+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एमाले महाधिवेशन : सुदूरपश्चिमबाट पदाधिकारीमा को–को छन् आकांक्षी ?

पार्टीमा अध्यक्ष ओलीको विकल्प नरहेको बताउँदै आएका भट्टलाई कतिपयले उपमहासचिवको उम्मेदवारका रूपमा समेत हेरेका छन् । तर भट्ट भने उपाध्यक्ष बाहेक अन्य पदमा दाबी नरहेको बताउँदै आएका छन् ।

जनक विष्ट जनक विष्ट
२०८२ मंसिर २६ गते १३:४४

२६ मंसिर, धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । बन्द सत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

शनिबार सुरु भएर सोमबारसम्म चल्ने महाधिवेशनका लागि १३ मंसिरमा चयन भएका देशभरका प्रतिनिधि काठमाडौं केन्द्रित भएका छन् । अध्यक्षमा अहिलेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा उत्रिएका छन् ।

पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै काठमाडौँ महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।

सुदूरपश्चिम प्रदेशबाट एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि १४० बढी प्रतिनिधि चयन भएर काठमाडौँ पुगेका छन् । प्रतिनिधि बाहेक केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहित केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेतासमेत गरी सुदूरपश्चिमबाट कम्ती पनि २०० जना नेताले नेतृत्व चयन प्रक्रियामा भाग लिने भएका छन् ।

उनीहरूमध्ये धेरै नेता चुुन्ने मात्र होइन, नेता बन्ने दौडमा पनि छन् । जसमा आधा दर्जन बढी नेताहरू भने पदाधिकारीका आकांक्षी देखिएका छन् । पदाधिकारीमा आकांक्षा राख्नेमा अहिले केन्द्रीय कमिटीमा रहेका नेताहरू नै छन् ।

उपाध्यक्ष बन्ने सचिव भट्टको चाहना

केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पदोन्नति हुने चाहना राखेका बेला उनीभन्दा तल्लो वरियताका नेताहरू भने पदाधिकारीका आकांक्षी छन् । पार्टीमा अध्यक्ष ओलीको विकल्प नरहेको बताउँदै आएका भट्टलाई कतिपयले उपमहासचिवको उम्मेदवारका रूपमा समेत हेरेका छन् । तर भट्ट भने उपाध्यक्ष बाहेक अन्य पदमा दाबी नरहेको बताउँदै आएका छन् ।

लेखराज भट्ट

यद्यपि, उनी अहिलेसम्म आफ्नो दाबीबारे खुलेर बोलिसकेका छैनन् । उनी निकटस्थ स्रोतका अनुसार भट्ट उपमहासचिव नभएर उपाध्यक्षका आकांक्षी हुन् । ‘पार्टी संकटमा परेका बेला उहाँ नेतृत्वको रक्षाका निम्ति दृढ र इमानदार भएर उभिने नेताहरूको पहिलो पंक्तिमा पर्नुहुन्छ । सचिव र सुदूरपश्चिम इन्चार्ज भएर काम गरिसक्नुुभएको छ,’ उनी निकट एक नेताले भने, ‘त्यसैले अब उपाध्यक्षका रूपमा काम गर्ने चाहना राख्नुभएको छ । उपाध्यक्ष नबन्ने अवस्था भए पार्टीको साधारण सदस्य भएर काम गर्न तयार हुनुहुन्छ ।’

भट्टकै अगुवाइमा शंखमुलमा बुुधबार सुदूरपश्चिमबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने नेताहरूले महाधिवेशन र पदको आकांक्षाबारे छलफल गरेका थिए । उक्त छलफलमा भट्टले आफू सचिवमा पुन: नदोहोरिने बताउँदै पदोन्नति हुने धारणा राखेका थिए ।

उपमहासचिव वा सचिवमा मेरो उम्मेदवारी रहन्छ : नेता थापा   

पार्टी नेतृत्व परिवर्तनको पक्षमा खुलेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने उपमहासचिवमा दाबी गर्ने सम्भावना रहेको नेताहरू बताउँछन् । भूगोलका नेताहरूसँगको छलफलमा पनि थापा र उनी पक्षीय नेताले उनलाई उपमहासचिवको उम्मेदवारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

थापा स्वयंले समेत आफ्नो पदाधिकारीमा दाबी भएको बताए । उपमहासचिव वा सचिवमध्ये जुनसुकै पदमा भए पनि प्रतिस्पर्धा गर्न तयार रहेको उनी बताउँछन् । ‘मैले पदाधिकारीमा उम्मेदवार बन्ने भनेको छु । सचिव पनि हुनसक्छ, उपमहासचिव पनि हुनसक्छ,’ थापाले भने, ‘पार्टीलाई लोकतान्त्रीकरण गर्न, आन्तरिक जनवादलाई निरन्तरता दिन, पार्टीभित्र छलफल, बहस, कार्यकर्ताको मूल्यांकन प्रणाली स्थापित गर्न, राजनीतिमा स्वच्छता ल्याउनका लागि मेरो उम्मेदवारी रहन्छ ।’

