+
+
Shares

स्वास्थ्य उपकरण खरिद : लागतको दोब्बर बढाएर भ्रष्टाचार, भन्सारबाट खुलेको थियो सूचना

अख्तियारको दाबी अनुसार, ६ करोड ४३ लाख रुपैयाँका ती उपकरणलाई दोब्बरभन्दा बढी भाउ राखेर खरिद गरेकाले भ्रष्टाचारको मुद्दा चलाउनुपरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १४:५६

२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा विभागका पूर्वनिर्देशक डा. संगिता मिश्र कौशलसहित १५ जनामाथि भ्रष्टाचार मुद्दा चलायो ।

अख्तियारले १३ जना कर्मचारी अनि सामान आपूर्ति गर्ने कम्पनी म्याक्सिम इन्कर्पोरेशन र त्यसका सञ्चालक सुन्दर भुसाललाई मुद्दा चलाएको हो ।

अख्तियारले पाँचवटा थ्री–डी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार भएको आरोप लगाएको हो ।

अख्तियारको दाबी अनुसार, ६ करोड ४३ लाख रुपैयाँका ती उपकरणलाई दोब्बरभन्दा बढी भाउ राखेर खरिद गरेकाले भ्रष्टाचारको मुद्दा चलाउनुपरेको हो ।

स्वास्थ्य सेवा विभागले प्रति थान २ करोड ५१ लाख रुपैयाँका दरले पाँचवटा मेसिन खरिद गरेको थियो, जसको मूल्य १२ करोड ५५ लाख पर्‍यो । त्यसमा भ्याट समेत जोड्दा १४ करोड १८ लाख रुपैयाँ भुक्तानी भएको हो ।

लागत अनुमानको १ दशमलव ५७ अर्थात् २० लाख रुपैयाँ मात्रै कम प्रस्ताव गरेर सामान खरिदको निर्णय भएकोमा अख्तियारले प्रश्न उठाएको हो ।

त्यतिबेला कोभिड रोकथाम र नियन्त्रण कार्यक्रम अनुसार, स्वास्थ्य संस्थाहमा न्यूनतम सेवा मापदण्ड अनुसार स्तरोन्नत गर्न बजेट निर्धारण भएको रहेछ । त्यही बजेटबाट विभागले ती उपकरण खरिद गरेको हो ।

इटालीमा बनेका ती उपकरण धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको क्यान्सर अस्पताल, निजामती अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा पठाइएको थियो ।

अख्तियारले ती उपकरण लागतबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रापनपत्र परीक्षण गरेको थियो । प्रापनपत्र अनुसार, ४ लाख ५० हजार युरोमा ती उपकरण खरिद भएको रहेछ ।

प्रतियुरो १४३ रुपैयाँका विनिमय दरले हिसाब गर्दा त्यतिबेला मेसिनको मूल्य ६ करोड ४३ लाख परेको खुल्यो । त्यसको भन्सार र भ्याट गरेर ५६ लाख ३९ हजार गरी कुल ६ करोड ९९ लाख मात्रै लागत परेको रहेछ ।

७ करोडको सामानको लागत दोब्बर बनाई लागत अनुमान तयार गरेकोमा अख्तियारले प्रश्न उठाएको देखिन्छ ।

अख्तियारले कम्पनी रजिष्ट्रारको कार्यालयको कागजात हेर्‍यो । लागत अनुमानको कागजात तयार गर्ने क्रममा तीनवटा कम्पनीहरूले दररेट पठाएका थिए । ती दररेट पठाउने तीनवटा कम्पनीहरूमा सुन्दर भुसाल संलग्न भएको खुल्यो, उनी नै ठेक्का प्रक्रियामा संलग्न कम्पनीका सञ्चालक समेत हुन् ।

मिलेमतोमा लागत अनुमान तयार गरिएको, त्यसमा नाममात्रै एक प्रतिशत हिस्सा घटाएर रकम कबोल भएको र मिलेमतोमा ठेक्का स्वीकृत भएको आरोपमा अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा चलाएको हो ।

उक्त मेसिनले ट्युमर लगायतका समस्या पहिचान गर्न उक्त मेसिन प्रयोग गरिने, विशेषज्ञहरू बताउँछन् । खरिदको निर्णय हुँदा मोहन बस्नेत स्वास्थ्यमन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?