+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares
एमाले महाधिवेशन :

पाँचौं महाधिवेशनदेखि एमालेको मञ्च बनाइरहेका विनोद (भिडियो)

जति एमाले महाधिवेशनको चर्चा हुन्छ, मञ्चको आकर्षण पनि उत्तिकै हुन्छ । यो सबैको ध्यान तान्ने मञ्चको डिजाइनर हुन्, एमाले पोलिटब्युरो सदस्यसमेत रहेका विनोद श्रेष्ठ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ मंसिर २६ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले ११औं महाधिवेशनको मञ्च डिजाइन र स्वयंसेवक व्यवस्थापन गरिरहेका छन्।
  • श्रेष्ठले पाँचौं महाधिवेशनदेखि सात वटा महाधिवेशनको मञ्च बनाउने नेतृत्व गरिसकेका छन्।
  • उनले भक्तपुरको सांस्कृतिक सम्पदा झल्काउने मञ्च बनाएका छन् र ७०० जना स्वयंसेवक मञ्च निर्माणमा खटिएका छन्।

२६ मंसिर, काठमाडौं । ‘एमाले महाधिवेशनको आकर्षक मञ्च कसले बनाउँछ ?,’ धेरैले सोध्छन् ।

जति एमाले महाधिवेशनको चर्चा हुन्छ, मञ्चको आकर्षण पनि उत्तिकै हुन्छ । यो सबैको ध्यान तान्ने मञ्चको डिजाइनर हुन्, एमाले पोलिटब्युरो सदस्यसमेत रहेका विनोद श्रेष्ठ ।

उनले मञ्च मात्र होइन, ११औँ महाधिवेशनमा स्वयंसेवकको व्यवस्थापन पनि गरिरहेका छन् ।

मुख्यतः श्रेष्ठले पाँचौं महाधिवेशनदेखि लगातार मञ्च बनाउने नेतृत्व गर्दै आएका छन् । शुक्रबार बिहान भक्तपुरको सल्लाघारीमा पुग्दा श्रेष्ठ ११औं महाधिवेशनको मञ्च निर्माणमा खटिएका थिए ।

‘कुनै पनि कार्यक्रम गर्न मञ्चको महत्त्व हुन्छ । कार्यक्रम कस्तो भयो भन्ने सन्देश मञ्चले ओगटेको हुन्छ,’ उनले भने, ‘राम्रो मञ्चबाट सकारात्मक भाव दिन सकिन्छ ।’

मञ्च राम्रो भएन भने कार्यक्रमको सन्देश नै नकारात्मक हुने बुझाइ उनको छ । त्यसैले मञ्च कसरी राम्रो बनाउने भन्नेमा श्रेष्ठको ध्यान जाने गरेको छ । यसरी उनले ७ वटा महाधिवेशनको मञ्च बनाइसके ।

‘चौथो महाधिवेशन भूमिगत कालमा भयो । पार्टी खुला रूपमा आएपछि पाँचौंदेखि अहिलेसम्म मेरै नेतृत्वमा मञ्च बनाउने काम भइरहेको छ,’ श्रेष्ठले भने ।

प्रत्येक महाधिवेशनबाट सिक्दै फरक-फरक मञ्च बनाउने गरेको अनुभव श्रेष्ठको छ । ‘पहिले प्रविधिको व्यवस्था थिएन । पाँचौं महाधिवेशन पहिलो थियो । अनुभव पनि कम थियो । सिक्दै सच्याउँदै आएका छौँ । पाँचौंभन्दा छैटौं राम्रो । छैटौंभन्दा सातौ राम्रो । सातौंभन्दा आठौं राम्रो गरी ११औं सम्म आइपुगेका छौँ,’ उनले भने ।

यस पटक मञ्चको डिजाइन काठमाडौं उपत्यकालाई चिनाउने गरी बनाइएको उनले बताए । ‘भक्तपुर पौराणिक र पुरातात्त्विक शहर हो । यहाँ राष्ट्रिय/अन्तर्राष्ट्रिय पर्यटक आउने गरेका छन् । यो मञ्च देखेर त्यही ठाउँमा पर्यटक जानुहुन्छ भन्ने सोचर बनाएका हौँ,’ श्रेष्ठले भने, ‘काठमाडौं, ललितपुर र भक्तपुर मण्डला, मठ, मन्दिरको शहर हो । सम्पदा र संस्कृतिलाई चिनाउन खोजेका छौँ ।’

देशभरबाट आएका नेता/कार्यकर्ता र प्रतिनिधिलाई सही ठाउँमा आएको आभास दिलाउने गरी मञ्च बनाएको उनले बताए ।

‘फोटो खिच्दा पनि ऐतिहासिक होस् भनेर हो । फोटोमा त यति राम्रो छ । त्यही ठाउँमा पुग्दा कति राम्रो होला भन्ने हुन्छ,’ उनले भने । यसअघिको १०औं महाधिवेशनमा पनि चितवनलाई समेटेर उनले मञ्च बनाएका थिए । त्यसपछि चितवनको पार्कहरूमा पर्यटकको संख्या बढेको अनुभव उनले सुनाए ।

‘१०औं महाधिवेशनमा चितवन झल्काउने मञ्च बनाएका थियौं । त्यसपछि सौराहाका पार्कमा घुइँचो लागेको थियो । त्यसैले पर्यटक र व्यापार बढोस् भन्ने हो,’ उनले भने ।

भक्तपुरमा मञ्च बनाउन ७०० जना खटिएका छन् । ‘चितवनमा १५ दिनअघि मञ्च बनाउन सुरु गरिएको थियो । यसपटक २१ गतेदेखि सुरु गरेको हो । भोलि मञ्च दिनुपर्ने छ,’ उनले भने, ‘७ दिनको योजना बनाएर काम गरेका छौँ । म एक्लैले गरेको होइन । टिमले गरेको हो ।’

पार्टीले विश्वास गरेर दियो भने १२औं महाधिवेशनमा पनि मञ्च बनाउने योजना उनको छ । ‘समयले साथ दियो भने र पार्टीले दियो भने १२औंमा पनि यो भन्दा राम्रो मञ्च बनाउँछु,’ उनले भने ।

फोटो/भिडियो : शंकर गिरी र कमल प्रसाईं/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?