+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एमबीबीएसका लागि उज्बेकिस्तान राम्रो विकल्प हो (भिडियो)

मनिषा थापा मनिषा थापा
२०८२ मंसिर २६ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा एमबीबीएसका सिटहरू सीमित ६न् । करिब ८ हजार ७०० विद्यार्थीले प्रवेश परीक्षा पास गर्दा २ हजार ६३५ मात्रै सिट उपलब्ध छन् ।
  • उज्बेकिस्तानको बुखारा स्थित एसियन इन्टरनेशनल युनिभर्सिटीमा २५ भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् र यो विश्वविद्यालयले पूर्णछात्रवृत्ति सिटहरू उपलब्ध गराएको छ।

नेपालमा चिकित्सा शिक्षामा सिटहरू सीमित भएको भन्दै थुप्रै विद्यार्थीहरू विदेश पढ्न जाने गर्छन् । बंगलादेश, चीन र पाकिस्तान जस्ता देशहरूमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरू एमबीबीएस अध्ययन गरिरहेका छन् ।

यस्तो अवस्थामा उज्बेकिस्तान हालैका वर्षहरूमा नेपाली विद्यार्थीहरूका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । विशेषगरी बुखारा शहरमा अवस्थित एसियन इन्टरनेशनल युनिभर्सिटी (एआईयु)ले नेपाली विद्यार्थीहरूलाई आकर्षित गरिरहेको छ, जहाँ हाल २५ भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् ।

यो विश्वविद्यालयमा नेपाली प्राध्यापकहरूको उपस्थिति, राम्रो क्लिनिकल एक्सपोजर र छात्रवृत्तिको अवसरले यसलाई विशेष बनाएको छ । विश्वका १४ देशका विद्यार्थीहरू अध्ययन गर्ने यो अन्तर्राष्ट्रिय विश्वविद्यालयले नेपाली विद्यार्थीहरूका लागि नयाँ ढोका खोलेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) सँगको सहकार्यमा पूर्णछात्रवृत्ति सिटहरू उपलब्ध गराइएको छ, जसले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि सपना साकार पार्ने अवसर प्रदान गर्दछ । यसै सन्दर्भमा, विगत १९ वर्षदेखि विदेशमै बसोबास गर्दै आएका र हाल उज्बेकिस्तानमा कार्यरत नेपाली न्यूरोसर्जन तथा एआईयूका डीन डा. किशन भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाली विद्यार्थीहरू अध्ययनका लागि प्रायः अस्ट्रेलिया, बेलायत, क्यानडा वा मेडिकलका शिक्षाका लागि बंगलादेश, रसिया, चीनतिर जान्छन् । उज्बेकिस्तान नयाँ गन्तव्य बनिरहेको हो ?

नेपालमा हालै चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा सम्पन्न भयो । त्यसमा करिब ८ हजार ७०० विद्यार्थीहरू पास भए । तर नेपालमा एमबीबीएसका सिटहरू २ हजार ६३५ मात्रै छन् । यसमा विदेशी कोटा करिब ७०० छ, जसले गर्दा लगभग २ हजार नेपाली विद्यार्थीले नेपालमा पढ्न पाउँछन् । बाँकी विद्यार्थीहरू बंगलादेश, फिलिपिन्स, चीनतिर लाग्छन् ।

उज्बेकस्तिानलाई यी देशहरूसँग तुलना गर्दा शिक्षा गुणस्तरमा कुनै भिन्नता छैन । उज्बेकिस्तान सेन्ट्रल एसियाको सुरक्षित देश हो, जहाँ पर्यटकहरूको घुइँचो लाग्छ । बुखारा शहर ऐतिहासिक सिल्क रोडको भाग हो, जसले गर्दा यहाँ अन्तर्राष्ट्रिय वातावरण छ । नेपाली विद्यार्थीहरूका लागि यो सजिलो र सस्तो विकल्प बन्दैछ ।

उज्बेकिस्तानको शिक्षा प्रणाली र क्लिनिकल एक्सपोजरमा नेपालसँग के भिन्नता छ ?

