News Summary
Generated by OK AI. Editorially reviewed.- बूढानीलकण्ठ नगरपालिकाले अलपत्र पशुहरूको उपचार र पुनःस्थापनाका लागि कान्जी हाउस निर्माण गर्ने तयारी गरिरहेको छ।
- आगामी आर्थिक वर्षमा विशेष संरचना भएको एनिमल एम्बुलेन्स सञ्चालन गर्ने योजना छ जसले उद्धारमा समय र खर्च बचत गर्नेछ।
काठमाडौंमा बेवारिसे गाईवस्तु कति होलान् ? रोग र भोगले थलिएका पशुप्राणी कति होलान् ? यसबारे सायदै लेखाजोखा भएको होलान् । यद्यपि काठमाडौंका सडकहरुमा त्यस्ता गाईवस्तु, कुकुर आदि थुप्रै भेटिनछन्, जो बेवारिसे अवस्थामा छन् । बुढो र रोगी भएपछि घरबाट लखेटिएका, गाडीलयातले घाइते बनाइएका । यी पशुप्राणीलाई के गर्ने, कसरी व्यवस्थापन गर्ने ?
यसमा बूढानीलकण्ठ नगरपालिकाले ठोस उदाहरण पेश गरिरहेको छ । नगरपालिकाकी उपप्रमुख अनिता लामा भन्छिन् ‘हामीले पशु कल्याणलाई केवल दया वा भावनाको विषय मात्र होइन, नगरको सार्वजनिक सुरक्षा, स्वच्छता र जनस्वास्थ्यसँग जोडिएको अनिवार्य जिम्मेवारी ठानेका छौं । त्यसैले हरेक वर्ष बजेटको उल्लेख्य हिस्सा यसैमा छुट्याउँछौं।’
पशुहरूको बढ्दो समस्या र यसका कारणहरू
बुढो भएका वा दूध दिन छाडेका गाईलाई सडकमा छाड्ने, घरपालुवा कुकुर–बिरालो बुढो भएपछि, बोझिलो लागेपछि परित्याग गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा गोठ राख्ने ठाउँको अभावले पनि यो समस्या झन् जटिल बनेको छ ।
उपप्रमुख लामा थप्छिन् ‘हामीले धेरैलाई सम्झाउँदा–बुझाउँदा पनि ‘बुढो भयो, अब के गर्ने ?’ भन्ने जवाफ आउँछ । तर पशुलाई जन्माएर पाल्ने जिम्मेवारी लिएपछि उसको जीवनको अन्तिम साससम्म पनि हाम्रो दायित्व हो भन्ने कुरा बुझाउन लागिपरिरहेको लामा बताउँछिन् ।
चौपायाको व्यवस्थापन
बूढानीलकण्ठ नगरपालिकाले विभिन्न पशु अधिकारकर्मी तथा उद्धारक संस्थासँग सहकार्य गर्दै अलपत्र चौपायाहरूको उपचार र पुनःस्थापनाको काम गर्दै आएको छ । हाल विभिन्न पशु अधिकारकर्मी संस्थाहरूसँग एमओयू गरेर संरक्षण गरिरहेको छ भने चाँडै आफ्नै कान्जी हाउस स्थापना गर्ने तयारी छ ।

उप-प्रमुख लामाका अनुसार नगरपालिकाले संस्थाहरूलाई नियमित कोष उपलब्ध गराउँछ । उद्धार भएका हरेक पशुको स्वास्थ्य जाँच, उपचार र पालनपोषणको जिम्मा ती संस्थाले लिन्छन् ।
यसको दीर्घकालीन समाधानका लागि नगरपालिकाको आफ्नै कान्जी हाउस आवश्यकता रहेको महसुस गरी त्यो निर्माणका लागि लागिपरेको लामाले जानकारी दिइन् । ‘छिट्टै जग्गा छनोट गरेर निर्माण थाल्ने योजना छ’ लामाले सुनाइन् ।
सडकमा अलपत्र परेका पशुको तत्काल उद्धारका लागि वडास्तरमै टिम परिचालित हुन्छ । उद्धारपछि सम्बन्धित संस्थामा हस्तान्तरण गरी उचित हेरचाह गरिन्छ ।
सामुदायिक कुकुरको नियन्त्रण र स्वास्थ्य सेवा
कुकुरजन्यरोग रेबिज नियन्त्रण तथा जनसंख्या व्यवस्थापनमा बूढानीलकण्ठ नगरपालिका देशकै नमुना बन्दै गएको छ । विगत तीन वर्षयता निरन्तर चलेको कार्यक्रमले उल्लेख्य सफलता पाएको छ ।
