+
+
Shares
तत्कालीन महानिर्देशक डा. संगीता मिश्रााको बयान :

‘वारेन्टीलगायतका सुविधाले मेमोग्राफीको लागत बढेको हो’

आफूविरुद्ध परेको भ्रष्टाचारको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिने क्रममा उनले दुई वर्षको वार्षिक मर्मतसम्भार सम्झौता(एएमसी) र तीन वर्षको विस्तृत मर्मतसम्भार सम्झौता(सीएमसी) भएकाले उपकरणको लागत बढी परेको बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्राले थ्री–डी मेमोग्राफी मेसिनमा पाँच वर्षको वारेन्टी भएकाले लागत बढी परेको बताएकी छन्।
  • अख्तियारले सात करोडको उपकरणलाई १२ करोडको लागत अनुमान तयार गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
  • मिश्राले आफू भ्रष्टाचारमा संलग्न नभएको र कानुन अनुसार आफ्नो जिम्मेवारी बहन गरेको जिकिर गरेकी छन्।

२ असोज, काठमाडौं । स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्राले थ्री–डी मेमोग्राफी मेसिनमा पाँच वर्षको वारेन्टी भएकाले लागत बढी परेको जिकिर गरेकी छन्।

आफूविरुद्ध परेको भ्रष्टाचारको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिने क्रममा उनले दुई वर्षको वार्षिक मर्मतसम्भार सम्झौता(एएमसी) र तीन वर्षको विस्तृत मर्मतसम्भार सम्झौता(सीएमसी) भएकाले उपकरणको लागत बढी परेको बताएकी हुन् ।

अख्तियार दुरपयोग अनुसन्धान आयोगले सात करोडको उपकरणलाई १२ करोडको लागत अनुमान तयारी गरी दोब्बर मूल्य बनाएर भ्रष्टाचार गरेको आरोप लगाएको थियो । उनले उपकरण बाहेक अरु सुविधा पनि जोडिएकाले लागत स्वभाविक भएको जिकिर गरेकी हुन् । अख्तियारमा बयान गर्दै उनले भनेकी छन्, ‘उपकरण जडान, तालिम र सफट्वेयर पनि जोडिएकाले लागत अनुमान उचित छ ।’

अख्तियारले उनी सहित १५ जनामाथि १४ करोड १८ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप लगाएकामा विशेष अदालतमा मुद्दा दायर गरेको थियो छ । उनी त्यतिबेला स्वास्थ्य सेवा विभागकी महानिर्देशक थिइन् ।

खरिद प्रक्रियामा महाशाखा, शाखा प्रमुखहरु अनि विज्ञले समेत आफ्नो पदिय दायित्व अनुसार विवरण रुजु गरेर भुक्तानीका लागि राय लेखेको भन्दै उनले त्यसपछि मात्रै आफू जोडिएको जिकिर गरेकी हुन् । उनको दावीमा, ‘त्यो फाइलमा फेरि कानुन र आर्थिक प्रशासन शाखाको राय लिएपछि भुक्तानीको प्रकृया अगाडी बढाइएको हो ।’

अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रज्ञानपत्र परीक्षण गर्दा ४ लाख ५० हजार युरोमा ती उपकरण खरिद भएको रहेछ ।

प्रतियुरो १४३ रुपैंयाका विनिमय दरले हिसाव गर्दा त्यतिबेला मेसिनको मूल्य ६ करोड ४३ लाख परेको थियो ।

त्यसमा भन्सार र भ्याट गरेर ५६ लाख ३९ हजार गरी कुल ६ करोड ९९ लाख मात्रै लगानी भएको भेटिएको विवरण पेश गर्दै अख्तियारले सात करोडको सामानको लागत दोब्बर बनाई लागत अनुमान तयार गरेको भन्दै प्रश्न उठाएको हो ।

लागत अनुमानको कागजात तयार गर्ने क्रममा एकै व्यक्तिले तीनवटा कम्पनीहरुले दररेट पठाएका थिए । तीनवटा कम्पनीहरुमा सुन्दर भुसाल संलग्न भएको खुल्यो, उनी नै ठेक्का प्रक्रियामा संलग्न कम्पनीका सञ्चालक समेत हुन् ।

मिलेमतोमा लागत अनुमान तयार गरिएको, त्यसमा नाममात्रै एक प्रतिशत हिस्सा घटाएर रकम कबोल भएको र मिलेमतोमा ठेक्का स्विकृत भएको आरोपमा अख्तियारले उनीहरुमाथि भ्रष्टाचारमुद्दा चलाएको हो ।

तर तत्कालिन महानिर्देशक मिश्राले बयानमा आफू भ्रष्टाचारमा संलग्न नभएको जिकिर गरेकी छन् । विमानस्थलबाट मेमोग्राफ मेसिन प्राप्त भएको, त्यसपछि प्रतिवेदन बनाएर पेश भएको र स्टोरमा दाखिला गरेपछि भुक्तानीको काम गरेको भन्दै मिश्रााले विभागका सम्बन्धित महाशाखा प्रमुखहरुले हस्ताक्षर गरेर अन्तिम रुप दिएपछि मात्रै आफूले भुक्तानीको काम गरेको जिकिर गरेकी हुन् ।

उनले बयानमा भनेकी छन्, ‘महानिर्देशकको पदीय दायित्व अनुसार प्रचलित कानुन स्वास्थ्य मन्त्रालयको नीति तथा कार्यक्रम र सार्वजनिक खरिद तथा नियमावलीको अधिनमा रही आफ्नो जिम्मेवारी वहन गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?