म डीन भएको नाताले मैले नै सबै पाठ्यक्रम र चिकित्सा शिक्षा प्रणाली नै तयार पारेको हुँ, जसलाई उज्बेकिस्तानको शिक्षा मन्त्रालयले अनुमोदन गरेको छ । हाम्रो एमबीबीएसको ६ वर्षको प्याकेज हो । पाँच वर्ष एकेडेमिक र एक वर्ष इन्टर्नसिप । नेपाल मेडिकल काउन्सिलको नियमअनुसार इन्टर्नसिप त्यहीं गर्नुपर्छ, जुन हामी उपलब्ध गराउँछौं ।

पहिलो दुई वर्ष आधारभूत विज्ञानहरू पढाइन्छ, जसमा ल्याब र क्लिनिकल विषयहरू समावेश छन् । उदाहरणका लागि, पहिलो वर्षमा ‘केयर अफ थेरापेटिक एण्ड नर्सिङ पेसन्ट्स’ विषयमा अस्पताल पठाइन्छ । दोस्रो वर्षमा प्याथोलोजिकल एनाटोमी मोरमा पढाइन्छ । तेस्रो वर्षदेखि पूर्णरूपमा क्लिनिकल विषयहरू हुन्छन् । क्लिनिकल साइकल प्रणालीमा प्रत्येक विषय २०–२२ दिनसम्म पढाइन्छ, जसमा बिहान अस्पतालमा अभ्यास र दिउँसो लेक्चर हुन्छ ।  यसले गर्दा तेस्रोदेखि छैटौं वर्षसम्म दैनिक क्लिनिकल एक्सपोजर हुन्छ, जुन नेपालको तुलनामा बढी व्यवहारिक छ ।

यो डिग्री नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त हुन्छ कि हुँदैन ? प्रक्रिया के छ ?

नेपाली विद्यार्थीले विदेश पढ्न प्रवेश परीक्षा पास गरेपछि चिकित्सा शिक्षा आयोगबाट इलिजिबिलिटी सर्टिफिकेट र शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्छ । हाम्रा सबै नेपाली विद्यार्थीहरूले यी प्रमाणपत्र लिएर आएका छन् । यसले गर्दा नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयबाट कुनै समस्या छैन । डिग्री पूर्णरूपमा मान्य हुन्छ ।

भर्खैरै प्रवेश परीक्षा सकिएको समयमा तपाईं नेपाली विद्यार्थी लैजाने तयारीमा आउनुभएको छ । यो कस्तो खालको छात्रवृति हो ? कति कोटा हुन्छ ?

एनआरएनएसँगको एमओयुअनुसार दुई सिट पूर्णछात्रवृत्ति छन् । यसमा आर्थिक रूपमा कमजोर तर डाक्टर बन्ने सपना भएका विद्यार्थीहरूलाई एनआरएनएले छनोट गर्छ । छात्रवृत्तिमा पढाइ, खाना, बसोबास, भिसा र रजिस्ट्रेसन सबै समावेश हुन्छ, जुन विद्यार्थी अनुतीर्ण नभएसम्म छ वर्षसम्म कायम रहन्छ ।

आउँदो हप्ता एनआरएनएले प्रेस रिलिज गरी फारम कहिले, कसरी कहाँ भर्ने र यसको परीक्षा लगायतको जानकारी दिनेछ ।

उज्बेकिस्तान पढ्न जानका लागि तयारी चाहिँ के गर्नुपर्छ ?

तयारी विश्वविद्यालयकै लागि खासै चाहिँदैन । पढाइ पूर्णरूपमा अंग्रेजी माध्यममा हुन्छ । प्राध्यापकहरू नेपाल, भारत, बंगलादेश, इजिप्ट, श्रीलंका लगायतका नै छन् । सञ्चार गर्न, बस्न आफू अनुकुल वातावरण नै पाउने हुन्छ ।

उज्बेकिस्तानको यो विश्वविद्यालयले नेपालका विद्यार्थीलाई नै प्राथमिकता किन दिन लाग्दैँछ ?