एकल नभएर सामूहिक नेतृत्व प्रणाली स्थापित गर्नका लागि आवाज उठाउँदै आएकाले त्यसका लागि पनि पदाधिकारीमा आफ्नो दाबी रहने उनी बताउँछन् । थापा अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष बनाउनुपर्ने पक्षमा खुलेरै लागेका छन् ।

पदाधिकारीको दौड

भट्ट र थापा बाहेक सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने अन्य नेताहरूले पनि पदाधिकारीमा आकांक्षा राखेका छन् ।

सचिवको आकांक्षा राख्नेमा पूर्वमन्त्री समेत रहेका पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना, नारदमुनि राना, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दामोदर भण्डारी, लालबहादुर थापा र झपट रावल रहेका छन् ।

दामोदर भण्डारी

उनीहरूमध्ये ठगुन्ना, भण्डारी र थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफ्नो अकांक्षा पेस गरिसकेका छन् । दार्चुलाका महाधिवेशन प्रतिनिधिलाई लिएर गुण्डु पुगेका ठगुन्नाले पार्टी अध्यक्षलाई सचिवमा आफ्नो दाबी पेस गरेका छन् ।

पार्टी अध्यक्षसँग सचिवमा इच्छा व्यक्त गरेको बताउँदै ठगुन्नाले नेतृत्वमा छलफल गर्ने प्रतिक्रिया दिएको बताएका छन् । ‘मेरो यो पदमा चाहना छ, म उठ्छु भनेर बाहिर भन्ने कुरा भएन । तर अध्यक्ष कमरेडसँग भेटेर सचिवमा अकांक्षा रहेको कुरा औपचारिक रूपमा राखेको छु,’ ठगुन्नाले भने, ‘उहाँले हामी नेतृत्वमा सल्लाह गर्छौँ भन्नुुभएको छ ।’

सुदूरपश्चिम प्रदेशमा पार्टी इन्चार्ज भट्टपछि पार्टीमा आफू सिनियर भएको, प्रदेशको पार्टी कमिटीलाई एकजुट बनाएर राष्ट्रिय शक्ति बनाउने अभियान तथा भविष्यमा समेत पार्टीलाई गुटफुटबाट बचाएर एकताबद्ध गराउन सक्ने क्षमता भएकाले सचिवको स्वाभाविक दाबेदार भएको उनी बताउँछन् ।

यस्तै, अध्यक्ष ओलीलाई भेटेर सचिवमा आकांक्षा राखेका निवर्तमान उद्योग मन्त्री दामोदर भण्डारीले पार्टीको मूल लिगेसीको रक्षा र एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका निमित्त नेतृत्वमा दाबी भएको बताए ।

राजेन्द्र सिंह रावल

उनले सुदूरपश्चिम प्रदेशमा समेत पार्टीलाई एकताबद्ध र गतिशील बनाउन उल्लेख्य भूमिका खेल्ने बताएका छन् । ‘मैले अध्यक्ष कमरेडलाई भेटेर आफ्नो दाबीबारे कुरा राखिसकेको छु,’ भण्डारीले भने, ‘पार्टीको मूल लिगेसीको रक्षा र एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सचिवमा मेरो दाबी हो ।’

भण्डारीले समेत जिल्लाका प्रतिनिधिसँगै अध्यक्ष ओलीलाई गुण्डु पुगेर भेटेका थिए ।

सचिवका अर्का दाबेदार लालबहादुर थापाले पार्टीमा सन्तुलित ढंगले नेतृत्व विकास गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

उनले सैद्धान्तिक र राजनीतिक हिसाबले सन्तुुलित रूपमा नेतृत्व विकास गर्नुपर्ने भएकाले सोहीअनुसार उम्मेदवार बनाउनुुपर्ने बताउँदै त्यसो हुँदा आफू पनि सिनियर नेता भएकाले समेटिने उल्लेख गरे  ।

‘पार्टीमा मान्छेको क्रियाशीलता, क्षमता, सैद्धान्तिक, वैचारिक धरातलका आधारमा सन्तुलित ढंगले नेतृत्व विकास गर्नुपर्ने हुनसक्छ,’ थापाले भने, ‘त्यसो हुँदा सुदूरपश्चिमका समकालीन नेताहरूमा म पनि सिनियर भएकाले पदाधिकारीमा जानै नसकिने भन्ने होइन । अवसर आउँदा पछि हट्ने कुरा पनि भएन नि ।’