बूढानीलकण्ठ नगरपालीकाले पशुकल्याणको क्षेत्रमा गरेको मुख्य पहलहरूमा वर्षमा दुई पटक रेबिज खोप अभियान, सडकका सबै सामुदायिक कुकुरको बन्द्याकरण र घरपालुवा कुकुर–बिरालोको अनिवार्य दर्ता तथा माइक्रोचिपिङ प्रणाली लागू गरेको छ ।
‘हामीले घरपालुवा जनावर दर्तालाई अनिवार्य गरेका छौं’ उप-प्रमुख लामाले भनिन्, ‘५०० शुल्कमा माइक्रोचिप जडान गर्छौं । कुकुर सडकमा छोडिएमा चिप स्क्यान गरेर मालिक पहिचान गरी कारबाही गर्छौं । यसले कुकुर बिराला पाल्नेहरूमा जिम्मेवारी बोध गर्ने संस्कृति विकास भएको उनको भनाइ छ ।
यहाँको डोर–टु–डोर क्याम्पेन पनि निकै लोकप्रिय छ । प्रत्येक वडामा सात–सात दिनसम्म क्याम्प राखेर रेबिज खोप, माइक्रोचिपिङ, दर्ता र प्रमाणपत्र एकै ठाउँमा दिइन्छ । ८ हजारसम्म लाग्ने बन्ध्याकरण ३०००-३५०० मै गरिन्छ ।
‘जाडो याममा कुकुरलाई एनेस्थेसिया दिन जोखिम हुन्छ, त्यसैले मंसिर–पुसमा क्याम्प स्थगित गर्छौं, माघ–फागुनबाट फेरि सुचारु गर्छौं’ उनले स्पष्ट पारिन् । लामाका अनुसार नगरपालिकाले दर्ता अनिवार्य बनाएपछि कुकुर छोड्ने प्रवृत्तिमा उल्लेख्य कमी आएको छ । कुकुरले टोकेको वा दुर्घटनामा परेका घटनामा पनि नगरपालिकाको टिम तत्काल खटिन्छ र आवश्यक परे उद्धार केन्द्रमा पुर्याउँछ ।
एनिमल एम्बुलेन्स : अब चाँडै सडकमा
विगत एक वर्षदेखि नगरपालिकाले आफ्नै एनिमल एम्बुलेन्सको माग गर्दै आएको छ । काठमाडौं महानगरसँग पनि यो विषयमा छलफल भएको थियो । ‘हाम्रोमा ५००–७०० केजीका गाईहरू पनि उद्धार गर्नुपर्छ’ लामाले भनिन्, ‘सामान्य सवारीले हुँदैन, विशेष कम्पार्टमेन्ट, जाली र सुरक्षा संरचना भएको गाडी चाहिन्छ।’
त्यस खालको एम्बुलेन्सका लागि आगामी आर्थिक वर्षको वजेट योजना समावेश गर्ने तयारी रहेको उनले जानकारी दिइन् । अब ढिलोमा अर्को वर्षको सुरुसम्ममा आइसक्ने लामाले बताइन् । लामाका अनुसार यसले उद्धारमा लाग्ने समय र खर्च दुवै बचत गर्नेछ भने १–२ जनालाई स्थायी रोजगारी पनि सिर्जना गर्छ ।
अन्य पहल र चुनौतीहरू
नगरपालिकाले पशु अधिकारबारे नियमित जनचेतना कार्यक्रम, विद्यालयस्तरीय कक्षा, होर्डिङ बोर्ड तथा सामाजिक सञ्जालमार्फत सचेतना फैलाइरहेको छ । काठमाडौं एनिमल ट्रीटमेन्ट सेन्टर जस्ता संस्थासँगको सहकार्य निकै बलियो छ ।
पशुकल्याण केवल केही व्यक्तिको भावनाको विषय होइन, यो समग्र समाजको सभ्यता र मानवतासँग जोडिएको विषय हो । हामीले जुन दिन हरेक नागरिकले आफ्नो पाल्तु जनावरको जीवनभरि जिम्मेवारी लिन थाल्छन्, त्यही दिन सडकका छाडा पशुको समस्या आफैं समाप्त हुने लामा बताउँछिन् ।
‘बुढानीलकण्ठलाई हामी पशु–अनुकूल र रेबिज–मुक्त नगरपालिका मात्र होइन, जिम्मेवार र दयालु नागरिक भएको नमुना शहर बनाउन चाहन्छौं’ लामा भन्छिन् ।
बूढानीलकण्ठ नगरपालिकाका यी प्रयासहरूले पशु कल्याणलाई स्थानीय सरकारको अभिन्न अंग बनाएका छन् । थप नीतिगत सहयोग र नागरिक सहभागिताले यो मोडललाई देशैभरि विस्तार गर्न सकिन्छ ।
प्रतिक्रिया 4