News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल परिवार नियोजन संघ र दृष्टि नेपालले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेका छन्।
२६ मंसिर, काठमाडौं । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल परिवार नियोजन संघ र दृष्टि नेपालको सहकार्यमा विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
लागूऔषध प्रयोगकर्ता महिला, एचआईभी सङ्क्रमित, एकल आमा तथा विभिन्न प्रकारका हिंसाबाट प्रभावित समुदायका महिलाहरूलाई लक्षित गरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सेवा पहुँचबारे छलफल गरिएको हो ।
कार्यक्रममा विभिन्न विज्ञहरूले यौन स्वास्थ्य सेवा, हिंसा न्यूनीकरण र विभेदमुक्त पहुँचका विषयमा प्रस्तुति राख्नुका साथै छलफल गरिएको थियो । नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा. प्रवीण शाक्यले संघले विगत ६६ वर्षदेखि यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको क्षेत्रमा अभिमुखीकरण र सेवा प्रदान गर्दै आएको जानकारी दिए ।
‘लागूपदार्थ प्रयोगकर्ता महिला, एचआईभी सङ्क्रमित तथा यौनकर्मीहरू यौन रोगको उच्च जोखिममा छन्’ शाक्यले भने, ‘यस्ता समुदायलाई विभेदमुक्त सेवा प्रदान गरी पहुँच विस्तार गर्नु आवश्यक छ ।’
दृष्टि नेपालका फाइनान्स अफिसर प्रतीक थापाले लागूऔषध प्रयोगकर्ता तथा यौनिक अल्पसङ्ख्यक समुदायले नागरिकता, परिवार–समाजको स्वीकृति, रोजगारी र आर्थिक अभावका कारण प्रजनन् स्वास्थ्य तथा मानसिक स्वास्थ्यमा जोखिम भोग्ने गरेको बताए ।
परियोजना संयोजक प्रकाश डंगोलले वि.सं. २०१६ मा स्थापना भएको संघले परिवार नियोजनसँगै यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्रवर्द्धनका लागि विभिन्न संस्थासँग सहकार्य गर्दै गाउँ–गाउँ र सिमान्तकृत वर्गसम्म सेवा विस्तार गरेको उल्लेख गरे ।
दृष्टि नेपालकी संस्थापक अध्यक्ष परिना सुब्बा लिम्बूले प्रजनन् स्वास्थ्य तथा क्षति न्यूनीकरण सेवामा अन्तर–संस्थागत सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उनले स्वास्थ्य सेवा प्रदायकहरूले लागूऔषध प्रयोगकर्ता सेवाग्राहीले पनि लाञ्छना र भेदभावरहित सेवा पाउने हक भएको स्मरण गराइन् ।
यो कार्यक्रमले सिमान्तकृत समुदायमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको चेतना वृद्धि गर्दै सेवा पहुँचलाई समावेशी बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4