+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘अति नै माया लाग्छ मुन्नीको’

‘मैले कलाकारिताको बिउ नेपालमा रोपेकी थिएँ । त्यो बोटलाई पानी हाल्न, स्याहार्न र ठूलो बनाउनलाई फर्किएँ । संसार डुलेँ तर, नेपालजस्तो अन्त पाइँन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रियना आचार्यले आगामी फिल्म \'झरीपछिको इन्द्रेणी\' मा अनुपमा नामक युवतीको भूमिका निभाएकी छन्, जसले जेनजी आन्दोलनसँग सम्बन्धित कथा प्रस्तुत गर्छ।
  • प्रियना आचार्य यूके छाडेर नेपाल फर्किएकी हुन् र कलाकारिताको बिउ नेपालमा रोप्न र स्याहार्न फर्किएको बताएकी छन्।
  • प्रियना आचार्यले अभिनयसँगै संगीतमा पनि ध्यान दिन चाहन्छिन् र ४ पुसमा \'झरीपछिको इन्द्रेणी\' रिलिज हुने जानकारी दिएकी छन्।

धेरैले उनलाई ‘रियल’ नामले कम, ‘रिल’ नामले ज्यादा चिन्छन् ।

सानैदेखि जसरी उनले नाम कमाइन्, त्यो धेरैका लागि लोभलाग्दो कुरा हो । उनी अर्थात प्रियना आचार्य !

नेपाली कलाकारिताकी ‘मुन्नी’ !

हालैको एक चिसो बिहानीमा ललितपुरको ज्वागलमा मुन्नी ‘न्यानो’ सुनिइन् । यो न्यानोपन उनको आगामी फिल्म ‘झरीपछिको इन्द्रेणी’ लाई लिएर हो । संख्याको हिसाबले तेस्रो फिल्मलाई लिएर मुन्नी आशावादी पनि छिन् ।

उनीसँग फिल्म, जेनजी आन्दोलन, मनभित्रका अन्तद्र्धन्द्र्धदेखि योजनासम्मका कुरा भए । ६ वर्षको हुँदा ‘मैना’ नाटकबाट अभिनय यात्रा थालेकी उनले ‘अन्तिम लास’ नाटक पनि गरिन् ।

बालकलाकारको रुपमा फिल्म ‘निगरानी’ बाट ठूलो पर्दामा डेब्यू गरिन् । ‘नाइँ नभन्नू ल’ उनको फिल्मोग्राफी अटाउँछ ।

धेरैलाई थाहा छैन मुन्नी ‘यूके रिटर्न’ हुन् । उताको सम्भावना छाडेर उनी यतिबेला स्वदेशमा भविष्य खोजिरहेकी छिन् । यो धेरैका लागि प्रेरणाको कुरा पनि हो । देश छाड्ने तन्नेरीको लर्कोबीच, मुन्नी आदर्श बन्न सक्लिन् ।

सुरुमै उनलाई सोधियो, किन फर्किएको नि ? भन्छिन्, ‘मैले कलाकारिताको बिउ नेपालमा रोपेकी थिएँ । त्यो बोटलाई पानी हाल्न, स्याहार्न र ठूलो बनाउनलाई फर्किएँ । संसार डुलेँ तर, नेपालजस्तो अन्त पाइँन ।’

उनले सुनिल पोखरेलसँग नाटक ‘ज्ञ’ पनि गरिन् । मन्डलामा पनि अभिनय र सांस्कृतिक आदानप्रदानको कार्यशालाको अनुभव बटुलिन् । दीपक आचार्य ‘काकु’ सँग ‘विकास भर्सेस निकास’ नाटक सर्वनाम थिएटरमा गरिन् ।

काकुसँगको चिनापर्चीले त्यसपछि उनलाई टिभी सिरियलतिर तान्यो । उनले चर्चित टिभी श्रृंखला ‘भद्रगोल’ र ‘सक्किगो नि’मा अभिनय गरिन् । यी दुई सिरियलले उनको परिचयमा नयाँ प्वाँख थपिदिए ।

