+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सीआईबीका संस्थापक प्रमुखलाई श्रम मन्त्रालयको जिम्मेवारी

प्रहरी सहचारीले सार्थकता पाउने आश

भण्डारी अपराध अनुसन्धानका अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनको कार्यकालमा सीआईबीले एउटा उचाइ लिएको थियो । त्यतिबेला भीओआईपी कलबारेमा अनुसन्धान भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ मंसिर २६ गते १६:२५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी । तस्वीर चन्द्रबहादुर आले/अनलाइनखबर

२६ मंसिर, काठमाडौं । प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि राजेन्द्रसिंह भण्डारी मन्त्री बनेका छन् । भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भण्डारीसँगै मन्त्री बनेका चार जनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा श्रम मन्त्री बनेका भण्डारी कुनै समय जल्दाबल्दा प्रहरी अफिसरको रूपमा परिचित थिए । २०४३ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर (प्रहरी निरीक्षक)को रूपमा सेवा प्रवेश गरेका भण्डारीले ३० वर्षसम्म प्रहरीमा काम गरेको अनुभव छ ।

उनी प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण २०७३ फागुनमा अनिवार्य अवकाशमा गएका थिए । भण्डारी तिनै अधिकृत हुन् जसले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिकल्पना गरे, अनि त्यसको संस्थापक प्रमुख तथा निर्देशक समेत बने ।

अपराधका नयाँनयाँ शैली देखा परेसँगै अनुसन्धानका प्रकृति एवं तरिकालाई पनि परिस्कृत गर्दै लैजानु पर्छ भन्ने मान्यता अनुरूप सीआईबी गठन गरिएको थियो ।

पुराना शैली र संयन्त्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गरिनु पर्छ भन्ने अवधारणाअनुसार १ साउन २०६७ सालमा सीआईबी स्थापना गरिएको थियो । यसका प्रथम प्रमुख नै अहिले श्रम मन्त्री बनेका भण्डारी हुन् ।

सीआईबीको स्थापनालाई अपराध अनुसन्धानमा एउटा कोशेढुंगाको रूपमा लिने गरिन्छ । अहिले अन्य प्रहरी युनिटले अनुसन्धान गर्न नसकेका जघन्य प्रकृतिका अपराध अनुसन्धान सीआईबीले नै सुल्झाउँदै आएको छ ।

अहिले यो सफलतासँगै भण्डारीले बसालेको जगलाई बिर्सन नहुने सीआईबीका पूर्वप्रमुख समेत रहेका हेमन्त मल्लको बुझाइ छ । ‘भण्डारीकै पहलकदमीमा सीआईबी स्थापना भयो । अपराध अनुसन्धानको अहिलेको सफलतामा उहाँको (भण्डारी)को योगदानलाई बिर्सन मिल्दैन,’ मल्ल भन्छन् ।

भण्डारी अपराध अनुसन्धानका अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनको कार्यकालमा सीआईबीले एउटा उचाइ लिएको थियो । त्यतिबेला भीओआईपी कलबारेमा अनुसन्धान भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

उनी एआईजी रहँदा राष्ट्रिय सुरक्षा परिषद्मा बसेर पनि काम गरे । आफ्नै ब्याची उपेन्द्रकान्त अर्याल प्रहरी प्रमुख (आईजीपी) बनेपछि भने अर्यालसँग उनको सम्बन्ध राम्रोसँग जम्न सकेन । खरो र हक्की स्वभावका भण्डारी एआईजीबाटै २०७३ फागुनमा अवकाश भए ।

प्रहरी सेवामा रहँदा भ्रष्टाचार विरोधीको रूपमा पनि उनले आफ्नो परिचय बनाए । उनी प्रहरी भित्र हुने भ्रष्ट आचरणका बारेमा कडा रूपमा प्रस्तुत हुने गरेको उनका समकक्षीहरू सम्झन्छन् ।

भण्डारीले बसालेको जगलाई बिर्सन नहुने सीआईबीका पूर्वप्रमुख समेत रहेका हेमन्त मल्लको बुझाइ छ ।

बैतडीमा जन्मिएका राजेन्द्रसिंह भण्डारी लक्ष्मणसिंह भण्डारीका छोरा हुन् । लक्ष्मणसिंह राष्ट्रिय पञ्चायतको सदस्य समेत बनेका थिए । लक्ष्मणसिंहले जीवनभर राजनीति गरे तर मन्त्री बन्न सकेनन् । यता, जीवनभर राजनीति नगरेका राजेन्द्र भने एकाएक मन्त्री बने ।

यो विषम परिस्थितिमा मुलुकले सम्झेर जिम्मेवारी दिएकोमा आफूलाई गर्व महसुस भएको भण्डारीले बताए । तोकिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने उनको भनाइ छ ।