म गैरआवासीय नेपाली हुँ, एनआरएनएको स्लोगन ‘नेपालीका लागि नेपाली’ भन्ने छ । यसले नेपाललाई प्राथमिकता दिन्छ । यही संस्थाको साथ र म डीन भएको नाताले पनि
नेपाली विद्यार्थी प्राथमिकतामा परेका हुन् तर हाम्रो विश्वविद्यालयमा १४ देशका विद्यार्थीहरू छन् । भारत, इजिप्ट, मोरोक्को, सुडान, लिबिया, पाकिस्तान, बंगलादेश आदि । नेपालबाट २५ जना मात्रै छन् ।

यहाँबाट एमबीबीएस पास गरेका विद्यार्थीहरूको डिग्रीको अन्तर्राष्ट्रिय मान्यता के छ ?

हामीसँग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), ईसीएफएमजी, युएसएमएलई, युकेको जीएमसी, अस्ट्रेलियन मेडिकल काउन्सिल आदिका एक्रिडेसन छन् । यहाँको डिग्री विश्वव्यापी रूपमा मान्य छ, जसले अमेरिका, युके, अस्ट्रेलियामा लाइसेन्स परीक्षा दिन सकिन्छ ।

कलेजको वातावरण र सुविधाहरू कस्ता छन् ?

आफ्नै होस्टेल, मेस र क्यान्टिन छन् । क्यान्टिनमा दक्षिण एसियन र अरेबियन खानाहरू उपलब्ध छन् । नेपाली विद्यार्थीहरू र प्राध्यापकहरूको उपस्थितिले घरेलु वातावरण छ । दशैं–तिहार जस्ता चाडमा टीका लगाउने, रमाइलो गर्ने गर्ने गरी पारिवारिक माहोल बनाइन्छ । त्यो मात्र होइन, उनीहरू मानसिक रुपमा विक्षिप्त भएको समयमा अभिभावक जस्तो समय दिएर सम्झाइबुझाइ समेत विश्वविद्यालयले गर्ने गर्छ ।

छात्रवृति पाउने बाहेक यसअघि नेपाली विद्यार्थीहरू त्यहाँ पुगेका छन्, कि यो पहिलो पटक हो ?

विगतमा भारतीय पार्टनरहरू मार्फत गएका थिए । यस वर्ष नेपालबाट प्रत्यक्ष रूपमा कन्सल्टेन्टहरू मार्फत ल्याउँदैछौं । यो विश्वविद्यालय भने आफैंले नेपालमा पहल गरेको पहिलो पटक हो, तर गत वर्ष पनि नेपाली विद्यार्थीहरू आएका थिए ।

आफैं खर्च गरेर जान चाहने विद्यार्थीका लागि कलेज शुल्कसहित बस्ने खाने खर्च कति हुन्छ ?

ट्युसन फी मात्र छ वर्षमा नेपालको साढे २१ लाख रुपैयाँ लाग्छ । खाना, बसोबास, भिसा, रजिस्ट्रेसन समेत गर्दा कुल ४४ लाख जति । नेपालका निजी मेडिकल कलेजहरूमा ट्युसन फी मात्र ४०–४५ लाख हुन्छ, जसले गर्दा तुलनात्मक रुपमा उज्बेकिस्तान सस्तो र सुविधाजनक छ ।

यो देशसम्म यात्रा कसरी सजिलो छ ?

नेपालबाट सिधा फ्लाइट छैन, दुबई, टर्की वा दिल्ली ट्रान्जिट गरेर जान सकिन्छ । दिल्लीबाट तीन घण्टा मात्रै लाग्छ ।

जो त्यस विश्वविद्यालयमा पढिरहेका छन्, ती नेपाली विद्यार्थीहरूको प्रतिक्रिया कस्तो छ ?

उनीहरू खुसी छन् । पढाइ, वातावरण, सुरक्षा सबैबाट सन्तुष्ट छन् । नेपाली प्राध्यापकहरू र पारिवारिक वातावरणले अभिभावकत्वको अनुभूति दिन्छ । उज्बेकिस्तान सुरक्षित देश हो । यहाँ विदेशीका लागि पुलिस अलग्गै छ, जसले गर्दा केही समस्या भएमा विदेशी भए पनि झन्झट व्यहोर्नु पर्दैन ।

नेपाल र उज्बेकिस्तानको शिक्षा, अस्पताल र स्वास्थ्य प्रणालीमा तुलना गर्दा कस्तो छ ?