यो विन्दुदेखि उनी प्रियना कम र मुन्नी नामले ज्यादा लोकप्रिय भइन् । उनले अभिनय गरेको दोस्रो फिल्म ‘लाज शरणम्’ हालै रिलिज भयो । छोटो भूमिका भएपनि उनको लागि राम्रो अवसर बन्यो ।

जेनजीको कथा ‘झरीपछिको इन्द्रेणी’

भदौयता नेपाली राजनीति र समाजमा कुनै शब्द यतिधेरै ‘क्वाइन’ भैराखेको छ भने त्यो हो- जेनजी । २३ र २४ भदौको आन्दोलनपछि यो शब्द सबैभन्दा धेरै सुनिने र बोलिने बनेको छ ।

फिल्म ‘झरीपछिको इन्द्रेणी’ पनि यस्तै एक कथा हो । यो फिल्ममा प्रियानाले अनुपमा नामक युवतीको भूमिका निर्वाह गरेकी छन् । उनी यो फिल्मलाई आशाको विम्वको रुपमा अथ्र्याउन चाहन्छिन् ।

‘मान्छेको लाइफमा झरीहरू आइरहेको हुन्छ । सुनौलो इन्द्रेणी पनि त आउँछ । आशा पनि हो नि त । फिल्ममा पनि आशा देखाउन खोजिएको हो । आशाको विम्व हो’ उनले भनिन् ।

उनले निर्वाह गरेको पात्र अनुपमालाई देश छाडेर अस्ट्रेलिया जान मन छ । तर, भिसाको समस्याले उसलाई चिन्तित तुल्याएको छ । मुलुकको सिस्टमले पनि हैरानी दिएको छ । वडाध्यक्षको मुखमा गएर थुकिदिन्छे ।

यी हैरानीको बीचमा देश छाड्न खोज्ने प्रतिनिधिमूलक चरित्र हो अनुपमा । नेपालबाट दिक्क भएर जान खोज्ने चरित्रमा देखिएकी छिन् प्रियना । तर, प्रियना परिन् विदेश छाडेर नेपाल आएकी ।

यसकारण अनुपमा र प्रियना एकसय असी डिग्री विपरितका दुई पात्र परे । विदेश जाने कुरा मात्र होइन, अन्य स्वभाव पनि यी दुईका अलग छन् ।

प्रियनालाई नेपाल छाड्न मन लाग्दैन, अनुपमालाई नेपाल बस्न मन लाग्दैन । प्रियना शान्त स्वभावकी छिन्, अनुपमा झर्किहाल्छे ।

उनलाई लाग्छ, युवाको कथा समेटिएकाले हरेक दर्शकलाई यसले जोड्न सक्छ । दुई पुस्ताको कथादेखि बाउछोराको अपेक्षाबीचको द्वन्द्व, हालैको नेपालको जेनजी आन्दोलन र यसका आयामसँग फिल्मको कथा निकट रहेको उनी बताउँछिन् ।

‘हामीले नेपालमा हालै जुन आन्दोलन देख्यौं । त्योसँग पनि रिलेट हुन्छ । पारिवारिक फिल्म छ । परिवारभित्र महिलाको स्थिती कस्तो छ भन्ने बुझ्न सकिन्छ’ उनी भन्छिन् ।

‘युवाको फ्रस्टेसनको कथा यसमा छ । यो जेनजीको स्टोरी हो’ उनी सुनिइन् ।

‘अति नै माया लाग्छ मुन्नीको’