दुई कार्यकालदेखि केन्द्रीय कमिटीमा प्रतिनिधित्व गरिरहेकाले पनि आफू स्वाभाविक रूपमा सचिवको दाबेदार भएको उनी बताउँछन् ।

कैलाली इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य नारदमुनि रानाले पनि पदाधिकारीमा आफ्नो दाबी भएको बताए तर नेतृत्वले गर्ने व्यवस्थापनअनुसार आफू अघि बढ्ने उनको भनाइ छ ।

‘म सचिवको दाबेदार हो । नेतृत्व र नेताहरूले गरेको सल्लाहअनुसार जिम्मेवारी लिन तयार छु,’ रानाले भने ।

झपट रावल

अर्का केन्द्रीय सदस्य झपट रावलले पनि सचिवमा दाबी गरेका छन् । रावलले १२ वर्षसम्म केन्द्रीय सदस्यका रूपमा काम गरिसकेकाले सचिवमा दाबी भएकाले सहयोगका लागि भूगोलका नेताहरूसँग आग्रह गरेका छन् ।

‘स्वाभाविक रूपमा सचिवमा मेरो दाबी रहेको छ । प्रदेशका सबै नेताहरूसँगको छलफलमा मैले सचिवमा सहयोग मागिसकेको छु, रावलले भने, ‘महाधिवेशनमा सकभर समूहबद्धता नभए स्वस्थ प्रतिस्पर्धा गरेर अघि बढनुपर्छ भन्ने मान्यता राख्छु ।’

पार्टी अध्यक्ष र उनका समकक्षी नेताहरूलाई ११औँ महाधिवेशनबाट बिदा गर्नुपर्ने धारणा उनी राख्छन् । रावल संस्थापन इतर समूहमा खुलेका नेता हुन् ।

युवा संघका पूर्व अध्यक्ष निरुदेवी पाल र अनेस्ववियुका पूर्व अध्यक्ष ऐन महर पनि पदाधिकारीकै आकांक्षी छन् । ‘यसपटक हाम्रो प्रतिनिधि पनि धेरै युवा नै आएका छन्, ५० वर्ष मुनिका युवाहरु आधा बढी छन्,’ महर भन्छन्, ‘पदाधिकारीमै युवा समेटिनुपर्छ भनेर मेरो दावी हो ।’

पार्टीको निर्णय गर्ने महत्वपूर्ण संरचना सचिवालय भएकाले पनि पदाधिकारीमा युवा हुनुपर्छ भन्ने तर्क उनी गर्छन् ।

रावल र भण्डारी भन्छन्– पदाधिकारीमा आकांक्षा नभएको होइन तर स्वघोषणा गर्दैनौँ

पोलिटब्युुरो सदस्यद्वय राजेन्द्र सिंह रावल र लिला भण्डारीले भने पदाधिकारीमा आकांक्षा भए पनि पार्टीको नीतिविपरीत अहिले नै स्वघोषणा नगर्ने बताएका छन् । उनीहरूकै कमिटीका अन्य नेताहरूले खुलेरै पदाधिकारीमा दाबी गरिरहेका बेला रावल र भण्डारीले भने पार्टीलाई चुनौती भएका बेला कुनै पनि पदमा स्वघोषणा नगर्ने तर नेतृत्वले जिम्मेवारी दिएमा अघि बढ्न तयारी भएको प्रतिक्रिया दिएका छन् ।

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री एवं प्रदेश संसदीय दलका नेता समेत रहेका नेता रावलले पार्टीले व्यवस्थापन गर्ने ठाउँ भएमा पदाधिकारीमा दाबी गर्ने तर अहिले नै स्वघोषण नगर्ने बताए ।

लिला भण्डारी

यस्तै, पूर्वमन्त्री समेत रहेकी पोलिटब्युरो सदस्य लिला भण्डारीले पनि नेतृत्वले दिने जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको बताउँदै कुनै पदमा स्वघोषणा गर्न उचित नहुने बताएकी छन् ।

‘म पार्टीको इमानदार, पार्टी नीतिप्रति प्रतिबद्ध सिपाही हुँ । महाधिवेशनमा कुनै न कुनै पदमा आकांक्षा राख्ने वा हुने कुरा स्वाभाविक हो तर म यो कुरा स्वघोषणा गर्दिनँ,’ भण्डारीले भनिन्, ‘पार्टी नेतृत्वले जुन ठाउँमा बस्नुस् भन्छ त्यो जिम्मेवारी निर्वाह गरौँला ।’ उनले सचिव वा अन्य कुनै जिम्मेवारी लिनुपर्ने अवस्था आएमा तयार रहेको बताएकी छन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?