तुलनात्मक रुपमा उज्बेकस्तिानमा चिकित्सकहरूको तलब राम्रो छ, लगानी चार–पाँच वर्षमा उठ्छ । नेपालमा १५–२० वर्ष लाग्छ । उज्बेकस्तिानमा पब्लिक अस्पतालहरू बढी छन्, स्थानीयहरूका लागि स्वास्थ्य सेवा निःशुल्क छ ।

दुईवटा कोटा बाहेक जो अध्ययनरत नेपाली छन्, वा आउन चाहने विद्यार्थीका लागि अन्य छात्रवृत्ति अवसरहरू पनि छन्, कि ?

पूर्ण छात्रवृत्ति बाहेक, प्रत्येक वर्ष स्कलरशिप टेस्ट हुन्छ । यसका लागि मापदण्डहरू छन् । जसमा ८० प्रतिशत उपस्थिति, सबै परीक्षा पहिलो प्रयासमा पास, कुनै अनुशासन कारबाहीमा नपरेको हुनुपर्छ। ३०० एमसीक्यूको परीक्षा (युएसएमएलई प्याटर्न), जसमा ७० प्रतिशत परीक्षा, २० प्रतिशत टर्म रिजल्ट, १० प्रतिशत उपस्थितिबाट मूल्यांकन हुन्छ ।

टपलाई पूर्णट्युसन, होस्टेल, खाना खर्च छुट हुन्छ । दोस्रोदेखि चौथोलाई ७५ प्रतिशत देखि ५० प्रतिशत छुट छ । गत वर्ष टप १० मा तीन नेपाली थिए, आकृति भुजेल र नम्रता पाण्डेले शतप्रतिशत र विषिका बिकले ७५ प्रतिशत पाए ।

टप गर्दै गएको खण्डमा कति खर्च लाग्छ ?

पाँच वर्ष टप गरेमा भिसा र रजिस्ट्रेसन मात्र (वर्षको ५०० डलर) तिरेर साढे तीन लाखमा एमबीबीएस पूरा हुन्छ ।

एमबीबीएस तयारी गर्ने विद्यार्थीहरूलाई के सल्लाह दिन चहानुहुन्छ ?

विकल्पहरू धेरै छन् । बंगलादेश, फिलिपिन्स, चीन बाहेक उज्बेकिस्तान पनि राम्रो विकल्प हो । सोचविचार गरेर चुनौं । विश्वविद्यालयबारे बुझ्दा डब्लुएचओ, ईसीएफएमजी आदिमा सूचीकृत छ कि छैन हेर्नु उचित हुन्छ । बाहिर देखिए भन्दा छुट्टै अतिरिक्त शुल्कहरू छ/छैन सुनिश्चित गर्नुपर्ने हुन्छ ।

ब्रोकरहरू रिसर्च गर्नु । माहोल, पढाइ, सुरक्षा फेसबुक, इन्स्टाग्राममा पढिरहेका विद्यार्थीहरूसँग कुरा गर्न सकिन्छ । जहाँसम्म एआईयुको कुरा छ, एआईयु राम्रो विकल्प हो, हामी नेपाली प्राध्यापकहरूले राम्रो डाक्टर बनाएर नेपाल पठाउँछौं ।

तपाईंको व्यक्तिगत यात्रा छोटकरीमा बताइदिनुहोस् न

मैले रसियामा कल्चर सेन्टरको छात्रवृत्तिमा एमबीबीएस गरेँ । मेरो स्कुलका प्रिन्सिपल मिसेस कार्मा छोचम लामाले प्रोत्साहित गर्नुभयो । कीर्गिस्तानमा न्यूरोसर्जरीमा पोस्ट ग्रेजुएट र पब्लिक हेल्थमा मास्टर गरेँ । त्यहाँ भाइस डीन र डीन भएँ ।

अहिले एआईयुमा दुई वर्षदेखि डीन छु ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?