प्रियनालाई लाग्छ मुन्नी पात्र उनको लागि नाट्यश्वरीको प्रसाद हो । अनि सोधियो- मुन्नी भनेर बोलाउँदा वा प्रियना भनेर बोलाउँदा अपनत्व वा आत्मीय हुन्छ ? जवाफ छ, ‘यो त मलाई पनि फिफ्टी फिफ्टी लाग्छ । मुन्नीलाई मैले मेरो नाट्यश्वरीको प्रसाद जसरी लिन्छु । एउटा कलाकारलाई २०/२५ वर्ष लागेर नकमाएको त्यो माया मैले दुईटा एपिसोड खेलेर पाएकी हुँ । अति नै माया लाग्छ मुन्नीको ।’

आफूहरू पारिवारिक कलाकार भएको उनी बताउँछिन् । ‘घर घरमा त मुन्नी पुग्या हो, प्रियना पुगेको होइन । प्रियना मान्छेले चिन्दैनन्, मुन्नीलाई चिन्छन्’ भन्छिन्, ‘हामी पारिवारिक कलाकार जस्तै हौं । दर्शकर्लाइ फेमिलीजस्तै महसुस हुने रहेछ ।’

अनि मुन्नीको छविलाई मेटाएर त्यस्तै अर्को बलियो पात्र निर्माण गर्न मन छैन ? उनी भन्छिन्, ‘लाग्छ नि । अवश्य पनि ।’

‘सिरियलबाट आएकालाई हियाउने सोच’

कहिलेकाहिँ देखिनेभन्दा अनुभूति गरिने कुरामा सत्यता लुकेको हुन्छ । प्रियनालाई पनि यस्तै लागेको छ । अहिले पनि कतिपय निर्माता र कलाकारमा सिरियल खेलेकी केटी हो भनेर हियाउने सोच रहेको अनुभूति उनलाई हुन्छ ।

‘थिएटरमा पनि देख्छु, छ्या सिरियल गर्ने रहेछ भन्ने नजर पनि छ एउटा ग्रुपमा । फिल्मको मान्छेले पनि सिरियलबाट आएकालाई डोमिनेटेड गर्ने । मैले व्यक्तिगतरुपमा फिल गरेको छैन तर, कता कता त्यो चाहिँ छ’ उनी सुनिइन् ।

प्रियनाले टिभी श्रृंखलाबाट रोचक ग्रामीण चरित्रमा काम गरिन् । अब उनलाई सहरी पात्रमा प्रस्तुत हुन मन छ । ‘ओम शान्ति ओम’ र ‘ककटेल’ मा देखिएकी दीपिका पादुकोणको जस्ता बोल्ड क्यारेक्टर । अनि ‘गुंगुबाई कठियावाडी’मा देखिएकी आलिया भट्टको त्यो प्रभावशाली चरित्र ।

‘बन्धकी’ भन्ने नेपाली फिल्ममा निरुता सिंहले गरेजस्तो भूमिका होस् या ‘जेरी अन टप’मा जसिता गुरुङले गरेजस्तो रोल । ‘वन्डरफूल’ उनी भन्छिन्, ‘मलाई सिटी गर्लको रोल गर्न मन छ । गाउँको एक्स्प्लोर धेरै गरिसकेँ मैले ।’

राजेश हमालको त्यो सल्लाह

यूकेबाट फर्किएकी प्रियनालाई डिनरको बेला राजेश हमालले दिएको त्यो सल्लाह अझै याद छ । हमालले अभिनयलाई ‘प्लान बी बनाऊ ए चाहिँ अर्कै हुनुपर्छ’ भनेर सल्लाह दिएका थिए । उनले अध्ययनमा केन्द्रित हुन सुझाएका थिए । तर, प्रियानाको लागि अभिनय एबीसीडी इएफजी सबथोक हो ।

हमालको त्यो सल्लाह अहिले पनि उनको मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहन्छ । उनी वर्तमान राजनीतिप्रति पनि धेरथोर सचेत छिन् । उनलाई मुलुकमा युवाले भोगेको समस्यादेखि राजनीतिक अस्थिरताको किस्सा सबै थाहा छ ।