अनलाइनखबरसँग कुराकानी गर्दै नवनियुक्त मन्त्री भण्डारीले भने, ‘अहिलेको यो विषम परिस्थितिमा राज्यले मलाई योग्य सम्झेर जुन जिम्मेवारी दिएको छ, त्यसमा खुसी हुने कुरा त भइहाल्यो, सँगै मेरो ३० वर्षे सेवा अवधिको अनुभवले पनि मुलुकलाई फाइदा हुने महसुस गरेको छु,’ भण्डारी भन्छन् ।

भण्डारी अहिलेको मन्त्रिपरिषद्मा अट्नुमा उनको स्वच्छ छविको व्यक्ति र विकृति विंसगतिप्रतिको आवाज रहेको जानकारहरूको बुझाइ छ ।

अवकाशपछि धेरै प्रहरी अफिसरहरू गुमनाम हुँदै आएका छन् । अवकाशपछि कोही प्रहरी अफिसर विभिन्न कम्पनीमा काम गर्नेदेखि, कोही राजनीतिक दल खोल्ने, चुनावमा उठ्ने, पार्टी प्रवेश गर्ने, आफ्नै व्यवसाय गर्दै आएका छन् ।

भण्डारी भने यस्ता गतिविधिबाट टाढै रहे । बरु उनले विकृति र विंसगतिविरुद्ध बुलन्द आवाज उठाइरहे । प्रहरीमा हुने बेथिति, विकृतिदेखि अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण, प्रहरी हुने अनावश्क हस्तक्षेपका बारेमा पनि उनले खुलेर प्रश्न चिह्न उठाउँदै आए । भ्रष्टाचार, बेथितिविरुद्ध बोलिरहे, आफ्ना लेखमार्फत पनि सरोकारवालाहरूलाई घच्घच्याउने काममा उनी सक्रिय रहे ।

अन्य प्रहरी अफिसरहरू शक्तिकेन्द्र रिसाउलान् भनेर बोल्न हिच्किचाउँदा पनि उनी खुलेरै बोल्ने प्रहरी अधिकृतमा गनिन्छन् ।

क्राइसिस म्यानेजमेन्ट, द्वन्द्व व्यवस्थापनको समेत अनुभव भएकाले मन्त्री बन्दा अहिलेको विषम परिस्थितिमा काम गर्न थप सहज हुने उनको बुझाइ छ ।

आफ्नो ३० वर्षे अनुभवले पनि श्रम मन्त्रालयमा बसेर काम गर्न सहज हुने र मन्त्रालयलाई थप सफलता प्राप्त गर्न सहज हुने उनी बताउँछन् ।

सबै जेनजी तोडफोड, आगजनीमा संलग्न छैनन्, सबै प्रहरी पनि खराब छैनन भन्ने मनन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको बुझाइ छ ।

वैदेशिक रोजगारीमा दिनहुँ सयौं युवा विदेश जाने र विभिन्न समस्यामा पर्ने गरेकाले यसबारे पनि आफू जानकार रहेको, कतिपय घटनाहरू प्रहरीसँगै समन्वय गरेर काम गर्नुपर्ने पनि भएकाले श्रम मन्त्रालयमा काम गर्न आफूलाई सहज हुने उनी विश्वास गर्छन् ।

मुलकको अहिले विषम परिस्थितिलाई सकारात्मकतर्फ डोर्‍याउँदै सफलतातर्फ लैजान आफू भरपुर लाग्ने उनी बताउँछन् ।

आईजीपीमा नियुक्त भएपछि दानबहादुर कार्कीले प्रहरी सहचारीको विषय उठान गरेका थिए । कार्कीले नेपालीहरूको जनघनत्व बढी भएका देशमा प्रहरी सहचारी राख्ने विषय उठान गरेका थिए ।

राज्यको आर्थिक विकासको लागि ठूलो संख्यामा प्रवासमा रहेर योगदान पुर्‍याउने नेपालीको सुरक्षा र आकस्मिक परिस्थितिहरूका जनघनत्व बढी भएका देशहरूमा प्रहरी सहचारी राख्ने प्रस्तावलाई सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने अपेक्षा राखेको उल्लेख गरेका थिए ।

अब प्रहरी पृष्ठभूमिकै व्यक्ति भण्डारी अहिले श्रम मन्त्री बनेकाले यो विषयले पनि सार्थकता पाउन सक्ने आकलन गरिएको छ । यस विषयमा संक्षेपमा कुराकानी गर्दै भण्डारीले अनलाइनखबरसँग भने, ‘प्रहरीसँग समन्वय गर्नुपर्ने ठाउँहरूमा समन्वय गरेरै अघि बढ्ने हो । राम्रो गर्न सक्दो प्रयास गरिन्छ ।’

नेपाल प्रहरीले यसअघि पटक-पटक खाडीका विभिन्न मुलुकका साथै अमेरिका, चीन र युरोपका केही देशहरूमा प्रहरी सहचारी राख्नुपर्ने माग गर्दै आएको छ । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

अहिले भारतमा प्रहरी सहचारीको रूपमा एक जना एसएसपी दर्जाका कर्मचारी खटिँदै आएका छन् भने अन्य मुलुकहरूमा प्रहरी सहचारी छैनन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?