News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य मन्त्रालयले रिक्त अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) पदका लागि बढुवा प्रक्रिया सुरु गरेको छ।
- डा. टंकप्रसाद बाराकोटीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो भने डा. संगीता कौशल मिश्राको राजीनामा मन्त्रालयलाई थाहा छैन।
- अख्तियारले डा. मिश्रामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ र उनी निलम्बन अवस्थामा छिन्।
२७ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को एक पदका लागि बढुवा प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयको बढुवा समिति सचिवालयले गत शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औँ तहमा बढुवा प्रक्रिया सुरु गरेको हो । प्रकाशित सूचनाअनुसार कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिनेछ ।
सूचनामा गत असार मसान्तसम्म पाँच वर्ष सेवा अवधि पूरा गरेका एघारौँ तहका अधिकृत कर्मचारीहरूले आवेदन दिन सक्ने उल्लेख छ ।
योग्य उम्मेदवारहरूले मन्त्रालयको वेबसाइटमार्फत व्यक्तिगत विवरण फाराम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराएर तोकिएको समयभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पेस गर्नुपर्नेछ ।
अतिरिक्त स्वास्थ्य सचिव रहेका डा. टंकप्रसाद बाराकोटीले कार्यकाल सकिन अझै दुई वर्ष बाँकी छँदै गत १९ कात्तिकमा राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो । सोही रिक्त पदमा अहिले बढुवा प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
डा. मिश्राको राजीनामा स्वीकृत भएको जानकारी मन्त्रालयलाई छैन
तीन महिना बित्न लागिसक्दा पनि मन्त्रालयको अतिरिक्त स्वास्थ्य सचिव रहेकी डा. संगीता कौशल मिश्राले दिएको राजीनामा बारेमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको छैन ।
अतिरिक्त स्वास्थ्य सचिवको राजीनामा स्वीकृत मन्त्रिपरिषद्ले गर्नुपर्ने हुन्छ । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वको सरकारमा जान स्वास्थ्य मन्त्रालयको १२औं तहकी अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको नाम सिफारिस भएको थियो ।
उनी स्वास्थ्य सचिवको आकांक्षी समेत थिइन् । सरकारले उनको साटो डा. विकास देवकोटालाई सचिव बनाएपछि मिश्रा लामो बिदामा बसेकी थिइन् ।
जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्य मन्त्रीको रूपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।
स्वास्थ्य मन्त्रीको रूपमा मिश्राको नाम चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने’ जानकारी गराएको थियो ।
त्यसपछि मिश्राको नाम एकाएक रोकिएको थियो । त्यसको केही समयपछि स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो ।
उनीहरूमाथि थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो दाबी गरेको छ ।
तर, अहिलेसम्म पनि मन्त्रिपरिषद्ले डा. मिश्राले राजीनामा दिएको र स्वीकृत भएको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराएको छैन ।
नाम सिफारिस नै हुँदा मिश्राले राजीनामा दिएको र स्वीकृत भइसकेको बताइएको थियो । तर अहिले डा. मिश्रा भ्रष्टाचार गरेको आरोप निलम्बनमा छिन् ।
स्वास्थ्य मन्त्रालयका सहसचिव दिवस आचार्य डा. मिश्राको पद रिक्त भएको मन्त्रालयलाई जानकारी नभएको बताउँछन् ।
स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. टंक बाराकोटीले गत कात्तिकमा स्वास्थ्य र पारिवारिक कारणले देखाउँदै राजीनामा दिएपछि अतिरिक्त सचिवको पद खाली थियो ।
स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा ४ जना हुन पाउने व्यवस्था छ । हाल डा. श्रीकृष्ण श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाल अतिरिक्त सचिवको पदमा छन् ।
‘डा. मिश्राले राजीनामा दिएको वा स्वीकृत भएको भन्ने मन्त्रालयलाई जानकारी प्राप्त भएको छैन । अहिले डा. मिश्रा निलम्बन भएको जानकारी प्राप्त भएसँगै उहाँलाई पत्र भने पठाएका छौं,’ आचार्यले अनलाइनखबरसँग भने, ‘अतिरिक्त सचिव रिक्त एक पदमा मात्रै बढुवाको प्रक्रिया अघि बढेको हौं ।’
प्रतिक्रिया 4