कसैसँग बोल्न मन नलाग्ने, निन्द्रामा गडबडी वा आत्महानी सम्मको दबाब सिर्जना गरेको हुन्छ ।
२) फोमो इफेक्ट (छुट्ने डर) र फोलो इफेक्ट (गुमाउने डर)
कुनै सेयर सबैले किन्दैछ, एकदम माथि पुग्छ भन्ने सूचना छ वा सेयर बढेको बढ्यै छ, त्यसमा म छुटिसकें, मैले फाइदा गुमाउने भएँ भनी आउने सोचाइ र व्यवहारलाई ‘फियर अफ मिसिङ आउट’ अर्थात फोमो इफेक्ट भनिन्छ ।
आफूले किनेको सेयरको मूल्य बढेको थियो तर अहिले घट्दैछ, अझै थप घट्ला भन्ने डर हुन्छ र बेचेपछि फेरि मूल्य बढन थाल्यो भने पश्चाताप र ग्लानी हुने अवस्था आउन सक्छ । यो भनेको फोटो इफेक्ट अर्थात ‘फियर अफ लुजिङ आउट’ हो ।
यस खालका डर र छटपटिले मानसिक पीडा दिन्छ दिन्छ । चाडो मुनाफा पाउने लोभले जोखिमपूर्ण सेयर खरिद गर्ने र लतको सम्भावना बढाउँछ ।
३) दिमागभर सेयर बजारको ह्याङ
जति बेला पनि सेयर बजारकै बारेमा सोचिरहने, यही सम्बन्धी समाचार मात्रै हेर्ने, जतिबेला पनि आफ्नो पोर्टफोलियो चेक गर्न मन लाग्ने, अन्य केही गर्न मन नलाग्ने हुनसक्छ । यही कारणले अत्यधिक स्क्रिनको प्रयोग गर्ने लत बस्न सक्छ ।
४) लगानीको निर्णयमा असर
पहिले देखि नै मानसिक स्वास्थ समस्या भएका व्यक्ति सेयर मार्केटमा प्रवेश गरेको खण्डमा यसले लगानीकर्ताको लगानी निर्णयमा असर पार्न सक्छ । जसका कारण हुने खराब नतिजाले पून मानसिक स्वास्थमा असर पार्न सक्छ ।
लगानीकर्ताले मानसिक स्वास्थको सुरक्षा कसरी गर्ने ?
१.लिखित योजना बनाएर लगानी गर्ने ।
२.आफूले कति समयका लागि लगानी गर्ने हो सोहीअनुसार अध्ययन गरेरमा मात्र स्टक खरिद गर्ने ।
३.आर्थिक श्रोत, सेयरका लागि योगदान गरिने रकम र आफूले बहन गर्न सक्ने जोखिम पहिचान गर्ने ।
४.एउटै स्टकमा अत्यधिक लगानी गर्नु भन्दा, स्टक व्यवस्थापन गरी आफूले छानेका केही स्टकमा लगानी गर्दा तनाव र चिन्ता कम हुन्छ ।
५.आफूलाई दैनिकि चाहिने रकम, ब्याज, किस्ताका लागि चाहिने रकम, आफू र परिवार जोखिममा पर्दा चाहिने रकमलाई मध्यनजर गरेर मात्र लगानी गर्ने ।
६.आफ्नो पोर्टफोलियो चेक गर्न, आर्थिक समाचार, सूचना हेर्न निश्चित समय छुट्याउने र सोही समयमा मात्र हेर्ने ।
७.आफूले पाएका सूचना आधिकारिक हुन कि होइनन् ? यकीन गर्नुपर्छ । लहलहैका पछाडि लागेर समय खर्च नगर्ने ।
८.सेयर किन्ने वा विक्रि गर्ने निर्णयलाई पुन: विचार गर्ने, केही घण्टा मात्र पुन: सोचेको खण्डमा आवेशमा निर्णय गरेर पछि पछुचाउनु पर्ने अवस्था आउँदैन ।
९.मोबाइल वा ल्यापटममा आउने प्राइस नोटिफिकेसनले सूचनासहित कहिलेकाहीं सेयर किन्न वा बेच्नका लागि उत्तेजित बनाउन सक्छ । यो कुरा मनन गरी किन्ने, बेच्ने सोच नभएका बेला नोटिफिकेसन अफ गर्नुहोस् ।
१०.आफूलाई मानसिक रूपमा कठिनाइ भएका बेला निर्णय नलिने, केही समयका लागि बजारबाट टाढा रहने, मन मिल्ने साथी, परिवारसँग आफ्ना भावना व्यक्त गर्ने गर्नुपर्छ ।
माथि उल्लेखित लझण देखिएको खण्डमा, मानसिक स्वास्थमा समस्या भई व्यवस्थापन गर्न कठिनाइ भएको खण्डमा तत्काल मनोपरामर्शकर्ता वा मनोचिकित्सकसँग सहयोग लिनुपर्दछ ।
प्रतिक्रिया 4