‘म बाहिर बसेको आएको, त्यहाँ सरकारले पढाउँछ । सरकारले नै स्वास्थ्य हेरचाहको सुविधा दिन्छ । बच्चा हेर्नलाई पनि सरकारले पैसा दिन्छ । काम नगरे पनि सरकारले पैसा दिन्छ’ उनले यूकेको अनुभव सुनाइन् ।

‘नेपालमा गाउँमा त खेतबारी खनेर पनि खान पाइएला, काठमाडौंमा त भोकभोकै पनि बस्नुपर्छ । कतिपय हाम्रै साथीसँग दशैंमा घर जान पैसा हुँदैन । धेरै नसकेपनि खास लाइफस्टाइल त मैले मेनटेन गर्न सक्या छु’ भन्छिन्, ‘नर्सको स्थिती नेपालमा १५ हजार रुपैयाँ पारिश्रमिक छ । मेरै बच्चादेखिका साथीहरु नेपालमा कोही छैन । मेरै बेस्ट फ्रेन्डले पनि अस्टेलिया ट्राई गर्दैछ ।’

उनलाई लाग्छ, नेपाल यतिबेला हुन र पुग्ने मान्छेको लागि मात्र हो । ‘नहुने मान्छेको लागि बिजोग छ । त्यत्रो पैसा लगानी गरेर कृषि, वास्तुकला पढेको हुन्छ, स्यालरी हेर्दा समस्या छ’ भन्छिन्, ‘मेरो लाइफ किन सेक्योर्ड छ भने आमाले दुःख गरेर यूके पुगेका थियौंं ।’

संगीतमा अघि बढ्ने र आफूलाई निखार्ने

‘झरीपछिको इन्द्रेणी’ पनि प्रियना संगीतमा फोकस हुन चाहिन्छन् । १६ वर्षको उमेरमा गीत रेकर्ड गराइन् । तर, त्यतिबेला उनले कन्फिडेन्ट महसुस गरिनन् । गीत पनि रिलिज भएन ।

‘अब पढाइदेखि संगीत सबै कुरा सबैलाई एकसाथ लिएर अघि बढ्न मन छ । झरीपछिको इन्द्रेणीको मेरो मुख्य लक्ष्य भनेको संगीत हो’ सुनिइन्, ‘विस्तारै संगीतमा अघि बढ्न चाहन्छु । विस्तारै कभर गर्ने कि । मलाई क्लासिक गीतहरू गुन्गुनाउन मनपर्छ । भित्रैदेखि म्युजिक गर्न मन छ । आफ्नो क्राफ्टलाई निखार्ने र आफू अपगे्रड हुन मन छ ।’

फिल्म लाइन ‘ट्रिकी बिजनेस’

सानै उमेरमा प्रियनाले नेम-फेमको स्वाद चाखिन् । उनको ब्यस्तता अहिले टिभी होइन, फिल्मतिर छ । यसबीच आफ्नो मनमा ठूलै अन्तद्र्धन्द्ध चलेको उनी बताउँछिन् ।

‘जब मैले आफूलाई स्विच गरेँ नि, त्यो ट्रान्जिसन एकदम गाह्रो हुने रहेछ । मेकरको आँखामा अलि नपरिने रहेछ क्या । त्यो हिसाबले मभित्र अन्तद्र्धन्द्र्ध खतरै छ’ भन्छिन्, ‘ठूलो स्क्रिनमा मजाले लिड गरेर कहिले हुन्छ होला भनेर । अहिले एक्टिङमा निकै मिहेनत गरेकी छु ।’

हरेक कलाकारलाई ठूलो पर्दाको लोभ हुने हुने उनी बताउँछिन् । स्नातक अध्ययन सकेकी उनी अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स गर्ने तयारीमा छिन् ।

‘झरीपछिको इन्द्रेणी’ ४ पुसमा रिलिज हुँदैछ । फेरि पनि उनी यसलाई आशाको विम्वको रुपमा हेर्न चाहन्छिन् ।

विष्णु शर्मासँगको कुराकानीमा आधारित ।

तस्वीर : नीरज पन्थी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?